मङ्गलबार, १६ पुस २०८१
ताजा लोकप्रिय

के हो दक्षिण कोरियाली विमान दुर्घटनाको कारण ?

आइतबार, १४ पुस २०८१, ११ : २६
आइतबार, १४ पुस २०८१

सोल । आइतबार बिहान १८१ यात्रु सवार दक्षिण कोरियाली यात्रुवाहक विमान दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भयो । अहिलेसम्म दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी यात्रुहरूको बाँच्ने आशा निकै कम भएको प्रहरी र दमकलका अधिकारीहरूले बताएका छन् ।  

मृत्यु हुनेको सङ्ख्या बढ्ने डर
सियोलबाट करिब २८८ किलोमिटर दक्षिण पश्चिममा रहेको मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणको क्रममा रनवेबाट बाहिर गएर पर्खालमा ठोक्किएपछि बिहान ९ः०७ मा यो दुर्घटना भएको हो । विमानको पछाडिको हिस्साबाट ४७ जनाको शव भेटिएको थियो । अहिलेसम्म ८५ शव बरामद भएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

हालसम्म दुई जनाको जीवित उद्धार गरिएको छ । विमान बैंककबाट १७५ यात्रु र छ जना चालक दलका सदस्य लिएर फर्किएको थियो । अधिकांश यात्रु दक्षिण कोरियाली नागरिक थिए ।

कसरी भयो दुर्घटना ?
विमान चराको सम्पर्कमा आएकाले दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको एकाथरी विश्लेषण आइरहेको छ । अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा खराबी आयो । विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्न खोज्दा रनवेमा चिप्लियो र विमानस्थलको पर्खालमा ठोक्किएर विमानमा विस्फोट भएको अनि आगो लागेको भनेर दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहापलाई उद्धृत गर्दै अन्य सञ्चार माध्यमले समाचार छापेका छन् ।

मिसाइल आक्रमण हो त ?

अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानको अकताउ नजिकै दुर्घटना भएको केही दिनपछि यो दुर्घटना भएको हो । उक्त दुर्घटनामा विमानमा सवार ६७ जनामध्ये ३८ जनाको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा रूसी वायु सुरक्षाले गल्तीले विमान खसालेको सङ्केत गरेको गरिएको । यसैबीच शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अजरबैजानका नेतासँग माफी मागेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच जारी तनावबीच दुर्घटनाको पछाडि केही षड्यन्त्र हुन सक्ने आशङ्का गरिएको छ ।

आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको आपतकालीन अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सुङ मोकले राहत र उद्धारका लागि सबै सम्भव कदम चाल्न निर्देशन दिएका छन् । केही बेर अघि मोक दुर्घटनास्थलमा पुगेका थिए ।

अनलाइन र सामाजिक सञ्जालमा दुर्घटनाको भिडियोहरू पनि सार्वजनिक भएका छन् । यसमा धावनमार्गमा अवतरण गरिरहँदा विमान चिप्लिएर धावनमार्गबाट केही पर रहेको रहेको पर्खालमा ठोक्किएको, तत्कालै ठुलो विस्फोट भएको  र विमान आगोको गोलामा परिणत भएको देखाएको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप