आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन

शनिबार, १३ पुस २०८१, ११ : ४६
शनिबार, १३ पुस २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भुव हलचोकमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ सञ्चालन भएको छ । उक्त प्रशिक्षणको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुस १३ गते ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरी उद्घाटन गरे । 

महानिरीक्षक अर्यालले ६ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई समेटी अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई दक्ष एवं अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको ग्रासरुट फुटबल प्रशिक्षण–२०८१ सफलताको लागि हार्दिक शुभकामना व्यक्त  गरे ।

उनले बालबालिकाहरूलाई फुटबल खेल्ने अवसर प्रदान गरी सहभागिता गराउन तथा भविष्यमा समेत उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरूको बौद्धिक, भावनात्मक र शारीरिक विकासमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले फुटबल खेलमा रुचि राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र सर्वसाधारणका सन्ततिहरुलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने बताउँदै यस कार्यक्रमले सशस्त्र प्रहरी बल नेपाल तथा आम जनमानसमा समन्वयात्मक भावना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालयको परिसरमा नवनिर्मित बक्सिङ रिङको समेत उद्घाटन गरे । उनले बक्सिङ विधाका खेलाडीहरूलाई प्रशिक्षण कार्यमा सहजताको लागि नेपाल एपीएफ बक्सिङ बेसिक ट्रेनिङ रिङको समेत निर्माण गरी प्रशिक्षण गराउन लागिएको  बताए । 

ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूको सन्तति १ सय २९ जना, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका सन्तति ४ जना र सर्वसाधारण नागरिकको सन्तति १ सय ३५ गरी कुल २ सय ६८ जना सहभागी रहेका छन् ।

5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप