सांसदहरुलाई दम्भ प्रदर्शन नगर्न कर्मचारी ट्रेड युनियनको चेतावनी
काठमाडौँ । विभिन्न कर्मचारी संघ सगठनहरुले पार्टीगत ट्रेड युनियन खारेजी गर्न नहुने भन्दै सांसदहरुलाई ‘दम्भ’ प्रदर्शन नगर्न चेतावनी दिएका छन् । उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । यसरी विज्ञप्ति जारी गर्नेहरुमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकटका कर्मचारी संगठन समेत रहेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अम्वादत्त भट्ट, नेपाल मधेसी कर्मचारी संघ र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्री रहेका छन् ।
प्रतिनिधि सभाको राज्यव्यवस्था समितिमा संघीय निजामति सेवा ऐनबारे छलफल भइरहेको छ । छलफलका क्रममा समिति सदस्यहरुले पार्टीगत ट्रेड युनियन राख्न नहुने सुझाव दिएका थिए । सोही विषयलाई लिएर कर्मचारी संगठनहरुले आपत्ति जनाएका हुन् ।
‘प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनको विधेयकका बारेमा माननीयज्यूहरुले अस्वभाविक ढंगले संचार माध्यमबाट नकारात्मक टिप्पणीतर्फ बढी उन्मुख गराई रहनुभएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यसले ऐन छिटो जारी गर्ने भन्दा पनि अनावश्यक बखेडाको वहानामा अझै ढिला सुस्ती गर्ने र संघीय निजमती सेवा ऐन तत्काल जारी नगर्ने वातावरण तयार भैरहेको अवस्था छ । यसतर्फ निजामती क्षेत्रमा क्रियासिल राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको गम्भीर ध्यानाकर्षण भएको छ । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई पुनः स्मरण गराउँदछौँ।’
उनीहरुले व्यवस्था परिवर्तनका लागि भएका निर्णायक आन्दोलनमा निभाएको भुमिका नविर्सन चेतावनी पनि दिएका छन् ‘यस प्रकारका दम्भ प्रदर्शन नगर्न चेतावनी समेत दिन चाहन्छौं । व्यवस्था परिवर्तनको लागि भएका निर्णायक आन्दोलनहरुमा हामी ट्रेड युनियनहरुले सहभागिता जनाउँदै प्रथम जनआन्दोलन २०४६ र दोश्रो जनआन्दोलन २०६२÷०६३ मा गरेको योगदान नविर्सनका लागि समेत राजनितिक दल र सरकारलाई स्मरण गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।