कबाडमा पनि बिक्री हुन नसक्ने अवस्थामा पुगे बेवारिसे ट्रली बस
काठमाडौँ । मीनभवनको कार्यालयमा बेवारिसे बनेका ट्रली बसमा लेखिएको छ– ‘म नै भविष्य हुँ, मलाई बचाई राख्नुस् ।’ यतिका वर्षसम्म सरकारले ट्रली बसको बडीमा लेखिएको नारालाई देखेन । सरकारले न भविष्य चिन्न सक्यो न त ट्रली बसलाई बचाउन सक्यो ।
४९ वर्षअघि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातका रूपमा सञ्चालन भएको ट्रली बस बन्द भएकोपनि १६ वर्ष पुगिसकेको छ ।
३३ वर्ष सञ्चालन भएपनि थन्किएको बस अब चल्न सक्ने अवस्थामा छैनन् । यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक तुलसीनाथ गौतम ट्रली बस अहिले कबाडमा बिक्री हुन पनि नसक्ने अवस्थामा पुगेको बताउँछन् । उनले भने, ‘यसका सिटहरू निकालेर बस्ने कुर्सी बनाइएको छ । पार्टपुर्जा पूरै नष्ट भइसकेका छन् ।’
३३ वर्षसम्म सञ्चालनमा आएको ट्रली बस २०६५ मंसिरदेखि पूर्ण रूपमा बन्द भएको थियो । बन्द हुनुको मुख्य कारण उचित व्यवस्थापन हुन नसक्नु नै रहेको यातायातविज्ञ आशिष गजुरेल बताउँछन् ।
तत्कालीन समयको लोडसेडिङ र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि ट्रली बस बन्द हुनुको अर्को मुख्य कारण भएको उनको भनाइ छ । ट्रली बसको प्रवर्द्धन गर्न खोलिएको समिति पनि सरकारले खारेज गरिसकेको छ ।
‘चीनको सहयोगमा काठमाडौँको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्य विनायकसम्म चलिरहेको बस यतिकै थन्क्याइयो । गजुरेल भन्छन्, ‘त्यो अवधिमा त्यस्तो सुविधायुक्त बस बन्द नगर्नु पर्ने थियो, भयो । सरकारको स्वामित्व भएकाले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भयो ।’
गजुरेलका अनुसार यही मोडलका बस चीनको बेइजिङमा चलिरहेका छन् । त्यसमा हाल ब्याट्री पनि राख्ने व्यवस्था गरेर ब्याट्री चार्ज गर्दै चलाइएको पाइन्छ ।
२०७२ सालमा भारतले नाकाबन्दी लगाएसँगै देशमा आपूर्ति ठप्प बन्यो । पेट्रोलियम पदार्थमा भारतकै भर पर्नुपर्ने अवस्था भएकाले आयात नहुँदा देशभर यातायात प्रणालीमा प्रभाव पारेको थियो । इन्धन अभावको ठुलो समस्या झेल्नु परेको थियो । यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ कात्तिक २० मा ट्रली बस सेवा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।
एसियाली विकास बैंक (एडीबी)ले केही वर्षअघि नयाँ ट्रली बस ल्याएर सञ्चालन गर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसमा पनि कुनै प्रगति हुन सकेको छैन ।
यातायातविज्ञ आशिष गजुरेल १६ वर्षदेखि थन्किएका ट्रली बस अब सञ्चालनमा ल्याउन सके पनि त्यति उपयोगी नहुने बताउँछन् ।
‘जुन बस हामीले प्रयोग गर्न सक्थ्यौँ, त्यसलाई लगेर थन्क्यायौँ । अहिले खिया लागेर सडिसक्यो भने पनि हुन्छ । त्यही बसलाई पुनः प्रयोग गर्न त्यति उचित हुँदैन,’ उनले भने, ‘हिजोआज नयाँ प्रविधियुक्त विद्युतीय ठुला सवारी आइसकेका छन् ।’
ट्रली बसको स्थिति के छ, पुनः प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर एक पटक अध्ययन गर्न आवश्यक रहेको गजुरेल बताउँछन् । उनले भने, ‘अब त्यही चलाउनुभन्दा नयाँ प्रविधियुक्त विद्युतीय बस ल्याएर सञ्चालन गर्नुपर्छ ।’
अहिले पनि त्रिपुरेश्वरमा ट्रली बसका लागि टाँगिएको विद्युतीय तार र पोल देख्न सकिन्छ । तर काठमाडौँको माइतीघरदेखि भक्तपुर सूर्य विनायकसम्म ६ लेन सडक विस्तारका क्रममा ट्रली बसका लागि विद्युत् प्रवाह गर्ने लट्ठा हटाइएको छ । ती तार, पोल र बस यातायात व्यवस्था विभाग परिसरमा थुपारिएका छन् । ती कबाडको रूपमा परिणत छन् ।
पोल राखेर तार टाङ्ने झन्झट गर्नुभन्दा आधुनिक प्रविधियुक्त विद्युतीय ठुला बस ल्याएर सञ्चालन गरिनुपर्ने गजुरेलको भनाइ छ । वातावरणीय हिसाबमा विद्युतीय सवारी साधन एकदमै उपयोगी हुने उनले बताए ।
गजुरेलका अनुसार अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने १३ हजार विद्युतीय सवारी आयात भएका छन् । यो वर्ष करिब २० हजार विद्युतीय सवारी आयात हुने आकलन छ । तातोपानी र रसुवा नाकाबाट ठुलो संख्यामा विद्युतीय सवारी आयात भइरहेको गजुरेल बताउँछन् ।
‘विद्युतीय सवारी साधन नेपालमा राम्रोसँग चल्छ तर सरकारले सवारी साधन व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिनुपर्छ । राज्यले यसको जिम्मा निजी क्षेत्रलाई दिनु पर्छ,’ गजुरेलले भने, ‘विद्युतीय सवारी साधन चार्जिङ स्टेसन आवश्यकताअनुसार विस्तार गरिनु पर्दछ । साथै सवारी साधनमा प्रयोग हुने ब्याट्री पुन प्रयोग गर्ने विषयलाई राज्यले प्राथमिकतामा राख्न आवश्यक छ ।’
यस्तो छ इतिहास
चीनले २०३२ पुस १३ गते नेपाललाई २२ वटा ट्रलीबस सहयोग गरेको थियो । यसपछि त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्य विनायकसम्म १४ किलोमिटर दूरीमा ट्रली बस सञ्चालनमा ल्याइएको थियो । २२ सिट क्षमता भएको उक्त ट्रलिबस सञ्चालनको जिम्मा नेपाल यातायात संस्थानलाई दिइएको थियो ।
सञ्चालनमा आएको १२ वर्षसम्म निर्बाध रूपमा सञ्चालन भइरहेको उक्त बस २०४४ मा बन्द हुने अवस्थामा पुगिसकेको थियो । जसोतसो सञ्चालन हुँदै थियो ।
सरकारले आठौँ पञ्चवर्षीय योजना (२०४९–२०५४) अनुसार आयातित इन्धन घटाउने उद्देश्यले ट्रली बस सेवालाई विस्तार गर्ने नीति लियो । उक्त बस त्रिपुरेश्वरबाट कीर्तिपुरसम्म र थापाथलीबाट पाटनढोका हुँदै पुल्चोकसम्म विस्तार गर्ने योजना थियो । तर विस्तारको काम अघि बढ्न सकेको थिएन । सरकारले २०५२ सालमा दातृ निकायको सहयोगमा १० ओटा ट्रली बस थपेर ३२ वटा पुर्याएको थियो ।
पुनः नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९)ले यसको अझ विस्तार गर्ने योजना लिएको थियो । पूर्वमा विराटनगरबाट इटहरी हुँदै धरान र पश्चिममा भैरहवा–बुटवल रुटमा ट्रली बस चलाउन सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको थियो ।
यसैगरी संस्थानले २०५६ असोज ३ मा एक चिनियाँ कम्पनीसँगको सहकार्यमा उपत्यकामा ललितपुरको सातदोबाटोबाट गोंगबु, रत्नपार्क, त्रिपुरेश्वर, कलंकी रुटमा ४१ किलोमिटरमा सेवा विस्तार गर्ने प्रस्तावसमेत ल्यायो । सोही प्रस्तावमा धरानबाट विराटनगरसम्म सेवा सुरु गर्ने उल्लेख थियो । २०५७ वैशाख ८ मा संस्थानले त्यसका लागि आवश्यक प्राविधिक र वित्तीय प्रस्ताव पनि सरकारलाई बुझाएको थियो ।
तर, सरकारले २०५८ पुस १ गते सरकारले ट्रली बस सेवालाई निजीकरण गर्ने घोषणा ग¥यो । त्यससँगै नेपाल यातायात संस्थान पनि खारेज भयो । निजीकरण भएपछि ट्रली बस निरन्तर घाटामा गयो । २०६० सालमा ट्रली बसको दूरी घटाएर त्रिपुरेश्वरदेखि कोटेश्वरसम्म सीमित गरियो । २०६५ मा पूर्ण रूपमा बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारका पर्खाइमा सुनछहरा
-
१० खेलाडीमा सीमित बार्साको शानदार जित, रियलसँग दुरी घटायो
-
रोहित फर्ममा फर्किँदा भारतलाई शृङ्खला
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प
-
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख