शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

विचार र एजेन्डाको झोला बोक्ने अखिल क्रान्तिकारी आवश्यक

शुक्रबार, १२ पुस २०८१, १६ : ०३
शुक्रबार, १२ पुस २०८१

नेतृत्व चयन र उमेर हदको विवादले दसैँअघि सम्पन्न हुन नसकेको अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको निर्वाचन प्रक्रिया फेरि सुरु हुँदैछ । शनिबार उमेर हदको विषयमा मतदान भएपछि पुस १७ गते नेतृत्व चयनका लागि मतदान हुनेछ । 

दसैँअघिको सम्मेलनका लागि हामी अखिल क्रान्तिकारीहरु देशभरबाट कीर्तिपुरमा भेला भएर थुप्रै दिन बितायौँ । हामीले सबैले त्यसलाई एक पटक फर्केर हेर्न आवश्यक छ । 

के त्यो सम्मेलनले हाम्रा शैक्षिक अवस्थाका विषयमा गम्भीर रूपमा बहस गर्‍यो ? के अबको नेपाली समाज र राजनीतिक विषयमा कतै बहस भयो ? आजको विज्ञान र समाजवादको बहस सिर्जना गर्‍यो ? कुनै सांस्कृतिक तथा वैचारिक क्रान्तिको विषयमा कहीँ कतै बहस चलायो ? आजको युवा पुस्तालाई नयाँ सिराबाट राजनीतिक पाठ सिकायो ? म त्यस सम्मेलनको एक प्रतिनिधि हुँ । मैले यी र यस्ता कुनै छलफल सम्मेलनमा देख्न र अनुभूति गर्न पाइनँ । 

तितो भाषामा भन्दा २३ औँ राष्ट्रिय सम्मेलन कुनै गाउँको जात्रा जस्तो अनुभूति भयो । त्यहाँ हाम्रा विद्यार्थी नेताहरूको थुप्रै काण्डहरूबारे चर्चा भयो तर बलिदानको इतिहासमाथि चर्चा भएन । को नेता बन्नेमा सम्पूर्ण शक्ति लगाइयो तर किन नेता बन्ने ? भन्ने विषय कतै छलफल गरिएन । तर उमेर हदको विषय भने त्यो सम्मेलनले बलियो गरी उठायो र उमेर हदबारे निर्वाचन गर्नुपर्ने बाध्य बनायो । अखिल क्रान्तिकारीको इतिहासमा यो नयाँ कदम थियो । त्यो बाहेक इतिहासप्रति गौरव गर्ने, नयाँ युगको नेतृत्व गर्ने सङ्कल्प बोकेका हरेक क्रान्तिकारीका लागि त्यो कीर्तिपुरको जात्रा नमिठो घटना थियो । हामीले अबको यात्रा त्यसको निर्मम समीक्षाबाट तय गर्नुपर्ने हुन्छ ।  

उमेर हदको विषय नेपालको वर्तमान राजनीतिमा बहस भइरहेको एजेन्डा हो । मेरो विचारमा आजको समग्र विद्यार्थी आन्दोलनलाई सही बाटोमा फर्काउन उमेर र विचार दुवैले युवा भएको नेतृत्व आवश्यक छ । म त्यो पक्षमा दृढ छु । तर यस आलेखमा मैले केही महत्त्वपूर्ण प्रश्नबारे बहसको उठान गर्ने कोसिस गरेको छु ।   

हामी आज विज्ञान प्रविधिको युगमा छौँ । अर्थात् विश्वसँग प्रत्यक्ष कनेक्टिभिटीमा छौँ । आजको  हरेक युवा विश्वसँग प्रतिस्पर्धा गर्नुपर्ने ठाउँमा उभिएको छ । तर हाम्रा विद्यार्थी सङ्गठनहरू र यसका नेतृत्वहरू विश्व समाजसँग प्रतिस्पर्धा गर्नेतिर सोचिरहेका छैनन् । विद्यार्थीहरूको सङ्गठन भनेको एउटा अब्बल र बौद्धिक युवा जमातहरूको सङ्गठन हो, जसले आजको वैज्ञानिक युगको समाज र देशको नेतृत्व गर्ने आँट र साहस गर्छ । तर विडम्बना आजको विद्यार्थी सङ्गठनहरू बहसबाट विमुख छ । आन्दोलनबाट टाढा छ ।  

अखिल क्रान्तिकारी वीरता र बलिदानको गाथाहरूले गौरवपूर्ण इतिहास रचेको संगठन हो । यो संगठन निर्माणमा दिलबहादुर रम्तेल र बेनोज अधिकारीहरू सहिद बनेका छन् । पूर्ण पौडेल र नवीन राईहरू बेपत्ता भएका छन् । अर्थात् १० वर्षे जनयुद्धमा हजारौँ विद्यार्थी सपुतहरूले बलिदान गरेको अखिल क्रान्तिकारीको आजको कार्यभार सम्पूर्ण इतिहासलाई बिर्सेर पुरा हन सक्दैन । हामीले आजको युगलाई नेतृत्व गर्नसक्ने विचार र एजेन्डा निर्माण गर्न सक्नुपर्छ । त्यसका लागि गुट र नेताहरूको झोला बोक्ने नेता कार्यकर्ता होइन, तमाम शिक्षाका विकृतिहरू पहिचान गर्दै विद्यार्थी र शिक्षाका एजेन्डाको झोला बोक्ने, विचार र बहसका माध्यमबाट बिग्रँदो वर्तमानलाई बदल्दै सुन्दर भविष्यको नक्सा कोर्ने नेता कार्यकर्ता चाहिन्छ । हाम्रो सम्मेलनले त्यस्तो जुझारु कार्यकर्ता भएको अखिल क्रान्तिकारी चयन गर्न सक्छ कि सक्दैन ? बहस यतातिर गर्न आवश्यक छ । पौष १७ गतेको सम्मेलनले विद्यार्थी र शिक्षाको एजेन्डाप्रति प्रतिबद्ध भएको, नयाँ नेपालको रोडम्याप कोर्ने विषयमा बहस गर्ने, विद्यार्थीको हकहितमा लड्न जाँगर भएको र जागरण भएको, शैक्षिक र राजनीति बेथितिविरुद्ध झन्डा उठाउन सक्ने नेतृत्व चयन गर्न सक्नुपर्छ ।  

हामी हरेकले प्रश्न गर्नुपर्ने भएको छ, अखिल क्रान्तिकारी किन चाहिएको हो ? के अखिल क्रान्तिकारी चाहिएको हामी केहीलाई नेता बन्नका लागि हो ? गुटको झोला बोक्ने कि विचारको दस्ताबेज बोक्ने अखिल क्रान्तिकारी ? बहस हुन आवश्यक छ । हाम्रा एजेन्डा के हुन् ? कार्यभार के हो ? यस्ता थुप्रै प्रश्नको जवाफ इतिहासको कठघरमा उभिएर हामीले दिनुपर्ने समय आइसकेको छ । आज विद्यार्थी आन्दोलनको औचित्यमाथि नै प्रश्नहरू उठिहरेको छ । हिजो शैक्षिक क्षेत्रमा बेथिति भए विद्यार्थी सङ्गठनहरू सकमा निस्किएर गर्जिन्थ्यो । विद्यार्थीको हित वितरित शैक्षिक संस्थाहरूबाट केही निर्णय भए, त्यस्ता निर्णय तुरुन्तै च्यातिन्थे । देशमा राजनीतिक संकट आउँदा राजनीतिक निकासका निम्ति सङ्घर्षको आँधीबेहरी सिर्जना गर्ने विद्यार्थी संगठन नै हुन्थ्यो । 

अझ राजतन्त्रात्मक व्यवस्था फालेर आजको संघीय गणतन्त्र ल्याउन अखिल क्रान्तिकारीका हजारौँ नेता कार्यकर्ताले स्कुल र क्याम्पस छाडेर बन्दुकसमेत बोके । आज यतिधेरै राजनीतिक बेथिति छ । हजारौँ क्रान्तिकारीहरुले रगत बगाएर ल्याएको परिवर्तनमाथि नै संकट आएको छ । सरकार र सरकारमा रहेका राजनीतिक दलहरु भ्रष्टाचार र बेथितिमा चुर्लुम्मै डुबेका छन् । शैक्षिक  क्षेत्र त्यस्तै बेथितिको अखडा बनिरहेको छ । विद्यालय र कलेजहरू पठनपाठनको केन्द्रभन्दा राजनीतिक दलहरूको अखडा जस्ता छन् । यस्तो अवस्थामा पनि विद्यार्थी आन्दोलन किन कतै देखिँदैन ? किन सडकहरू सुनसान छन् ? किन हाम्रा विद्यार्थी सङ्गठनहरू निदाइरहेका छन् ? वर्तमानका  सङ्कटहरूले जुरमुराएको अखिल खोजिरहेको छ ।

 बेथिति र भ्रष्टाचारका अखडाहरूमा मसाल झोस्ने अखिल खोजिरहेको छ । विवेक पनि भएको हिम्मत पनि भएको अखिल खोजिरहेको छ । परि आउँदा आफ्नै पार्टी र नेतृत्व विरुद्ध लड्न सक्ने अखिल खोजिरहेको छ । हामीले यतातिर विचरण गर्न आवश्यक छ । विगतका गौरवपूर्ण इतिहासबाट पनि सिकौँ । विगतका गल्ती कमजोरीहरुबाट पनि सिकौँ । हामीसँग पछि हट्ने विकल्प छैन ।  

अखिल क्रान्तिकारीको सम्मेलन अजा सिङ्गो पार्टी केन्द्रकै लागि टाउको दुखाइको विषय बनिरहेको छ । विधि र पद्धतिमा निर्वाचन हुन नसक्दा विवाद चर्केको देखिन्छ । मेरो सुझाव के छ भने एउटा विधि बनाएर जाऔँ । हामी अजा प्रविधिको भरपुर प्रयोग गरौँ । फेरि पनि 

सम्मेलन र नेतृत्व चयनकै लागि देशभरका प्रतिनिधिलाई बोलाएर कुम्भ जात्रा लगाउनेतिर नलागौँ । अहिले हामी सबै डिजिटल युगमा छौँ यसको भरपुर प्रयोग गरेर हरेक कुरालाई सहज गरौँ । अन्य देशहरूले आफ्नो देशको राष्ट्रप्रमुख छनोटमा डिजिटल भोटिङ प्रयोग गरिरहेका छन् । अब अखिल (क्रान्तिकारी) को २३ औँ सम्मेलनलाई पनि डिजिटल निर्वाचन मार्फत नेतृत्व चयन गर्नेगर अघि बढाऔँ ।  यसो गरियो भने दसैँअघि रोकिएको सम्मेलनबाट सिर्जना भएको नकारात्मक विषयहरू पराजित हुनसक्छ र देशभरका अखिल क्रान्तिकारीहरूमा नयाँ ऊर्जा ल्याउन सक्छ । डिजिटल युगको नेतृत्व गर्ने अखिल क्रान्तिकारी आजको आवश्यकता हो । निर्वाचनमा डिजिटल, शैक्षिक र राजनीतिक बहसमा डिजिटल, आन्दोलनमा डिजिटल अर्थात् अखिल क्रान्तिकारीको डिजिटलाइजेसनबाट हामी माथि उठाइएका तमाम सवालहरूको एकमुष्ट जवाफ दिनसक्छौं ।  

अब अखिल क्रान्तिकारीले शिक्षक, विद्यार्थी र अविभावकबिच सम्बन्ध बनाउन पुलको भूमिकामा काम गर्नुपर्छ । समाजवादी शिक्षा प्रणालीको नयाँ पाठ्यक्रम विकासमा भूमिका खेल्नेगरी बहस आवश्यक छ । अहिलेको हाम्रो शैक्षिक संस्थाहरू बेरोजगार र वैदेशिक कामदार उत्पादन गर्ने कारखानाजस्ता भएका छन् । हाम्रो पाठ्यक्रम नेपाली माटो नसुँघेको खालको छ । प्राकृतिक स्रोत, कृषि, स्थानीय ज्ञान, सीप र प्रविधि, हाम्रो संस्कृति, सामाजिक अभ्यासहरूबाट पाठ्यक्रम धेरै टाढा छ । हाम्रो देशलाई कस्तो जनशक्ति चाहिने हो ? त्यो बाटोमा हाम्रो शैक्षिक संस्थाहरुलाई ल्याउने जिम्मेवारी अखिल क्रान्तिकारीको हो । त्यसैगरी विद्यालयका भित्ताहरूको पर्खाल भत्काएर स्वतन्त्र ज्ञानको सीमाविहीन सिकाइका लागि पहल आवश्यक छ । एक्काइसौँ शताब्दीका विद्यार्थीहरूलाई किताब र पर्खालभित्रका स्कुल कलेजमा सीमित गर्नु ठुलो अन्याय हुन्छ । उनीहरूलाई समाज पढाउन जरुरी छ । उनीहरूलाई देशको गौरव सिकाउन जरुरी छ । सामाजिकीकरणको दिशामा लैजान आवश्यक छ । यी तमाम कामहरूको नेतृत्व हाम्रो विद्यार्थी संगठनले शैक्षिक संस्थामा संगठन बिस्तार गरेर मात्र पुरा गर्न सक्छ । त्यसकारण गाउँ फर्किने, गाउँका विद्यालयहरूमा फर्किने र 

समाजसँग सहकार्य गर्ने, किसानसँग सहकार्य  गर्ने विद्यार्थी संगठन हामीले निर्माण गर्न सक्नुपर्छ ।  अर्को विषय, विश्वविद्यालयको शैक्षिक प्रणाली सुधार  गर्न र योग्यताका आधारमा पदाधिकारी नियुक्ति प्रणालीमा लैजानका लागि फराकिलो र आलोचनात्मक बहस आवश्यक छ । परिवर्तनका एजेन्डाहरूलाई संस्थागत विकास गरी स्थापित गर्नका लागि विद्यार्थी संगठन चाहिन्छ । आज शिक्षा क्षेत्र व्यापारीकरण र निजीकरणको चपेटामा परेको छ । तथ्यांक हेर्दा २७ हजार सामुदायिक विद्यालय मध्य १५ हजार विद्यालयहरूमा सयभन्दा कम विद्यार्थी पढिरहेका छन् । हरेक नयाँ भर्ना सत्रमा यो घट्दो क्रममा छ । यो डरलाग्दो अवस्थामा गाउँका विद्यालयहरूको जीवन कसरी फर्काउन सकिन्छ ? हाम्रो संगठनको भूमिका के हुनसक्छ ? हामी गम्भीर बन्नैपर्छ । शिक्षामा भएको असमानताको अन्त्य गर्दै समान शिक्षा प्रणालीको विकास गर्न विध्यार्थी संगठन निर्माण गर्नु आजको अखिल क्रान्तिकारीको अर्को कार्यभार हो । त्यसकारण नेताको स्वकीय सचिव उत्पादन गर्ने र गुटको झोला भिर्ने प्रवृत्तिको अन्त्य गरी विचारको नर्सरीको रूपमा विद्यार्थी संगठनको विकास गर्नु अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनलाई ऐतिहासिक जिम्मेवारी आएको छ । हरेक प्रतिनिधिले चिन्तन गरौँ । अब पनि नसोच्ने हो भने निकै ढिला हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विकल विकल्प
विकल विकल्प
लेखकबाट थप