आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय
जानकारी

कपालमा चाया पर्ने चार कारण

सही समयमा पहिचान हुन नसके बढ्छ जोखिम (भिडियो)
शनिबार, १३ पुस २०८१

काठमाडौँ । गर्मीयामको तुलनामा जाडोयाममा कपालमा चायाको समस्या बढी देखिन्छ । यसो हुनुमा मौसम सुख्खा हुनु मुख्य कारण रहेको चिकित्सक बताउँछन् । 

जाडोयाममा हावामा आर्द्रता कम हुने तथा हिटर, गिजर, एसी, आगो लगायत प्रयोग गर्दा शरीरमा सुख्खापन बढ्छ । जाडोयाममा शरीरको जुन भाग वातावरणबाट बढी प्रभावित हुन्छ ती भाग बढी सुख्खा हुने गर्दछ । यसमा कुहिनाभन्दा तलाको भाग र घाँटीभन्दा माथिको भाग– जस्तै अनुहार र कपाल पर्दछ । 

जाडो सुरु भएसँगै ओठ, अनुहार र कपाल सुख्खा हुन्छ । कपाल सुख्खा हुने बित्तिकै त्यहाँ कत्ला बन्छ । त्यही कारणले जाडोयाममा बढी चाया देखापर्छ । 

छाला तथा सौन्दर्य विशेषज्ञ प्राध्यापक डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘हाम्रो शरीर जाडोयाममा बढी सुख्खा हुन्छ । सबैभन्दा बढी सुख्खा अङ्ग हुने भनेको जहाँ कपडा हुँदैन,’ उनले भने, ‘जाडो महिनामा देखिने कपालको चायालाई सिम्पल पिटिरियासिस क्यापिटिस वा सिबोरहया क्यापिटिस’ भन्छौँ । त्यो साधारणतय सुख्खापनका कारणले हुन्छ ।’ 

चायाको सही समयमा पहिचान हुन नसकेमा शरीरभर नै फैलिन सक्छ । जिउभर नै पाप्रै–पाप्रा हुन्छ । पूरै जिउ रातो हुन्छ । 

1200px-Dandruff01

  • चाया भनेको के हो ? 

कपालमा रहेको चाया एक प्रकारको कत्ला हो । जुन सेतो रङको हुन्छ । तर कत्ला भन्दैमा यसबाट आत्तिनु नपर्ने डा. कर्ण बताउँछन् । 

‘हाम्रो छालाको आवरण पनि कत्लाले भरिएको हुन्छ । त्यो कत्लालाई हामीले कोट्याएमा झर्छ । छाला पनि कोट्याउनु भयो भने कत्ला झर्छ नै,’ उनी भन्छन्, ‘त्यस्तै कपालमा पनि धेरै कत्ला देखियो भने त्यसलाई हामी चाया भन्छौँ वा अङ्ग्रेजी भाषामा ड्यान्डड्रफ भन्छौँ ।’ 

कपालमा देखिने चायाको विभिन्न रूप हुने गर्दछ । यो कारण अनुसार फरक–फरक हुन्छ । डा. कर्णका अनुसार कपालमा धेरै चाया देखिने सुख्खा छालामा हो । 

dr dharmendra karna

  • चाया पर्ने चार कारण 

कपालमा चायाको समस्या सामान्यदेखि जटिलसम्मका हुन्छन् । मुख्यतया कपालमा देखिने चाया सुख्खापन र ढुसीको सङ्क्रमण हो । कपालमा चार थरी चाया वा चार कारणले चाया देखिन सक्छ । 

एउटा सुख्खा छालाको कारणले देखा पर्ने । डा.कर्णका अनुसार सुख्खापनका कारणले कपालमा देखिने चायालाई ‘पिटिरियासिस क्यापिटिस’ वा ‘सिबोरहया क्यापिटिस’ भनिन्छ । 

अर्को हुन्छ ‘सिबोरहाइरिक डर्मटाइटिस’ । त्यसतै बच्चाहरूमा देखिने ढुसीको सङ्क्रमणबाट ‘टीनीया क्यापिटिस’ । त्यस्तै, अर्को कत्ले रोगको रूपमा देखापर्छ जसलाई ‘सोरायसिस’ भनिन्छ । 

डा. कर्णका अनुसार कपालमा देखा पर्ने चाया ‘फंगल इन्फेक्सन’ का रूपमा हुन्छ । ढुसीको सङ्क्रमणका कारणले दुई किसिमले कपालमा चाया पर्ने हुन्छ । एउटा गहिरो खालको ‘डीप’ हुन्छ । जुन बच्चाहरूमा देखिन्छ । त्यसलाई ‘टीनीया क्यापिटिस’ भनिन्छ । यो समस्या स्कुल जाने बच्चाहरूमा देखिन्छ । जो १० वर्ष कम उमेरका हुन्छन् । यो चाया पर्नुमा मुख्यतया पशुवस्तु नजिक रहनु रहेको डा. झाको भनाई । ‘जसको घरमा गाईवस्तु वा कुकुर आदि छन् भने यो जनवारबाट सर्ने हुन्छ,’ उनले भने, ‘सुरुमा कत्लाको रूपमा ठाउँठाउँमा देखापर्छ । पछि गएर यो पाक्ने पनि गर्छ ।’ 

१५ वर्ष उमेरमाथि उमेरका वा युवा अवस्थामा कपालमा चाया देखिनुमा कपालमा चिल्लो पदार्थ बढी हुनु हो । डा. कर्णका अनुसार टाउकोमा बढी चिल्लो भएर, चिल्लो जमेर बसेमा ढुसीको सङ्क्रमणका कारणले बढी ढुसी हुन गई ‘पिटिरियासिस क्यापिटिस’ देखापर्छ । ‘मानिसको शरीरमा कपालमा सामान्य रूपमा एक किसिमको फंगल हुन्छ । जसलाई ‘मालासेजिया फंगी’ भनिन्छ । 

Dandruff-Photo-1024x683-1

तर शरीरमा भएको ढुसी चाहिने भन्दा बढी विकास भएमा कपालमा देखा पर्ने चायाको रूपमा देखा पर्ने डा. कर्ण बताउँछन् । जसलाई ‘पिटिरियासिस क्यापिटिस’ वा रातो गराउने ‘सिबोरहया क्यापिटिस’ भनिन्छ । यो चाया छाला वा कपालमा टाँसेर बसेको हुन्छ । यो फुर–फुर उड्ने हुँदैन । यो चाया निकाल्दा सो भाग वा छाला रातो हुन्छ ।  

डा. कर्णका अनुसार अर्को कपालमा देखा पर्ने चाया ‘कत्ला रोग’ वा ‘सोर्यसिस’ भनिन्छ । यो कपालमा मात्रै होइन जिउमा पनि कत्ला–कत्ला देखिने उनी बताउँछन् । ‘हातखुट्टामा देखिने, नङमा देखिने, हत्केला र पैतलामा पनि देखिन सक्छ,’ उनी भन्छन्, ‘यो चाया फुरफुर उड्ने किसिमको हुन्छ ।’

  • कपालमा देखा पर्ने चायाको पहिचान 

कपालमा देखा पर्ने चार किसिमका कारण छुट्याउन सामान्य मानिसले सक्दैन । यसलाई छुट्याउनका लागि चिकित्सकले पनि हेरेर मात्रै ठम्याउन सक्दैन ।

चाया हुने कारण पत्ता लगाउनका लागि कपालको जरालाई हेर्नुपर्ने डा. कर्ण बताउँछन् । ‘कपालको जरालाई हेर्न मेसिन प्रयोग गर्छौँ । त्यसलाई डर्माटोस्कोप वा ट्राइकोस्कोप भन्छौँ,’ उनले भने ।

डा. कर्णका अनुसार चाया पर्नुका फरक–फरक कारण अनुसार उपचार पनि फरक–फरक हुन्छ । यसको पहिचानका लागि समान्धित चिकित्सकसँग सल्लाह वा परीक्षण गराउनु उपयुक्त हुने उनी सुझाउँछन् । 

  • कस्ता व्यक्तिलाई देखिन्छ चाया ? 

छालामा सुख्खापन, दीर्घरोगी वा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई चायाको समस्या बढी देखिन्छ । उमेरका हिसाबले ३० देखि ४५ वर्ष उमेर समूहका मानिसमा चाया देखिने डा. कर्ण बताउँछन् । 

‘एउटा सुख्खा छला भएका व्यक्ति, डाइविटिज, प्रेसर, थाइराइड हुने व्यक्तिलाई यो समस्या बढी देखिन्छ,’ उनले भने, ‘नशासम्बन्धी समस्या छ भने त्यस्तालाई पनि चायाको समस्या बढी देखिन्छ । रोगप्रतिरोधी क्षमता कम छ भने पनि यो बढी समस्या देखिन्छ ।’

उनले बिरामी व्यक्ति, भिटामिनको कमी हुने व्यक्ति र पशुवस्तुहरुबाट सरेर बच्चालाई चायाको समस्या देखा पर्छ । 

oils-for-dandruff

  • चाया पर्दा तेलको प्रयोग

चायाका प्रकार फरक हुने भएकाले यसलाई पहिचान गरेर मात्र उपचार गर्नु उपयुक्त हुन्छ । ‘हामीले सबैभन्दा पहिले परीक्षण गराउनु पर्छ । ढुसी सङ्क्रमणबाट हुने चायामा तेलको प्रयोग गर्नुहुँदैन,’ उनले भने, ‘तेलको प्रयोगले ढुसीलाई झन् धेरै बढाउन सक्छ ।’ 

  • चाया रोग हो ?

साधारणतय जाडो महिनामा मात्रै चाया पर्छ भने त्यसलाई सामान्य रूपमा लिन सकिन्छ । तर सधैँ भरि हुने चायाको समस्यालाई रोगको रूपमा लिनुपर्छ । पछि गएर यसले ठुलो समस्या हुन सक्छ । 

‘धेरैको कपाल धेरै झर्‍यो, पानीको फोका देखियो भन्ने गुनासो हुन्छ । यदि ढुसीजन्य चाया छ भने त्यस्तो समयमा पानी भरेको फोका पनि आउँछ । कन्याउँदा घाउ पनि हुन्छ,’ डा. झाले भने, ‘स्याम्पु भनेको कपाल सफा गर्ने पदार्थ हो । तर यो प्रयोग गर्दा पनि तपाईँलाई चायाको समस्या छ भने यसका अन्य कुनै कारण हुनसक्छ ।’ 

फंगसका कारण परेको चायामा हामीले एन्टी फंगल स्याम्पुको प्रयोग आवश्यक पर्छ । यो बजारमा भन्दा मेडिकल पसलमा पाइन्छ । यो बढी प्रभावकारी हुन्छ । कहिलेकहीँ औषधि पनि खानु पर्ने हुन्छ । त्यसकारण उपचारभन्दा पहिले चिकित्सकसँग परीक्षण गराउनुपर्छ । 

  • चाया परेका व्यक्तिले कसरी स्याहार कसरी गर्ने ?

जाडोयाममा कपालमा बढी चाया देखिने व्यक्तिले सामान्यतया सफासुघर रहनुपर्छ । सातामा दुई वा तीनपटक सामान्य खालको स्याम्पु, मोस्जराइजरयुक्त वा कन्डिस्नरयुक्त स्याम्पु वा कन्डिसनर छुट्दै प्रयोग गर्नुपर्ने हुन्छ । यति गर्दा पनि निको भएन भने चिकित्सकसँग सल्लाह लिनुपर्छ । 

‘जाडोयाममा हामीले छालालाई स्याहार गर्न जान्दैनौँ,’ डा. कर्णले भने, ‘जस्तै जाडो भयो कि चिया–कफी खन्छौँ, हिटर र एसीको प्रयोग वा आगो ताप्ने गर्छौँ । तर यसले गर्दा बाहिरको आर्द्रता कम गराइदिन्छ । यसले गर्दा बाहिर वातावरण नै सुख्खा हुन्छ । यसले चायालाई बढाउने काम गर्छ ।’

  • घरेलु उपाय

साधारण खालको चाया भएमा नुहाउनुअघि तेल लगाउनुपर्छ । नुहाउनुभन्दा कम्तीमा ३० मिनेटदेखि एक घण्टा पहिला कपालमा तेल लगाउनुपर्छ । 

‘आफूलाई मन पर्ने तेल लगाउनुस् । तर विज्ञानले देखाएअनुसार नरिवल तेल सबैभन्दा राम्रो हुन्छ,’ उनले भने, ‘किनभने यसमा एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुण हुन्छ । त्यस्तै जैतुनको तेल (ओलिभ ओयल) पनि राम्रो मानिन्छ ।’

उनले नेपालमा सबैभन्दा बढी पाइने तोरीको तेल कपालको लागि प्राथमिकतामा नरहेको बताए । ‘पहिलो प्राथमिकतामा तोरीको तेल राख्दैनौँ । किनभने यसले कहिलेकाही उल्टो रियाक्सन गर्छ,’ उनले भने, ‘यो तेल लगाएर घाममा बसेमा छाला रातो भइदिन्छ ।’

अरू के–के गर्ने ?

  • पानी प्रशस्त मात्रमा सेवन गर्नु पर्दछ । 
  • कम्तीमा साताको तीन पटक नुहाउनु पर्छ । 
  • स्याम्पु लगाउने बित्तिकै तुरुन्तै नुहाउनु हुँदैन । कम्तीमा पनि ५ मिनेट स्याम्पु कपालमा राखेपछि मात्र नुहाउनुपर्छ । 
  • नुहाइसकेपछि जिउमा पनि तेल वा लोसनको प्रयोग गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया