शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा

शुक्रबार, १२ पुस २०८१, २२ : ००
शुक्रबार, १२ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको १२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ–

१. भीम रावलको आगामी बाटो

पार्टी हितविपरीत निरन्तर अभिव्यक्ति दिएको आरोप लगाउँदै नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासित गरेसँगै उनी पार्टीविहीन भएका छन् । रावल निकटस्थहरूका अनुसार केही समयमै उनले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसरी नयाँ पार्टी बनाउँदा रावलले पार्टीको नाममा ‘कम्युनिस्ट’ शब्द राख्ने छैनन् ।

२. रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग संवाद गरेको स्वीकार गरेको छ ।

पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देश विकास लागि परिवर्तनकारी शक्तिहरूसँग संवाद निरन्तर हुने बताए । सञ्चारकर्मीहरूले बालेन शाह लगायतसँग रविको पक्षमा मत बनाउन भेटेको हो भन्ने प्रश्नमा उनले सो कुरा बताएका हुन् ।

सचिवालय बैठक पश्चात पत्रकारहरूसँग कुरा गर्दै उनले भने‚ ‘देश निर्माणका लागि सबैसँग संवाद गर्ने सबैलाई एक ढिक्का बन्नुपर्छ । त्यसैको एक नियमित प्रक्रिया हो ।’

३. न्याय परिषद् बैठक

न्याय परिषद्ले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

४. रविको इन्कारी बयान

सहकारी ठगीसहितका तीन अभियोगमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेले अदालतमा इन्कारी बयान दिएका छन् ।  कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनले इन्कारी बयान दिएका हुन् । बिहीबार र शुक्रबार भएको बयानका क्रममा न्यायाधीशले उनलाई २६ भन्दा बढी प्रश्न गरेका थिए ।

५. दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तारेख’मा राखेको छ । उनी लाजिम्पाटस्थित ब्यूरोको कार्यालयमा हाजिर गर्न जान्छन् ।

आपराधिक लाभसम्बन्धी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्गा प्रसाईंलाई अनुसन्धान अधिकृतहरूले ‘भ्वाइस टेष्ट’को लागि स्याम्पल दिन आग्रह गरेका छन् । तर, प्रसाईंले स्वरको स्याम्पल दिन अस्वीकार गरेका छन् ।

६. एकपछि अर्को भूकम्प

पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको छ । जसको शक्ति ४.२ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 ५ मा दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गयो । पुस ३ गते दिउँसो ३ बझाङको धामेना आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गयो । त्यसको अघिल्लो दिन पुस २ गते  मात्रै सोही ठाउँमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसअघि मंसिर २६ गते बझाङको रायाल केन्द्रबिन्दु भएर ३.९ म्यान्निच्यूडको भूकम्प गएको तथ्यांक छ ।

७. सिंहको सम्झना

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । सिंहले लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री पद सम्हाले । सिंह अर्थमन्त्री हुँदा भारतमा आर्थिक सुधारमा उल्लेख्य प्रगति भएको चर्चा भइरहेको छ । भारतका अर्थमन्त्रीको रूपमा हुँदा होस् या सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीका रूपमा उनको कार्यकाल भारतका लागि निकै उपलब्धिमुलक रहेको बताइन्छ ।

सिंह भारतको प्रधानमन्त्री रहँदा नेपालसँगको सम्बन्धमा कहिल्यै चिसोपन आएन । बरु उनी नेपालकै हितमा कुरा गर्थे । नेपालमा कुनै समस्या भयो वा कुनै सङ्कट आयो भने उनी आफ्नो दूत पठाएर त्यसको समाधान गर्ने प्रयास गर्थे ।

८. वैद्य अस्पताल भर्ना

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।

९. नाममात्रैको मेरिटोक्रेसी

विश्वविद्यालयहरूमा मेरिटोक्रेसी (योग्यताक्रम)का नाममा भागबन्डाबाट नियुक्ति हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयदेखि सुरु भएको मेरिटोक्रेसी अन्य विश्वविद्यालयमा समेत विस्तार भएको भनिए पनि नियुक्तिहरू विभिन्न दलसँग जोडिएका छन् ।

१०. व्यापार छाडेर विदेश

चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिना (साउन–मंसिर)मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् । मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कार्तिकमा पनि ७० हजार ९९० र असोजमा ५३ हजार ५२५ जना कामको खोजीमा बिदेसिएका छन् ।

यसरी बिदेसिनेहरू स्वदेशमा रोजगारी नभएका मात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि छन् । पछिल्ला दुई तीन वर्षको अवधिमा पसल बेचेर विदेश उड्नेहरू बढेको व्यवसायीहरू बताउँछन् ।

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप