सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
सन्दर्भ : ८९औँ भूपि जयन्ती

भूपिका सिर्जना अँध्यारो हटाउने ‘दीपशिखा’

शुक्रबार, १२ पुस २०८१, ११ : ०८
शुक्रबार, १२ पुस २०८१

नेपाली साहित्यको आकाशमा उदाएका अनेकौँ तारामध्ये भूपि शेरचनको काव्यिक व्यक्तित्व अनौठो उज्यालो बोकेर चम्किएको छ र चम्किरहनेछ । नेपाली आधुनिक कविताको क्षेत्रलाई जीवन र यथार्थका गहिराइमा पुर्‍याउने सर्जकका रूपमा भूपि अमर छन् । उनका कवितामा शब्दहरूको सौन्दर्य मात्र छैन, ती शब्दहरूले बोकेको अर्थ र अनुभूतिले पाठकको हृदयमा अनन्त स्पन्दन छोड्छ । उनका सिर्जना जीवनको सत्य, सामाजिक विडम्बना र मानवीय संवेदनाका प्रतीक बनेका छन् ।

भूपिको काव्यिक यात्रामा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ एउटा युगको दस्ताबेज हो । यो काव्य संग्रहले भूपिलाई नेपाली साहित्यमा अमर बनाएको छ । यहाँ उनले जीवनका ती पक्ष उजागर गरे, जो साधारण मानिसका लागि कहिलेकाहीँ नदेखिएका र नबुझिएका हुन्छन् । उनले लेखेका कविता जीवनका यथार्थ धरातलबाट उत्पन्न भए । उनका शब्दले राजनीतिक अन्याय, सामाजिक विसङ्गति र मानवीय पीडाको बयान गरे । ती शब्द आशा र समभावले ओतप्रोत थिए ।

भूपि शेरचनको पूरा नाम भूपेन्द्रमान शेरचन हो । १९९२ पुस १२ गते मुस्ताङको टुकुचेमा जन्मेका भूपि २०४६ जेठ १ गते यस संसारबाट सदाका लागि बिदा भए । उनी बितेर गएको ३५ वर्ष व्यतीत भइसकेको छ । ८९औँ जन्मदिनको अवसरमा कालजयी क्रान्तिचेतका अग्रणी कविप्रति भावपूर्ण श्रद्धा अर्पंदै भूपिमै समर्पित यो ‘स्मृति–आलेख’ पस्किन्छु ।  

  • भूपि : कविताको सरलतामा गहिरो अर्थ

भूपि शेरचनका कविताको मुख्य विशेषता सरलता हो । उनका कवितामा कुनै जटिल भाषाशैली भेटिँदैन । यो सरलताभित्रको गहिरो अर्थलाई बुझ्न पाठकले आफ्नै हृदय खोतल्नुपर्ने हुन्छ । उनले समाजका तल्लो वर्ग, मजदुर र सर्वसाधारणका पीडा र दुःखलाई आफ्ना कवितामा सरल किसिमले सजिलै स्थान दिए । भूपिले आफ्नो कवितामा जीवनको यथार्थलाई कल्पनाको कुनै मोहजालमा नफसाई सजीव ढंगले प्रस्तुत गरे ।

उनले लेखेका कविताका पंक्तिमा नेपाली समाजमा व्याप्त असमानता, गरिबी र अन्यायप्रति आफ्नो असन्तुष्टि प्रस्तुत गरेका छन् । उनी आलोचक मात्र होइनन् । उनका कवितामा परिवर्तनको चाहना र आशा पनि झल्किन्छ ।

  • भूपिका कविताका प्रतीक

भूपिका कवितामा प्रयोग गरिएका प्रतीक गहिरा छन् । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षकभित्रका हरेक कवितामा उनले समाजको स्थिरता र गतिहीन अवस्थालाई प्रस्तुत गरे । यहाँ आँखा नदेख्ने व्यक्ति मात्र शारीरिक अशक्तताको प्रतीक होइन, यो हाम्रो समाजको दिग्भ्रमित अवस्थाको विम्ब हो । उनका कविताका प्रतीकहरूले पाठकलाई सोच्न मात्र बाध्य गर्दैनन् । तिनीहरूले पाठकलाई आफ्नै जीवन र समाजको गहिरो विश्लेषण गर्न प्रेरित गर्छन् ।

  • भूपिको काव्यिक योगदान

भूपि शेरचनले नेपाली आधुनिक कवितालाई नयाँ दिशा दिए । उनको लेखनले नेपाली साहित्यमा नयाँ शैली र विचारको उदय गरायो । उनका कविता कुनै एउटा कालखण्डका लागि मात्र नभई नेपाली समाज र संस्कृति परिवर्तनका लागि सधैँ प्रासङ्गिक रहनेछन् ।

भूपि शेरचनलाई हामी कवि मात्र नभई नेपाली साहित्यका श्रद्धाका प्रतीकका रूपमा सम्मान गर्छौं । उनका सिर्जना हाम्रा लागि अँध्यारो हटाउने ‘दीपशिखा’जस्तै हुन् । उनका कवितामा सधैँ प्रेरणा, विद्रोह र आशाको आवाज प्रतिध्वनित भइरहेको हुन्छ । त्यसैले ती कविता ‘कालजयी’ छन् ।

भूपि शेरचन नेपाली साहित्यको इतिहासमा मात्र होइन, पाठकका मनमा पनि सधैँ जीवित रहने एउटा काव्यिक प्रतीक हुन् । उनका कविताले हामीलाई समाज, मानवता र जीवनको वास्तविकता बुझ्न सिकाउँछन् । सरलतामा गहिरो मर्म राख्न सक्ने यो कवि सधैँ स्रष्टाका लागि प्रेरणा बन्नेछन् ।

  • प्राज्ञ भूपिको व्यक्तित्व र जिउडाल

स्मृतिको कुनै कुनामा जीवनका ती विशिष्ट क्षण थुप्रिन्छन्, जो कहिल्यै मेटिँदैनन् । भूपि शेरचनसँगको मेरो पहिलो साक्षात्कार त्यस्तै अमिट सम्झनाको एउटा पानामा सुरक्षित छ । 
२०३६ सालमा प्रतिष्ठानमा प्राज्ञका रूपमा उनी दुई कार्यकाल रहेका थिए । दुब्लो–पातलो शरीर, विनम्र चाल–ढाल र शान्त अनुहार । उनको व्यक्तित्वमा कुनै भव्यता देखिँदैनथ्यो तर त्यहाँ एउटा अनौठो ओज थियो, जसले मानिसको मनलाई शीतलता दिन्थ्यो । 

त्यो धूमिल २०४३ सालको बिहान, जुन दिन म नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान पुगेको थिएँ । जतिखेर म एउटा जिज्ञासु र सिकारु लेखक थिएँ । अनि उनी काव्यिक गगनचुम्बी शिखर ।

त्यस दिन ‘प्राज्ञज्यू पाल्नुभयो !’ को आवाजसँगै सबैले जुम्ल्याहात गरेर झुक्दा मैले पनि आफ्नो अञ्जुली थपेँ । तर मनमा प्रश्न थियो— ‘प्राज्ञ भनेको के हो ? त्यो के शक्ति हो, जसले एक साधारण जिउडाललाई पनि यति असाधारण बनाउँछ ? र, यसरी श्रद्धाले शिर झुकाएर नमन गर्छ ।’

मैले भूपिलाई कविता पढेर चिनिसकेको थिएँ । उनका कविताले मलाई हरेकपटक मेरो सोचाइको दायरा फराकिलो बनाइदिन्थ्यो । उनी मेरा लागि कविताका सर्वोच्च सगरमाथा थिए, नेपाली साहित्यका सम्राट । तर त्यो पहिलो भेटमा उनले बोलेनन्, म पनि बोलिनँ । हामीबिच मौन संवाद भयो । त्यसमा उनका कविता मात्र प्रतिध्वनित भए । उनी कवि थिए, जसले शब्दहरूलाई केवल रचनामा मात्र होइन, आफ्नै जीवनमा पनि रूपान्तरण गरेका थिए ।

भूपि शेरचनको अर्को रूप मैले देख्न नपाउँदै उनी अनन्त यात्रामा लागे तर उनको मृत्युशय्या पनि कविताको थलो बन्यो । उनका अन्तिम शब्द पनि कविता थिए । यसले प्रस्ट पार्छ, कविताप्रति उनको लगाव कति गहिरो र अमर थियो । उनले केवल कविताका पंक्ति लेखेनन्, जीवनलाई नै कविता बनाए । बिरलै बाँचिने एउटा पृथक् ‘काव्य जीवन’ उनले बाँचे ।

  • बुबा भूपिमाथि छोरी कविताको सम्झना–संस्मरण 

वर्षौंपछि उनै कविका छोरी कविता शेरचनले उनका भावनालाई शब्दमा उतारेकी छन् । आफ्ना बुबाको स्मृतिमा गत वर्ष ‘छोरीको सम्झनामा भूपि’ शीर्षकमा अंग्रेजी संस्मरण किताब निकालेकी छन् । उनले रचना गरेका अभिलेखहरूले भूपिलाई समयको बन्धनबाट मुक्त गरिदिएका छन् । 

ती सम्झना मात्र होइनन्, ती नेपाली साहित्यको सम्पदा हुन् । भूपिको कविताले नेपाली साहित्यलाई जसरी उचाइमा पुर्‍यायो, उनकी छोरीको लेखनीले त्यो उचाइलाई अमरत्व दिएको छ ।

नेपाली कविता साहित्यका उज्यालो स्तम्भ भूपि शेरचनलाई सम्झनु भनेको नेपाली काव्यको सिर्जनात्मक गहिराइलाई फेरि एकपटक अनुभूत गर्नु हो । उनका कविताले जीवनको यथार्थलाई शब्दमा बुनेर प्रस्तुत गरे । जीवनका ती छाया र उज्यालो पक्षलाई पनि पाठकको हृदयमा उजागर गरिदिए । भूपिको यही छायामा हुर्केकी छोरी कविता शेरचनले बुवाप्रतिको सम्झनालाई जीवन्तरूपमा संस्मरणमा उतारेकी छन् ।

भूपिलाई धेरैले ‘पियक्कड कवि’का रूपमा चिन्थे तर छोरी कविताको आँखामा उनी मायालु, सरल र गम्भीर पिता थिए । यो द्वैधता केवल भूपिजस्तो बहुआयामिक व्यक्तित्वको जीवनमा मात्र सम्भव छ । बुबाप्रतिको गहिरो माया र उनले देखेको असल पिताको छवि संस्मरणका हर पंक्तिमा प्रकट हुन्छ । 

कविता भन्छिन्, ‘मैले कहिल्यै बुबालाई पिएको देखिनँ, न त मातेको नै । महिलाप्रतिको उहाँको सकारात्मक दृष्टिकोण सधैँ प्रेरणादायी थियो । बुबाको यही दृष्टिकोण र विचार उहाँको कवितामा मात्र होइन, जीवनका प्रत्येक पक्षमा अभिव्यक्त हुन्थ्यो ।’

संस्मरणमा कविताले बुबा भूपिको अनुशासनप्रियता र सरलतालाई विशेष रूपमा चित्रण गरेकी छन् । जसरी भूपिले आफ्ना कवितामा समाजका जटिलतालाई सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गरे, त्यसरी नै कविताले बुबाको व्यक्तित्वलाई सरल शब्दमा बयान गरेकी छन् । अरूले देखेको कविको छवि र छोरीले चिनेको पिताको छवि कतिपय अवस्थामा फरक हुन सक्छ । यही अन्तरलाई कविताले गम्भीर तर सरल शैलीमा उतारेकी छन् ।

भूपिको कवितामा जीवनको बोध मात्र छैन, समयको चासो र चेतना पनि छ । उनका हरेक कविताले पाठकलाई जीवनका कुनै न कुनै पक्षबारे सोच्न बाध्य पार्छ । प्रकृति, समाज, र मानवीय मनोविज्ञानलाई उनले जसरी कवितामा उतारे, त्यो आधुनिक नेपाली काव्यको सजीव इतिहास हो । छन्द र लयको कसीभन्दा भावको सरलता र गहिराइ भूपिका कविताको मुख्य विशेषता हो ।

भूपिको कविताले जीवनलाई नजिकबाट हेर्न सिकायो । छोरी कविताको संस्मरणले भूपिको त्यो कवि–जीवनलाई अझै नजिक ल्यायो । बुबाको कवितासँग जोडिन नसकेको अफसोस कविताले प्रकट गरेकी छन् । तर त्यो अफसोसका बिच उनले कवितामा भरिएको भूपिको जीवन र समयलाई अझ राम्ररी बुझ्न सकेकी छन् ।

कविता शेरचनको यो संस्मरण भूपिलाई केवल सम्झनाको कसीमा राख्ने कृति होइन । यो त नेपाली कविताको सम्पदा हो । जसले भूपिलाई सधैँ जीवित राख्ने छ । भूपिका कविताजस्तै उनको छवि पनि अब सदाका लागि नेपाली साहित्यमा अमर छ ।

यसरी भूपि शेरचन कवि थिएनन्; उनी कविताप्रति अर्पित श्रद्धा थिए । उनका कविताले पाठकलाई सोच्न, बुझ्न र अनुभव गर्न प्रेरित गर्छन् । उनले शब्दहरूलाई जीवनका रूपमा सिँगारिदिए । उनको सम्झना, उनका कविताको अभिलेख र उनको छोरीका लेखनीले भूपिलाई युगौँसम्म अमर बनाइरहनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप