मङ्गलबार, १६ पुस २०८१
ताजा लोकप्रिय

रावल र भुसाललाई विष्णु रिमालको चुनौती : ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !

आइतबार, १४ पुस २०८१, २३ : ५६
आइतबार, १४ पुस २०८१

काठमाडौँ । एमाले उपमहासचिव विष्णु रिमालले पार्टीले हटाएका पूर्वउपाध्यक्ष भीम रावल र पूर्व एमाले तथा हाल नेकपा एकीकृत समाजवादीको महासचिव रहेका घनश्याम भुसाललाई ह्याउ भए पार्टी गठन (आफ्नो घर निर्माण) गरेर देखाउन चुनौती दिएका छन् । 

आइतबार बिहान सामाजिक सञ्जालमा रावलप्रति कटाक्ष गर्दै रिमालले ३९ सालयता आफूहरू निरन्तर पार्टी सङ्गठन निर्माणमा लागिरहेको तर रावल र भुसाल सधैँ पार्टीभित्र विवादका लागि मौकाको खोजीमा रहेको आरोप लगाएका छन् ।

कवितात्मक शैलीमा रिमालले लेखेका छन्,‘अनवरत ‘किच–किच’ गरेर बसिरहे । प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ । उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बिचमै छोडे, अन्तै दौडिए ।’

उनले राचुनौती दिँदै भनेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन् बाल मतलब !’ 

रिमालले रावललक्षित टिप्पणी यसरी गरेका छन् 

उनी पो निसासिए रे !

उननचालीस सालदेखि यता 

हामी निरन्तर पार्टी सङ्गठन निर्माणमा लागि रह्यौँ,

पार्टी भित्र सधैँ उनी—

विवादका लागि मौकाको खोजीमा रहे,  

अनवरत ‘किच–किच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै 

पार्टीले उचाइ छोएको बेला, 

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ, 

उनले विभाजनको बाटो रोजे ।

बाटो मात्र रोजेनन्, 

त्यस समूहलाई पनि बिचमै छोडे– अन्तै दौडिए।

’आदर्श’का गफ र ’अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।

एक समय फेरि आयो, 

पार्टीमा बहस–विवाद सुरु भयो ।

’जोरीपारी’हरु– 

‘एमाले विनाको राजनीति’को खेतीमा लागे,

उनी ’ओली विनाको एमाले’ भन्दै उफ्रिए ।

विभाजनको लागि कसैलाई उचाले– 

एकता भन्दै आफू अर्कातिर अल्झिए ।

मौसम छ्याङ्ग भएपछि, 

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—

छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।

सानै सही—

असहमत ’अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे– 

‘बन साङ्ला’ले ’घर साङ्ला’लाई लखेटे झैँ

उल्टै हाकिम पल्टिए ।

अहिले फेरि उनलाई लागेछ क्यारे–

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थाले छन् फेरि–

‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ ।’

अरे यार !

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !

आफ्नो घरको मझेरीमा, आँगनमा, 

गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडा’हरू 

बज्न नदेऊ न !

ढोका खोलुन् कि– छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा, 

जे गरुन्–बाल मतलब !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप