सेतेको संसार–४
‘हेर् लाटा,’ बेलुका भात खाइसकेपछि कुलप्रसादले सेतेलाई सम्झायो, ‘आफन्त भनेको कि चाइन्छ मर्दा, कि चाइन्छ पर्दा । आज कर्मले तँ नोकर भइस्, दुःखजिलो गरेर मैले चार पैसो जोडेँ । मर्ने चोलामा को मालिक, को नोकर ? बुझ्झकीलाई सबै बराबर । ला, यो खा ।’ कुलप्रसादले सेतेको काखैमा पर्ने गरी सिङ्गो चुरोट फालिदियो ।
‘भो, मसँग बिँडी छ ।’ सेतेले खल्तीबाट बिँडी झिक्यो र मकलको आगोमा झोस्यो ।
‘एकबारको जुनीमा घमण्ड गर्नु हुन्न, हेर् नाति ।’ नौनी बराबर चिप्लो स्वरमा कुलप्रसादले उसको मन पगाल्न खोज्यो, ‘अरुको बहकाउमा लाग्नु हुन्न बा ।’
‘को कस्को बहकाउमा लाग्या छ, बाजे ?’
‘लागिस् भनेर कहाँ किट्या छु र मैले ? यो त म बुढाको अर्तिबुद्धि न हो, बाबु !’
‘चाइँदैन बाजे गोरुलाई कसैको अर्तिबुद्धि ।’
‘यता हेर्, लाटा ।’ कुलप्रसादले सेतेको कुममाथि हात राख्यो, ‘एकोहोरोपनले चालै नपाई मान्छेलाई बिगार्छ । आज तँलाई उराल्ने थुप्रो होलान् । यसो सम्झी त, भोलि तँलाई ठिँगुरा ठोक्दा हेर्ने को हुन्छ ? संसारको चल्नै मतलबी छ, बुझिस् ?’
कुलप्रसादका कुरामा ध्यानै नदिएझैँ गरी सेतेले झ्यालबाट बाहिरको अन्धकारलाई हेर्यो र गालामा खोपिल्टा पार्दै बिँडीको सर्को तान्यो ।
‘अर्काको लहैलहैमा लाग्नुहुन्न, केटा ।’ विश्वास डगेको स्वरमा कुलप्रसादले फेरि सम्झायो, ‘सम्झी त, तेरो बाउकोे किरिया खर्चदेखि लिएर तँलाई यत्रो लक्का जवान बनाउन मैले कत्रो दया गरेँ ! आज मलाई ग्रहदशा लाग्दा मेरो मर्का पनि त तँ बुझिदे ।’
‘बुझ्दैन बाजे ।’ सेतेले ठाडो स्वरमा जवाफ दियो, ‘काँचो बायुको सन्तानले क्यै बुझ्दैन ।’
‘छिः, साह्रै अघोरी त हुनुहुन्न हेर्, सेते ।’ थैलीले लेग्रे स्वरमा भनी ।
‘हेर् मोरा !’ थाकेको कुलप्रसादले लोभ्यायोे, ‘म बुढालाई रिझाउन सके यो जेथो सबै तेरो । को छ र मेरो आफ्नो भन्नु ? मेरा न छोरा, न छोरी ।’
‘हेर भाइ हो ! कुलेका अक्किलको चमत्कार ।’ तिनोटा पाथी उचाल्दै शिवले देखायोे । ‘यो नौ माना जाने ।’ दाहिने हातको पाथी उचाल्दै उसले भन्यो, ‘गरिबसँग अन्न लिँदा यसको चलन । हेरु योचाहिँ सात माना जाने ।’ देब्रे हातले अर्को पाथी उचाल्दै उसले भन्यो, ‘गरिबलाई दिँदा चाइने यसको चलन ।’
थैलीका आँखामा आँसु रसाए र फरियाको फुर्कोले उसले आँसु पुछी ।
‘बरु हेर्, कसैले कतै मेरा कुरा काटेको सुइँको पाइस् भने मलाई यसो ...’ मुन्टोले इसारा गर्दै कुलप्रसादले वाक्य टुङ्ग्यायो । ‘ला, तँलाई यो बक्सिस् ।’ उसले दश रुपैयाँको नोट सेतेतिर लम्कायो ।
‘चाइँदैन ।’ सेतेले नकार्यो, ‘बाँदालाई के को बक्सिस् ?’
‘ला, शुद्ध चित्तले दिएको नलिए पाप लाग्छ, मुला ।’ अर्को दशको नोट थपेर कुलप्रसादले सेतेको गोजीमा घुसार्यो । सेतेले नोट झिक्यो र कुलेको अनुहारतिर हुर्याइदियो ।
‘नमात्ती, सेते ।’ लोग्नेको फुस्रो भएको अनुहार देखेर नमज्जा मान्दै थैलीले भनी, ‘हेर् बजिया ! तँलाई पछि पछुतो लाग्ला ।’
‘म मागी खाने होइन, गरिखाने हुँ ।’ सेते जुरुक्क उठ्यो र कुुलप्रसादलाई पुलुक्कसम्म नहेरीकन फटाफट हिँड्यो ।
‘म आइन्दा आफूलाई बेचेर खान्नँ, सुन्यौ ?’ भर्याङबाट सेतेको स्वर आयो, ‘आफ्नो रक्खे आफैँ गर ।’
‘यो बाँदा समेत यस्तो भइसकेछ ।’ जिब्रो टोक्दै र रिँगटा लागेको टाउकोे भित्तामा अड्याउँँँदै कुलप्रसादले सुस्केरा हाल्यो ।
‘सुखका दिन अब गए, बुढा ।’ थैलीले आँसु चुहाई, ‘हाम्रो सेखपछि पराईले खाने धनले यसै जुनीमा आफ्नै ज्यान खाने भो ।’
०००
‘छैन, छैन,’ कुलप्रसाद मुन्टो हल्लाउँदै टकटकियो, ‘अन्न एक गेडो बाँकी छैन ।’
‘हामी त सिद्धिने भयौँ, बाजे,’ मगर बुढोले हात जोरेर कुलप्रसादका पाउ पर्न खोज्दै बिन्ती गर्यो । ‘आधासारो गाउँ भोकभोकै भुतुभुतु मर्न लाग्यो, बाजे । मालिकले दया–धर्म नगरे हाम्रो खलकै मासिने भो ।’ जिउमा हाडछाला मात्र बाँकी रहेको बुढो मगरका आँखाभरि आँसु आए, उसका पिँडुला कामे र ऊ थ्याच्च भुइँमा बस्योे । ‘चल्तीको भाउ राख्नोस्, बाजे ।’ एकजना अधबैँसे, पुड्के मगरले अघि सर्दैै भन्यो, ‘मौकाँ इमानसाथ तिरम्ला ।’
‘मकहाँ बेच्ने अन्न एक गेडो भए तिमीहरूकै मासु बराबर ।’ कुलप्रसादले किरिया हाल्यो । ‘यो साल मंंंसिरमै भकारी रित्तियो । नपत्याए हेर भित्र आएर ।’ भोक र सुर्ताले थलिएका आइमाईका बिलौना सुनेपछि बोलीमा सहानुभूतिको चिल्लो घस्दै कुलप्रसादले भन्यो, ‘ए बाबा, तिमीहरूसँग लुकाउनु के छ ? तिमीहरू भनेका कस्ता हौ भने मेरा अन्नदाता रैती । सेते !’ उसले लेग्रो तान्दै डाक्योे, ‘देखाइदे त भकारी ।’
‘गाड्या होला माटामुनि ।’ हुलको बिचबाट आएको त्यो आवाज बिच्छीको चिलाइजस्तै भएर कुलप्रसादको मुटुमा पस्यो । झसङ्ग हुँदै उसले पहिले सेतेलाई अनि त्यसपछि मङ्गलेकी आमालाई हेर्यो । कटहरको बोटतिरबाट मानिसहरूको कल्याङ–कुलुङ आवाज आयो । अनि उसको मनमा डरको बबन्डर हुरी मडारियो ।
‘हरे !’ कुलप्रसादले सफाइ दियो, ‘म बुढोमाथि यस्तो पाप चिताउँदा तिमीहरूलाई पाप नलाग्ला ? तिमीहरूलाई भोकै मारेर मैले कैल्यै एक्लै खा’छु र ? ल भन ।’ उसले भीडलाई केरकार गर्यो ।
‘खा’छैनस् ।’ भीडको बिचबाट एउटा स्वर गज्र्यो, ‘गरिबलाई मार्या मात्तै छस् ।’
‘ए बुढा !’ आत्तिँदै थैलीले कोट्याइ, ‘लछ्छिन राम्रो छैन है । उता अड्डाँ खबर गयो ?’
थैलीको शङ्काले कुलप्रसादको डर दोब्बर बढ्यो । झोँक्किएका भोका मानिसको हुलमा उसले तर्सेको स्यालले झैँ पल्याक्पुुलुक आँखा डुलायो ।
म घेरामा परेँ ! हे भगवान् ! भक्तको रछ्छे गर ।
‘कोदालो ले ।’ कटहरको फेदतिरबाट आएको चर्को स्वर सुन्दा कुलप्रसादको ब्रह््माण्ड हल्लियो ।
बिताउने भए !’ काँत्रिएको स्वरमा उसले थैलीका कानमा साउती गर्यो र ऊ कटहरको फेदनेर पुग्यो ।
‘सेते !’ कुमको पछिल्तिरसम्म कोदालो उजाएर मज्जाउँदै बजारेको देखेर रुन खोज्दै कुलप्रसादले दुःख पुकारा गर्यो ।
‘बाजे !’ सेते ङिच्च हाँस्योे, ‘यै हातले गाड्यो, यै हातले झिक्छ, बाजे ।’
तरकारीबारीभरि बरम लागेर उभिएका मानिसले घरी कुलप्रसादको खरानीजस्तो फुस्रो अनुहार हेरे, घरी क्रोधले जोसिएको सेतेको कालो अनुहार । एकैछिनमा बजारका निकै मान्छे त्यहाँ थुप्रिए ।
‘पाथी ले ।’ धान भरिएको अजङ्गको खाडलको डिलमा उभिएको सिकटे, गोरो ठिटो करायो । लौ, त्यो बोल्ने त उही पुरानो डेरावाल विद्यार्थी शिव पो रहेछ ! जेहोस्, हरहिसाबको लेखो भने राखिदिने भए । उसको लत्रिएको मनमा आशाको झिनो तार बज्यो ।
‘तिनोटै पाथी ले ।’ शिवले भन्यो ।
‘तीनोटै पाथी ?’ कुलप्रसादका मुटुमा तीनोटा भाला रोपिएजस्तो भयो । म डुबेँ ! ऊ निसासियो । लौ, अब भने बिताउने भए !
‘सक्कली चाहिँ होला यो ।’ हातले पाथी नाप्दै र आँखाले नियाल्दै शिवले भन्यो, ‘अरु दुइटा नक्कली खोई नि ?’ उसले आँखैआँखाले खोज्दै सोध्यो, ‘मङ्गलेकी आमा, खोई ?’
तरकारीबारीको बारमा अडेस लागेर कहिल्यै कल्पना नगरेको त्यो तमासा हेर्दै छक्क परेकी मङ्गलेकी आमा आफ्नो नाउँ काढेको सुनेर झस्किई । कुलप्रसाद कता होला भनेर उसले मुन्टो यताउति घुमाई र उसका आँखा मालिकका आँखासँग झ्वास्स जुधे । ऊ अलमल्ल परी । अनि धानको खाडलतिर उसका आँखा घुरे ।
‘पाथी निकाल्, सेते ।’ अधबैँसे, पुड्के मगरले भन्यो । सेते कुलप्रसादको सुखको बासतिर सोझियो ।
‘सेते !’ हैकमी स्वरमा कुलप्रसादले चेताउनी दियो, ‘घरभित्र नपस् । पर्लास् चोरीमा ।’
भिडमा उत्तेजनाको तिखो लहर उठ्यो र वातावरणमा सनसनी फैलियो ।
‘अक्किल र पसिनाको बलले यो संसारको जग बसाउने हामी हजारौँ गरिब यसका चोर ! हाम्रा पसिनाको पोखरीमा पौडी खेल्दै मोज गर्ने यो चोरचाहिँ साधु !’ शिवले घरी हत्केलो छातीमा राख्दै र घरी कुलप्रसादका नाकतिर औँलो ठड्याउँदै इँटाको थुप्रोमाथि उभिएर भन्यो । हजारौँ क्रुद्ध आँखा पहिले कुलप्रसादको अनुहारमा ठोक्किए अनि त्यसपछि शिवको अनुहारतिर सोहोरिए ।
‘आफ्ना हाड–मासु घोटेर उब्जाएको यो धानले अनिकालमा प्राण धान्न खोज्ने हामी यसका डाँका ! हाम्रा बाउबाजेलाई मारेर हामीलाई काँचो बायुका सन्तान भन्ने यो डाँकाचाहिँ सद्दे !’ शिवको स्वर कठोर भयो । उसका आँखामा विचित्रको चमक देखापर्यो र उसको मुठी परेको दाहिने हात हावामा उठ्यो । ‘गाउँभरि सुँढ फिँजाएर दुनियाँका रगत, पसिना चुस्दै सम्पत्ति थुपार्ने यो मालिक ! आफूले जोतेको जग्गामा हकदाबी गर्ने हामी गरिब भाइहरू यसका हुल्याहा !’ शिवले एक–एक शब्द तौल्दै र तिनमा जीवनको कठोर र निष्ठुर सत्यको सार भर्दै गम्दारी मुद्रामा भन्यो, ‘तेरा बाउबाजेको रीतिथिति अब तेरै खल्तीमा राख्, कुले ।’ चोर औँलो कुलप्रसादका आँखातिर तेस्र्याउँदै उसले घोषणा गर्यो, ‘मान्छेले मान्छे खाने चलन अब तोडिन्छ, बुझिस् ?’
माटाको मूर्तिझैँ अचल र अवाक् हुँदैै कुलप्रसादले नुर गिरेका आँखाले शिवलाई हेर्यो अनि ऊ निहुरमुन्टी न भयो । दुई हातमा दुइटा पाथी बोकेर शिवको छेउमा उभिएको सेते अलिबेर अलमलियो । बोलिरहेको त्यो मान्छे हरिदाइ हो कि शिव ? उसले गौर गरेर हेर्यो । हरिदाइको मुखबाट कति कतिपटक उसले सुनिसकेका ती वचन अहिले यत्रो जमातको माझमा पोखिँदा तिनमा नौलो अर्थ भरिएजस्तो, नौलो रङ्ग चढेजस्तो लाग्यो उसलाई ।
हातमा दुइटा पाथी लिएर शिवले झ्याम्टाझैँ बजायो । वातावरण सुनसान हुँदै गयो ।
‘हेर भाइ हो ! कुलेका अक्किलको चमत्कार ।’ तिनोटा पाथी उचाल्दै शिवले देखायोे । ‘यो नौ माना जाने ।’ दाहिने हातको पाथी उचाल्दै उसले भन्यो, ‘गरिबसँग अन्न लिँदा यसको चलन । हेरु योचाहिँ सात माना जाने ।’ देब्रे हातले अर्को पाथी उचाल्दै उसले भन्यो, ‘गरिबलाई दिँदा चाइने यसको चलन ।’ दुइटै पाथी उचालेर उसले पछार्यो । ‘अनि हेरु योचाहिँ आठ माना जाने ।’ उसले तेस्रो पाथी देखायोे । ‘टाठाबाठासँग कारबार गर्दा यसको चलन ।’ उसले रिसले दाह्रा किट््दै त्यो पाथी कुलेतिर हुत्यायो । थुर्थर हुँदै कुले झटपटपछि सर्यो र पाथी उसका खुट्टैनेर बज्रियो । ‘लौ उन पाथीको माला ।’ मुसुमुसु हाँस्दै शिवले भन्यो, ‘हाम्रा दयालु मालिकको आज मान राखिदिऊँ ।’
मगर माइलाले पाथीको पिँधमा टुप्पो अड्याएर खन्ती समात्योे, सेतेले न्वारनदेखिको बल निकालेर खन्तीको फेदमा घन ठोक्यो । कङ्गालजस्ता रूप भएका मानिसले बोरामा भकाभक धान भरे । कटहरको फेदमा अडेस लागेर उभिएको कुलेको मगजमा डङ्डङ् दमाहा बजेजस्तो आवाज आइरहयो । सुुद्धि हराएजस्ती भएकी थैलीका आँखा निम्जाए ।
‘मालिक !’ शिवले कुलेका अगाडि हात जोर्योे, कम्मरसम्म मुन्टो निहुरायो र भन्यो, ‘यस धानमा हजुरको पसिना पर्या रहेछ भने मौकामा हिसाब मिलाउँला, कसो ?’ कुलेले लोभी नजरले धानका बोरा हेर्यो, अनि हत्केलाले आँखा छोप्यो ।
‘लौ, मालिकलाई माला तयार भो ।’
भिडमा उत्तेजनाको तिखो लहर उठ्यो र वातावरणमा सनसनी फैलियो । ‘अक्किल र पसिनाको बलले यो संसारको जग बसाउने हामी हजारौँ गरिब यसका चोर ! हाम्रा पसिनाको पोखरीमा पौडी खेल्दै मोज गर्ने यो चोरचाहिँ साधु !’
सबैका आँखा मालामा टाँसिन पुगे । तिनोटा पाथी तीनतिर, बिच–बिचमा तिनोटा थोत्रा जुत्ता । नौलो जमानाको नौलो माला । थप्पडीको गडगडाहट र हाँसोको रन्कोले वायुमण्डल घन्क्यो । शिवले माला सेतेका हातमा राखिदियो र आँखा सन्कायो । सेते कुलेतिर लम्क्यो र मानिस त्यहीँ झुरुम्म भए । कुलघरानाको मुख देखेका र ठुलाबडाको मान राख्न जान्नेले अघि नै सुइकुच्चा ठोकिसकेका थिए ।
‘सेते !’ पाथीको माला शिरमाथि आइपुगेपछि जिउ छाडेर कुलेले सेतेलाई अँगालो मार्यो । ‘म तेरै बाजे हुँ, सेते !’ गहभरि आँसु लिएर उसले दयाको भिख माग्यो, ‘नाति, मलाई बचा !’
पाथीले छातीमा धक्का दिँदै सेतेले कुलप्रसादलाई रुखको फेदमा ढेस्सिने गरी मुन्ट्यायो र पाथीको माला लाइदिँदा कुलेका शिरको ढाकाको टोपी सेतेका पाउमा खस्यो ।
‘सेते !’ आँसु टिल्पिल्–टिल्पिल् भएका आँखाले कुलेले उसलाई हेर्यो ।
‘काँचो बायुका सन्तानले दिउँसै तर्साउन थाले, कसो बाजे ?’ हाँसउठ्दो बोलीमा सेतेले खिल्ली उडायो । देख्दादेख्दै तीन–चारजना ठिटाले कुलेका अनुहारमा कालो पाउडर घसिदिए । भिडबाट फेरि थपडीको गडगडाहट र हाँसोको रन्को छुट्यो । मङ्गलेकी आमाले कुर्कुच्चा उचाल्दै बडो उत्सुक दृष्टिले कुलप्रसादको त्यो नौलो रूप हेरी ।
एउटा पाथीको मुन्द्रीमा डोरी बाँधेर शिवले कुलप्रसादलाई बोकालाई झैँ घिस्स्यायो । सेतेले कुलप्रसादको पुच्छर निमोठेको हाउभाउ गर्दै भन्यो, ‘लौ हिँड्, बुढो गोरु !’
आफ्नो रक्षा गर्ने देवदूतहरू अहिलेसम्म पनि नआएको देख्दा कुलप्रसादको मुटु औडाहाले धुजाधुजा भएर फाट्यो अनि मुख बाएर लामो सास फेर्दै उसले मनमनै भन्यो, ‘डुबेँ, साँच्चि नै डुबेँ ! यता पनि डुबेँ, उता पनि डुबेँ !’
घाम अस्तायो र साँझपखको अँध्यारोले धर्तीलाई निल्दै गयो । पाथीको बोझले लत्रिएको घाँटी सकी–नसकी सोझ्याउँदै कुलप्रसादले जाँतो झुन्डिएजस्ता पाइला बिस्तारै चलायो । पाउमुनिको जमिन साँच्चि नै भास्सिँदै गएको हो कि भन्ठानेर ऊ रोकियो । अहो ! हात–हातमा लट्ठी बोकेर उभिएका पच्चिस–तीस जना तन्नेरी त काँचो वायुकै सन्तान पो रहेछन् । कुलप्रसादको मन झनै चाउरी पर्यो र डरले उसको फोक्सो एक तमासले फुल्यो । पछिल्तिर थैलीले कोकोहोलो मच्चाएको सुन्दा त झन् उसका डेगै चलैनन् । संसारै तल–तल, झन् तल धसिँदै गएको अनुभव गर्दै कुलप्रसाद आँगनको बिचैमा आँधीमा परेको बुढो रुखझैँ गल्र्याम्म ढल्यो ।
‘स्वाँङ पार्छस् चोर !’ शिवले डोरी झट्कार्यो र कुलप्रसादले असहाय आँखाले सेतेलाई पुलुक्क हेर्यो ।
‘सेते !’ सेतेका पिँडुलामा छाँद हाल्न खोज्दै उसले भन्यो ।
‘माला कस्तो लाग्यो, बाजे ?’ सेतेले सोध्यो ।
‘बिराएँ ।’ कुलेले हात जोर्योे । ‘माफी पाऊँ ।’
‘कालो काग धोएर सेतो परेबा कहिल्यै हुन्न, बुझिस् ।’ डोरी झड्कार्दै शिव गज्र्यो ।
यतिन्जेलसम्म बुढापाका र आइमाई केटाकेटीले अन्नका भारी बोकेर बाटो तताइसकेका थिए । कुलेको सुखमहलमा आज नीलो बत्ती बलेको थिएन । घरको तल्लो सुरमा तगाराको खाँबो समातेर उभिएकी मङ्गलेकी आमाले आँखा तिखा पार्दै त्यो घुर्मैलो अँध्यारोमा सेतेलाई खोजी । उसको मनमा ननिको प्रश्न उठ्यो– हे दैव ! अब सेते कहाँ जान्छ ? अनि उसको छातीमा सेतेको माया भरियो र उसका आँखाका कोस रसाए ।
‘सेते !’ कुले करायो ।
‘बिउ आज छरियो, फल लागेपछि चाख्लास् स्वाद !’ शिवले व्यङ्ग्य वाण छोड्यो ।
कुलप्रसादलाई बाबुबाजेले कहिल्यै भोग्ननपरेको त्यो घटना सुरु भएको दश वर्ष भएझैँ लाग्यो । तर हुनलाई आधा घण्टा मात्र भएको थियो । मूल बजारतिर जाने चोकतिरबाट दगुर्दै आएको एउटा तन्नेरीले शिवको कानमा के के साउती गर्यो । सेतेले कुलप्रसादका खुट्टा टन्टनी बाँध्यो र ऊ जिउ थाम्न नसकी भुइँमा घोप्टियो । शिव र सेते लट्ठीधारी तन्नेरीका माझमा गएर मिसिए ।
‘सेते !’ अत्तालिँदै दगुरेर आएकी मङ्गलेकी आमाले सेतेलाई अँगालो मारी । ‘तँ कहाँ जान्छस्, छोरा ?’ उसको स्वर काम्यो ।
‘मेरो सुर्ता नगर, काकी !’ मङ्गलेकी आमाको हात आफ्नो छातीमा राख्दै पग्लिएको स्वरमा सेतेले सम्झायो, ‘काकी ! म तपाईंको गुन कहिल्यै बिर्सन्नँ !’ मङ्गलेकी आमाका आँखा छल्दै उसले आँसु पुछ्यो ।
‘सधैँै चङ्ख हुनु, छोरा ।’ आँसुको घुट्को निल्दै मङ्गलेकी आमाले सेतेलाई आसिक दिई, ‘तैँले चिताएको कुरा पुगोस् ।’
‘सुर्ता नगर, काकी ! म भेट्न आउँदै गरम्ला ।’
साथीहरूको लस्कर निकै पर पुगिसकेको देखेर सेते हतारियो । ‘जान्छु, काकी,’ मुुटु गाँठो पार्दै उसले मङ्गलेकी आमाको हातबाट आफ्नो हात फुस्कायो र ऊ लमक–लमक अघि बढ्योे ।
मङ्गलेकी आमाका आँखा आँसुको पोखरीमा डुबे । मानौँ कतै उज्यालोतिर अघि बढिरहेको सेतेलाई देख्दा एक मन त उसलाई निकै हर्ष लाग्यो तर आफ्नो एक्लोपन सम्झेर ल्याउँदा भने उसको मन अग्घोरै दुख्यो । दगुर्दै गएर सेतेका हात समात्न र त्यो जमातसँगै कुम जोडेर अघि बढ्न उसलाई रहर लाग्यो ।
‘तेरो भलो होस्, सेते !’ उसले मनमनै भनी । अनि आँसु पुछ्दै ऊ एक्लै रौरव नर्कतिर फर्किई ।
समाप्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म
-
बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो
-
काठमाडौँ महानगर : फोहोर वर्गीकरणको योजना कार्यन्वयनमा
-
‘ग्रामीण क्षेत्रमा विकासले गति लिन थालेको छ’
-
आइतबारदेखि मौसम सुधार हुने