आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय
कला

‘भिजुअल मेलोडिज’ : ध्वनि अनि अमूर्तताबिचको सहवार्ता

शनिबार, १३ पुस २०८१, १९ : ३०
शनिबार, १३ पुस २०८१

‘भिजुअल मेलोडिज’ नामक सागर मानन्धरको एकल कला प्रदर्शनी भर्खरै (यही डिसेम्बर ३–१२) सम्पन्न भयो । ललितपुरको चाकुपटस्थित एमक्युब कलादीर्घामा भएको प्रदर्शनीमा उनका अमूर्त कला राखिएका थिए । 

अमूर्तता भनेको आकारविहीनता होइन, तापनि मान्छेले जाने–बुझेका आकार यहाँ देखिँदैन । यसर्थ के वा कस्तो आकार भनेर ठम्याउन नसकेपछि सजिलोका लागि अमूर्त कला भन्ने प्रचलन छ । 

बुझ्ने वा अर्थ लगाउनेभन्दा पनि महसुस गर्ने सिर्जना हो अमूर्त कला । मूलतः मूर्त वस्तु, अक्षर, संवाद वा दृश्यावलोकनलाई अनुभूत गर्दा पनि अमूर्तताकै भाव आउँछ । अर्थात् मानिसको अनुभूतिमा आउने भनेको देख्न वा छुन नसकिने सुख–दुःखकै भाव हो । खैर भावकले महसुस गर्ने गरी कुनै न कुनै किसिमको भाव अमूर्त कलाले व्यक्त गरिरहेको हुन्छ । महसुस प्रशस्तै मात्रामा हुन्छ तर बुझ्न अलि गाह्रै हुन्छ ।

यो कलाको शैली फ्रान्सको पेरिसमा सन् १९१० देखि प्रारम्भ भएको मानिन्छ । यसका प्रवर्तक वासिली क्यान्डिस्की (सन् १८६६–१९४४) हुन् ।

डा. जोन स्कुलले आफ्नो पुस्तक ‘कि टर्म इन् आर्ट, क्राफ्ट एन्ड डिजाइन’मा क्यान्डिस्कीले सन् १९१० मा जलरङबाट बनाएको चित्रबाट अमूर्त कलाको शुभारम्भ भएको मानेका छन् । क्यान्डिस्कीलाई अभिव्यञ्जनावादी कलाकारका रूपमा बढी चिनिने गरिन्छ । ‘एनकार्टा इनसाइक्लोपेडियाले भने पिट मोन्ड्रियन (सन् १८७२–१९४४) लाई अमूर्त कलाको अग्रदूत मानेको छ ।

एक दिन एउटा रङ, अर्को दिन अर्को रङ गर्दै उनले झन्डै नौ महिनासम्म यस्तै गर्दै रहे । तत्पश्चात् रङको मोटो तह (लेयर) तयार भयो । अनि यसैलाई विभिन्न आकारमा क्यानभासमा टाँस्दै गए । यसो हुँदा अनौठो गरी मिश्रित रङहरूको ढिक्का क्यानभासको सतहभन्दा निकै माथि भएर उठ्यो ।

विश्व कलाको इतिहासमा यथार्थ रूपलाई भाँच्ने क्रम क्यान्डिस्की अघिका कलाकार पल सेजान (सन् १८३९–१९०६) ले गरिसकेको भए पनि पिकासोले देखिने गरी सन् १९०७ मा विधिवत भाँचिसकेका थिए । यसपछि मात्र सन् १९१० ताका कलामा यो अमूर्तताको प्रवृत्ति उदाएको थियो । 

हुन त क्यान्डिस्कीले यसको शुभारम्भ गरे पनि मोन्ड्रियनले यसलाई पूर्ण अमूर्ततामा पुर्‍याए । यथार्थ रूपलाई बिस्तारै भत्काउँदै गर्दा विकसित भएको विरूपणको रूप नै कलाको अमूर्तता स्वरूप हो । अर्ध–अमूर्त, अमूर्त अनि पूर्ण अमूर्तका अनेकौँ स्वरूप यसले धारण गर्दै पचासको दशकमा आइपुग्दा नपुग्दै कलामा पुनः रेखा चलमलाउन थालेका थिए । 

  • यसपल्टका कला 

अमूर्त कलाको क्षेत्रमा सागरले एक खालको प्रभाव पारेकै छन् । यसपालि उनी दुई प्रकारका कला लिएर आएका देखिन्छन्— ध्वनिबाट तत्क्षण प्रभावित भएर बनेको आयातकार आकारका अमूर्त कला र महिनौँ रङका तहहरूलाई जम्मा गर्दै बनेका कलाहरू । 

sagaar manandhar

यसपल्ट उनले क्यानभासबाहिर पनि रङहरूसँग खेल्न खोजेका छन् । नटाँसिने गरी प्लास्टिकका सतहमा रङहरूका लाइनलाई बिच्छाउँदै गए । एक दिन एउटा रङ, अर्को दिन अर्को रङ गर्दै उनले झन्डै नौ महिनासम्म यस्तै गर्दै रहे । तत्पश्चात् रङको मोटो तह (लेयर) तयार भयो । अनि यसैलाई विभिन्न आकारमा क्यानभासमा टाँस्दै गए । यसो हुँदा अनौठो गरी मिश्रित रङहरूको ढिक्का क्यानभासको सतहभन्दा निकै माथि भएर उठ्यो । रङहरूले बनेका पचासौँ लेयर (तह) प्लास्टिकका रङ्गीचङ्गी पाइपजस्ता देखिन्छन् । रङहरूकै चलखेल देखिँदा उनका यी चित्र शान्त र स्निग्ध लाग्छन् । अझ भनौँ केही आकार लिन खोजेजस्तो अमूर्तताको भान हुन्छ । डम्म भएका सहरका भग्नावेष जस्तो, पातलो पारदर्शी आवरणले छोपिँदै उग्रँदै गरेका बिल्डिङका ब्लकहरू जस्तो भएर यी चित्र देखिँदा रमाइलो अनुभूति हुन्छ । 

यसपल्टका उनका चित्रमा पहिलाभन्दा थोरै अलग्ग पारदर्शी अनि सपाटपनाको बलियो कलागत संयोजन बन्न गएको देखिन्छ । अलग्ग प्रकारको टेक्चर प्रयोग गरी एउटा निश्चित थिम बोकेर अगाडि बढ्दा अमूर्त कलाको अर्को पक्षलाई उघारेको जस्तो पनि देखिन्छ । ध्वनिको हरेक क्षणको प्रभाव र उनका आफ्नै अनुभूतिलाई समात्न खोज्दा दिन, महिना र साल नै उल्लेख गर्ने नौलो प्रक्रियामा पनि उनी आफ्ना कलामार्फत प्रवेश गरेका छन् । एक दिनअगाडि गरेको उनको काम अनि भोलिपल्ट वा पर्सिपल्ट गरेको कामको निरन्तरता वा फरकपनालाई विस्तारमा देखाउन पनि अग्रसर भएको देखियो । 

दिनदिनै ध्वनिले कसरी उनलाई प्रभाव पार्दै गए, अनि यसैलाई व्यक्त गर्न उनले कुन रङलाई कसरी तुलिकाघातको गतिमा समाहित गर्दै अगाडि बढे ? यी सब कुरालाई उनका चित्रमा सहजै पढ्न पनि सकिन्छ । यो एउटा अमूर्त कला विधाको नवीन पक्ष पनि हो । महिनौँ लगाएर अलग्ग रूपमा रङहरूलाई थुपार्दै जाने धैर्यता हुनु र त्यसको सौन्दर्यतालाई अवलोकन गर्दै जानुले पनि आनन्दित तुल्याउने किसिमका कला सिर्जना भएका छन् । यो आफैँमा सर्वथा नौलोपन पनि हो । 

IMG_20241204_125816

अमूर्त ध्वनिको दृश्यात्मक रूप नै मूलतः उनका क्यानभासमा ओर्लन खोजेका हुन् । कुनै बिस्तारै तल–तल हुँदै झर्ने गर्छन्, कुनै छिटोछिटो गरी क्यानभासमा ओर्लिएका देखिन्छन् । रङ असरल्ल बग्दा क्यानभास समतल हुन खोज्दाखोज्दै आयामिक बन्न पुग्छ । झट्ट हेर्दा चित्रपट समतल र सपाट देखिन्छ । तथापि यसैभित्र गहिराइ पनि समाहित भएको हुन्छ । तत्क्षण अलिकति गाढा रङहरू धरातलमा जम्मा हुन पुगेपछि भावकले अनन्त गहिराइको अनुभूत गर्न थालेका देखिन्छन् । तेस्रो आयामिक प्रभावलाई यसरी उनी उठाउने गर्छन् । रङका अनेकौँ तह (लेयर) निर्माण हुन्छ । अनि रङहरू अलग्गिएर खण्ड–खण्ड भएर देखापर्ने गर्छ । अनि अचानक स्थिर भएका प्रत्येक अवयव चलमलाएको जस्तो देखिन्छ ।

अनुकूलका टेक्चर निकाल्न उनले क्यानभासमा कहिले रङहरू छर्कन्छन्, कहिले बगाउँछन्, कहिले क्यानभासको सेतोपनलाई खुलस्त भएर उदाङ्गो पार्छन्, यसरी रङहरूसँग उठबस गरिरहँदा उनको क्यानभासमा मनोरम दृश्य देखिने गर्छ ।

क्युबिक फर्महरू कतै वर्षात्को झरीजस्ता देखिन्छन्, कतै मन्दिरको मूलद्वार बन्दै दृश्यचित्रजस्ता पनि देखिन्छन्, कतै सिटीस्केपको अमूर्त रूप देखिन्छन् । चिसो र तातो रङको अलग–अलग चित्र बन्दै गर्दा कतै न्यानोको अनुभव र कतै शीतलताको अनुभूति हुन्छ । सबैथोक देखिने उनका क्यानभास यस कारण पनि अलौकिक लाग्छन् । 

रङ र रूपहरूबिचको हार्माेनीले गर्दा चित्र स्वयंमा कोमल देखिनु पनि उनको अलग्गै विशेषता हो । उनका चित्रमा सन्तुलित रङ विविध क्युबिक फर्ममा बसिदिँदा एक खालको चमक दृश्यावलोकन हुन्छ । रङहरुको तहमाथि तह थपिँदा अँध्यारो र उज्यालो प्रकाशले जन्माएको विम्ब एउटा अनौठो स्वादमा देखिन्छ । यो उनको अर्को कलागत विशेषता हो । 

अनुकूलका टेक्चर निकाल्न उनले क्यानभासमा कहिले रङहरू छर्कन्छन्, कहिले बगाउँछन्, कहिले क्यानभासको सेतोपनलाई खुलस्त भएर उदाङ्गो पार्छन्, यसरी रङहरूसँग उठबस गरिरहँदा उनको क्यानभासमा मनोरम दृश्य देखिने गर्छ । यही लालित्य नै उनको कलाको मुटु हो । उनका चित्रमा रङहरू उफ्रे–कुदेका हुन्छन् । कतै शान्त भएर बगेका त कतै स्थिर भएर जमेकाजस्ता देखिन्छन् । रङ त रङ नै हो बगिरहन्छ, बगाइरहन सकिन्छ । मूल कुरा त यी बग्दै गरेको रङ आफैँ अर्मूतनको खेमामा जाने गर्छन् । यसरी नै ध्वनि र रङ छताछुल्ल पोखिँदा उनका चित्र सुन्दर देखिन पुगेका छन् । हामी यसलाई अवलोकन गर्दा आनन्दको अनुभूत गर्दछौँ ।

ध्वनिमाथि मान्छेले गर्ने अनुभूति अमूर्त नै हुने गर्छन् । ध्वनिले मान्छेलाई पार्ने प्रभाव अमूर्त नै हुन्छ । नितान्त अमूर्ततामा जम्मा हुन पुगेका सागरका भावना र अनुभव क्यानभासमा झरेझैँ लाग्छ । 

sagar (2)

उनका यी चित्रमा रङहरु यताउति कुदेका देखिएका छन् । रङहरू यसरी दगुर्दा सोझो बाटोमा हुँदैनन् । अनि दृश्यावलोकन हुँदा अमूर्ततामा देखिन्छ । अमूर्त दृश्यात्मक रूपलाई क्यानभासमा ओर्लंदा यसको प्रभाव अमूर्त रूपमा सोझै भावकको मन–मस्तिष्कमा पुग्छ, अनि आनन्दको अनुभूत हुन सक्छ । 

कसिला तुलिकाघातहरूबाट उनले अझ धेरै कुरा सिक्दै गएका छन् । उनको अनुभवमा बाटोमा बसेर सुन्दा आवाजहरु कर्कस र स्वादिलो दुवै हुने गर्दारहेछन् । उनी भन्ने गर्छन्—  ध्वनि छरिएको यात्राद्वारा अझ पनि म सिक्दै र अनुभव गर्दै जाने क्रममै छु । म मेरा रङहरूलाई खुला रूपमा बोल्न स्वतन्त्रता दिन्छु । म चाहन्छु मेरा रङहरू आफू खुसीमा बोलुन् । रङहरूको पोखरीभित्र डुबुल्की मार्दै म आफ्नो पहिचानको खोजीमा लागिरहेको हुन्छु । खोजीमा लागिरहँदा यसपल्ट रङसँग ध्वनिलाई गाँसेर अगाडि बढ्न खोज्दै छु । मेरा सिकाइहरु मेरा क्यानभासमा हरेक दिनजसो उम्रदै गएका छन् । यी यात्राका पल नै स्वयं कला बनी यहाँ प्रदर्शित भएका हुन् ।

रङ र ध्वनिलाई गाँस्ने उनको कलागत प्रक्रिया अनौठो जस्तो त लाग्छ । तथापि यो शास्वत सत्य नै हो । ध्वनिकै प्रकृतिझैँ मिल्दो रूपमा उनका चित्र पनि अमूर्ततामै देखिन्छन् । भावक यसलाई अवलोकन गरेर रोमाञ्चित र आनन्दविभोर हुन्छन् । अनि कुनै बेला त चित्र हेर्दाहेर्दै ध्यानमग्न भएका जस्ता पनि हुन्छन् । यो एउटा संयोग मात्र पनि होइन, नैसर्गिक शाश्वत यथार्थ पनि हो । 

  • को हुन् सागर ?

सन् १९८५ मा जन्मेका सागर अमूर्त कलामा अग्रपंक्तिका युवा कलाकारका रूपमा स्थापित छन् । उनी लामो समयदेखि केयुको कला सङ्कायमा प्राध्यापन गर्छन् । बनारसबाट कलामा स्नातकोत्तर गरेर नेपाल फर्केपछि उनले यही अमूर्त कलालाई रोजे । धेरै कुरा उनले यसैमा गरे, गर्दै रहे । तर उनले यो शैली र प्रवृत्तिलाई कहिले छोडनन् । यसैमा आजको दिनसम्म निरन्तरता दिइरहेका छन् ।

IMG_20241204_130014 (1)

नेपालमा आधुनिक कलाका शैलीगत प्रवृत्ति सन् साठीको दशकमा देखापरेको हो । लैनसिंह बाङदेलदेखि उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, प्रमिला गिरी, कृष्ण मानन्धर, विजय थापा, के के कर्माचार्य, शंकरराज सिंह सुवाल, गोविन्द डंगोल, किरण मानन्धर, पुरन खड्कासम्मले अमूर्त कलामा आफ्नो अभिव्यक्ति पोख्थे । यीमध्ये कति कलाकार दिवंगत भइसके, बाँकिरहेका कलाकार अहिले पनि अमूर्त कला नै गरिरहेका देखिन्छन् । 

९० को दशकपछि नेपाली समसामयिक कलामा नौलो लहर चल्यो । युवा कलाकारले अमूर्त कला पोत्न छाडे । कलाको स्वरूप अलग्गै भएर नितान्त नौलो रूप धारण गर्‍यो । जसलाई हामी कलामा उत्तरआधुनिक प्रवृत्ति भन्ने गर्छौं । यही प्रवृत्ति झ्याङ्गिदै जाँदा कलाले नयाँ कोर्समा प्रवेश गर्‍यो । हिजो–आज देखिने सबैजसो युवा आधुनिक कलाकार रेखाहरूलाई चलायमान बनाउँदै अभिव्यञ्जनाका साथ अवधारणा पोख्न थालेका देखिन्छन् तर सागर मात्रै एक यस्ता कलाकार देखापरे, जसले अमूर्त कलालाई निरन्तर समाइरहे । यसैमा किसिम–किसिमका प्रयोग गर्दै रहे । नयाँ ढंगका अमूर्त कला फरक तरिकाले आउँदा उनका चित्रलाई मन पराउनेको सङ्ख्या पनि अझ बढेर आएको पाइयो । उनले अमूर्त कलाको पुनव्र्याख्याका साथ अब्बल कला सिर्जना गर्न थाले, जुन आजको दिनसम्म कायमै छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप