शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
अर्थ

व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?

शुक्रबार, १२ पुस २०८१, २१ : ५७
शुक्रबार, १२ पुस २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मंसिर) मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् । 

मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

कार्तिकमा पनि ७० हजार ९९० र असोजमा ५३ हजार ५२५ जना कामको खोजीमा बिदेसिएका छन् । 

यसरी बिदेसिनेहरू स्वदेशमा रोजगारी नभएका मात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि छन् । पछिल्ला दुई तीन वर्षको अवधिमा पसल बेचेर विदेश उड्नेहरू बढेको व्यवसायीहरू बताउँछन् ।

 नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य पछिल्लो समय सानादेखि ठुला व्यापार गरिरहेकाहरूमा समेत विदेश जाने प्रवृत्ति देखिएको बताउँछन् । महासंघअन्तर्गत उद्योग तथा व्यापार मामिला हेर्ने वैद्यका अनुसार यकिन तथ्यांक नभए पनि करिब ३० प्रतिशतले व्यवसाय छोड्दै गएको अनुमान छ ।

 ‘कतिपय थोक, कतिपय खुद्रा व्यवसाय गर्नेहरूले पनि छोडेको पाएका छौँ । मुलुकमा मन्दीले यो समस्या ल्याएको हो की जस्तो लाग्छ,’ उनले भने, ‘छोड्नेहरू पहिलो पनि हुन्थे अहिले त नयाँ सुरु गर्ने पनि निकै कम छन् । समस्या चाहिँ त्यो हो ।’

जानकारहरूको बुझाइमा कोरोना महामारीको समयपछि व्यवसाय क्षेत्रको प्रवृत्ति फेरिएको छ । प्रविधिको विकास र विस्तारले पराम्परागत खालका व्यवसायमा संकट थपिएको छ । सूचना प्रविधिको प्रयोग गर्नेहरूले व्यवसायमा राम्रो गरिरहेका छन् । 

प्रविधिको विकासले गर्दा विस्थापित भएका एक व्यवसायी हुन्– एकराज बस्नेत । ललितपुरको सातदोबाटोमा मनी ट्रान्सफर चलाइरहेका बस्नेत पुस ५ गते रोमानिया उडे । आठ वर्षदेखि मनी ट्रान्सफर चलाइरहेका बस्नेतले त्यसअघि दाङको एक मनी ट्रान्सफरमा तीन वर्ष काम गरेका थिए । तर कोरोनापछि उनको व्यवसाय सुक्दै गयो । 

केही दिनअघि उनले भनेका थिए, ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पेमेन्ट गेटवेजस्ता प्रविधिको विकासले मनी ट्रान्सफरको व्यवसाय निकै घट्यो । विदेशबाट पनि सिधै बैंक खातामा पैसा आउन थालेपछि धान्नै गाह्रो भयो ।’ 

मनी ट्रान्सफरको व्यवसाय बन्द गरेपछि बस्नेतले अन्य व्यवसायमा हात हाल्ने प्रयास पनि गरेका थिए । उनी भन्छन्, ‘तर सबैले व्यापार ठप्प छ भनेपछि अर्को व्यवसायमा हात हाल्ने आँट आएन ।’ 

प्रविधिको विकासले अन्य क्षेत्रका व्यवसायमा पनि ठुलो प्रभाव पारेको छ । सहजताले गर्दा घर वा कार्यालयमै बसेर अनलाइनमार्फत किनमेल गर्नेको सङ्ख्या पनि उत्तिकै छ । 

किनमेल मात्रै होइन, खानपानसमेत घर, कार्यालयमै मगाएर खाने चलन बढेको छ । यसले गर्दा परम्परागत रूपमा सटर भाडामा लिएर व्यवसाय गर्नेहरूलाई केही अप्ठ्यारो भएकै छ । 

नेपाल कपडा उद्योग संघका महासचिव उमेश लाखे प्रविधिको प्रयोग नगर्नेहरूलाई थप संकट आएको बताउँछन् । ‘मन्दीले गर्दा माग घटेको छ । अप्ठ्यारो सबै प्रकारका व्यापार व्यवसायमा छ,’ उनी भन्छन्, ‘त्यसमा झन् अनलाइनबाट ससाना सामानदेखि जुत्ता, लुगा, खानेकुरा सबै किनमेल गर्नेहरू बढ्दा सटरमा बसेकालाई थप समस्या भयो ।’

 मन्दी र प्रविधि दुवैको मारमा परेकाहरू पछिल्लो बिदेसिन थालेको उनको अनुभव छ । ठ्याक्कै भन्न नसके पनि पछिल्लो दुई वर्षमा व्यापार छोडेर विदेश जानेको सङ्ख्या ठुलो रहेको उनको भनाए छ । 

पलायन भएका, भइरहेका र व्यापार गरिरहेका व्यवसायीहरूको भनाइ सरकारी तथ्यांकसँग पनि मेल खान्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा गत वर्षको तुलनामा आयात जम्मा ३ प्रतिशतले बढी छ । 

केही वर्षअघिसम्म अघिल्लो वर्षको तुलनामा चालु वर्ष आयातको तथ्यांक कम्तीमा ६ प्रतिशतले बढी हुन्थ्यो । विभागका अनुसार यो आवको मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८६ लाख रुपैयाँको सामग्री आयात भएको छ । जबकि गत आव २०८०/८१ को यही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । बजार माग नभएकै कारण व्यवसायीको पलायन बढेको र मुख्य बजार तथा चोकमै सटरहरू खाली देखिन थालेका छन् ।  

व्यवसायीहरू यो वर्षको ठुला चाडबाडमा समेत बजारको माग नभएको बताउँदै आएका छन् । नेपाल उद्योग परिसंघका सभापति राजेशकुमार अग्रवाल बजार माग ठप्प हुनु नै व्यवसायीहरू पलायन हुने मुख्य कारण भएको बताउँछन् ।

 ‘बैंकमा ६ खर्बभन्दा बढी पैसा हुँदा पनि लगानीकर्ताहरू नआउनु ठुलो निराशाका कारण हो । सरकारी खर्च हुन नसकेका कारण पनि निजी क्षेत्रको मनोबल कमजोर भएको छ,’ उनी भन्छन्, ‘सबै क्षेत्रमा छाएको निराशाले बजार चलायमान हुन सकेको छैन । आम्दानी नभएपछि उपभोक्ताले माग बढाउन सकेका छैनन् । महँगी अकासिएको छ । यस्तो अवस्थामा पलायन नभएर के गर्नु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप