आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

सूर्यको नजिक जाँदा पनि कसरी खरानी हुनबाट जोगियो नासाको यान ?

आइतबार, १४ पुस २०८१, १४ : ०५
आइतबार, १४ पुस २०८१

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सौर्य अन्वेषण यान पार्कर सोलार प्रोब सूर्यको अहिलेसम्मकै निकटमा पुग्न सफल भएको छ । आफ्नो यो यान सूर्यको निकटमा पुगेर पनि सुरक्षित रहन सफल भएको नासाले शुक्रबार पुष्टि गरेको हो ।

यान सुरक्षित रहेको र आफ्नो सम्पर्कमा आएको पनि नासाले बताएको छ । यो हप्ताको सुरुमा यान सूर्यबाट ३८ लाख माइल वरसम्म पुगेको थियो । बिहीबार राति आफूले पार्करबाट सन्देश प्राप्त गरेको र सूर्यको अहिलेसम्मकै निकट पुग्ने अभियानमा यान सफल भएको नासाले बताएको छ ।

सन् २०१८ मा यो यानलाई सूर्यलाई नजिकबाट नियाल्न लन्च गरिएको थियो । यानले जनवरी १ मा आफ्नो स्थितिबारे विस्तृत टेलिमेट्री डेटा पठाउने अपेक्षा गरिएको छ । 

अत्यधिक तातो वातावरणमा धेरै दिन उडेर पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिकको बिन्दुमा पुगेपछि नासासँगको यसको सम्पर्क टुटेको थियो । सूर्यको तापले यान जलेर खरानी हुने हो कि भन्ने चिन्ता नासाका वैज्ञानिकहरूले गरेका थिए । शनिबार बिहानसम्ममा यानले सन्देश पठाउने अपेक्षा गरिएको थियो । तर यो भन्दा अगावै बिहीबार राति नै पार्कर सोलार प्रोबले वैज्ञानिकहरूलाई सन्देश पठायो ।

विज्ञहरूका अनुसार क्रिसमसको एक दिन अघि यान सूर्यको बाहिरी वायुमण्डल अर्थात् कोरोनामा प्रवेश गरेको थियो । अत्यधिक तापक्रम र विकिरणका खपेर पनि यान जीवित रहन सक्यो । 

यान अहिले कोरोनाबाट बाहिर आएको बताएका छन् । कम्तीमा पनि अर्को वर्षको सेप्टेम्बरसम्म यानले यही दूरीमा रहेर सूर्यलाई परिक्रमा गर्ने बताइएको छ ।

 यो मानिसले बनाएको अहिलेसम्मकै सबैभन्दा छिटो दौडिने अन्तरिक्ष यान हो ।  पार्करले पठाएको तथ्याङ्कले सूर्यको बाहिरी वायुमण्डल किन यसको सतहभन्दा सयौँ गुणा बढी तातो छ ? आदि  कुरा बुझ्न मद्दत गर्ने आशा वैज्ञानिकहरूले गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप