आइतबार, १८ फागुन २०८१
ताजा लोकप्रिय
विचार

नेपालको विकासमा प्रवासीको रूपान्तरणकारी भूमिका

शनिबार, १३ पुस २०८१, १५ : ००
शनिबार, १३ पुस २०८१

स्वास्थ्य मन्त्रालयका केही मित्रले ‘नेपाल हेल्थ कनक्लेभ’मा बोलिदिन अनुरोध गर्नुभयो । जुन कन्क्लेभ हिजो (पुस १२ मा) सम्पन्न भयो । कन्क्लेभको विषय थियो— प्रवासीको रूपान्तरणकारी भूमिका ।

कन्क्लेभमा बोल्ने विषय (प्रवासीको रूपान्तरणकारी भूमिका) तयार गर्दा जन्मेको आलेख हो यो ।  

नेपालको विकास र उन्नतिका लागि विभिन्न क्षेत्रमा नयाँ विचार र उन्नत कार्यप्रणाली आवश्यक छ । यो सन्दर्भमा, नेपाली प्रवासी समुदायले महत्त्वपूर्ण र व्यापक भूमिका निर्वाह गर्न सक्छ । प्रवासीहरूको ज्ञान, सीप र स्रोतको व्यवस्थित सदुपयोग गर्न सके नेपाललाई उन्नतिको नयाँ उचाइमा पुर्‍याउने एक आधार हुन सक्छ । 

हामीकहाँ मुख्यतः दुई राजनीतिक परिवर्तन भए— २०४७ सालमा लोकतन्त्र र २०६३ मा गणतन्त्र । पछिल्लो परिवर्तनले देशमा समानता, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गर्न सफल भयो । कतिलाई यी सम्भव छैन जस्तो पनि लागेको थियो, तर हामी नेपालीको चाहना, बलिदान र मिहिनेतले यो सम्भव भयो । राजनीतिक परिवर्तनले सामाजिक र आर्थिक परिवर्तनका लागि बाटो बनायो, अब हामी सबै एक भएर विकासको यात्रा तताउन जरुरी छ । 

भनिन्छ, सपना गरिएको परिवर्तन हासिल गर्न तीन पिँढी लाग्छ । हरेक पिँढी करिब २५ वर्षको हुन्छ, अर्थात् आमूल परिवर्तनका लागि हामीलाई करिब ७५ वर्ष लाग्छ । त्यो भन्दाभन्दै हामीले विकासका फल महसुस गर्न ७५ वर्ष कुर्नुपर्छ भन्ने पनि होइन । स्वास्थ्य क्षेत्रमा भएका विकासका केही उदाहरण आफैँ बोल्छन् ।

राष्ट्रिय जनसांख्यिकीय स्वास्थ्य सर्वेक्षण अनुसार मातृ मृत्युदर २०५२ तिर ५३९ हुँदा २०७८ मा १५१ प्रतिएक लाख जीवित जन्ममा पुगेको छ । बाल मृत्युदर २०५२ मा ११८ थियो भने २०७९ मा त्यो २६ प्रतिहजार जीवित जन्ममा पुगेको छ । देशमा भएको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनले नै यसो हुन सम्भव भएको हो ।

कतिलाई लाग्न सक्छ, यो समय अनुकूल भएका परिवर्तन हुन्, जुन व्यवस्था भए पनि हुने थियो भन्ने तर फरक कहाँ छ भने पहिला यस्ता विकासका लाभांश केही सुकिलामुकिला वर्गले मात्र लिन्थे, आजकाल तराई, पहाड वा हिमालका जुनसुकै समुदाय वा वर्गका सबैले लिन पाएका छन् । 

म आफैँले कुनै समय एकजना मन्त्रीज्यूको अनुरोधमा स्वास्थ्यका नीति तथा कार्यक्रममा अनौपचारिक सल्लाह दिने गर्थें । उहाँका प्राथमिकतामध्ये एक थियो, कसरी बिमालाई व्यवस्थापन गर्ने । त्यो विषयमा मेरो दक्षता सीमित भएकाले हामीले एउटा विज्ञ समूह बनायौँ र १–२ पेज सुझाव दिएका थियौँ । 

माथिका सूचकहरूले स्वास्थ्य क्षेत्रको विकास मात्र इंगित गर्दैन, अन्य क्षेत्र (जस्तै : शिक्षा, भौतिक पूर्वाधार, आर्थिक आदि)को पनि गर्छ र यसको श्रेय विभिन्न पेसाकर्मी, आमजनता र स्थानीय र संघीय सरकार र सरोकारवालामा जान्छ । 

देश विकासमा प्रवासीको भूमिकामाथि चर्चा गर्नुअघि प्रवासीका प्रकारबारे छलफल गरौँ । मेरो अनुभवमा प्रवासीहरू तीन प्रकारका छन् । 

१) पर्यटकीय प्रवासी : जो बेला बेला नेपाल आउँछन् । कुनै भेला, वर्कसप भइरहेको छ र कोही मिल्ने साथीको अनुरोध छ भने त्यहाँ भाग लिन पनि पुग्छन् । यिनीहरूको कुनै स्वार्थ हुँदैन र खालि पर्यटकीय योगदान दिइरहेका हुन्छन् । 

२) अवसरवादी प्रवासी : यी पात्रको प्रमुख एजेन्डा भनेकै आफ्नो स्वार्थ भजाउने मात्र हुन्छ । यिनीहरू विभिन्न रूपमा आउँछन् । यिनीहरू कहिले पनि नेपालको चासो लिँदैनन्, न त पर्यटकीय प्रवासीजस्ता मौका मिलाएर केहीमा भाग पनि लिँदैनन् । फाइदा लिने बेला, वा अवकाश पाएपछि राजनीतिक नेताहरूको अगाडि–पछाडि हुन्छन् र त्यसको उद्देश्य केवल कुनै सल्लाहकार, राजदूत वा कुनै अन्तर्राष्ट्रिय संघ वा संस्थाको पोस्ट पाउनतिर लक्षित हुन्छन् । 

यस्ता व्यक्ति सबै क्षेत्रमा हुने गर्छन् । कुनै पोस्ट पाएनन् भने यिनीहरू देशका नेता तथा व्यवस्था आदिलाई निरन्तर गालीतिर लाग्छन् । यिनीहरूले न नेपालको चिन्ता लिएका छन् न त कुनै योगदान गर्ने मनसाय नै । आफ्नै समूहका विज्ञलाई नेपाल गएका बेला यिनले न हेलो–हाई नै गर्छन् । यिनीहरूमा अहंता पनि अचाक्ली हुन्छ । यो समूहमा कोही व्यक्ति यस्ता पनि छन्, आफू गएको देशमा सफलता मिलेन र देश फर्कन पाए भने देशवासीको सहानुभूति लिन वा कुनै राजनीतिक लाभ लिन कहिलेकाहीँ आँसुका साथ आफूलाई प्रस्तुत गर्छन् । 

३) परमार्थी प्रवासी : यो समूहका व्यक्तिले आफ्नो मातृभूमिका लागि विविध माध्यमबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्छन् । उनीहरूले वित्तीय, प्राविधिक र सामाजिक स्रोत परिचालन गरेर; जनचेतना अभिवृद्धि गरेर र ज्ञान हस्तान्तरण तथा क्षमता निर्माणलाई सहज बनाउन आफ्नो सीप र विशेषज्ञतालाई उपयोग गरेर योगदान पुर्‍याउँछन् । आफ्ना धारणा र सुझाव लेखका माध्यमबाट व्यक्त गरिरहन्छन् । यस्तै, विपत् र आपतकालीन अवस्थामा कोष संकलन, सामग्री सहयोग र मानवीय सहायता जस्ता तत्काल राहत र सहयोग प्रदान गर्छन् । 

यी प्रवासीहरू संकट व्यवस्थापनका दीर्घकालीन पहलहरूमा संलग्न रहन्छन् । उनीहरूको योगदान प्रायः स्वार्थरहित रुपमा देशभक्तिको भावनाद्वारा प्रेरित हुन्छ ।

त्यसैले देशका निकाय, मन्त्रालय वा संस्थाले कुन प्रकारको प्रवासीलाई रोज्ने र प्राथमिकता दिने भन्नेमा ध्यान दिनुपर्छ । 

माथि उल्लेख गरे अनुसार, तेस्रो वर्गका प्रवासीको ज्ञान र विज्ञताबाट नीति निर्माण, मार्गदर्शन र देशमा नभएका विज्ञको खाली ठाउँ भर्न सकिन्छ । उहाँहरूको अन्तर्राष्ट्रिय अनुभवको फाइदा लिँदै नीति निर्माण र कार्यान्वयनमा सहयोग लिन सकिन्छ । 

महँगा विदेशी विज्ञ ल्याउनैपर्दैन । म आफैँले कुनै समय एकजना मन्त्रीज्यूको अनुरोधमा स्वास्थ्यका नीति तथा कार्यक्रममा अनौपचारिक सल्लाह दिने गर्थें । हरेक आइतबार उहाँ र उहाँको टिमसँग जुम मिटिङ हुन्थ्यो । उहाँका प्राथमिकतामध्ये एक थियो, कसरी बिमालाई व्यवस्थापन गर्ने । त्यो विषयमा मेरो दक्षता सीमित भएकाले हामीले एउटा विज्ञ समूह बनायौँ र १–२ पेज सुझाव दिएका थियौँ । तालिम र ज्ञान साझेदारीमा अनुभव आदान–प्रदान, विभिन्न तालिमको प्रावधान र एक्सचेन्ज कार्यक्रमबाट फाइदा लिन सकिन्छ । आजकाल अनलाइन तालिम वा ज्ञान साझेदारी पनि प्रावधान भएकाले त्यो पनि सजिलै गर्न सकिन्छ । 

विभिन्न अनुसन्धान र नवप्रवर्धनमा काम गरिरहेका प्रवासी धेरै हुनुहुन्छ र उहाँहरूको सहयोग लिएर देशलाई चाहिने अनुसन्धान र नवप्रवर्धन गर्न सकिन्छ । विभिन्न देशका अनुभवबाट धेरै सिक्न सकिन्छ । क्युबाले कसरी थोरै स्रोत परिचालन गरेर स्वास्थ्य वा शिक्षा क्षेत्र अब्बल बनाएको छ, श्रीलंकाले कसरी प्राथमिक स्वास्थ्य सेवा व्यवस्थापन गरेको छ, वा केरलाले कसरी नसर्ने रोगको रोकथामको व्यवस्थापन गरेको छ ? त्यस्ता विषयको अध्ययन गरेर देशमा लागु गर्ने सक्ने सुझाव विभिन्न प्रवासीबाट पनि लिन सकिन्छ । 

स्रोत–साधन सीमित भएको हाम्रो देशले यस्ता प्रवासीको सहयोग लिन उचित नियम, कानुन र व्यवस्थापन गर्न सके देशको विकासलाई ठुलो टेवा पुग्नेछ । नियम–कानुन र संयन्त्रको जरुरी किन छ भने केही अवसरवादी स्थानीय पेसाकर्मी, कर्मचारी वा अभियन्ता आफ्नै स्वार्थ, असुरक्षा र श्रेष्ठताको भावनाद्वारा प्रेरित भई मातृभूमिको समर्थन गर्न चाहने प्रवासीका लागि अवरोध सिर्जना गर्न सक्छन् । यस्ता पेसाकर्मी, कर्मचारी वा अभियन्ताले प्रवासी सदस्यको योगदानलाई कमजोर पार्न सक्छन् र सहकार्य गर्न प्रतिरोध जनाउन सक्छन् । उनीहरूले अनुमोदनमा ढिलाइ गर्नु, जानकारी लुकाउनु र प्रशासनिक प्रक्रियालाई जटिल बनाउनुजस्ता गतिविधि गरी प्रवासीहरूको संलग्नतालाई निरुत्साहित गर्ने प्रयास गर्छन् । केही अवस्थामा उनीहरूले व्यक्तिगत वा राजनीतिक लाभका लागि प्रवासी स्रोतहरूको शोषण गर्ने प्रयास गर्छन्, जब कि राष्ट्रिय विकासका लागि भएका वास्तविक प्रयासहरूलाई अवरुद्ध गर्छन् । यस्ता व्यवहारले लगानी र नवप्रवर्तनलाई निरुत्साहित गर्नु मात्र होइन, प्रवासी र स्थानीय संस्थाबिचको विश्वासलाई कमजोर बनाउँछ, दिगो विकासलाई बाधा पुर्‍याउँछ । यी चुनौतीको समाधानका लागि पारदर्शी नीतिहरू, सरल प्रशासनिक प्रक्रिया र प्रवासीहरूको योगदानको संरक्षण गर्न कानुनी सुरक्षा आवश्यक छ, जसले प्रवासीहरूको सक्रिय सहभागिता प्रोत्साहन गर्दछ ।

नेपालको विकास गर्ने हामी नेपालीले नै हो, जसमा नेपाली प्रवासीको विशिष्ट भूमिका रहन सक्छ, तर उनीहरूले छिटपुट परोपकारी प्रयासबाट माथि उठ्नुपर्छ र राष्ट्रिय प्राथमिकतासँग मेल खाने दीर्घकालीन परियोजनामा लगानी गर्नुपर्छ । अन्तर्राष्ट्रिय संस्थाहरू, स्थानीय सरकारहरू र निजी संस्थाहरूसँगको साझेदारीले प्रवासी नेपालीले धेरै काम गर्न सक्छन् । जसमा जलवायु उत्थानशीलता, डिजिटल रूपान्तरण, समतामूलक सेवा पहुँच आदि क्षेत्र छन् ।

देश विकासका लागि योगदान गर्न चाहने प्रवासीलाई एकजुट गराउन सकिन्छ, त्यसका उपाय धेरै होलान् तर पनि केही महत्त्वपूर्ण बुँदाहरू निम्न छन् : 

 १) विचार समूह स्थापना : विश्वव्यापी र स्थानीय पेसेवरहरू मिलेर रणनीतिहरू बनाउनका लागि सहकार्य समूहहरू सिर्जना गर्ने ।

२) ज्ञान व्यवस्थापन प्रवद्र्धन : विशेषज्ञता व्यवस्थित रूपमा संकलन र प्रयोग गर्न प्रणालीहरू विकास गर्ने ।

३) सहज वातावरणको सिर्जना : नोकरशाही जटिलताहरू घटाएर प्रवासी नेतृत्वका पहलहरूका लागि प्रोत्साहन प्रदान गर्ने ।

४) सफलताका कथाहरू सम्प्रेषण : थप सहभागिता प्रेरित गर्न सफलताका कथा सम्प्रेषण नियमित गर्ने । 

५) प्रवासी सहभागिताको संस्थागत विकास : प्रवासी सदस्यहरूलाई नीति–निर्माताहरू र संस्थाहरूमा संलग्न गराउन औपचारिक संयन्त्र विकास गर्ने, जसले थप समन्वित दृष्टिकोण सुनिश्चित गर्छ ।

६) युवा सहभागिता प्रोत्साहन : प्रवासीका युवा सदस्यलाई नेपालसँग सम्बन्ध कायम गर्न र नवीन परियोजना तथा उद्यमशीलता पहलहरूको माध्यमबाट योगदान दिन प्रेरित गर्ने ।

अन्त्यमा, नेपाली प्रवासीले नोस्टाल्जियाभन्दा माथि उठेर सोच्ने र उनीहरूको रूपान्तरणकारी भूमिकालाई अँगाल्ने समय आएको छ । आफ्नो सीप, स्रोत र सञ्जाललाई नेपालको विकासका लक्ष्यसँग जोडेर उनीहरूले आफ्नो मातृभूमिको उज्ज्वल भविष्य निर्माण गर्न योगदान दिन सक्छन् । यो एउटा अवसर मात्र होइन, एउटा जिम्मेवारी पनि हो, जसलाई तुरुन्तै र दृढ संकल्पका साथ आत्मसात् गर्नुपर्छ ।

नेपालको अथाह सम्भावना छ तर यसलाई साकार पार्न सामूहिक प्रयास आवश्यक छ । प्रवासीको योगदानले प्रगतिको ज्योतिका रूपमा काम गर्न सक्छ, जसले भावी पुस्तालाई ठुलो सपना देख्न र अझ बढी प्राप्त गर्न प्रेरित गर्दछ । परिवर्तनको संवाहक बनेर नेपालका विश्वव्यापी नागरिकले आगामी वर्षमा आफ्नो मातृभूमिको समृद्धि सुनिश्चित गर्न सक्छन् र यसका लागि राज्य र राज्यका संयन्त्रको पनि अहं भूमिका र दायित्व हुन्छ । 

(डा. कँडेल जेनभा कार्यरत चिकित्सक, एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. निर्मल कँडेल
डा. निर्मल कँडेल
लेखकबाट थप

छुटाउनुभयो कि ?