शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : भीम रावल निष्काशनले तरंग, रवि लामिछानेसँग ३ घण्टा बयान

बिहीबार, ११ पुस २०८१, २२ : ००
बिहीबार, ११ पुस २०८१

आज मिति २०८१ साल कात्तिक महिनाको ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. भीम रावल निलम्बन प्रकरण

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावललाई पार्टी सदस्यता नै नरहने गरी निष्कासन गरेपछि एमाले र रावलबारे एमालेभित्र र बाहिर पक्ष–विपक्षमा बहस भइरहेका छन् ।

कतिपयले रावलमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोध साँधेर निष्कासन गरेको आरोप लगाइरहेका छन् भने कतिले त्यस्तो भनाइको प्रतिवाद गरिरहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी रावलमाथिको कारबाहीबारे एमालेभित्र भन्दा एमाले बाहेकका कार्यकर्ताबाट बढी चिन्ता प्रकट भइरहेको बताउँछन् ।

 

२. विप्लवको आक्रोश

सर्वोच्च अदालतले माओवादी ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाएकोप्रति नेकपाका महासचिव विप्लवले आक्रोश पोखेका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायालयमाथि आक्रोश पोखेका हुन् ।

 

३. मन्त्रिपरिषद्को निर्णय

सरकारले अनुचित लेनदेन, खेलमा मिलेमतो र अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा पुस ९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन, खेलमा मिलेमतो र अनुमति नलिई क्यासिनो सञ्चालनका साथै मानव तस्करी, हुन्डी र भर्चुअल मुद्रा प्रयोगलाई समेत शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय भएको जानकारी दिए ।

४. हिरो को हो ?

हिरो अर्थात् नायक को ? कस्तो ? अनि, कसलाई मान्ने ? चलचित्र क्षेत्रमा बहसकै विषय हो यो । 

पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’देखि पछिल्लो ‘पूर्णबहादुरको सारङ्गी’सम्म आइपुग्दा दर्शकले अनेक प्रकारका हिरो पर्दामा देखिसकेका छन् । कोही क्लासिकल त कोही एक्सनबाट चिनिए । कसैले डान्सिङ त कसैले रोमान्टिकको परिचय बनाए । पैसा लगानी गरेर आउनेहरू पनि देखिए । कतिपयका सन्दर्भमा नेपोटिजम (नातावाद) पनि चल्यो । 

पछिल्लो समय भने चरित्र प्रधान बनेर आएको देखिन्छ । ‘पूर्णबहादुरको सारङ्गी’को सफलताले पनि यही तथ्य बोल्छ । यही फिल्मबाट आफू हिरो भएको महसुस गरिरहेका छन्, विजय बराल । भन्छन्, ‘मलाई के लाग्न थालेको छ भने चरित्रका आधारमा पनि हिरो हुने रहेछ ।’

५. संविधन संशोधनको सवाल

प्रमुख राजनीतिक दलहरू संविधान संशोधनको प्रारम्भिक गृहकार्यमा जुटेका छन् । संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा एमाले, तेस्रो दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलहरूले संविधान संशोधनका लागि आन्तरिक गृहकार्यलाई तीव्रता दिदैँ पार्टीभित्र प्रारम्भिक छलफल थालेका हुन् ।

६. अदालत

सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन लगायतका कुनै पनि कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले बिहीबार नेपाल ओलम्पिक कमिटीसहित सबै विपक्षीको नाममा यस्तो आदेश जारी गरेको हो ।

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलको भ्रष्टाचार मुद्दामा सिंगापुरको बैंकको विस्तृत विवरण झिकाई अदालतमा पेस गर्न अख्तियारको नाममा आदेश जारी गरेको छ ।

 

७. लामिछानेसँग बयान

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।

८. स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

 

९. सेयर बजार

साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ ।

पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार कारोबार रकम पनि बढेको छ ।

१०. नातेदारबाट हत्या

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङ मृत फेला परिन् । पुस ३ मा धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ डेरामा मृत भेटिएकी थिइन् ।

उनी चन्द्रागिरि नगरपालिका–११ सतुंगल स्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् ।

दाजु नाता पर्ने धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङ उनको डेरामा गइरहन्थे । विश्वासले बलात्कारपछि हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

 

यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप