कहाँ पुग्यो जनमत पार्टीको नौलो गणतन्त्र सम्बन्धी अभियान ?
काठमाडौँ । जनमत पार्टी नेपालका अध्यक्ष डा. सीके राउतले गत जेठ १५ गते भनेका थिए, ‘हामी सरकार, सडक र सदनबाट नौलो गणतन्त्रका लागि अगाडि बढ्छौँ र हाम्रो सबैभन्दा सशक्त मोर्चा सडक हुनुपर्दछ ।’
गणतन्त्र दिवसको दिन जनमत पार्टीका अध्यक्ष राउतले नौलो गणतन्त्रका लागि गरेको आन्दोलन घोषणा कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, आन्दोलनका लागि सबैभन्दा सशक्त मोर्चा सडक हुनुपर्दछ, किनभने नेपालको राजनीतिक इतिहासमा जे–जति परिवर्तन भएका छन्, ती सबै सडकबाट भएका छन् । सदनबाट यहाँको व्यवस्था फेरिएको होइन । सडकमा लाखौँ जनता ओर्लिएर यो देशमा नौलो गणतन्त्र ल्याउने छौँ ।’
राउतले २०८४ भन्दा अगाडि नै नौलो गणतन्त्रका लागि संघर्ष गर्नैपर्ने आवश्यकतामा पनि जोड दिएका थिए । अनिमात्र ‘मिसन ०८४’ सफल हुने उनको भनाइ थियो ।
नौलो गणतन्त्र नल्याउँदासम्म चुप लागेर नबस्ने भन्दै राउतले त्यसका लागि संघर्ष गरिरहने, अवाज उठाइरहने उद्घोष गरेका थिए ।
काठमाडौँको भृकुटीमण्डपबाट उनले यस्तो उद्घोष गरेको ६ महिना भइसक्यो तर अहिलेसम्म त्यसका लागि कुनै कार्यक्रम वा आन्दोलन भएको छैन । त्यत्रो तामझामका साथ घोषणा गरिएको नौलो गणतन्त्रको बारेमा पार्टीमा चर्चासमेत छैन, आन्दोलन गर्नु त टाढाको कुरा । जनमत पार्टीका एक जना पदाधिकारीले भने, ‘नौलो गणतन्त्रको बारेमा अहिले त पार्टीमा चर्चासमेत हुन छाडेको छ ।’
तर जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले कात्तिक ८ गते एक विज्ञप्ति जारी गर्दै नौलो गणतन्त्र स्थापनाका लागि गत जेठ १५ गतेदेखि नै घोषणा भइ अभियान जारी रहेको र सोही सन्दर्भमा आन्दोलनको तयारी गर्ने विषय आएको जानकारी गराएका थिए ।
तर प्रवक्ता यादवले भनेजस्तो नौलो गणतन्त्रका लागि न कुनै आन्दोलनको तयारी गरेको देखिन्छ न त पार्टीमा त्यसको कुनै चर्चा छ ।
काठमाडौँवासीले दिएनन् साथ
तीनचार महिना लामो तयारीपछि आयोजना गरेको सो कार्यक्रममा काठमाडौँका जनतालाई ओराल्ने तयारी जनमत पार्टीका अध्यक्ष सीके राउतको थियो । त्यसका लागि उनी स्वयंले काठमाडौँका गल्लीगल्ली डुलेर नौलो गणतन्त्रको कार्यक्रममा उपस्थित हुनका लागि आग्रह गरेका थिए । तर सो कार्यक्रमलाई काठमाडौँले साथ दिएन ।
नौलो गणतन्त्रका लागि आन्दोलन गर्ने घोषणा गरेको १० दिनपछि जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व पायो । २०८१ जेठ २५ गते मधेस प्रदेश सरकारको नेतृत्व पाएपछि जनमत पार्टीले नौलो गणतन्त्रको चर्चासमेत गर्न छाडेको गुनासो भइरहेको छ ।
अध्यक्ष राउतले त्यतिबेला नै काठमाडौँवासीमाथि आक्रोश पोखेका थिए । ‘आन्दोलनमा नआउने, परिवर्तनका लागि नलड्ने अनि परिवर्तन खाममा बन्द गरेर तपाईंहरूलाई दिने ? के यो पिज्जा र मःमः हो र होम डेलिभरी गर्ने ? अब होम डेलिभरी हुँदैन,’ उनले भनेका थिए ।
तर भृकुटीमण्डपको सो कार्यक्रम सम्पन्न भएपछि जनमत पार्टीले त्यसका लागि हालसम्म कुनै कार्यक्रम गरेको छैन ।
सत्ता पाएपछि मौन
नौलो गणतन्त्रका लागि आन्दोलन गर्ने घोषणा गरेको १० दिनपछि जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व पायो । २०८१ जेठ २५ गते मधेस प्रदेश सरकारको नेतृत्व पाएपछि जनमत पार्टीले नौलो गणतन्त्रको चर्चासमेत गर्न छाडेको गुनासो भइरहेको छ ।
संघमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व नै गरेको छ । त्यसपछि संघर्षका सबै कार्यक्रम स्थगित गरेर जनमत पार्टी पनि सरकारको वरिपरि घुम्न लागेको आरोप लागिरहेको छ ।
सरकारमै रहेर सरकारकै विरुद्धमा आन्दोलन गर्न नसुहाउने भएकाले जनमत पार्टीले नौलो गणतन्त्रका लागि आन्दोलन नगरेको सोही पार्टीका कतिपय नेता बताउँछन् । जनमत पार्टीले कुनै पनि हालतमा मधेस प्रदेश सरकारको नेतृत्व गुमाउन चाहेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि अध्यक्ष राउतले विरोधमा अभिव्यक्ति दिएपछि मधेस प्रदेश सरकारको नेतृत्व गुम्ने अवस्था आइसकेको थियो । त्यही भएर जनमत पार्टी नौलो गणतन्त्रका लागि आन्दोलन गरेर तत्कालै कुनै जोखिम लिने अवस्था नदेखिएको सोही पार्टीका कतिपय नेता बताउँछन् ।
पुस १४ गते जनमत पार्टीको सचिवालय बैठक बोलाएको छ । सो बैठकमा नौलो गणतन्त्रको बारेमा छलफल हुने पार्टीका सचिव बाल गोविन्द चौधरीको भनाइ छ । उनले जनमत पार्टी नौलो गणतन्त्रभन्दा पछाडि नहट्ने दाबीसमेत गरे ।
जनमत पार्टीका सचिव बाल गोविन्द चौधरीले गत जेठ १५ गते नौलो गणतन्त्रको अभियान घोषणामात्र गरिएको बताए । त्यसको प्राप्तिका लागि कार्यक्रम गर्न बाँकी रहेको उनको भनाइ छ ।
चौधरीले भने, ‘घोषणा गरेपछि पार्टीका विभिन्न कार्यक्रमका साथै उपचुनाव पनि त्यही बिचमा आयो । थप कार्यक्रम तय हुन सकेन । अब चाँडै नै आन्दोलनका कार्यक्रम घोषणा हुन्छ ।’
पुस १४ गते जनमत पार्टीको सचिवालय बैठक बोलाएको छ । सो बैठकमा नौलो गणतन्त्रको बारेमा छलफल हुने चौधरीको भनाइ छ । उनले जनमत पार्टी नौलो गणतन्त्रभन्दा पछाडि नहट्ने दाबीसमेत गरे ।
के हो नौलो गणतन्त्र ?
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भनेका छन्, ‘जनताको जनसम्प्रभुता फर्काउन र पार्टी र नेताहरूको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्त गराउन यो नौलो गणतन्त्रका लागि आन्दोलनको आवश्यकता परेको हो ।’
यो अभ्यास नेपालका लागि नौलो भए पनि विश्वका थुप्रै देशमा यो अभ्यास भइसकेको बताउँदै उनले यही गणतन्त्रलाई सुधार र परस्कृत गर्दै नौलो गणतन्त्र स्थापना गर्ने आफूहरूको लक्ष्य रहेको बताएका थिए ।
‘कसैकसैलाई अनौठो लाग्ला तर फ्रान्समा अहिले पाँचौँ गणतन्त्र चलिरहेको छ । क्रान्तिको जननी मानिने फ्रान्सेली क्रान्तिपछि त्यहाँ पहिलो गणतन्त्र स्थापना भएको थियो भने सन् १९५८ पछि गणतन्त्रमा विभिन्न सुधार गर्दै पाँचौँ गणतन्त्र स्थापना भएको हो,’ राउतको तर्क छ ।
नौलो गणतन्त्रमा जनताले आफ्नो शासनको प्रत्यक्ष अनुभूति गर्ने बुझाइ जनमत पार्टीको छ । हरेक कुरा जनताको निर्णयबाट मात्र हुने, कुनै पनि कुरामा अङ्कुश नलगाउने विशेषता नौलो गणतन्त्रमा हुने जनमत पार्टीले जनाएको छ । ‘संसदमा सांसदहरू स्वतन्त्र छैनन्, अदालतमा न्यायाधीश स्वतन्त्र छैनन्, मन्त्रिपरिषदमा मन्त्रीहरू स्वतन्त्र छैनन् । यी सबै कुरालाई दुईचार जना नेता तथा दुईतीन वटा पार्टीले बन्धक बनाएर राखेका छन्,’ जनमत पार्टीको भनाइ छ । त्यसबाट मुक्ति पाउनका लागि नौलो गणतन्त्र नै चाहिने सो पार्टीले जनाउँदै आएको छ ।
सो पार्टीले सबै विभागीय मन्त्रालय खारेज गरेर प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञ नियुक्त गरेर विभागीय काम कारबाही गराउने व्यवस्था नौलो गणतन्त्रमा हुने बताएको छ ।
नेपालजस्तो देशमा दुई वटा सदन आवश्यक नरहेको पनि जनमत पार्टीले प्रस्ट पारेको छ । जनताले समेत मत जाहेर गरेर ऐन तयार हुने गरी एक सदनात्मक संसदको व्यवस्था हुनुपर्ने उसको धारणा छ ।
जनमत पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमात्र होइन, नौलो गणतन्त्रमा निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख पनि प्रत्यक्ष निर्वाचित हुन्छन् भनेको छ ।
सो पार्टीले सबै विभागीय मन्त्रालय खारेज गरेर प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञ नियुक्त गरेर विभागीय काम कारबाही गराउने व्यवस्था नौलो गणतन्त्रमा हुने बताएको छ ।
सो पार्टीले प्रदेशमा मुख्यमन्त्री र उपमुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने तर मन्त्री नहुने व्यवस्था नौलो गणतन्त्रमा हुने बताएको छ । नौलो गणतन्त्रमा मुख्यमन्त्रीले कर्मचारीबाट विभागीय काम गराउने जनमत पार्टीको परिकल्पना छ ।
नौलो गणतन्त्रमा कुनै न्यायाधीश कुनै पनि पार्टीसँग आबद्ध भएको पाइएमा त्यसलाई आयोग्य घोषणा गरिने जनमतले जनाएको छ । सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सहित ७ जना न्यायाधीश हुनुपर्ने, कर्मचारीतन्त्रमा दलीयकरण नहुने, देशको सम्पूर्ण उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने र राज्यले त्यसको नियमन गर्ने काम नौलो गणतन्त्रमा हुने जनमत पार्टीले जनाएको छ ।
उपभोक्तावादी तथा वित्तीय पुँजीवाद खारेज, उत्पादनमुखी अर्थतन्त्रमा जोड दिँदै राष्ट्रिय पुँजी निर्माण गर्ने जनमत पार्टीको जिकिर छ । देशको उत्पादनलाई प्राथमिकता दिन कदम चाल्नुपर्ने र यो पुँजीवादी र समाजवादी अर्थतन्त्रको बिचको बाटो ‘थर्ड वे’ हुने सो पार्टीको भनाइ छ । यस्तो व्यवस्था विश्वकै सबैभन्दा सुखी देशहरू नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्डलगायतमा रहेको जनमतले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्णवास म्युजियम होटलले अङ्कित मूल्यमा आईपीओ ल्याउँदै, होटलका यस्ता छन् विशेषता
-
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
-
अखिल क्रान्तिकारीमा देखिएन प्रजातान्त्रिक संस्कार, निर्वाचन समिति अनिर्णीत
-
पाथीभरा घटना : सरकारले दमन गरेको भन्दै आन्दोलनको घोषणा
-
१० बजे १० समाचार : विप्लव नेतृत्वको नेकपाले खोल्यो ‘सी व्यापार केन्द्र’, ७ जना सिनियरलाई पन्छाएर जुनियरलाई एसपीको फुली
-
दुई घण्टाभित्रै दुई लाख प्यालेस्टिनी उत्तरी गाजास्थित आफ्नो घर फर्किए, खुसीसँगै दुःखी पनि !