सिरिया फेरि एकपटक आफ्नै भूगोलको सिकार भयो
सिरियामा जारी गृहयुद्धमा हालै हायात ताहरिर अल–साम विजेताका रूपमा सतहमा देखापरेको छ । धेरैलाई लाग्न सक्छ, अब सिरियामा स्थायित्व पुनः स्थापित हुनेछ । वास्तवमा भन्ने हो भने यहाँ कहिल्यै स्थायित्व नै थिएन । यहाँ चलेको गृहयुद्धमा जति साम्प्रदायिक र वैचारिक पक्ष भेटिन्छ, त्यति नै यहाँ चल्ने द्वन्द्वमा सिरियाको आधारभूत भूगोलको पनि हात छ । यहाँ युद्धको एउटा अध्याय सकिनु भनेको अर्को अध्याय सुरु हुनु मात्रै हो ।
सिरियालाई उसको भूगोलले सधैँ दपेटेको छ । यसको देशभित्रका क्षेत्र तथा बाह्य सीमामा कहीँ पनि प्राकृतिक अवरोध छैन । पश्चिममा भूमध्य सागर छ । यो व्यापारको मार्ग हो । यो सैन्य आक्रमणका लागि पनि सहज मार्ग हो । पूर्वमा युफ्रेटस नदीको उपत्यका छ । दक्षिणी सीमामा मरुभूमि छ । उत्तरी सीमा टाउरस पर्वत शृंखलाको फेदमा पर्छ ।
खासमा सिरियाको भूगोलले न बाह्य दुस्मनको आक्रमणबाट जोगिन सघाउँछ, न त प्रतिरक्षाका लागि आन्तरिक एकतालाई नै सहजीकरण गर्छ । सिरियाको अधिकांश सीमा प्राकृतिक नभएर कृत्रिम छ । दक्षिणी सीमामा सिधा रेखा कोरिएको छ । पूर्वी सीमा यस्तै मनोमानी कोरिएको खालको छ । नाजुक सिमानाका कारण सिरियाले कहिल्यै पूर्ण स्वाधीनता हासिल गर्नै सकेन, साथै उसको मजबुत राष्ट्रिय पहिचान निर्माण हुन पनि अप्ठेरो भयो ।
खण्डित भूगोलका कारण देशै ६ वटा फरक हिस्सामा विभाजित भएको छ । जसमा दक्षिण पश्चिमको मरुभूमिबिचको भाग, उत्तरको प्रवेशद्वार, पश्चिममा समुद्री किनारा, दक्षिणमा तरेलीहरूसहितको उच्च समस्थली पर्छन्, यसैगरी पूर्वमा उत्तर–दक्षिण कोरिडोर भएको समथर र खुला बन्जर क्षेत्र छ ।
लेबनान पर्वत पछाडिको भागमा एकातर्फ पहाडसँगै जोडिएको मरुद्यान भएको भाग पर्छ भने अर्कोतर्फ मरुभूमि छ । एउटा सानो किल्ला जस्तो गरी दमास्कस यसको बिचमा अवस्थित छ । लेभान्तको केन्द्रमै अवस्थित भए पनि मुलुकको बाँकी भागबाट दमास्कस पुग्ने मार्ग सहज छैनन् । दमास्कसको हरेक शासकले आफूलाई सुरक्षित राख्न वा शासनमा मजबुत नियन्त्रण कायम राख्नका लागि सैन्य प्रकृतिको सरकारको आवश्यकता महसुस गर्छन् ।
यसको उत्तरमा एलेप्पो छ । यो लेभान्तलाई उत्तरमा एसिया माइनर र पूर्वमा मेसोपोटामियासँग जोड्ने प्राकृतिक प्रवेशद्वार हो । एसिया माइनरमा शासन गर्नेहरू चाहे त्यी इतिहासका रोमन वा अटोमन होउन् वा आधुनिक टर्की नै किन नहोस्, यी सबैले घना आवादी भएको व्यापारिक केन्द्र एलेप्पोमा सधैँ आँखा गाड्ने गरेको पाइन्छ । एसिया माइनरसँगको कमजोर कडीका बाबजुद आफ्नो रणनीतिक व्यापारिक अवस्थतिका कारण एलेप्पो सिरियाभित्र दमास्कसको खास प्रतिस्पर्धीको रूपमा देखा पर्ने गर्छ । यसै कारण पनि यस्तो व्यापारिक केन्द्र माथिको नियन्त्रण दमास्कसका शासकका लागि अति नै महत्त्वपूर्ण हुन जान्छ ।
पश्चिमतर्फ समुद्री किनारामा साघुँरो र होचा डाँडाहरूको शृंंखला छ । यसले इतिहासका विभिन्न कालखण्डमा अलाविट र क्रिस्चियनजस्ता अल्पसंख्यकलाई शरण दिने गरेको छ । यी अल्पसंख्यकले नाइल नदीको पुछारदेखि मर्मरा सागरसम्म धेरै समयदेखि अनवरत सुन्नी समुदायको दबाब झेल्दै आएका छन् । यो क्षेत्रमा लटाकिया र टार्टसजस्ता ठाउँ पर्छन्, जसले बाँकी दुनियाँसँगको पहुँचलाई सजिलो बनाएका छन् ।
सिरियाले विभिन्न कालखण्डमा सुदूरका महाशक्तिहरू फ्रान्स र रुससँग गठबन्धन गर्दा यही समुद्री किनारामार्फत जोडिएको हो । यो तटको नियन्त्रणले दमास्कसको शासकलाई बाह्य शक्तिसँगको गठजोड गर्दै आन्तरिक रूपमा आफूलाई बलशाली बनाउन मुख्य भूमिका खेल्छ । यी दुई क्षेत्रको माझबाट ओरोन्टेस नदीसँग समानान्तर रूपमा एउटा कोरिडोर छ, जसले दमास्कस र एलेप्पोलाई जोड्छ ।
खासमा सिरियाको भूगोलले न बाह्य दुस्मनको आक्रमणबाट जोगिन सघाउँछ, न त प्रतिरक्षाका लागि आन्तरिक एकतालाई नै सहजीकरण गर्छ । सिरियाको अधिकांश सीमा प्राकृतिक नभएर कृत्रिम छ । दक्षिणी सीमामा सिधा रेखा कोरिएको छ । पूर्वी सीमा यस्तै मनोमानी कोरिएको खालको छ ।
होम्स र हामाजस्ता सहर यसै कोरिडोरमा पर्छन् । एकातर्फ एलेप्पोमाथि नियन्त्रण गर्न यही कोरिडोरबाट सम्भव छ भने अर्कोतिर दमास्कसविरुद्ध विद्रोह गर्नेहरूका लागि पनि यही कोरिडोरमा अवरोध पैदा गरेर दबाब सिर्जना गर्नुपर्ने हुन्छ । अर्को शब्दमा भन्ने हो भने दमास्कस–एलेप्पो कोरिडोर एकै साथ नियन्त्रणको कोरिडोर पनि हो र विद्रोहको कोरिडोर पनि हो । यस सन्दर्भलाई जोडेर हेर्दा ओरोन्टेस नदीलाई ‘विद्रोही नदी’ भनिएकामा कुनै अनौठो पर्दैन ।
पूर्वमा रहेको युफ्रेटस नदी र फराकिलो बन्जर उपत्यका मिलेर जजिरा क्षेत्र बनेको छ । जजिराको विस्तार उत्तरी इराकदेखि टर्कीको दक्षिणी भाग हुँदै उत्तरी सिरियाका मोसुल, दियार्बकिर (अमिद) र रक्कासम्म फैलिएको छ । यो क्षेत्र ऐतिहासिक रूपमा रबिया, बकर र मुदारजस्ता अरबी भाषीहरूको थातथलो हो । दियार्बकिरबाहेक अन्य दुई स्थानमा व्यापक रूपमा चलायमान अरबीभाषी घुमन्ते जातिको सघनता छ ।
मोसुलदेखि रक्कासम्मै यहाँको भूगोल एकैनासको छ तथा यहाँका बासिन्दाहरू पनि भाषिक र धार्मिक रूपमा समान खालका छन् । यी दुई स्थान ऐतिहासिक कालदेखि नै एक–अर्कोमा जोडिएका छन् । रक्का वा मोसुलमा प्रायः दमास्कसको शासकले भन्दा पनि उनीहरू एक अर्को राज्यमा उदाएका शासककै नियन्त्रण हुने गरेको थियो । यसरी भूगोलले सिरियाभित्र टिग्रिसदेखि युफ्रेटससम्म उत्तरी मेसोपोटामियामा छुट्टै स्वतन्त्र राज्यको उदयको आधार बनाइदिएको छ ।
दक्षिणतर्फ जोर्डनको सीमा नजिकै रहेका जबाल अल–द्रुजका तरेलीहरू र हौरान उच्च समस्थली सिरियाको अर्को क्षेत्र बनाएका छन् । यो क्षेत्र व्यापक दमन गरिएका द्रुज समुदायको सुरक्षित आश्रयको रूपमा रहेको छ । सिरियाको अन्य भूभागजस्तै यहाँ सुन्नी बाहुल्यको साटो धार्मिक र साम्प्रदायिक विविधता छ । यहाँको विविधतामा एकता भने छैन । आफूमा एकता बनाएर सुन्नीविरुद्ध उभिन नसक्दा उनीहरू सुन्नीको दबदबाबाट जोगिन टाढाका समुद्री शक्तिहरूको मुख ताक्ने गरेका छन् ।
यसरी भूगोलले सिरियालाई खण्डित गरेको छ । चौतर्फी घेराबन्दीमा रहेको राजधानी दमास्कसको अन्य क्षेत्रसँगको पहुँच सीमित छ । एलेप्पो प्रायः कन्स्टान्टिनोपोल–इस्तानबुलको प्रभावमा रहने गरेको छ । राजधानीको राजनीतिक केन्द्र र सीमाको व्यापारिक नाका जोड्ने होम्स–हामा–इड्लिब कोरिडोर निम्छरो छ । मोसुल सधैँ एकीकृत शक्तिको मातहतमा रहने गरेको छ । भूमध्यसागरको साँघुरो किनारा र जबल अल–द्रुजले पूरै भूभागलाई छुट्ट्याएको छ । सिरिया एक आधुनिक मुलुकका रूपमा स्थापित हुनु अघिसम्म हालको राजधानी दमास्कसले एलेप्पो र रक्कामा कहिल्यै पूर्ण नियन्त्रण गर्न सकेकै थिएन ।
राज्यको मजबुत र केन्द्रीकृत राष्ट्रिय प्राधिकारको जरा नै फैलिनबाट रोक्न यही खण्डित भूगोलले भूमिका खेलेको छ । राष्ट्रिय सार्वभौमसत्ताको अभावमा मुलुकको राष्ट्रिय पहिचान सधैँ कमजोर नै रहन पुगेको छ । परिणामस्वरूप सिरिया बारम्बार क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्र र आक्रमणको सिकार हुनुपरेको छ । कुनै व्यावहारिक विकल्प अगाडि आइहाल्यो भने मुलुकको अखण्डता नै सहजै संकटमा पर्ने अवस्था छ । यही कारण नै हो, यहाँको सरकार हरदम कठोर दमनको सहारा लिएर आन्तरिक विघटनलाई रोक्ने प्रयत्न गरिरहन्छ ।
सैन्य कारबाहीहरू, व्यापारिक कारोबारहरू र धार्मिक अन्तक्र्रिया सबैले जातीय, भाषिक तथा धार्मिक विविधतायुक्त सिरियाको विखण्डन गर्न र अस्थिरता निम्त्याउन भूमिका खेलेका छन् । विविध समुदायबिचका यस्ता शताब्दियौँ पुराना आन्तरिक तनावले सिरियामा एकीकृत र स्वाधीन राष्ट्रिय सरकार बनाउन असाध्यै चुनौतीपूर्ण भएको छ ।
यिनै कमजोरीका कारण सिरिया असिरियाली, अकाएमेनिड पर्सियाली, अरबी तथा अटोमनजस्ता साम्राज्यको जुवामुनि पर्न विवश भयो । स्वतन्त्र देशको रूपमा रहेका बखत पनि रोम र पार्थिया, बैजन्टियम र सासानिया तथा इल्खनाटे र मामलुकजस्ता ठुला शक्तिको विवादित सीमा क्षेत्र बनेर रहन बाध्य हुनुपर्यो । एकै शब्दमा भन्ने हो भने सिरिया पश्चिम एसियामा सीमाञ्चलका रूपमा रहेको देखिन्छ ।
बलियो राष्ट्रिय पहिचानको अभाव तथा नाजुक सरकारको नियति भोग्दाभोग्दै पनि स्वाधीन रहन सफल रहेको सिरियाले सन् १९४८ मा अरब–इजरायली युद्धमा पराजय भोग्यो । यसले सिरियाको कमजोर गणतन्त्रलाई थप अस्थिर त पक्कै बनायो । तर साथमा पान–अरबवादको विचारधारा पनि फैलाइदियो । यो विचार यति व्यापक भयो कि सिरिया, इजिप्ट पछि गएर उत्तरी यमन तथा संयुक्त अरब राज्य मिलेर इजिप्टका राष्ट्रपति गमाल अब्देल नास्सेरको अगुवाईमा संयुक्त अरब गणतन्त्र (युएआर) को स्थापना गरे ।
यसले इतिहासका विभिन्न कालखण्डमा अलाविट र क्रिस्चियनजस्ता अल्पसंख्यकलाई शरण दिने गरेको छ । यी अल्पसंख्यकले नाइल नदीको पुछारदेखि मर्मरा सागरसम्म धेरै समयदेखि अनवरत सुन्नी समुदायको दबाब झेल्दै आएका छन् ।
संयुक्त अरब गणतन्त्र (युएआर) को विघटन र सन् १९६७ को ६ दिने युद्धमा भएको पराजयले पनि त्यो विचारधाराको शक्ति कमजोर पार्न सकेन । भलै कठोर नियन्त्रणकारी शासन नै सही हफिज अल–असदको तख्तापलट र सन् १९७० को बाथवादी शासनको थालनीसँगै सिरियाले राजनीतिक स्थायित्व प्राप्त गर्यो । छोटकरीमा भन्दा स्वाधीनता प्राप्त गरे लगत्तैका वर्षहरू सिरियामा अल्पकालीन सरकार, राजनीतिक अस्थिरता जस्ता कारणले पान–अरबवाद जस्ता उग्र विचारधारा र इस्लामिक अतिवादको खेल मैदान थियो । बाथवादी सरकार आएसँगै यस्ता राजनीतिक समस्या समाधान भएजस्तो देखियो ।
जब अरब स्प्रिङको लहर सिरियाको ढोकामा आइपुग्यो, यसले धेरै कुरामा गडबड गर्न थाल्यो । सलाफी लडाकुहरूले चलाएको गृहयुद्ध सुरु भयो । यो बढ्दै गएर सिरियाली सैन्य बलको ठुलो हिंसामा फेरिन थाल्यो । यो युद्धले ठुलो संख्यामा मानिसलाई विस्थापित गरायो । मुलुकको भौतिक संरचनामा व्यापक क्षति गरायो । इतिहासमा फेरि भूगोल सिरियाको गृह युद्धमा भूमिका खेल्न आइपुग्यो । ‘इस्लामिक स्टेट’ले रक्का र मोसुलमा नियन्त्रण गर्यो ।
दमास्कसले भूमध्यसागरको किनारमा नियन्त्रण कायम राख्यो । यसले रुसको समर्थन र सहयोग हासिल गर्न सहज बनाइरह्यो । टर्कीको समर्थनमा रहेका विपक्षी शक्तिहरूले एलेप्पो कब्जा गरे । धेरैजसो लडाइँ सरकार नियन्त्रित दमास्कस र विद्रोही नियन्त्रित एलेप्पो जोड्ने कोरिडोरमा रहेका होम्स र हामा लगायत ठाउँमा हुन थाले । रुस र इरानको सहयोगमा असद सरकारले यही कोरिडोरमा कब्जा गर्न सफलता पाएपछि पहिलो चरणको गृहयुद्ध सकिएको थियो ।
भूराजनीतिक तर्कले सधैँ देखाएको छ कि जुन शक्तिले होम्स–हामा कोरिडोरमा नियन्त्रण गर्छ, त्यही शक्तिले सिरियामा निर्णायक विजेता बन्ने गर्छ । यसपटक पनि विद्रोहीहरूले यही भूभागमा नियन्त्रण कायम गरेसँगै असद सरकार ढल्न पुग्यो । अहिले दमास्कस कब्जा गरेका विद्रोहीहरूले अब सिरियाको भाग्य र भविष्य आफ्नो हातमा आएको सोचेर मक्ख हुन सक्छन् । उनीहरूले छिटै थाहा पाउनेछन्, उनीहरूले सिरियाको भूगोलमा कहिल्यै कब्जा गर्न सक्नेछैनन् ।