आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

३ बुँदे कार्यान्वयन नगरी सरकारले निहुँ खोजे हामी त्यसको प्रतिवाद गर्छौँ : प्रकाण्ड

शनिबार, १३ पुस २०८१, १९ : ०४
शनिबार, १३ पुस २०८१

सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले केपी ओली नेतृत्वको सरकारले आफूहरूसँग गरेको तीन बुँदे कार्यान्वयनमा उदासीनता देखाइरहेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तीन बुँदे कार्यान्वयन अक्षरस पालना गर्नुपर्ने बताएका हुन् । 

तर लामो समय बितिसक्दा पनि सरकार तथा केपी ओलीले इमान्दारिता नदेखाएको बरु सरकार षड्यन्त्रमा जान थालेको विश्वकर्माको भनाइ छ । ‘सरकारले मुद्दा फिर्ताबारे कानुन ल्याउनुको साटो पहिलेको सरकारले प्रस्ताव गरिएको कानुन फिर्ता लियो,’ उनले भने, ‘बाँकी मुद्दा फिर्ता लिन नसकिने भनेर भनियो ।’ 

यो सरकारको धारणा हो वा मन्त्रीको भन्दै उनले प्रश्न समेत गरे । उनले अगाडि थपे, ‘कि जेलमा हाल्न खोजेको हो ? मुद्दा फिर्ता नलिने भए पनि प्रस्ट भन्नुपर्‍यो । नेकपा हाजिर हुन अदालत जाँदैन त्यसमा क्लियर हुनुस् ।’ 

सरकार निहुँ खोज्न थाले नेकपाले त्यसको राम्रोसँग प्रतिवाद गर्ने पनि उनले बताए । विश्वकर्माले नेकपासँगको सहमति सिके रावतको जस्तो नभएको तर अहिले फासिवादको अभ्यास गर्न थालेको जस्तो देखिएको धारणा राखे । ‘हामीले बढीमा बढीमा के गर्नु पर्ला संघर्ष गर्नु पर्ने त हो नि,’ उनले भने, ‘राज्य त्यसरी आउन खोजेको हो भने सशस्त्र ढङ्गले प्रस्तुत हुन्छौँ ।’

साथै राष्ट्रको स्वाधीनतामाथि आक्रमण भइरहेको र यसलाई जनताको बलबाट रोक्नुपर्ने प्रकाण्डले बताए । यदि त्यसो नगरे देशको अस्तित्व नै नरहने सम्भावना बढेको उनको भनाइ थियो । साथै आगामी चुनावमा नेकपा चुनावमा भाग लिने बताउँदै उनले नेपालमा जनक्रान्ति आवश्यक रहेको बताए ।

एकताबारे माओवादीहरू एक ठाउँमा आउनुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए । ‘त्यो विषयमा हामीले छलफल गरौँ भनिरहेका छौँ । हामीले भनिसक्यौँ कि त्यो आवश्यकता छ है,’उनले अगाडि थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप