देशभर फैलिए तारे होटल, वार्षिक ३५ लाख पर्यटक धान्ने क्षमता
काठमाडौँ । पर्यटन क्षेत्रको विकासमा होटललाई महत्त्वपूर्ण पूर्वाधारका रूपमा लिइन्छ । पछिल्लो समय होटल क्षेत्र आशालाग्दो गरी मुलुकभर फैलिरहेको छ । पर्यटन विभागका अनुसार २३ वटा पाँचतारे, तीन वटा पाँचतारे स्तरका डिलक्स, ३९ वटा चारतारे, ४० वटा तीनतारे, ५२ वटा दुईतारे र ४७ वटा एकतारे होटल सञ्चालनमा छन् ।
त्यस्तै साधारण हेरिटेज होटल एक, डिलक्स हेरिटेज तीन र लक्जरी हेरिटेज तीन गरेर कुल २१२ होटल देशभर सञ्चालित छन् ।
होटल व्यवसायमा संलग्नहरूका अनुसार पर्यटन क्षेत्रमा राम्रो सम्भावना देखेर व्यवसायीहरूले लगानी थपिरहेका छन् । यस्तो लगानी उपत्यका बाहिर उत्तिकै फैलिरहेको छ । होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार पाँचतारे होटलको एउटा कोठाका लागि कम्तीमा एक करोड रूपैयाँ खर्च हुन्छ । सय कोठाको होटल तयार गर्दा कोठाकै लागिमात्रै एक अर्ब रुपैयाँभन्दा बढी खर्च पुग्छ । बाँकी पूर्वाधार निर्माणसहित सञ्चालनमा आउँदा १०० कोठा भएको पाँचतारे होटलको लगानी कम्तीमा दुई अर्ब रूपैयाँ पुग्ने शाह बताउँछन् । उनले भने, ‘होटल क्षेत्रमा असाध्यै ठुलो लगानी भइरहेको छ । नेपालको भौगोलिक अवस्थितिलगायत थुप्रै कारणले यस क्षेत्रमा सम्भावना पनि उत्तिकै छ ।’
निजी क्षेत्रले पर्याप्त पूर्वाधार तयार गरे पनि सरकारी नीतिले आवश्यकता अनुसार पर्यटक भित्र्याउन नसकेको शाह बताउँछन् । अहिले करिब ३५ लाख पर्यटक धान्न सक्ने होटल पूर्वाधार तयार छ । तर वार्षिक ११÷१२ लाखमात्रै विदेशी पर्यटक आइरहेका छन् । शाहले भने, ‘निजी क्षेत्र ठुलो पूर्वाधार र जनशक्तिसहित तयार भएको छ । अब सरकारले सहजीकरण गरेर पर्यटकको संख्या बढाउने काम गर्नुपर्छ ।’
होटलमा प्रशस्तै लगानी भए पनि अहिले पर्याप्त पर्यटकहरू पाइरहेका छैनन् । असोजदेखि वैशाखसम्मको अवधिलाई पर्यटकीय सिजन मान्ने गरिन्छ । तर अहिले पनि काठमाडौँ, पोखरा र सौराहाजस्ता गन्तव्यका होटलसमेत पूर्ण क्षमतामा चल्न सकेका छैनन् । हानका अनुसार अहिले मुलुकभरका होटल ३५÷४० प्रतिशत अकुपेन्सीमा मात्रै चलेका छन् । जसमा आन्तरिक र बाह्य दुवै पर्यटकको हिस्सा बराबरीजस्तो छ ।
शाहले भने, ‘चाडपर्व, नयाँ वर्षजस्ता केही विशेष अवसरमा भरिभराउ पनि हुन्छन् । तर समग्रमा देशभरका होटल ३५÷४० प्रतिशतको अकुपेन्सीमा चलेका छन् ।’
उपत्यका बाहिर आकर्षण
हानका अनुसार पछिल्ला केही वर्षदेखि व्यवसायीहरू उपत्यका बाहिरका शहरमा बढी आकर्षित भएका छन् । पहिले काठमाडौँ र पोखरामा सीमित होटल क्षेत्रको विस्तार अहिले लगभग देशभर फैलिएको छ । यतिबेला भैरहवा, लुम्बिनी नेपालगञ्ज, धनगढी, दाङ, चितवन, विराटनगर, झापा लगायत क्षेत्रमा बढी होटलहरू खुलिरहेका छन् । आधा तारे होटलको संख्या उपत्यका बाहिर छ ।
हानको तथ्यांकअनुसार ७० को दशकयता लुम्बिनी, भैरहवा, बुटवल, नेपालगञ्जमा बढी लगानी भएको छ । अहिले लुम्बिनी, भैरहवा, बुटवल, दाङ आसपासमात्रै ३५ वटा तारे होटल सञ्चालनमा छन् । यो क्षेत्रमा मात्रै १ हजार ५०० भन्दा बढी कोठा छन् ।
उपत्यका बाहिर लुम्बिनीपछि गण्डकी क्षेत्रमा होटल बढी खुलेका छन् । अहिले पोखरा आसपासमात्रै २५ वटा तारे होटल छन् । पोखरामा मात्रै यतिबेला १ हजार ४०० हाराहारी कोठा छन् । त्यस्तै जनकपुर, वीरगञ्ज, झापा लगायत क्षेत्रमा २२ वटा तारे होटल खुलिसकेका छन् । जनपुरदेखि झापासम्मको क्षेत्रमा १००० कोठा छन् । झापामा एउटा पाँचतारे डिलक्स होटल पनि सञ्चालनमा छ ।
कम्तीमा अर्ब हाराहारी लगानी हुने ठुला होटलले महँगा पर्यटक तान्ने र देशको आयआर्जनमा योगदान दिने व्यवसायी बताउँछन् । क्षेत्रीय होटल संघ नेपालगञ्जका अध्यक्ष दिवाकर खनाल सुविधासम्पन्न तारे होटलले खर्च गर्न सक्ने पर्यटक तान्ने बताउँछन् । ‘विमानस्थलसँगै पर्यटकीय गन्तव्य पनि तय हुँदै गएकाले पछिल्लो समय उपत्यका बाहिर उत्तिकै लगानी बढेको छ,’ उनले भने, ‘आर्थिक गतिविधि पनि उपत्यका बाहिर बढी चलायमान देखिन्छ । यसले होटल तथा पर्यटन क्षेत्रलाई राम्रो सन्देश दिएको छ ।’
क्षेत्रीय विमानस्थलहरू थप सुविधा सम्पन्न बनाए यो क्षेत्रको लगानी झन् तीव्र गतिमा बढ्ने उनको भनाइ छ ।
चेन होटलको दबदबा
सरकारले नेपालको पर्यटन क्षेत्रमा सम्भावना देखेर प्राथमिकतामा राखेसँगै होटल व्यवसायमा लगानी बढेको हानले जनाएको छ । अहिले मुलुकभर पर्यटकीय गन्तव्यहरूमा पर्यटकलाई आकर्षित गराउन सुविधा सम्पन्न होटलहरू थपिइरहेका छन् । होटलमा स्वदेशीसँगै विदेशी लगानी पनि उत्तिकै भित्रिइरहेको छ । यसले गर्दा अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रम देशभर बढिरहेको छ ।
२०६३ सालसम्म नेपालमा पाँच वटामात्र पाँचतारे होटल थिए । पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटलको लहरले पाँचतारेको संख्या व्यापक बढाएको छ । निर्माणाधीन अवस्थामा रहेका पाँचतारे होटलको संख्यामात्रै २० हाराहारी छ ।
सन् १९६६ मा राजपरिवारका सदस्यहरूको अग्रसरतामा पाँचतारे होटल सोल्टीले १०४ कोठासहित सेवा सुरु गरेको थियो । बेलायती होटल व्यवस्थापक इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले २६ वर्षसम्म होटल सोल्टीको व्यवस्थापन हेर्यो, जुन अहिले बाहिरिएको छ । अहिले सोल्टीको व्यवस्थापन आफैँले सम्हालिरहेको छ भने विदेशमा पनि फैलिने क्रममा छ । सोल्टीले चितवन, नेपालगञ्जमा पनि पाँचतारे होटलको व्यवस्थापन गरिरहेको छ ।
काठमाडौँ मेरिअट, फेयरफिल्ड मेरिअट, ह्यात प्यालेस, भिभान्ता, अलफ्ट काठमाडौँ, ह्यात रिजेन्सी, हिल्टनजस्ता विश्वविख्यात होटल कम्पनीले नेपालका तारे होटलको व्यवस्था सम्हाल्न थालेका छन् । त्यस्तै, सेराटन, मेक्योर, फरेस्ट इन, रोयल टुलिप, दुसित थानी, सिन्तामणि, क्राउन इम्पेरियल जस्ता विश्वप्रशिद्ध ब्राण्ड पनि नेपालमा होटल व्यवस्थापकको रूपमा भित्रिएका छन् ।
हानका अध्यक्ष शाह विश्वभर फैलिएका चेन होटलको प्रवेशले नेपालको पर्यटन क्षेत्रको निःशुल्क प्रचार भइरहेको बताउँछन् । ‘जति विश्वविख्यात ब्रान्डका होटल आउँछन्, त्यति नै धेरै नेपालको प्रचार हुन्छ,’ उनले भने, ‘यसले एकातिर नेपालको होटल तथा पर्यटन क्षेत्रको सम्भावना देखाएको छ भने अर्कोतर्फ बलियो सेवाप्रवाहलाई उजागर गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामप्रसादराईका वडावडामै योजना सम्झौता
-
पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च
-
कोलाहलभन्दा पर शान्त बेगनास (तस्बिरहरू)
-
बादशाहसँगको झगडालाई लिएर हनी सिंहको विवादास्पद बयान
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि आज
-
अदालतको निर्णयपछि ओल्मोले बार्सिलोनाका लागि खेल्न नपाउने खतरा