आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

पुस १५ गते राजधानीमा च्याउ महोत्सव हुने

शनिबार, १३ पुस २०८१, १५ : २८
शनिबार, १३ पुस २०८१

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा पुस १५ गते च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ । राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गर्ने भएको हो ।

कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा हुने मेलामा ४० वटा स्टल रहने बताइएको छ । शनिबार संघले एक पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी दिएको छ । संघका अनुसार मेला दिन बिहान कालिमाटीबाट भृकुटीमण्डपसम्म मोटरसाइकल र्यालीको आयोजना समेत हुनेछ ।

साथै मेलामा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा विशेष सांस्कृतिका कार्यक्रम समेत हुने आयोजक पक्षले जनाएको छ । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तोष कार्कीले च्याउमा नेपाल अब छिटै नै आत्मनिर्भर बन्ने बताए । उनले विदेशबाट आयात हुने गोलो च्याउ प्रतिस्थापन गर्न सफल भएको बताए । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट गोलो च्याउ आयात भएको भए पनि २०८०–०८१ मा ८२ हजार ३१० किलो मात्रै आयात भएको उनको भनाई थियो। 

उनले भने, ‘गोलो च्याउको हकमा हामीले २०६१ सालमा दर्ता भएको हो । गोलो च्याउ हाम्रा दुई वटा छिमेकी राष्ट्रहरूबाट अत्यधिक रूपमा आउने गरेको थियो । यसको हामीले धेरै विरोध गरेका थियौँ । ल्याउनलाई निरुत्साहित गर्ने अभियान चलायौँ । दोस्रो उत्पादन गरेर प्रतिस्थापन गर्नुपर्छ भनेर अभियान चलायौँ । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट आएको छ । २०८०–०८१ को डाटामा ८२ हजार ३१० छ । यो ४ गुणा जति घटेको छ । अहिले मंसिरसम्मको हेर्नुभयो भने १ हजार २८० किलो मात्रै आयात छ । गोलो च्याउ धेरै उत्पादन गरेर बाहिरबाट आयात हुने च्याउलाई प्रतिस्थापन गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप