आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

नेत्र एटमका तीन कविता

शनिबार, १३ पुस २०८१, १६ : ३०
शनिबार, १३ पुस २०८१

१) नबिथोल मलाई ! 

आफ्नै हृदयबाट उडेर 
परेलीको हाँगामा बसेको चरो हुँ म,
पल–पल
नबिथोल मलाई !

गुम्फित धुवाँको निलो कोलाहलले
जराहरू खोस्रिरहेका बेला
सिसाको भित्ताजस्तो
जता उडे पनि पखेटा ठोक्किरहने
बरफिलो वायुको यो कठोरताले
किन रगतपच्छे बनाउँछ मेरो फैलिरहेको पातलाई !
पहाडको ओठबाट उदाएको मट्याइलो घाम
किन आङभरि चिलाइरहन्छ !
गुलाफको चिहानबाट उम्रिरहेका आँखाहरू
किन पछ्याइरहन्छन् 
धापमा गाडिएका यी पाइलालाई !
धाँजा फाटेको आवाज अँगालेर आफ्नै जमिनमा
किन लखेटिरहेछ यसरी
मुकताको सम्भावित चीत्कारले ! 

ए ! नङमा अलपिन घोचिएका राता नैतिकताहरू...
ओ ! यात्रामा करेन्टको तारझैँ अल्झिरहेका सुकेनास दृश्यहरू...
पल–पल
नबिथोल मलाई !
आफ्नै रगतबाट निख्रेर
आँधीको हाँगामा बसेको चरो हुँ म !

००

२) म अवश्य उठ्नेछु !

सदियौँ क्लेशको कठोर चट्टानले थिचिएको
पहेँलो दुबो हुँ म
पल्टाएर अवरोधका समस्त पाषाण
म कलकलाएर आँकुरा हरियो बढ्नेछु,
माटोबाट इन्द्रेनी प्वाँख उमार्दै
इतिहासले झारेका 
असङ्ख्य आँखा टिपेर आफ्नै जमिनको पेरुङ्गोमा
म अधीनस्थ आवाज
मौनताको झन्डा फहराएर जुलुसमा
चट्याङको नारा गुन्जनेछु
हो, माया एन्जेल्यो !
म धरतीबाट अवश्य उठ्नेछु !
क्तष्िि क्ष् च्ष्कभ १
क्तष्िि क्ष् च्ष्कभ १

फाँसीको सुर्केनीले जसरी
कसिरहेछ मल्टिनेसनल कम्पनीले
विश्वासको कमलो घाँटी !
मेरो विरासतप्रति सहानुभूतिको रङ्गीन आँसु झार्दै
डिस्कोथेकमा नृत्यमग्न
गोहीका तिखा दाँतजस्तो ग्लोबल सुपर मार्केटले
फोडिरहेछ मेरो आवश्यकताको हड्डी
खनेर मेरै मस्तिष्कको अँध्यारो सुरुङ
प्रदूषित हावामा सलसलाइरहने
जुकाजस्तो सिमेन्ट कम्पनीको मालिकले
चुसिरहेछ मेरो आदिम जङ्गलको रगत
आफैँभित्र भकभकी उम्लिरहेको
पीडाको लाभाजस्तो
जेम्स वाटको केटलीको बिर्को उचालेर 
गुम्सिएको विस्फोटक बाफ म
विभेदबाट बाहिर निस्कने ज्वालामुखी बाटो 
आफैँ बिउँझेर खोज्नेछु
हो, माया एन्जेल्यो !
म आधारबाट अवश्य पनि उठ्नेछु !
'Still I Rise !

'Still I Rise !

('Still I Rise ! अमेरिकी कवि माया एन्जेल्यो (सन् १९२८—२०१४) को प्रसिद्ध कविता हो ।)

००

३) जेरुसेलमको नुन र गाजाको शालिग्राम

धुवाँको आँसुले भिजेर
गाजामा थुप्रिएको त्यो कालो खरानी
हामी नै हौँ !
बम र बङ्करले ध्वस्त भइसकेको 
धरतीमुनिको नुनिलो धुलोमा पुरिएर
बर्बराइरहेको बच्चाको अन्धकारमय सृष्टि
हामी नै हौँ !
आकाशमा गिद्धझैँ नाचिरहेका विमानका सहस्र नजर
एजियन समुद्र घेरिरहेका पनडुब्बीको प्रश्वासले
घना बादल छचल्किरहेको शालीन सुनामी
सब सब हामी नै हौँ !

मृतसागरको नुनपानी माथि तैरिरहेको लासझैँ जेरुसेलम
अहंको फुस्रो नकाब ओढेर
निस्केको छ मानवताका तमाम सीमा तोड्दै
आइरन डोमबाट आइरहेको छ वासिङ्टनको चर्को दुर्गन्ध
ग्यास च्याम्बर फैलाएर प्यालेस्टाइनभरि
गाजालाई बनाइरहेछ फोसिलको निक्खुर शालिग्राम
पुजेर त्यही आदिम कठोर मांसपिण्ड 
अनि ‘ममी’ बनाएर आमाको काखमा दुध चुसिरहेका बालबालिकाको
निस्र्वस्त्र लाम लागेको छ 
पिरामिड उम्रेको अरबको चिसो मरुभूमि !

स्वेज नहरबाट सलसलाउँदै
आवतजावत गरिहेछन् मालवाहक जहाजहरू
माउन्ट सिनाईमाथि उडिरहेछन् लालसागरतिर 
शरणार्थीजस्ता सेता सिगल चराका बथानहरू
कतै केही नभएझैँ चलिरहेछ वालस्ट्रिटको सेयरबजार 
ड्रोनहरू बोकिरहेछन् ‘किभ’ हान्ने नयाँ नयाँ बम
बेलायत, जर्मनी, फ्रान्स, पोल्यान्डहरू थपिरहेछन् युक्रेनमा उत्तेजनाको आगो 
तेलका कुवाबाट बगिरहेछ कालो सुन भत्केका पाइपलाइनमा 
डलर, युरो, युआन र रुबल कमाउमा मग्न छन् विश्व बजारका पुँजीपतिहरू
नश्लीय प्रतिशोधका क्रूरताहरू फलेका छन् ओलिभका ताता रुखहरूमा 
तर गाजाबाट गुम भएको छ एक चिम्टी मानवीय विश्वास पनि
भग्न अस्पतालको बेडमा निर्वासित जिन्दगीजस्तै 
संयुक्त राष्ट्र सङ्घको निरीह घोषणापत्रभित्र कैद भएर 
दबिरहेछ कतै 
मौन शालिग्रामको अधीनस्थ चीत्कार !
र इजरायलको ‘मोसाद’ बुटमुनि थिचिएर
निसास्सिइरहेछ सारा संसार
बरफ जसरी जमेको जहन्नुमको यथार्थ ! 

(यी कविता नेत्र एटमका उपासना कविता ‘प्रिय मौनता’को दोस्रो संस्करण (२०८१) बाट साभार गरिएका हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र एटम
नेत्र एटम
लेखकबाट थप