‘माओवादीका अघिल्तिर जम्मा दुई विकल्प मात्रै छन्’
दशक लामो सशस्त्र संघर्षबाट आएको पार्टी माओवादी केन्द्र आफ्नो आदर्श र वैचारिकीबाट च्युत हुँदै गइरहेको भन्दै आलोचना भइरहेको छ । सर्वत्र प्रश्न छ– ‘के माओवादी केन्द्रले अब आफ्नो गुमेको साख पुनः हासिल गर्न सक्छ त ?’ यति नै बेला पार्टीभित्रको आलोचनात्मक स्वरलाई ठेगान लगाउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झन् शक्तिशाली भएका छन् । आफ्नो समकालीन पुस्ताबाट कुनै चुनौतीको सामना गर्न नपरेका उनलाई युवाबाट पनि डर मिश्रित मौन समर्थन देखिन्छ । यस्तो परिस्थितिबीच माओवादी केन्द्रीय समिति बैठक आगामी २१ गते बस्न लागेको छ । यति बेला माओवादीका युवा के सोच्दै छन् भनी उक्त पार्टीका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज विशाल खड्कालाई नरेश ज्ञवालीले केही प्रश्न गरेका छन् ।
- माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्न लाग्दै गर्दा तपाईंजस्ता युवा नेता के सोचिरहनुभएको छ ?
यति बेला दसवर्षे जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनयता नेपाली समाज इतिहासकै सबैभन्दा निराश मोडमा उभिएको छ भन्ने जसरी बहस–छलफल भइरहेका छन् । राष्ट्र र जनताप्रति हाम्रा केही ऐतिहासिक जिम्मेवारी थिए । तर, राजनीतिक दलहरूले त्यसलाई निपुणतासाथ पूरा गर्न सकेनन् । राज्य संरचनामा आमूल परिवर्तन ल्याउँदा पनि जनताको जीवनमा तात्त्विक भिन्नता देखापरेन । त्यसैले नेपाली समाज आंशिक उपलब्धिलाई काखी च्यापेर धेरै दिन खुसी हुन सकेन । आजका दिन हामी हाम्रो पार्टीे र राष्ट्रिय राजनीतिको गम्भीर मोडमा छौँ ।
हाम्रा अघिल्तिर केही गम्भीर प्रश्न छन् । क्रान्तिबाट सत्ता परिवर्तन गर्न सक्ने आन्दोलन वा राजनीतिले जनतालाई नयाँ जीवन दिन किन असफल भयो ? नेपाल राष्ट्रको समृद्धिको आकांक्षा युटोपियन परिकल्पना हो वा यथार्थमा परिणत हुन सक्ने सपना ? हामी नेपाली दुई ढुंगाबीचको तरुल नै हौँ वा हाम्रो फक्रने ठाउँ छ ? माओवादी पार्टीको चरित्र यही संसदीय भासमा रुमलिने खालको हो वा अघि बढ्ने ? सामाजिक न्याय स्थापनाका लागि हाम्रो पार्टी सामाजिक आन्दोलनमा रमाउने शक्ति हो वा कर्पोरेट हितमा गोटी चालिराख्ने शक्ति ? हामी माओवादी कांग्रेस–एमालेभन्दा के मानेमा भिन्न हौँ ? नेताहरू आफ्नो समृद्धि चाहन्छन् वा नेपाल राष्ट्रको ? निःसन्देह यी प्रश्नको जवाफ माओवादीसँग हुनुपर्छ ।
मुलुक गणतन्त्रको कोर्समा गएपछि र नयाँ संविधान जारी भएपछि आममानिसको आशा राजनीति पनि नयाँ हुन्छ भन्ने थियो । तर, विडम्बना नै भन्नुपर्छ, प्राविधिक चलाखी प्रयोग गरेर राजनीतिमा हिजोकै निरन्तरता देखिन थालेको छ । न्यायालयले ‘जनयुद्ध’ भन्ने शब्दप्रति देखाएको वितृष्णा त्यसकै परिणाम हो । नयाँ राजनीतिले स्थापित गरेका मूल्य–मान्यतामा पनि पुनः पुरातन परिभाषा लागू गर्न खोजिएको छ । यसलाई परिवर्तनको खास शक्ति माओवादीले नै सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो सोच छ ।
माओवादी (अझै त्यसमा पनि युवा पुस्ता)का अघिल्तिर निराशामा डुब्ने कि पुरानो राजनीतिक सोचको दुस्चक्रलाई तोड्ने साहस गर्ने जम्मा दुई विकल्प मात्रै छन् । जिम्मेवार पार्टीका रूपमा र आजको राजनीतिको मूल आर्किटेक्टका रूपमा माओवादीले यसबारे गम्भीर छलफल गरिरहेको छ ।
- माओवादी कार्यकर्ता स्थानीय तहको उपनिर्वाचनबाट उत्साहित देखिन्छन् । तर, लक्ष्य, सपना र कार्यक्रम नै नभएका पार्टीका कार्यकर्तालाई नेताले यस्तै चुनाव अनि नातिनीको बिहेमा नरेन्द्र मोदीको शुभकामनापत्र देखाएर रत्त्याइरहने होइन र ? यस्तो कर्मले समाज, राजनीति र व्यवस्थामा के तात्त्विक परिवर्तन ल्याउँछ ?
हामीले आलोचनात्मक चेतनाको अध्ययन गर्दा एउटा रमाइलो प्रतीक प्रयोग गर्ने गर्छौँ । त्यसलाई अंग्रेजीमा ‘स्ट्रम्यान फ्यालेसी’ भनिन्छ । अर्थात्, आफूलाई लागेका कुरा भन्न कुनै एउटा काल्पनिक पात्र तयार पार्ने र त्यसमा हाम्रा आग्रहहरू थोपरेर त्यसैलाई यथार्थजस्तो देखाई आलोचना गर्ने । यस्तै ३३ वर्षदेखिको संसदीय राजनीतिका विकृतिलाई यो व्यवस्था नै फेरेर आएको माओवादीमाथि थोपरेर यसलाई नै दोषी करार गर्ने परिपाटीबाट तपाईंको प्रश्न प्रभावित देखिन्छ ।
संविधान घोषणापछि दुईवटा आमनिर्वाचन भए । दोस्रो आमनिर्वाचनमा जनताले एकप्रकार मिश्रित जनादेश दिए । त्यसपछि यो दुई वर्ष अवधिमा दलहरूले गरेका गतिविधिबारे जनताले गरेको मूल्यांकनको प्रतिनिधि आवाजका रूपमा हामी पछिल्लो निर्वाचनलाई लिन सक्छौँ । यसले मुलुककै जनमतको प्रतिनिधित्व गर्छ भन्ने त होइन । तर, कुनै न कुनै रूपमा मध्यावधि अवधिको समीक्षाका रूपमा जनताको मनोविज्ञानलाई प्रतिविम्बित गर्छ । यसको नतिजा कति महत्त्वपूर्ण छ भन्ने बुझ्न सत्तारुढ दलहरूको छटपटी हेर्दा पनि थाहा हुन्छ ।
हामी माओवादी कांग्रेस–एमालेभन्दा के मानेमा भिन्न हौँ ? नेताहरू आफ्नो समृद्धि चाहन्छन् वा नेपाल राष्ट्रको ? निःसन्देह यी प्रश्नको जवाफ माओवादीसँग हुनुपर्छ ।
रह्यो कुरा, पार्टीको नीति–कार्यक्रम तथा सपनाको । माओवादी नै नयाँ नेपालको आकांक्षाको प्रतिनिधित्व गर्ने पार्टी हो । माओवादीको नीति तथा कार्यक्रम र आमजनताको मनोविज्ञानबीच आधारभूत तालमेल छ । तर, केही जोडकोण मिलाउन नसकेका कारण तादात्म्य नमिलेजस्तो देखिन्छ । हामी माओवादीले मात्रै नभएर सबै दलले यसमा ध्यान दिन नसकेकै हो । तथापि, हामी माओवादी, जो परिवर्तनको मूल सूत्राधार हो, यसको जिम्मेवारी पनि जनताले हाम्रै काँधमा सुम्पिएका छन् भन्नेमा स्पष्ट छ ।
जहाँसम्म लक्ष्य र सपनाको कुरा छ । म यो केन्द्रीय समिति बैठकमा हामीले छलफल गर्न खोजेको एउटा बुँदामा ध्यान आकृष्ट गर्न चाहन्छु । उदाहरणका लागि चीनले चिनियाँ जनवादी क्रान्तिको एक सय वर्ष पुग्दासम्म आफूलाई समाजवादी मुलुकमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । भारतले स्वतन्त्रताको एक सय वर्ष (सन् २०४७ )सम्ममा देशलाई उच्च स्तरको धनी र विकसित बनाउने लक्ष्य राखेको छ । यी दुई देशको बीचमा रहेको नेपालले पनि कम्युनिस्ट घोषणापत्र प्रकाशन गरेको दुई सय वर्ष अर्थात् सन् २०४८ सम्म वा, नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष वा विक्रम संवत्को २२ औँ शताब्दीमा प्रवेश गर्दासम्म नेपाललाई सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउनेबारे छलफल गरिरहेको छ । यी सबै मिति अबको दुई दशक हाराहारीमा पर्छन् । तथापि, हामी अझै कुनै निर्णयमा पुगिसकेका भने छैनौँ ।
समाज र राष्ट्र निर्माणको दायित्व पार्टीहरूको काँधमा हुने गर्छ । अर्थात्, अबको मुलुक कस्तो हुनुपर्छ ? हामी कम्युनिस्टहरू यो देशलाई कस्तो बनाउन चाहन्छौँ ? यसबारे अध्यक्ष प्रचण्डसँग धेरै गम्भीर छलफल भइरहेको छ । अध्यक्षको छवि बाहिर जस्तो देखिन्छ वा उहाँको छविलाई जसरी धुमिल बनाउने प्रयत्न भइरहेका छन्, त्यसको उल्टो उहाँ यो राष्ट्र र समाजको अग्रगमनका लागि त्यति नै व्याकुल रहेको मैले पाएको छु ।
तपाईंले छिमेकी मुलुकका प्रधानमन्त्री मोदीको प्रसंग कोट्याउनुभयो । मैले त्यसलाई नकारात्मक रूपमा लिएको छैन । नेपाल–भारत सम्बन्धमा राजनीतिकर्मीबीचको सौहार्दताले दुई मुलुकबीचका असमझदारी हटाउन तथा दुई देशबीच हुने गरेका उतारचढावमा राजनीतिक नेतृत्वबीच नै संवाद हुनुलाई म नराम्रो ठान्दिनँ । भलै शुभकामनाको प्रसंग व्यक्तिगतजस्तो देखिन्छ । तापनि, हामीले विगतमा हेर्यौँ भने भारतका तत्कालीन शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालका नेताहरूलाई उनीहरूको जन्मदिन वा अन्य महत्त्वपूर्ण दिनमा पत्र नै लेखेर शुभकामना पठाउने गरेको इतिहास छ । बीपी कोइरालालाई मात्र नभई मातृकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मीलगायतलाई पठाएको चिठी पनि हामी हेर्न सक्छौँ । यसलाई तपाईंले कुन दृष्टिकोणबाट नराम्रो भन्नु खोज्नुभएको हो ? मैले बुझिनँ ।
माओवादीमा युवा नेतृत्वलाई अगाडि बढाउनुको सट्टा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्ष बनाउन खोजेको देखिन्छ । यस्तोमा युवा नेताको भूमिका शून्यप्रायः छ । तपाईंहरूले यसलाई ‘इतिहासको आवश्यकता’ भन्दै स्वागत गर्नुभएको छ कि यसमा पुनर्विचार गर्न आवाज उठाउने सोच्नुभएको छ ?
युवाहरूको भूमिका शून्यप्रायः छ भन्ने तपाईंको प्रश्नबाटै जवाफ दिँदा ठीक होला । सायद तपाईंले राजनीतिलाई मिहिन ढंगले नियाल्नुभएन । पछिल्लो तीन दशक राजनीतिको निर्णायक ठाउँ, पछिल्ला चार निर्वाचन र अन्तरिम व्यवस्थापिकामा सबै दलले मनोनीत गरेका र निर्वाचनबाट चुनिएर आएका सबै प्रतिनिधिलाई एकै ठाउँमा राखेर हेर्नुभयो भने युवाको प्रतिधित्वबारे तपाईंको प्रश्नको जवाफ मिल्नेछ ।
माओवादीका सातै प्रदेशका अध्यक्षलगायत पदाधिकारी, ७७ वटै जिल्लाका जिल्ला संयोजक तथा केन्द्रीय समितिका नेताको उमेर समूह हेर्नुस् । त्यहाँ मूलरूपमा ४० देखि ५० को उमेर समूहका व्यक्तिहरू दुईतिहाई संख्यामा भेट्नुहुन्छ । यसर्थ माओवादी सबै दलको बीचमा सबैभन्दा धेरै युवालाई नेतृत्वमा पुर्याउने पार्टी हो ।
अबको दिनमा हिजोको आन्दोलनको विरासतले मात्रै आन्दोलन र दलहरूलाई भरथेग गर्छ भन्न सकिँदैन । चुनौतीसामु कति खरो ढंगले प्रस्तुत हुन्छौँ भन्ने प्रश्नले हाम्रो औचित्यलाई निर्धारण गर्छ ।
अध्यक्ष प्रचण्ड पछिल्लो समय प्रधानमन्त्री हुँदा माओवादीबाट रेखा शर्मा, अमनलाल मोदी र सुदन किरातीले महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए । उनीहरू सबै ४० हाराहारी उमेर समूहका नेता हुन् । हाम्रो विरोधाभास नै के हो भने माओवादीबाट महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका युवालाई युवा नै देख्दैनौँ । तर, कांग्रेसका ५० उकालो लागेका गगन थापा र विश्वप्रकाश शर्मालाई युवा देख्छौँ । मानौँ माओवादीका युवा जनयुद्धका बेला बालयोद्धा मात्रै थिए । अहिले मन्त्री हुँदा वृद्ध भइसके । के यो दृष्टिदोष होइन ?
अब रह्यो पूर्वउपराष्ट्रपति पासाङको कुरा । पहिलो, यो उहाँको व्यक्तिगत छनोट र अधिकारको कुरा हो । दोस्रो, यो देशमा पासाङको भूमिका के थियो भन्ने हामीले बिर्सन मिल्दैन । पासाङ इमानदार, सरल र निरन्तर संघर्षबाट स्थापित भएको नाम हो । हामी युवा उहाँको त्यो आदर्श र निष्ठाबाट आज पनि प्रेरित हुने गर्छौं । आजको जटिल राजनीतिमा त्यस्ता निष्ठावान् राजनीतिज्ञ सक्रिय राजनीतिमा आएर धुमिल बन्दै गरेको राजनीतिक आदर्शलाई सङ्लाउन चाहन्छन् भने त्यसको स्वागत गरिनुपर्छ ।
माओवादीमा प्रचण्ड ३५ वर्षदेखि अध्यक्ष छन् । तापनि, उनको विकल्प खोज्नुपर्छ भनेर तपाईंहरूले आवाज उठाएको सुनिँदैन । अर्थात्, अब माओवादीको हैसियत पनि के मसाल, नेमकिपा र मालेकै हुने हो भन्नेमा तपाईंहरू ढुक्क हुनुहुन्छ ? जबकि नेकपा मसालमा मोहनविक्रम सिंह पाँच दशकदेखि महामन्त्री छन् । नेमकिपाका नारायणमान बिजुक्छे ‘रोहित’ ४९ वर्षदेखि अध्यक्ष छन् । सीपी मैनाली २३ वर्षदेखि नेकपा (माले)का महासचिव छन् ।
पक्कै पनि होइन । हामी यसलाई विविध आयामबाट हेर्न सक्छौँ । कम्युनिस्ट आन्दोलनमा नेतृत्वको प्रश्न सिद्धान्त र कार्यक्रमसँग जोडिएर आउँछ । प्रचण्ड नेतृत्वको आगमन दीर्घकालीन जनयुद्धको तयारी र नेतृत्वका रूपमा भएको हो । उहाँकै अगुवाइमा नेपालको राजनीतिले एकात्मक व्यवस्था अन्त्य गरी संघीय गणतन्त्र नेपाल स्थापना गरेको हो ।
जहाँसम्म एकै व्यक्ति निरन्तर नेतृत्वमा रहने भन्ने प्रश्न छ, यसलाई माओवादीले जनयुद्धकालमै नेतृत्वको विकास, हस्तान्तरण र नयाँ पुस्ता निर्माणबारे केही सैद्धान्तिक निष्कर्ष निकालेको छ । पछिल्लो विधान सम्मेलनसम्म आइपुग्दा पार्टीले अब प्रत्येक तह र पदमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने पारित गरिसकेको छ । अर्थात्, अब योग्यता पुगेका जोसुकै नेता तथा कार्यकर्ता चाहेको पदमा उम्मेदवार हुन र नेतृत्व लिन सक्छन् । प्रचण्डको हकमा उहाँले पटक–पटक आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको भनिरहनुभएकै छ ।
प्रचण्डको महत्त्व आजको राजनीतिक कोर्समा तपाईंले भन्नुभएका अन्य नेतासँग तुलना गर्न मिल्ने खालको छैन । इतिहासमा हेर्नुभयो भने पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । नयाँ जनवादी कार्यक्रम ल्याउनुभयो । त्यस्तै, प्रचण्डले व्यवस्था परिवर्तन गर्दै नयाँ संविधान ल्याउनसम्म नेतृत्वदायी भूमिका खेल्नुभयो । दक्षिण एसियामै हेर्नुभयो भने संघर्षको पृष्ठभूमिबाट परिवर्तनको नेतृत्व गर्दै आएका शीर्ष नेताहरूमा प्रचण्ड सबैभन्दा कान्छो नेता हो । मुलुकका लागि यसको धेरै महत्त्वपूर्ण अर्थ छ । यो स्तरको उचाइ भएको नेताले वामपन्थी आन्दोलनको क्रियाशीलतापूर्वक नेतृत्व गर्नु यो मुलुककै लागि राम्रो कुरा हो ।
- विश्व परिदृश्यमा कम्युनिस्ट पार्टी लोपोन्मुख अवस्थामा छन् । तर, नेपालमा अपवादस्वरूप बलिया देखिन्छन् । पुरातन शैलीबाटै पार्टी चलाइराख्ने हो भने नेपालमा पनि लोप हुन्छन् भन्नेतर्फ ध्यान गएको छ कि छैन ?
निश्चय पनि सोभियत संघको विघटनपछि संसारभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो । शान्तिपूर्ण राजनीतिमा रहेका कम्युनिस्ट पार्टीहरू रणनीतिक रूपमै किनारामा पुर्याइए । माओको निधनपछि नेपालबाहेक कुनै पनि सशस्त्र क्रान्ति सफल हुन सकेनन् । परम्परागत बुर्जुवा वर्गले गर्नुपर्ने पुँजीवादी क्रान्तिको नेतृत्व पनि नेपालको हकमा कम्युनिस्टले गरेका हुन् । एक ढंगले भन्ने हो भने नेपालमा कम्युनिस्टहरूको बलिदानमा आएको परिवर्तनमा पुरातनपन्थी बुर्जुवाहरूले रजाइँ गरिरहेकै छन् । अबको दिनमा हिजोको आन्दोलनको विरासतले मात्रै आन्दोलन र दलहरूलाई भरथेग गर्छ भन्न सकिँदैन । आजका चुनौतीसामु हामी कति खरो ढंगले प्रस्तुत हुन्छौँ भन्ने प्रश्नले हाम्रो औचित्यलाई निर्धारण गर्छ ।
मुलुक रूपान्तरणको वैचारिकीबाट हेर्दा माओवादी कमजोर छैन । तर, ठोस कार्यक्रम निर्माणमा हामी चुकेका छौँ । यो बैठकले यिनै विषयमा केही गम्भीर छलफल गर्दै छ ।
हामीले बढ्दो असमानता, जलवायु परिवर्तन, युवा पलायन, रोजगारीको समस्या, अर्थतन्त्र, भूराजनीतिक तनावजस्ता विषयमा प्रभावकारी नीति–कार्यक्रम बनाउन सक्यौँ भने हाम्रो सान्दर्भिकता बढ्दै जाने निश्चित छ । विश्व राजनीतिमा देखापरेको फेरबदल र बहुध्रुवीयतातर्फ लम्कँदै गरेको विश्वमा कम्युनिस्ट आन्दोलन पुनः जागृत हुनेछ । भर्खरै सम्पन्न अमेरिकी निर्वाचन हेर्नुभयो भने पनि त्यहाँ श्रमजीवी वर्गको निर्णायक मतको चर्चा ‘न्युयोर्क टाइम्स’देखि ‘अलजजिरा’सम्म भइरहेको देख्न सक्नुहुन्छ ।
धनीदेखि अविकसित मुलुकसम्म विश्वभर एकातर्फ लोकप्रियतावाद र दक्षिणपन्थको जगजगी चलिरहेको छ, अर्कोतर्फ यसैले प्रगतिशील वामपन्थीको उभारलाई थप मलजल गरिरहेको छ । त्यसैले संसारभर सामाजिक न्याय र समानतासहितको नयाँ विश्व व्यवस्थाबारे छलफल चलिरहेको छ । बुुर्जुवा पुँजीवादी व्यवस्थालाई टिकाउन यथाशक्य प्रयास गर्ने विश्वभरका संस्था नै समानताको कुरा गरिरहेका छन् । माक्र्सलाई बारम्बार उद्धृत गरिरहेका छन् । त्यसैले संसारभर माक्र्सवाद ग्रिक पौराणिक कथाको फिनिक्स चराजस्तै खरानीबाट पुनर्जीवित भएर पखेटा फैलाई उड्ने संघारमा छ ।
त्यस्तो अवस्थामा नेपालका माओवादीले विकास गरेको विचार संसारभरका अनुसन्धाताका लागि सोध–खोजको प्रयोगशाला हुने निश्चित छ । त्यसैले नेपालको सुदूर बस्तीमा सास धान्दै गरेको माओवादी होस् वा सहरको सडकमा निन्याउरो स्वरमा बोल्दै गरेको माओवादी, उसले कुनै पनि कोणबाट निराश हुनुपर्ने ठाउँ छैन । संसारका महाशक्तिले माओवादीलाई रोक्न सकेनन् भने यो देशको परिवर्तन गर्न, यो देशलाई आत्मनिर्भर बनाउन, जनतालाई समृद्धिसम्म पुर्याउन कुनै पनि शक्तिले माओवादीलाई रोक्न सक्दैनन् ।
- आममतदाताले माओवादीलाई कांग्रेस–एमाले र रास्वपाभन्दा भिन्न पार्टीका रूपमा आगामी निर्वाचनमा भोट हाल्नुपर्ने कुनै वैचारिक बुटी छ ?
यो देशभरका माओवादी तथा उसलाई भोट दिने मतदाताले सोधिरहेको प्रश्न हो । त्यसैले हाम्रा लागि गम्भीर प्रश्न हो । तथापि, यसको जवाफ दिन म नेपाल र नेपालीले भोगिरहेको टड्कारो समस्यालाई सन्दर्भका रूपमा लिन चाहन्छु । उदाहरणका लागि नेपालको वैदेशिक ऋण २४ खर्ब नाघिसकेको छ । ५० लाखभन्दा धेरै युवा विदेशमा हाड–छाला खियाइरहेका छन् । जलवायु परिवर्तन, प्रविधिमा परिवर्तन, बढ्दो बसाइसराइ, कृषि क्षेत्रमा देखापरेको पलायन, त्यसपछि राष्ट्रिय अर्थतन्त्रमा उद्योगको घट्दो हिस्सा, प्रत्येक वर्ष अकासिँदो आयात, बैंकमा लगानी नभएर थुप्रिएको रकम, महालेखापरीक्षकको प्रतिवेदनमा देखिएको अत्यासलाग्दो बेरुजु र प्रत्येक दिन अखबारको पहिलो पृष्ठमा आउने गरेका भ्रष्टाचारका खबरले जनतामा निराशा थपिरहेका छन् । यी सबैलाई टुलुटुलु हेरेर निराश भई सिंगो पुस्ता नै खेर फाल्ने छुट हामीलाई छैन ।
नेपाली समाज आंशिक उपलब्धिलाई काखी च्यापेर धेरै दिन खुसी हुन सकेन । हामी हाम्रो पार्टीे र राष्ट्रिय राजनीतिको गम्भीर मोडमा छौँ ।
त्यसैले हामीले गणतन्त्र नेपालको वैचारिकी निर्माण गर्नुपर्नेछ । राष्ट्रिय स्वाधीनता, समानता, समावेशिता, सामाजिक न्याय र आर्थिक उन्नतिको कार्यक्रमिक लक्ष्य निर्धारण गर्नुपर्नेछ । संविधानमा उल्लेख गरिएको समाजवादको रणनीतिलाई यी एजेन्डातर्फ सोझ्याउनुपर्नेछ । प्रा.डा. लोकराज बरालले ‘नेपालः फ्रम मोनार्की टु रिपब्लिक’ पुस्तकमा मूलभूत दुइटा समस्या औंल्याउनुभएको छ । पहिलो– डेलिभरी र दोस्रो– सुशासन । यी दुवै एजेन्डा माओवादीले बोकेको छ ।
त्यसैले मुलुक रूपान्तरणको वैचारिकीबाट हेर्दा माओवादी कमजोर छैन । तर, ठोस कार्यक्रम निर्माणमा हामी चुकेका छौँ । यो बैठकले यिनै विषयमा केही गम्भीर छलफल गर्दै छ । यसले आफ्ना विगतका कमजोरीको समीक्षा गर्दै छ । आफूलाई सुधार्दै छ । जनताले चिन्ने, बुझ्ने र विश्वास गर्ने गरी जनताको घरदैलोमा पुग्दै छ । समग्रमा भन्नुपर्दा अबको समय माओवादी पुनरोदयको समय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह
-
अरुणाञ्चलमा अलपत्र परेका जुम्लाका १४ मजदुरको उद्धार
-
वैवाहिक वर्षगाँठ मनाउन जनकपुर पुगे बेलायती राजदूत
-
मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणधिन विमानस्थल निरीक्षण