१० बजे, १० समाचार : दीक्षान्तमा पदक पाउने छात्रा धेरै, ओलीलाई घनश्यामको सुझाव
आज मिति २०८१ साल पुस महिनाको १३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ–
- दीक्षान्त समारोह
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइएको बताए ।
- सहकारी ठगी प्रकरण
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा रवि लामिछानेले बिहीबार र शुक्रबार गरेर २६ भन्दाबढी प्रश्नको सामना गरे । बयानका क्रममा उनले गोर्खा मिडियाको आर्थिक हिसाबकिताबको पूर्ण जिम्मेवार जीवी राई रहेको भन्दै अधिकांश असजिला प्रश्न जीबीतिरै पन्छाएका बुझिएको छ ।
- श्याम बेनेगल
सन् १९७६ मा श्याम बेनेगलको फिल्म मन्थन रिलिज भएको थियो, जुन मूलतः सहकारी आन्दोलन र किसानको कथा थियो । फिल्मको प्रारम्भिक भागमा एउटा दृश्य छ जहाँ एक डाक्टर राव (गिरीश कर्नाड) गाउँमा घर-घर गएर दूध परीक्षण गर्छन्। ती मध्ये एक गाउँकी दलित महिला विन्दु (स्मिता पाटिल) को घर हो।
- कपालमा चाया
गर्मीयामको तुलनामा जाडोयाममा कपालमा चायाको समस्या बढी देखिन्छ । यसो हुनुमा मौसम सुख्खा हुनु मुख्य कारण रहेको चिकित्सक बताउँछन् । जाडोयाममा हावामा आर्द्रता कम हुने तथा हिटर, गिजर, एसी, आगो लगायत प्रयोग गर्दा शरीरमा सुख्खापन बढ्छ । जाडोयाममा शरीरको जुन भाग वातावरणबाट बढी प्रभावित हुन्छ ती भाग बढी सुख्खा हुने गर्दछ । यसमा कुहिनाभन्दा तलाको भाग र घाँटीभन्दा माथिको भाग– जस्तै अनुहार र कपाल पर्दछ ।
- अन्तर्वार्ता
एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाटै मुक्त गर्ने निर्णय गरेपछि पक्ष–विपक्षमा मत जाहेर भइरहेको छ । दुवै पक्षबाट आआफ्ना तर्कहरू आइरहेका छन् । एमालेको यस कदमले राजनीतिक वृत्तमा एकप्रकार तरङ्ग नै ल्याइदिएको छ । यो पार्टीले आफ्ना स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना जिम्मेवारीबाट मुक्त पनि गरेको छ । यीसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा रातोपाटीकर्मी रोहित दाहालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग कुराकानी गरेका छन् ।
- घनश्यामको सुझाव
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहौल शान्त हुने बताएका हुन् ।
- विप्लवको आपत्ति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
- मधेसवादी दल
जनता समाजवादी पार्टी नेपालले पहिचान पक्षधरसँग सहकार्य तथा एकताका लागि छलफल सुरु गरेको छ । त्यसका लागि सो पार्टीले पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तर पार्टी समन्वय समिति नै गठन गरेको छ ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी विभिन्न पार्टीसँग सहकार्यका लागि दौडधुपमा लागेका छन् । उनले तराई मधेसका विभिन्न दलका अध्यक्षहरूलाई भेटेर सहकार्य तथा मोर्चाबन्दीका लाग आग्रह गरिरहेका छन् ।
- घुमघाम
जाडो मौसम लागे सँगै तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ।
पोखराको सहरी भिडभाड र कोलाहलबाट अलिक टाढा छ बेगनास ताल । निकै भिडभाड हुने फेवाताल भन्दा केही किलोमिटर पर रहेको याे ताल पनि पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्दै आएको छ ।
तालको सहरको रूपमा परिचित पोखराको अस्तित्व यसको मुटुमा रहेको फेवातालसँग रहेको छ । पर्यटकीय राजधानीको रूपमा समेत परिचित रहेको पोखरा पुग्ने जो कोहीलाई पनि फेवाताल नपुगेमा आफ्नो भ्रमण अधुरो र अपुरो रहेको भान हुन्छ ।
- रातोपाटी शनिबार विशेष
शनिबारका लागि रातोपाटीका विशेष सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दामल फेलोसिप–२०२५ को घोषणा
-
कांग्रेसको ग्राउण्ड जिरो रिपोर्ट– भ्रष्टाचारको कारखाना बन्द गर्न सुझाव (भिडियोसहित)
-
अभिनेत्रीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु
-
पुस ११ सम्म काठमाडौँ महानगरपालिकाले सक्यो ४ अर्ब १ करोड ४ लाख बजेट
-
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय
-
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरपालिकाकाे आयो हालसम्मकै उच्च अंक