शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
नयाँ यात्रामा रावल

भीम रावलसामु ‘कम्युनिस्ट’ शब्दविनाको पार्टी खोल्नेसहितका ३ विकल्प

शुक्रबार, १२ पुस २०८१, २० : ००
शुक्रबार, १२ पुस २०८१

काठमाडौँ । पार्टी हितविपरीत निरन्तर अभिव्यक्ति दिएको आरोप लगाउँदै नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासित गरेसँगै उनी पार्टीविहीन भएका छन् । रावल निकटस्थहरूका अनुसार केही समयमै उनले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसरी नयाँ पार्टी बनाउँदा रावलले पार्टीको नाममा ‘कम्युनिस्ट’ शब्द राख्ने छैनन् ।

बुधबारको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । सचिवालय सदस्यहरूको विरोधका बाबजुद नेताहरूमाथि कारबाही गरेको विषयमा एमालेभित्र र बाहिरसमेत चर्चा भइरहेको छ ।

रावलले आफूसहित नेताहरूमाथि गरेको कारबाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी, हैकमवादी र तानाशाही प्रवृत्तिको उपज भनेका छन् । उनले एमालेमा रहेका देशभक्त, इमानदार नेता–कार्यकर्तालाई त्यसको विरोध गर्न अपिलसमेत गरेका छन् ।

एमालेको कारबाहीपछि रावलले अब के गर्लान् ? नयाँ पार्टी खोल्लान् ? अर्को पार्टीमा प्रवेश गर्लान् वा एमालेमा रहेका आफ्ना निकटस्थहरूमार्फत कारबाही फिर्ता गराएर फेरि एमालेकै राजनीतिमा फर्केलान् ? भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।

रावल निकटस्थहरूका अनुसार रावल सामु तत्काललाई यिनै तीन विकल्प छन् । यही सेरोफेरोमा रावलले छलफल र संवादलाई तीव्रता दिएका छन् । तर यी तीन विकल्पमध्ये कुनमा अघि बढ्ने भन्नेबारे उनले निर्णय गरिसकेका छैनन् ।

‘उहाँ राजनीतिक व्यक्तित्व हो । केही नगरी बस्ने कुरा हुँदैन’, रावल निकट एक एमाले केन्द्रीय सदस्यले भने, ‘नयाँ पार्टी खोल्ने, अर्को पार्टीमा प्रवेश गर्ने वा एमालेले गरेको कारबाही फिर्ताका लागि पहल गर्ने भन्ने विकल्पमा छलफल चलिरहेको छ ।’

ती नेताका अनुसार तीन विकल्पमध्ये नयाँ पार्टी खोल्ने विकल्प नै उपयुक्त हुनसक्छ । त्यसका लागि रावलले केही तयारीसमेत गरेका छन् ।

त्यसअघि उनले पत्रकार सम्मेलन गरेर आफ्नो आगामी यात्रा र रणनीतिबारे जानकारी गराउने तयारी गरेका छन् ।

पार्टीबाट निष्कासित भएपछि रावलले बिहीबार ओलीलाई लक्षित गर्दै आफूविरुद्ध सत्ताको उन्मादमा स्वेच्छाचारी र निरंकुश कदम चालेको आरोप लगाएका थिए ।

कारबाही गर्ने ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्न एमाले नेता कार्यकर्ताहरूलाई अपिल गरेका रावलले सुदूरपश्चिमका आफू निकटस्थ एमाले नेता कार्यकर्ताहरूसँग के गर्दा उचित हुन्छ ? भनेर बिहीबार र शुक्रबार परामर्शमै समय बिताएका छन् ।

रावलका निकट सहयोगी अछामका दीपेन्द्र खत्रीले आफूसँगको भेटमा नेता रावलले नयाँ अभियान सुरु गर्ने सङ्केत गरेको बताए ।

‘अरु राजनीतिक पार्टीमा प्रवेश गर्ने कुनै योजना नरहेको र नयाँ अभियान सुरुवात गर्ने सोचमा हुनुहुन्छ’, खत्रीले रातोपाटीसँग भने, ‘सुदूरपश्चिमका उहाँ (रावल)का समर्थक शुभेच्छुकहरूले एमालेले गरेको निर्णय स्वीकार गरेका छैनन् । उहाँलाई नयाँ ढंगले अघि बढ्न नै सुझाव दिएका छन् ।’

नयाँ पार्टी खोल्दा एमालेसहित अन्य पार्टीमा पेलिएका, हेपिएका र किनारामा परेकाहरूसमेत सहभागी हुने रावलको बुझाइ छ ।

‘सबै पार्टीमा किनारामा परेका र राष्ट्रवादी सोच भएकाहरू एकीकृत हुने मौकासमेत हुनसक्छ । त्यस्तो अवस्थामा नयाँ पार्टीको नाममा कम्युनिस्ट शब्द नझुण्ड्याउने सम्भावना बढी रहन्छ’, खत्रीको भनाइ छ ।  

आफू निकटस्थ र सहयोगीहरूसँगको संवादमा रावलले केही दिनभित्रै पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

‘एकदुई दिनभित्र पत्रकार सम्मेलन गरेर ओलीको तानाशाही प्रवृत्तिविरुद्ध भण्डाफोर गर्नुहुन्छ,’ रावलनिकट मानिएका एमाले अछामका नेता प्रकाश शाह भन्छन्, ‘अन्य पार्टीमा प्रवेश गर्नुहुन्न । आफैँ पार्टी खोल्नुहुन्छ भन्ने हाम्रो अपेक्षा हो ।’

त्यसो त, रावलले ०६६ सालमा पनि क्षेत्रीय पार्टी खोल्ने तयारी गरेका थिए । अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा उनले पार्टी खोल्नेबारे तयारी गरे पनि बिचमै उक्त योजना थाँती राखेका थिए ।

दोस्रो विकल्प एकीकृत समाजवादीमा प्रवेश गर्नसक्ने विकल्प पनि रावलसामु रहेको केहीको भनाइ छ । किनभने एकीकृत समाजवादीले केही दिनअघि नेता वामदेव गौतम, रावल लगायतलाई पार्टीमा भित्र्याउन संवाद अघि बढाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गौतमसँग छलफल गरे पनि रावलसँग छलफल गरिसकेका छैनन् ।

एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता प्रमेश हमालले रावल पार्टीमा आउन चाहे जतिसुकै बेला पनि ढोका खुला रहने बताए ।

‘पहिला कुराकानी हुनुपर्‍यो । पछिल्लो घटनाक्रमपछि उहाँसँग कुरा हुन पाएको छैन’, हमालले रातोपाटीसँग भने, ‘आउन चाहे पार्टीको ढोका जतिसुकै बेला खुला छ । तर पहिला कुराकानी हुनुप¥यो ।’

२०७९ को मंसिरमा चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल पराजित भएका थिए । ओलीको इच्छाविपरीत प्रतिस्पर्धा गरेपछि रावल त्यसैबेलादेखि ओलीको निसानामा परेका थिए । त्यसयता रावल एमालेमा भूमिकाविहीन जस्तै बसेका थिए ।

एमालेमा रावललाई जिम्मेवारी दिन ओलीले लामो समय बेवास्ता गरे । पार्टी निर्माणमा योगदान गरेका रावललाई पार्टी पंक्तिमा जिम्मेवारीको प्रसङ्ग उठे पनि ओलीले त्यसको सम्बोधन गर्न चाहेनन् । यद्यपि डेढ वर्षअघि २०८० साउन ३० मा अध्यक्ष केपी शर्मा ओलीले रावलसँग आफैँ संवाद गर्नुका साथै उपाध्यक्ष विष्णु पौडेललाई वार्ता गर्न जिम्मा दिए पनि पौडेल र रावलबिच निर्णायक छलफल हुन सकेन ।

  • तेस्रो विकल्प कति सम्भव ?

रावलका लागि तेस्रो विकल्प हो– आगामी केन्द्रीय कमिटी बैठकमार्फत कारबाही फिर्ता गर्न लगाउने । तर यो विकल्प रावलका लागि त्यति सहज भने छैन । एमाले उनीमाथिको कारबाही फिर्ता गर्ने पक्षमा छैन । एमाले केन्द्रीय कमिटीमा रावलको बहुमत हुँदामात्र यो विकल्प उनका लागि सहज हुनसक्छ ।

भीम रावल निकट मानिएका एमाले नेता झपट रावल पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको नीति अगाडि सारेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई जिम्मेवारीविहीन हुँदै पार्टीविहीन बनाएर निष्कासन गर्नु दुःखद् भएको बताउँछन् ।

‘उहाँमाथिको कारबाहीले सुदूरपश्चिममा मात्र होइन, देशभरि ठुलो क्षति पुग्न सक्छ । उहाँ पार्टी नछाड्ने पक्षमा हुनुहुन्थ्यो । हामीले पनि त्यही आग्रह गरिरह्यौँ’, झपटले भने, ‘निर्णय सच्याउनुबाहेक अरू कुनै विकल्प छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप