शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुवासश्री पुनः नियुक्त

बिहीबार, ११ पुस २०८१, १९ : ५३
बिहीबार, ११ पुस २०८१

विराटनगर । कोशी प्रदेश सरकारले मम्नमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा डा. सुवासश्री पोखरेललाई पुनः नियुक्त गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले बिहीबार डा. पोखरेललाई चार वर्षे दोस्रो कार्यकालका लागि उपकुलपति नियुक्त गरेका हुन ।

नवनियुक्त उपकुलपति पोखरेललाई कुलपति तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराएका छन् । सोही क्रममा उनले दोस्रो कार्यकालका लागि नियुक्त भएका भिसी पोखरेललाई पहिलो कार्यकाल भन्दा पनि अझै राम्रो काम गरेर विश्वविद्यालयलाई गति दिलाउन सफल हुने विश्वास गर्दै शुभकामना दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  नियुक्ति प्रदान तथा शपथ ग्रहण कार्यक्रममा विश्वविद्यालयका सहकुलपति सामाजिक विकास मन्त्री पाँचकर्ण राई, पूर्वमन्त्री तथा विश्वविद्यालय संरक्षण समिति सदस्य जीवन घिमिरे, राजन केसी, बलभद्र थारु, रजिस्टार डा दिलनाथ फुयाँल, डिन डा. प्रचण्डमान प्रधान, कानुनी सल्लाहकार कोषराज न्यौपाने लगायतको उपस्थिति थियो । 

शपथ ग्रहणपछि नवनियुक्त पोखरेलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले आफ्नो नेतृत्वमा जग हालको कोशी प्रदेश सरकारको विश्वविद्यालयलाई आगामी चार वर्षभित्र अन्तर्राष्ट्रिय स्तरमा चिनाएरै छाड्ने प्रतिबद्धता जनाए । उनले पदाधिकारीहरू र कर्मचारीहरूलाई अघिल्लो कार्यकालमा गरेको सकारात्मक सहयोगका लागि धन्यवाद दिँदै अगामी कार्यकालमा पनि कसैलाई काखा र पाखा नगरी विश्वविद्यालयको सर्वोत्तम हितका लागि सबैसँग मिलेर सहकार्य गर्ने बताए । 

पहिलो निर्णय मिसन २०८५

पदभार ग्रहणका क्रममा दोस्रो कार्यकालका लागि नियुक्त भएका उपकुलपति पोखरेलले विश्वविद्यालयको आगामी मिसन २०८५ सफल बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

उनकै नेतृत्वमा निर्माण भएको मनमोहनको मिसन २०८५ रणनीतिमा १८ वटा मुख्य कार्यभारहरू सम्पन्न गर्नुपर्ने रहेका छन् । जसका लागि २० अर्बभन्दा बढी रकम खर्च हुनेछ । जसमा विभिन्न आधुनिक ल्याबहरूको स्थापना भवनहरूको निर्माण, एक दर्जन निर्देशिका र नियमावली निर्माण, आफ्नै शिक्षण अस्पताल निर्माण, पिएचडीसम्मको शैक्षिक कार्यक्रम सञ्चालन लगायत छन् ।  उनले आफ्नो दोस्रो कार्यकालमा जसरी भएपनि मिसन २०८५ सफल  बनाएरै छाडने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारी र पदाधिकारीहरूलाई पनि आफूलाई साथ दिन आग्रह गरे ।  पोखरेल मनमोहन विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।

कोशी प्रदेश सरकारले ऐन निर्माण गरेर २०७४ मा मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहनेगर देशकै  पहिलो प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । हाल यो विश्वविद्यालयले विभिन्न ऐन र निर्देशिका निर्माण गरी चार विषयमा स्नातक, दुई विषयमा स्नातकोत्तर र विभिन्न प्राविधिक आठ विषयका डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप