शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

नाटकीय पतनपछि न्युजिल्याण्डसँग ८ रनले हार्‍यो श्रीलंका

शनिबार, १३ पुस २०८१, २० : ३२
शनिबार, १३ पुस २०८१

वेलिङटन । श्रीलंकाको ब्याटिङ नाटकीय रुपमा पतन हुँदा न्युजिल्याण्डले पहिलो टी–२० खेलमा ८ रनको रोमाञ्चक जित हात पार्न सफल भएको छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रन मात्र जोड्न सक्यो ।

ओपनरद्वय पाथुम निसांका र कुशल मेन्डिसले शतकीय साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याए पनि अन्य ब्याटर नचल्दा टोलीले हारको सामना गर्न बाध्य बन्यो । १३.३ ओभरमा मेन्डिस ३६ बलमा ४६ रन बनाएर आउट हुँदा टोलीले १ सय २१ बनाइसकेको थियो । तर, त्यसपछि टोलीले एक पछि अर्को विकेट गुमाउँदै गयो ।

निसांकाले ६० बलमा ९० रन जोड्दै टोलीको आशा कायम राखे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । निसांकले आफ्नो पारीमा ७ चौका र ३ छक्का प्रहार गरे ।

श्रीलंकाको इनिङ्स ध्वस्त पार्न ज्याकब डफीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । म्याट हेनरी र जाकरी फोल्क्सले २–२ विकेट हात पारे ।

यसअघि, पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको थियो । ६५ रन जोड्दा पाँच विकेट गुमाइसकेको टोलीका लागि डेरल मिचेल माइकल ब्रेसवेलले अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए ।

मिचेलले ४२ बलमा ६२ रन जोडे । उनले ४ चौका र २ छक्का हिर्काए । त्यस्तै, ५९ रनको योगदान दिएका ब्रेसवेलले ३३ बलमा पारीमा ४ चौका र ४ छक्का प्रहार गरे ।

श्रीलंकाका लागि बिनुरा फर्नान्डो, महिष थिकशाना र वानिन्दु हशरंगाले २–२ विकेट लिए । मथिषा पथिरानाले एक विकेट हात पारे । 

जितसँगै ३ खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । दोस्रो खेल सोमबार खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप