आइतबारदेखि मौसम सुधार हुने

काठमाडौँ । शुक्रबार रातिदेखि बदली भएको मौसम भोलिदेखि सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले अहिले राति पनि देशभर बदली रहेको र पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको जानकारी दिए । उनले कालीकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको बताउँदै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको उल्लेख गरे । लुम्बिनीका केही क्षेत्रमा हल्का पानी परेको भन्दै हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको जानकारी दिए ।
महाशाखाले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जनाइएको छ । “हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ”, महाशाखाले उल्लेख गरेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेश र कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तर मौसम सुधारोन्मुख रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
-
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
-
पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन