फिचर लेखन किन ?
किशोरकालमा जब मैले घरमा अह्राएको काम मात्रै गर्थें, अह्राएको कामसँग सम्बन्धित अर्को काम गर्न विवेक प्रयोग गर्दिनथेँ, तब मेरा हजुरबा र बाले अकबरको दरबारमा कुकुर बियाएको कथा दोहोर्याइरहन्थे ।
उनीहरूले सुनाएको कथा अनुसार, एकपटक राजा अकबरलाई एक व्यक्तिले भनेछन्— हजुरले फलानोलाई मन्त्री बनाउनुभयो, मलाई किन बनाउनुभएन ?
अकबरले भने— यसको जवाफपछि दिउँला, यहाँ नजिकै कुकुर बियाएको छ रे, हो कि होइन बुझेर आऊ ।
उनी जान्छन् र आएर राजालाई भन्छन्— बियाएको रहेछ हजुर ।
अकबरले सोध्छन्— कतिवटा छाउरा रहेछन् ?
उनी पुनः छाउरा गन्न जान्छन् ।
राजाले कतिवटा छाउरा र कतिवटा छाउरी रहेछन् ? के कस्ता रङका रहेछन् ? लगायत जिज्ञासा एक–एक गरी राख्छन् । राजालाई प्रत्येक जिज्ञासाको जवाफ दिन ती व्यक्ति प्रत्येकपटक कुकुर बियाएको स्थानतिर कुद्नुपर्छ ।
त्यसपछि राजाले कुकुर बियाएको हो कि होइन भनी बुझ्न नवनियुक्त मन्त्रीलाई पठाउँछन् । नवनियुक्त मन्त्रीले कुकुर बियाएको कथा यसरी वर्णन गर्छन्, राजाले सोध्नैपर्दैन ।
अनि राजाले पहिलो व्यक्तिलाई भन्छन्— मैले किन तिमीलाई मन्त्री नबनाएर उसलाई मन्त्री बनाएको रहेछु भन्ने बुझ्यौ नि !
हाम्रो पत्रकारिता कुकुरका छाउरा–छाउरी गन्न (फाइभ–डब्लु वन–एच पुर्याउन) र हेर्न (घटनाक्रमको बयान गर्न)मै केन्द्रित छ । अचेल त कतिपय समाचारमा ‘फाइभ–डब्लु वन–एच’ नभेटिन पनि सक्छन्, अनलाइनमार्फत छिटो समाचार दिने हतारोका कारण ।
कुकुर बियाएको सन्दर्भमा राजाले नसोधेका सन्दर्भ पनि छन् । जस्तो : आमाका थुन छाउरा–छाउरीभन्दा बढी छन् कि कम ? आमा भोकी–प्यासी वा रोगी छ कि ? उसलाई खानेकुराको व्यवस्था के कस्तो छ वा कसरी भइरहेको छ ? छाउरा–छाउरी बस्ने ठाउँ न्यायो र सुरक्षित छ कि छैन ? वास्तवमा यिनै कुरालाई ल्याउन पत्रकारितामा फिचर–लेखन विधाले स्थान पाएको हो ।
‘फिचर’ शब्द ल्याटिनको फ्याक्चुरा (factura)बाट आएको हो । जसको अर्थ ‘गर्नु’ वा ‘तयार गर्नु’ भन्ने हुन्छ । १४औँ शताब्दीमा अंग्रेजीमा ‘फिचर’ शब्दलाई कुनै वस्तुको संरचना वा रूपलाई जनाउन प्रयोग गरिएको थियो ।
समय क्रमसँगै यस शब्दको प्रयोग पत्रकारितामा विस्तारित भयो । जब समाचारपत्रहरूले सामान्य समाचार र कथात्मक वा वर्णनात्मक लेखहरूका बिचमा भिन्नता गर्न थाले, तब फिचर शब्दले स्थान पाउन थाल्यो ।
वास्तवमा ‘फिचर’ले कुनै विशेष पात्र, घटनाक्रम वा सन्दर्भको वर्णन गर्छ अर्थात् कथा भन्छ । यति हो कि कथा स्पष्ट बुझिने हुनुपर्छ । अरू विकसित देशका वा आफ्नै देशका स्थापित लेखक वा पत्रकारले कसरी फिचर लेख्छन् भनी जान्नु एउटा कुरा हो, तर तपाईंले कुनै विषयमा लेखेको ‘फिचर’ अर्कोले पढ्दा स्पष्ट बुझिने हुनुपर्छ, खास–खास पाटो छुट्नु हुँदैन । वर्णन वा कथालाई स्पष्ट पार्न जे–जति तत्त्व चाहिन्छन्, ती सबै फिचरमा आएकै हुनुपर्छ, अन्यथा फिचर हुँदैन, अझ भनौँ पत्रकारिता हुँदैन ।
कुनै पनि फिचर किन लेख्ने भन्ने प्रश्न प्रधान हुन्छ । सामान्यतः फिचर दुई उद्देश्यले लेखिन्छ— १) कुनै खास पात्र, घटना, सन्दर्भ वा विषयको सूचना दिन, जुन सूचना जनताका लागि आवश्यक छ । २) स्थानीय मुद्दालाई उठाउन वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दालाई स्थानीयकरण गर्न, जुन मुद्दा मानवता वा सामाजिक न्यायसँग जोडिएको छ । हुन त यो पनि सूचना दिनकै लागि लेखिने हो । वास्तवमा पत्रकारिताको उद्देश्य नै सूचना दिनका लागि हो । यहाँ सूचना लुकाएरै कोही शक्तिशाली र कोही कमजोर, कोही शासक र कोही शासित भइरहेका छन् ।
सूचनामूलक होस् वा मुद्दा उठान गर्ने फिचर होस्, दुवै लेख्दा सूचनालाई प्रस्ट्याउने स्रोत तथा सन्दर्भहरूलाई पछ्याउनैपर्छ । यतिसम्म कि एउटा व्यक्तिको व्यक्तिवृत्त लेख्दै छौँ भने सम्बन्धित व्यक्तिसँग मात्र कुरा गरेर पुग्दैन उनीबारे लेखिएका पुस्तक, प्रतिवेदन वा समाचार छन् भने खोज्नुपर्छ; उनीबारे जानकार अन्य व्यक्तिहरूसँग कुरा गर्नुपर्छ । अर्थात् पात्रले बोलेका कुरालाई कहीँकतै तपाईंले पुष्टि गर्नुपर्छ ।
आज छिनछिनमा छोटाछोटा सूचना फैलने माध्यम थुप्रै भएकाले सर्वसाधारणले मिथ्या सूचना पनि पाइरहेका छन् । योसँगै सामाजिक न्यायका कतिपय मुद्दामा सर्वसाधारण स्पष्ट हुन सकिरहेका छैनन्, गम्भीर मुद्दालाई हल्का रूपमा लिएर विरोध र समर्थन गरिरहेका देखिन्छन् । यो अवस्थामा जनतालाई सुसूचित गर्ने सशक्त माध्यम भनेकै फिचर लेखन हो ।
कुनै पनि मुद्दाको उठान गर्दा मुद्दासँग सम्बन्धित पक्ष, विपक्ष र राज्यको नीति तथा धारणालाई ल्याउनैपर्छ । यस्तोमा कोही बोल्न चाहेन भने पनि विकल्प खोज्न सकिन्छ ।
वास्तवमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय मुद्दालाई स्थानीयकरण गर्न वा स्थानीय मुद्दालाई राष्ट्रिय वा अन्तर्राष्ट्रियकरण गर्न फिचर लेखन एउटा उपयुक्त माध्यम हो । फिचर लेखनमा मुद्दासँग जोडिएको पात्रको थोरै अनुभव वा कथा अनिवार्य हुन्छ ।
राष्ट्रिय मुद्दालाई कसरी स्थानीयकरण गर्ने भन्ने सम्बन्धमा लियोनार्द विटले सम्पादन गरेको पुस्तक ‘द कम्प्लिट बुक अफ् फिचर राइटिङ’ले भन्छ, ‘कुनै पनि मुद्दालाई स्थानीयकरण गर्ने उत्तम तरिका भनेकै त्यस मुद्दालाई एउटा जिउँदो–जाग्दो पात्रका माध्यमद्वारा अभिव्यक्त गर्नु हो । युद्ध वा लडाइँका बारेमा नलेख्नुस्, युद्ध मोर्चाको अग्र स्थानमा रहेको सिपाहीका बारेमा लेख्नुस् ।’
सामान्यतः भावनात्मक कथाहरूले भरिपूर्ण फिचर पाठकका लागि रुचिकर हुन्छ । यद्यपि फिचरमा फ्याक्ट (तथ्य) र फिक्सन (कथा)को सुन्दर संयोजन हुनुपर्छ । फिचर काल्पनिक कथा हुँदै होइन, वास्तविक घटनाक्रम वा वस्तुस्थितिलाई कथामा ढाल्नु नै फिचर लेखन हो । त्यसैले भनिरहेको कथालाई वास्तविक बनाउन तथ्य वा विवरणहरू (भनाइ, तथ्याङ्क, तस्बिर, ग्राफ आदि)को टेको दिँदै अगाडि बढ्नुपर्छ । तथ्यहरू थुपारेर मात्रै फिचर बन्दैन अर्थात् पाठकका लागि रुचिकर हुँदैन, त्यसैले तथ्य वा विवरणलाई पनि कथामा ढाल्ने खुबी फिचर लेखकमा हुनैपर्छ । कथामा ढाल्दा वा पात्र, परिवेश वा सन्दर्भको वर्णन गर्दा केही कल्पना र भावना मिसिन पुग्छ नै ।
फिचर कति शब्दको हुने भन्ने प्रकाशन गर्ने माध्यम हेरी हुन्छ । पाँच सय शब्ददेखि पाँच हजार शब्दसम्मको फिचर लेख्न सकिन्छ । यति हो कि फिचर पठनीय बन्नैपर्छ ।
उपरोक्त पुस्तक भन्छ, ‘थोरै शब्दले पनि गहिरो अर्थ दिन सक्छ, त्यसैले अधिक लेखनको जालमा नफस्नुस् । विचारपूर्वक चयन गरिएका साधारण विवरणले पनि धेरै कुरा व्यक्त गर्न सक्छन् । विशेष गरी भावनात्मक कथाहरूमा तथ्यहरूलाई यसरी पर्गेल्नुस् कि तथ्यहरू स्वयं भावना बनी प्रवाहित होउन् ।’
निबन्ध विधालाई आत्म–प्रकाशन भनेजस्तै फिचर विधा भन्नु नै वस्तु, व्यक्ति र घटना वा सन्दर्भकै प्रकाशन हो ।
समग्रमा भन्दा— समाज, राष्ट्र वा विश्वका ती मुद्दा वा घटनाक्रम जो चर्चा वा ओझेलमा छन्, तिनलाई उजागर गर्न फिचर लेखिन्छ, वा लेखिनुपर्छ ।
आजको इन्टरनेटको जमानामा व्यक्तिले छिनछिनमा छोटाछोटा सूचना पाउने थुप्रै माध्यम छन् । त्यसैले एउटा विस्तृत र विश्वसनीय सूचना दिने धर्म पत्रकारिताको हो, यो धर्म निभाउने माध्यम हो फिचर लेखन ।
यो समाज वा विश्वमा हामीले भन्नुपर्ने र खोज्नुपर्ने कथा थुप्रै छन् । अझ यसमाथि नयाँ–नयाँ घटनाक्रम भइरहेका छन्, नयाँ–नयाँ मुद्दा जन्मिरहेका छन् । बस्, तिनलाई कथाका रूपमा भन्ने ढंग आवश्यक छ ।
आज छिनछिनमा छोटाछोटा सूचना फैलने माध्यम थुप्रै भएकाले सर्वसाधारणले मिथ्या सूचना पनि पाइरहेका छन् । योसँगै सामाजिक न्यायका कतिपय मुद्दामा सर्वसाधारण स्पष्ट हुन सकिरहेका छैनन्, गम्भीर मुद्दालाई हल्का रूपमा लिएर विरोध र समर्थन गरिरहेका देखिन्छन् । यो अवस्थामा जनतालाई सुसूचित गर्ने सशक्त माध्यम भनेकै फिचर लेखन हो । अबको पत्रकारिताको भविष्य नै फिचर लेखनमा टिकेको छ । भिडियोमा होस्, अडियोमा होस् वा अक्षरमा— बुझिने र विश्वसनीय ढंगले कथा भन्नका लागि फिचर लेखन अनिवार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियाली नयाँ विदेशमन्त्री शिवानीको पहिलो विदेश भ्रमण साउदी अरेबिया
-
युद्धरत रुस र युक्रेनबीच सयौँ युद्धबन्दीहरु आदानप्रदान
-
फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरले पाए विद्युतीय स्कुटर
-
१२ बजे, १२ समाचार : फरक धारमा भीम रावल र वामदेवको नयाँ यात्रादेखि रविको रास्वपामा दलको नेताका लागि लुछाचुँडीसम्म
-
अखिल क्रान्तिकारीको उमेर हदले नयाँ तरंग ल्यायो : शर्मा
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध