शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँ जेभियर्स र हेम्सलाई उपाधि

बिहीबार, ११ पुस २०८१, १९ : ४६
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । काठमाडौँ जेभियर्स पब्लिक स्कुल र हेम्सले १३ औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । दोहोरो उपाधि चुमेको काठमाडौँ जेभियर्स जुनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन   बन्यो । हेम्सले सिनियर ब्वाइजमा बाजी मार्‍यो । जुनियर ब्वाइजमा काठमाडौँ जेभियर्स र सियिनर ब्वाइजमा हेम्स लगातार तेस्रो पटक च्याम्पियन बनेका हुन् ।

शंखमुलस्थित लिभरपुल स्कुलमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौँ जेभियर्सले मार्बलसलाई ३९–३१ ले पराजित गर्‍यो । विजयी टिमका लागि अनमोल कुशुवारले ३० अंक जोडे । सनसाइन तेस्रो भयो । 

सिनियर गल्र्सको उपाधि भिडन्तमा काठमाडौँ जेभियर्सले ११ औँ र १२ औँ संस्करणको उपाधि विजेता इनोभेटिभलाई २५–१६ ले हराउँदै ह्याट्रिक उपाधि जित्नबाट रोक्यो । काठमाडौँ जेभियर्सकी दिप्रेन्जा बोहराले १७ स्कोर गरिन् । एसियन पब्लिकले तेस्रो स्थानमा चित्त बुझायो ।

प्याब्सन मध्य क्षेत्रीय समितिद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजको फाइनलमा हेम्सले सनसाइनलाई ५४–४० ले पाखा लगायो । हेम्सका लागि सुशान्त आचार्यले १८ अंक जोडे । मार्बलस तेस्रो बन्यो ।

सिनियर ब्वाइजमा हेम्सका सुशान्त आचार्य, सिनियर गल्र्समा काठमाडौँ जेभियर्सकी सुहानी बानियाँ र जुनियर ब्वाइजमा काठमाडौँ जेभियर्सका अनमोल कुशुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सनसाइनका सोनाम तामाङ, सिनियर गल्र्समा इनोभेटिभकी विद्या कुमाल र जुनियर ब्वाइजमा मार्बलसका नवीन कार्की प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

सिनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए), सिनियर गल्र्समा लिभरपुल र जुनियर ब्वाइजमा हेम्सले अनुशासित टिमको ट्रफी पाए ।

विजेतालाई काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष प्रेमकुमार राई र वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौँ महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, प्याब्सन मध्य क्षेत्रीय समितिका अध्यक्ष धनप्रसाद सुब्बा र पूर्व अध्यक्ष दिनेश पाण्डे, प्रतियोगिता संयोजक समेत रहेका आयोजकका उपाध्यक्ष तेजप्रकाश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस ६ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ टिम सहभागी थिए । लिभरपुल बाहेक खेलहरु नयाँ बानेश्वरस्थित काठमाडौँ जेभियर्समा पनि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप