आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

संघर्षका लागि अन्य दलहरूको धारणा बुझ्दै जसपा नेपाल

शनिबार, १३ पुस २०८१, १७ : १४
शनिबार, १३ पुस २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पहिचान पक्षधरसँग सहकार्य तथा एकताका लागि छलफल सुरु गरेको छ । त्यसका लागि सो पार्टीले पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तर पार्टी समन्वय समिति नै गठन गरेको छ ।

सो समितिले विभिन्न दलका नेताहरूसँगको छलफल अगाडि बढाएको छ ।  सोही सिलसिलामा पार्टीका महासचिव रामकुमार शर्माले राष्ट्रिय मुक्ति पार्टी नेपाका अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरेका छन् ।

देशले प्राप्त गरेको परिवर्तन पनि गुम्ने अवस्था आएको र त्यसको रक्षा गर्न आवश्यक रहेको भन्दै पहिचान पक्षधर दलहरूको बिचमा सहकार्यको आवश्यकता रहेको महासचिव शर्माले बताए । उनले भने, ‘देशमा गणतन्त्र आइरहेको छ तर आफूलाई ठुला दल भन्नेहरूले बहुदललाई मास्दै दुई दलको देश बनाउनतिर लागेको छ र यो देशका लागि चिन्ताको विषय बनेको कारण उपलब्ध रक्षाको लागि सङ्घर्षको विकल्प छैन, त्यस विषयमा दलहरूको बिचमा कुराकानी भइरहेको छ ।’

‘अहिले दलका नेताहरूसँग भेटेर कुराकानी मात्र भइरहेको छ, नेताहरूमा देशको वर्तमान अवस्थाको बारेमा कस्तो सोच रहेको छ, आगामी दिनमा कसरी अगाडि बढ्ने सोच बनाइरहेका छन्, त्यसको बारेमा कुराकानी भइरहेको छ, सबैसँग कुराकानी सकेपछि निष्कर्षमा पुग्न पुनः छलफल हुन्छ’ उनले भने ।

सङ्घर्षमा जान अहिले आफूहरूलाई हतार नभएको बताउँदै त्यसको तयारीमा जुटिरहेको उनले बताए । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो पनि देशको अवस्थाप्रति चिन्तित रहेको र सङ्घर्षमा जानका लागि तयारीमा रहेको महासचिव शर्माले बताए ।

संविधान संशोधनका लागि विगतदेखि मधेस केन्द्रित दलहरूले कुरा उठाउँदै आएको तर राज्य त्यसमा गम्भीर नदेखिएकाले त्यसका लागि आन्दोलनमै जानुपर्ने पक्षमा अध्यक्ष महतो छन् । भेटमा महतोले देश पुरै असफलतातर्फ गइरहेको र देशलाई साधारण खर्च जुटाउन पनि समस्या भइरहेको बताउँदै अन्तर्राष्ट्रिय सहयोग पनि रोकिएको बताएका थिए । यस्तो अवस्थामा देशलाई बचाउनका लागि सहकार्य र सङ्घर्षको आवश्यकता रहेको धारणा महतोले राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप