बादशाहसँगको झगडालाई लिएर हनी सिंहको विवादास्पद बयान
मुम्बई । गायक बादशाह र हनी सिंहबिचको झगडा अझै टुंगिएको छैन । यी दुई बिचको दुश्मनी वर्षौँ पुरानो हो । बादशाहका गीतहरूमा उनले हनी सिंहको बारेमा अक्सर विवादास्पद टिप्पणी गर्छन्।
अब हनी सिंहले पनि यो झगडाबारे प्रतिक्रिया दिएका छन् । उनले बादशाहसँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन् । बादशाहले उनको रोगको खिल्ली उडाएको र गाली गरेको सिंहको आरोप छ ।
हालै इन्डिया टुडेलाई दिएको एक अन्तर्वार्तामा हनी सिंहले भनेका थिए, ‘बादशाहसँगको विवादबारे मानिसहरूले मलाई प्रायः सोध्छन् । दुई जनाबिच झगडा हुन्छ, तर विगत १० वर्षदेखि एउटै व्यक्तिले मलाई गाली गरिरहेका छन्, मेरो बारेमा गीत गइरहेका छन्, मेरो रोगको मजाक उडाइरहेका छन् । मैले कहिल्यै जवाफ दिइनँ।’
उनले अगाडि भने, ‘पछिल्लो एक वर्षमा मात्र मैले यसबारे बोल्न थालेँ, त्यो पनि फ्यानकै कारणले । मेरा फ्यानहरूले मलाई सन्देश पठाउँछन्, कृपया केही भन्नुहोस्, यो हाम्रो सम्मानको कुरा हो। एकजना मानिसले तपाईंको बारेमा लगातार नराम्रो कुरा गरिरहेको छ। नतिजा यो भयो कि उनले माफी मागे र आफ्नो गल्ती स्वीकार गरे। तर उनी थुक्ने र चाट्नेहरूमध्ये एक हुन्। हेर्नुस् मात्र। ऊ फेरि फर्किनेछ। म त्यस्ता मानिसहरूलाई केही ठान्दिनँ।’
हनी सिंह र बादशाहले आफ्नो करियर माफिया मुन्डिर ग्रुपबाट सुरु गरेका थिए । दुवैले सन् २००९ मा समूह छाडेका थिए । बादशाहले धेरै पटक हनी सिंहको गीत ब्राउन रङ लेखेको दाबी पनि गरे तर क्रेडिट पाएनन् ।
जवाफमा हनी सिंहले बादशाहले ब्राउन रङजस्तो गीत लेखेका थिए भने उनले आफ्नो लागि राम्रो गीत किन लेख्न सकेनन् भनेर जवाफ दिएका थिए । त्यसयता दुवैले धेरै पटक एकअर्काविरुद्ध बयान दिइरहेका छन् ।