आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही जोगिँदैन : लिङ्देन

शनिबार, १३ पुस २०८१, १९ : ३०
शनिबार, १३ पुस २०८१

सुनसरी । राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको जिकिर गर्दै अब दाप बाहिर आइसकेको यो हतियार नरोकिने र रोकिन नहुने बताएका हुन्।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् झन् संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य रहेकोमा जोड दिए।

 विरोध सभालाई सम्बोधन गर्दै सो पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको बताए । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए । डा.लोहनीले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई कुनै भ्रष्टाचार गरेको छैन, नेपाल बाहिर कुनै पैसा राखेको छैन भनेर नेपालको संसद्मा उभिएर नेपाली जनतालाई भन्ने नैतिक हिम्मत नभएको बताए ।

सुनसरीको इटहरीमा आयोजित विरोध सभामा बोल्दै उनले जनताले दिएको विश्वास माथि घात भएको उल्लेख गरे । पूर्व अर्थमन्त्री समेत रहेका लोहनीले  किसानले समयमै मल बीउ पाएको भए वा उद्योगीले उद्योग बिस्तार गर्ने वातावरण पाएको भए राप्रपाले विरोध गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे । जनताले अहिले विकल्पको खोजी गरेको उनको दाबी थियो ।

राप्रपाको विरोध सभा एउटा कार्यक्रम मात्रै नभएर अब भ्रष्टाचारीको दिनगन्ती सुरु भएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले उद्घोष गरेका छन् । राप्रपाले अब जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिनका, सहकारी पीडितहरूको बचत फिर्ता गराएरै छाड्ने बताए । 

विरोध सभामा सहभागी हुन पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू इटहरीमा भेला भएका छन् । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिनका लागि विरोधसभाको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

प्रदेश संरचना खारेजी, अधिकार सम्पन्न स्थानीय स्वायत्त शासन, राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र, सहकारी पीडितको रकम फिर्ता, भ्रष्टाचारीमाथि कारबाही, शिक्षा–स्वास्थ्य–रोजगारीमा समान पहुँच र भूमिहीन समस्या समाधान जस्ता विषयहरू राप्रपाले निरन्तर उठाउने महामन्त्रीद्वय राजेन्द्र गुरुङ, प्रह्लाद प्रसाद शाहले सम्बोधनका क्रममा जोड दिए ।

विरोध कार्यक्रमलाई निर्देशन समितिका सदस्य रामकुमार सुब्बा, कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, केन्द्रीय सदस्य इनु अधिकारी, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप