बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय
‘बक्सिङ डे’ टेस्ट क्रिकेट

चौथो दिनको खेल सकिँदा भारतविरुद्ध अस्ट्रेलियालाई ३३३ रनको अग्रता

आइतबार, १४ पुस २०८१, १३ : ०६
आइतबार, १४ पुस २०८१

काठमाडौँ । बोर्डर–गावस्कर शृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतसँग तीन सय ३३ रनको अग्रता हासिल गरेको छ । चौथो टेस्टको चौथो दिन आइतबारको खेल सकिँदासम्म अस्ट्रेलिया आफ्नो दोस्रो पालीमा नौ विकेट गुमाएर दुई सय २८ र नबनाएको छ ।

चौथो दिनको खेल सकिँदा तल्लो क्रमका अस्ट्रेलियन ब्याट्सम्यान नाथन लियोन अविजित ४१ र स्कट बोल्यान्ड अविजित १० रन बनाउँदै क्रिजमा छन् । दशौँ नम्बरमा क्रिज समाल्न आउका लियोनले ५४ बलको सामना गरी पाँच चौका हिर्काएका छन् ।

यसैगरी, अन्तिम ब्याट्सम्यानका रुपमा मैदानमा ओर्लिएका बोल्यान्डले ६५ बलमा एक चौका प्रहार गरेका छन् । तल्लो क्रमका यी दुई ब्याट्सम्यानले भ्रमणकारी टोली भारतका बलरहरुलाई हायल–कायल बनाएका छन् ।

दोस्रो पालीमा अस्ट्रेलियाका ब्याट्सम्यानहरु भारतीय बलरसामु निरीह बनेका थिए । मार्नस लाबुशेन र कप्तान प्याट कमिन्सवाहेक अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका लाबुशेनले ७० रन बनाए ।

लाबुशेनले एक सय ३९ बलको सामना गरी तीन चौका हिर्काए । ३० वर्षीय लाबुशेनले टेस्ट क्रिकेटमा बनाएको यो २२औँ अर्धशतक हो । आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान कमिन्सले पनि ४१ रन बनाए । उनले ९० बलको सामना गरी चार चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान उस्मान ख्वाजाले २१ रन बटुले । अनुभवी ब्याट्सम्यान स्टिभन स्मिथ भने १३ रन बनाउँदै पेभेलियन फर्किए । अस्ट्रेलियाले अतिरिक्त रुपमा १६ रन पायो । भारतीय टोलीका तिब्रगतिका बलर जसप्रित बुमराहले चार विकेट लिए । उनले २४ ओभरमा सात मेडन राख्दै ५६ रन खर्चिए ।

चौथो दिनको खेलमा बुमराहले टेस्ट क्रिकेटमा दुई सय विकेटको कोशेढुंगा पनि पार गरे । ३१ वर्षीय बुमराहले अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेडको विकेट लिँदै टेस्ट क्रिकेटमा दुई सय विकेट पुरा गरेका थिए । संयोगले आइतबार नै अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान ट्राभिस हेडको जन्म दिन पनि परेको थियो ।

सन् २०१८ को जनवरीमा टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका बुमराहले ‘बक्सिङ डे’ टेस्टमा पनि आक्रामक बलिङ गरे । चौथो दिनको खेल जारी रहँदासम्म उनले आठ विकेट लिइसकेका छन् । उनले पहिलो पालीमा चार र दोस्रो पालीमा चार विकेट लिएका हुन् ।

कुनै समय दबाबमा देखिएको भ्रमणकारी टोली भारत दोस्रो पालीमा बुमराहको उत्कृष्ट बलिङपछि जिततर्फ अग्रसर देखिएको छ । आफ्नो जीवनको ४४औँ टेस्ट खेलिरहेका बुमराहले कुल आठ हजार चार सय ८४ बलमा दुई सय विकेटको कोशेढुंगा पार गरेका हुन् ।

बुमराह टेस्ट क्रिकेटमा सबैभन्दा कम बलमा दुई सय विकेट लिने पहिलो भारतीय बलर पनि बनेका छन् । विश्व टेस्ट क्रिकेटमा भने सबैभन्दा कम बलमा दुई सय विकेटको कोशेढुंगा पार गर्ने खेलाडी पाकिस्तानका वकार युनिस हुन् ।

पाकिस्तानका तिब्रगतिका पूर्वबलर वकार युनिसले कुल सात हजार सात सय २५ बलमा दुई विकेट लिएका थिए । यो सूचिमा बुमराह चौथो स्थानमा छन् । दक्षिण अफ्रिकाका डेल स्टेन दोस्रो स्थानमा आसिन छन् । डेल स्टेनले कुल सात हजार आठ सय ४८ बलमा दुई सय टेस्ट विकेट पुरा गरेका थिए । यो सूचिमा दक्षिण अफ्रिकाकै कागिसो राबडा तेस्रो स्थानमा आसिन छन् । राबडाले कुल आठ हजार एक सय ५३ बलमा दुई सय टेस्ट विकेट पुरा गरेका थिए ।

दोस्रो पालीमा भारतीय टोलीका बलर मोहम्मद सिराजले पनि तीन अस्ट्रेलियन ब्याट्सम्यानलाई पेभेलियन फर्काए । उनले २२ ओभरमा चार मेडन राख्दै ६६ रन खर्चिए । रविन्द्र जडेजाले पनि एक विकेट हात पारे ।

त्यसअघि, भारतले आफ्नो पहिलो पालीमा तीन सय ६९ रन बनाएको थियो । भारतका लागि पहिलो पालीमा नितिषकुमार रेड्डीले शतक तथा ओपनर यशस्वी जैसवाल र वासिङ्टन सुन्दरले अर्धशतक बनाएका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका नितिषले एक सय १४ रन बनाएका थिए । उनले एक सय ८९ बलको सामना गरी एक छक्का र ११ चौका हिर्काएका थिए । २१ वर्षीय नितिषले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक पनि हो ।

ओपनर यशस्वीले पनि टोलीको खातामा ८२ रन थपे । उनले एक सय १८ बलको सामना गरी एक छक्का र ११ वटा चौका हिर्काएका थिए । २३ वर्षीय यशस्वीले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो । यसका अतिरिक्त, नवौँ नम्बरका ब्याट्सम्यान वासिङ्टनले पनि टोलीका लागि ५० रनको योगदान गरेका थिए । उनले एक सय ६२ बलको सामना गरी एक चौका हिर्काएका थिए । २५ वर्षीय वासिङ्टनले टेस्ट क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो ।

पहिलो पालीमा भारतीय टोलीका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । भारतले अतिरिक्त रुपमा ११ रन पायो । अस्ट्रेलियन टोलीका बलर प्याट कमिन्स, स्कट बोल्यान्ड र नाथन लियोनले तीन–तीन विकेट लिएका थिए । त्यसअघि, मेलबर्न क्रिकेट ग्राउन्डमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली अस्ट्रेलियाले चार सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि अभुनवी ब्याट्सम्यान स्टिभन स्मिथले उत्कृष्ट अर्धशतकीय पाली खेले ।

चौथो नम्बरमा क्रिज समाल्न आएका स्मिथले एक सय ४० रनको योगदान गरे । उनले एक सय ९७ बलको सामना गरी तीन छक्का र १३ वटा चौका पनि हिर्काए । ३५ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३४औँ शतक हो । उनले ६८ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएका थिए ।

अस्ट्रेलियाले पालीको सुरुवात गतिलो गरेको थियो । अस्ट्रेलियाका लागि माथिल्लो क्रमका तीन ब्याट्सम्यानले अर्धशतक पनि बनाए । ओपनर साम कोन्सटसले टोलीका लागि ६० रनको योगदान गरेका थिए । उनले ६५ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए ।

१९ वर्षीय कोन्सटसले आफ्नो ‘डेब्यू’ टेस्टमै अर्धशतक पनि बनाएका हुन् । उनले अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीबाट उनले खेलेको पनि यो पहिलो खेल हो । ओपनर ब्याट्सम्यान कोन्सटसले १९ वर्ष ८५ दिनको उमेरमा टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् ।

उनी टेस्ट क्रिकेटमा ‘डेब्यू’ गर्ने अस्ट्रेलियाका चौथो सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी आफ्नो ‘डेब्यू’ टेस्टमै विभिन्न कारणले चर्चित पनि बने । उनले भारतीय टोलीका जसप्रित बुमराह, मोहम्मद सिराजजस्ता अनुभवी बलरहरुलाई पनि हायल–कायल बनाएका थिए ।

कोन्सटसले तिब्रगतिका बलर बुमराहको तीन वर्ष पुरानो कीर्तिमान पनि तोडे । कोन्सटसले बुमराहको बलमा एक छक्का र दुई चौका हिर्काएका थिए । बुमराहको बलमा कुनै पनि ब्याट्सम्यानले एक हजार एक सय १२ दिनपछि छक्का प्रहार गरेको हो ।

यसअघि, बुमराहले लगातार चार हजार चार सय ८३ बल फाल्दासम्म कुनै ब्याट्सम्यानले छक्का हिर्काउन सकेका थिएनन् । अघिल्लो पटक सन् २०२१ मा क्यामरुन ग्रिनले सिड्नीमा खेलिएको खेलमा बुमराहविरुद्ध छक्का प्रहार गरेका थिए ।

बुमराहको अधिकांश बलमा युवा ब्याट्सम्यान कोन्सटसले ‘रिभर्स सट’ खेलेका थिए । सुरुमा बुमराहले कोन्सटसलाई केही दवावमा राखेका थिए । तर, केही समयपछि नै बुमराहको हरेक बलमा कोन्सटसले रन बटुल्न थालेका थिए ।

कोन्सटसले आक्रामक पाली खेल्नेक्रम जारी रहेपछि भारतीय टोलीका कप्तान रोहित शर्माले बलिङको जिम्मेबारी रविन्द्र जडेजालाई सुम्पिएका थिए । भारतीय कप्ताको त्यो योजना सफल पनि भयो । २०औँ ओभरको दोस्रो बलमा जडेजाले कोन्सटसलाई एलबीडब्लूको धरापमा पारेका थिए ।

कोन्सटसले आफ्नो ‘डेब्यू’ टेस्टमा ९२.२० को स्ट्राइक रेटमा रन बनाएका हुन् । उनले केवल ५२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले बुमराहविरुद्ध खेल्न आफूले निकै पहिलेदेखि योजना बनाएको बताए ।

कोन्सटसका अतिरिक्त अर्का ओपनर उस्मान ख्वाजाले पनि अर्धशतक बनाए । उनले टोलीको खातामा ५७ रन थपे । ३८ वर्षीय ख्वाजाले एक सय २१ बलको सामना गरी ६ चौका पनि हिर्काए । उनले टेस्ट क्रिकेटमा बनाएको यो २७औँ अर्धशतक पनि हो ।

कोन्सटस र ख्वाजाले ओपनिङ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्नश लाबुशेनले पनि टोलीका लागि ७२ रनको योगदान गरे । उनले एक सय ४५ बलमा सात चौका पनि हिर्काए । ३० वर्षीय लाबुशेनले टेस्ट क्रिकेटमा २२औँ अर्धशतक बनाएका हुन् ।

यसैगरी, पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान ट्राभिस हेड भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । भारतविरुद्धको जारी टेस्ट शृंखलामा यसअघि उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । यसअघि खेलिएको तीनवटै टेस्टमा उनको ब्याटिङ अब्बल थियो ।

ट्राभिस हेडले पहिलो टेस्टको दोस्रो पालीमा ८९ रन बनाएका थिए । दोस्रो टेस्टमा पनि उनले एक सय ४० रन बनाएका थिए । तेस्रो टेस्टमा पनि ट्राभिस हेडले टोलीका लागि एक सय ५२ रनको योगदान गरेका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान मिचेल मार्श पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले ३१ रन बनाए । उनले ४१ बलको सामना गरी एक छक्का पनि हिर्काए ।

Capture2

आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान प्याट कमिन्सले पनि टोलीको खातामा ४९ रन थपे । उनले ६३ बलको सामना गरी सात चौका पनि हिर्काए । उनले आठ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएका थिए । यसैगरी, अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १५ र नाथन लियोनले १३ रन जोडे । स्कट बोल्यान्ड ६ रनमा अविजित रहे । अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि २७ रन पाएको थियो । अस्ट्रेलियाले पहिलो पालीमा एक सय २२.४ ओभर ब्याटिङ गर्यो ।

भारतीय टोलीका बलर जसप्रित बुमराहले चार विकेट लिए । उनले २८.४ ओभरमा नौ मेडन राख्दै ९९ रन खर्चिए । रविन्द्र जडेजाले पनि तीन विकेट हात पारे । उनले २३ ओभरमा चार मेडन राख्दै ७८ रन खर्चिए । आकाश दीपले दुई र वासिङ्टन सुन्दरले एक विकेट लिए ।

दोस्रो दिन भारतीय खेलाडीहरु पाखुरामा कालो पट्टी बाँधेरमा मैदानमा ओर्लिएका छन् । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति शोक ब्यक्त गर्दै भारतीय खेलाडी हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका हुन् । मनमोहन सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।

पाँच टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाअन्तर्गत पर्थमा खेलिएको पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

यसैगरी, ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । यो शृंखला आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसको महत्वपूर्ण अंग पनि हो । त्यसैले टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतका लागि यो शृंखला निकै महत्वपूर्ण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप