शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट

जब युक्रेनको झण्डासहितको जर्सी लगाएर विराट कोहलीका समर्थक मैदानभित्र प्रवेश गरे !

शुक्रबार, १२ पुस २०८१, १० : २०
शुक्रबार, १२ पुस २०८१

काठमाडौँ । मेलबर्नमा जारी अस्ट्रेलिया र भारतबिचको ‘बक्सिङ डे’ टेस्ट क्रिकेटमा एकपछि अर्को अप्रत्यासित घटना भइरहेका छन् ।

पहिले, आफ्नो ‘डेब्यू’ टेस्टमै १९ वर्षीय अस्ट्रेलियन ब्याट्सम्यान साम कोन्सटसले अनुभवी भारतीय बलरहरुलाई हैरान बनाउँदै अर्धशतक बनाएर समर्थकलाई आश्चर्यमा पारे ।

त्यसपछि, मैदानमा भारतका अनुभवी ब्याट्सम्यान विराट कोहली र अस्ट्रेलियाका युवा खेलाडी कोन्सटसबिचको विवादले विश्व क्रिकेटलाई तरंगित तुल्यायो ।

त्यसलगत्तै, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोही विवादमा विराट कोहलीलाई दोषी ठहर गर्दै उनलाई जरिवाना तिराउने निर्णय गर्‍यो ।

अहिले आएर, चौथो टेस्टको दोस्रो दिन शुक्रबार विराट कोहलीका एक समर्थकले अचानक मैदानभित्र प्रवेश गरेर सुरक्षाकर्मीलाई समेत हैरान पारे ।

शुक्रबार ११औँ ओभरको खेल चलिरहेको थियो । भारतका जसप्रित बुमराह बलिङ गरिरहेका थिए । अस्ट्रेलियाका स्टिभन स्थिम र कप्तान प्याट कमिन्स ब्याटिङ गरिरहेका थिए ।

त्यसैबेला, सुरक्षाकर्मीको आँखा छलेर एक समर्थक दौडँदै मैदानभित्र प्रवेश गरे । त्यतिबेला विराट कोहली र रोहित शर्मा स्लिपमा फिल्डिङ गरिरहेका थिए ।

त्यसपछि ती समर्थकले विराट कोहलीलाई अँगालो हालेर स्टेडियममा उपस्थित दर्शकहरुतिर हेर्दै खुसीले हात हल्लाए । केही समयमै सुरक्षाकर्मी उनलाई समाउन त्यहाँ आइपुगेका थिए ।

तर, ति समर्थकले केही समयसम्म खेल मैदानमै सुरक्षाकर्मीहरुलाई यता र उता दौडाए । अन्ततः सुरक्षाकर्मीहरुले उनलाई समाएर बाहिर निकालेका थिए ।

रमाइलो प्रसंग त के हो भने, विराट कोहलीका ती समर्थकले लगाएको जर्सीमा युक्रेनको झण्डा छापिएको थियो र त्यसमा अंग्रेजीमा ‘फ्री’ अर्थात स्वतन्त्र लिएको थियो ।

लामो समयदेखि रुस र युक्रेनबिच युद्ध चलिरहेकाले पनि उक्त घटनालाई स्टेडियममा उपस्थित दर्शकहरुले रमाइलो मानेर हेरेका थिए । उनी युक्रेन समर्थक रहेको अनुमान गरिएको छ ।

सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा आयोजना भएको थियो । त्यो िवश्वकपको फाइनल खेल अहमादाबादमा अस्ट्रेलिया र भारतबिच नै खेलिएको थियो ।

त्यतिबेला पनि फाइनल खेल चलिरहँदा एक समर्थक मैदानभित्र प्रवेश गरेका थिए । त्यतिबेला विराट कोहली ब्याटिङ गरिरहेका थिए ।

अहिले मैदानभित्र प्रवेश गर्ने व्यक्ति र विश्वकपको फाइनलमा मैदानभित्र प्रवेश गर्ने व्यक्ति एउटै भएको अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप