शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

मधेसमा मोर्चा बनाउन ह्रदयश त्रिपाठीको दौडधुप

शनिबार, १३ पुस २०८१, १५ : ४७
शनिबार, १३ पुस २०८१

काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी विभिन्न पार्टीसँग सहकार्यका लागि दौडधुपमा लागेका छन् । उनले तराई मधेसका विभिन्न दलका अध्यक्षहरूलाई भेटेर सहकार्य तथा मोर्चाबन्दीका लाग आग्रह गरिरहेका छन् ।

अध्यक्ष त्रिपाठीले हिजो मात्र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टी नेपालका अध्यक्ष डा.सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग भेटघाट गरेका छन् । 

उनीहरूलाई भेटेर त्रिपाठीले सहकार्य तथा मोर्चाका लागि आग्रह गरेका छन् । भेटमा उनले देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भइरहेको भन्दै दलहरूका बिचमा सहकार्य आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

देशको बिग्रिँदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा रहेको र यो गति निरन्तर ह्रासोन्मुख अवस्थामा रहेको बताउँदै उनले यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरू एक ठाउँमा आउनुको विकल्प नरहेको धारणा राखेका थिए । 

त्रिपाठीले जो जोसँग भेटे सबै जना सहकार्यका लागि तयार रहेको जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले बताए । उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोसँग कुराकानी गर्न बाँकी रहेको समेत बताए ।

उनीहरूसँग पनि कुराकानी गर्ने तयारी भइरहेको बताउँदै उनले भोली पर्सिसम्म कुराकानी सकाएर तराई मधेसमा रहेका सबै दलका अध्यक्षको एउटा बैठक राख्ने तयारी भइरहेको समेत बताए । उक्त बैठकमा सहकार्य वा मोर्चाको मोडालिटीमा कुराकानी हुने उनले बताए । ‘दलहरूको बिचमा सहकार्यको आवश्यक छ तर त्यो सहकार्य कसरी हुन्छ भने कुरामा दलहरूको बिचमा संयुक्त बैठक बस्न आवश्यक छ र त्यसको तयारी भइरहेको छ’ यादवले भने । 

अध्यक्ष त्रिपाठीले दलहरूसँग सहकार्यका लागि वार्ता गर्न आफ्नो पार्टीको तर्फबाट डा. यादवको संयोजकत्वमा वार्ता टोली  गठन गरिसकेका छन् । सो वार्ता टोलीको सदस्यमा पार्टी महासचिव एवं पूर्वमन्त्री ईश्वरदयाल मिश्र तथा उपाध्यक्ष मोहम्मद साबिर हुसेन रहेका छन् ।

अध्यक्ष त्रिपाठीले यसअघि पनि लोसपा लगायतका दलसँग सहकार्यका लागि वार्ता अगाडि बढाएका थिए । त्यसमा वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपा र जनमत पार्टी बिच मोर्चा बनेको थियो । अरू पार्टी त्यसमा सहभागी थिएनन् । यसपटक भने अध्यक्ष त्रिपाठी स्वयं दलका अध्यक्षहरूलाई भेटेर सहकार्यका लागि आग्रह गरिरहेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप