कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो : गंगानारायण श्रेष्ठ
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा करिब आठ महिनाअघि नेपाल समाजवादी पार्टी विभाजित भयो । एकताको पक्षमा महेन्द्र यादव, गंगानारायण श्रेष्ठहरू रहे । प्रचण्डले पार्टी नै ‘हाइज्याक’ गरे भन्दै डा. बाबुराम भट्टराई आफ्नो बाटो लागिसके । तर गंगानारायण श्रेष्ठ माओवादी पार्टीसँग एकताको पर्खाइमा छन् ।
माओवादीसँगको पार्टी एकतामा भइरहेको ढिलाइ, समाजवादी मोर्चाको निष्क्रियता लगायतमा विषयमा केन्द्रित रहेर नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसँग रातोपाटीले कुराकानी गरेको छ । श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश–
तपाईंहरूले पार्टी फुटाइसकेपछि बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गठन गरिसक्नुभयो । अनि तपाईंहरूलाई अवैधानिक भनिसक्नुभयो । तपाईंहरू अवैधानिक भएकै हो ?
उहाँले भन्दैमा हुने होइन नि । उहाँले दर्ता गरेको पार्टीको नाम र हाम्रो पार्टीको नाम नै फरक छ ।
कुनै बेला बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी प्रचण्डले ‘हाइज्याक’ गर्नुभयो भनेर आक्रोश पोख्नुभएको थियो । अहिले आएर प्रमाणित भयो, हैन ?
आजसम्म हामी नेसपालाई नै निरन्तरता दिएर बसिरहेका छौँ । बरु उहाँ (बाबुराम) त्यहाँबाट फेरि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) भन्नेतिर जानुभयो । हामी त विधिवत रूपमा पार्टी एकता सम्पन्न गर्दैछौँ ।
एकता गर्छौं भनेकै एक वर्ष पुग्न लाग्यो । किन अलमल ?
स्वाभाविक हो । पार्टी एकता गर्ने भन्ने कुरा सामान्य होइन । राजनीतिक, वैचारिक, सांगठिक सबै कुरा मिल्नुपर्छ नि ! हामी एकताको अन्तिम चरणमा आइपुगेका छौँ ।
चार महिनाअघि पनि हामी अन्तिममा पुगिसक्यौँ भन्नुहुन्थ्यो नि ?
वास्तवमा मंसिरमा पार्टी एकता घोषणा गर्ने तयारी थियो । केही कारणले रोकियो । अब आउँदो फागुन १ गते पार्टी एकता हुन्छ ।
राजनीतिक, वैचारिक एजेण्डा, कार्यक्रम, कार्यदिशा केही त फरक छैन माओवादीसँग, अनि एकता गर्न गाह्रो किन भएको ?
आधारभूत रूपमा खासै मतभेद नभएकाले नै पार्टी एकता हुन लागेको हो नि ।
नेताहरूको पदको कुरा पनि मिलिसक्यो ?
वैचारिक, राजनीतिक कुरा मिलिसकेपछि पद ठुलो कुरा होइन ।
अरु कम्युनिस्ट पार्टीबाट आउनेलाई एक पद बढुवा गर्ने माओवादीको निर्णय छ । तपाईं अहिले नै सहअक्ष्यक्ष हुनुहुन्छ, माओवादीमा गएपछि तपाईं के हुने त ?
कार्यदलले काम गरिरहेको छ । त्यसले जे टुङ्ग्याउँछ, त्यही नै हुन्छ ।
तपाईंहरूलाई प्रचण्डले चौबाटोमा छाडिदिने खतरा कत्तिको छ ? अहिलेसम्म यता न उताको पारिरहनुभएको छ । अझै नहोला भन्ने के छ ?
उहाँ (प्रचण्ड)ले पार्नुभएको होइन र हामी चौबाटोमा छँदा पनि छैनौँ ।
उतिखेर एकता हुन्छ भनेर पार्टी फुटाउनुभएको, अहिलेसम्म हेरेको हेर्यै हुनुहुन्छ त ?
धेरै हतार गर्नु पनि राम्रो हुन्न । रातारात मिल्ने अनि रातारात फुट्ने कुरा राम्रो हो र ?
भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय हेर्दा विप्लवजीहरू त एकतामा नआउनेजस्तो देखियो, होइन ?
वस्तुगत आवश्यकताले पार्टीहरू जुट्छन् पनि र फुट्छन् पनि ।
पार्टी फुट्नुमा त्यस्तो वस्तुगत आधार के छ र ? पद लोलुपता बाहेक ?
जनयुद्धको कोर्ष पूरा गरेर लोकतान्त्रिक कोर्षबाट अगाडि बढ्ने क्रममा यो बाटो ठिक कि त्यो बाटो भन्ने कुरा पार्टीका नेतालाई लाग्नु स्वाभाविक थियो । त्यही अनुसार नेताहरूले आ–आफ्नो ढंगले प्रयोग गरे । त्यो प्रयोग पवित्र मनले नै गरे नेताहरूले । तर परिणाम के आयो त ? एमालेसँग पार्टी मिलाउने क्रममा माओवादी पार्टी नै विघटन गरिदिनुभयो । किरणले, बाबुरामले, विप्लवले पनि प्रयोग गर्नुभयो । तर परिणाम त राम्रो आएन ।
नेताहरूले प्रयोग त गरे तर सफलचाहिँ को भयो त ?
प्रचण्ड, किरण, बाबुराम, विप्लव कोही पनि सफल भएको म देख्दिनँ ।
अब सच्चिन्छन् भन्ने लाग्छ त ?
कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो । ०८४ को सेरोफेरोमा आउँछन् ।
बाबुराम भट्टराई बाहेक ?
उहाँ पनि कहाँ जानुहुन्छ र ?
उहाँले त कम्युनिस्ट विचारधारा, त्यसमा पनि माओवाद नै छाडिसक्नुभयो नि, होइन ?
उहाँले छाडेर उहाँलाई त्यो विचारधाराले छाड्छ र ? जनयुद्धमा आम जनता सहभागी भए । विरोधीको भाषामा भन्दा सत्र हजार मानिस मारिए । त्यसको जवाफदेहीता प्रचण्डको काँधमा मात्रै किरणजीले, बाबुरामजीले थोपरिदिएर हुन्छ ? उहाँहरूले लिनुपर्दैन ? म माओवादीबाट भागेँ भनेर हुन्छ ?
कांग्रेस र एमालेजस्ता दल मिलेपछि अब हाम्रो अस्तित्व सङ्कटमा पर्छ भन्ने डर र त्रासले तपाईंहरू एकीकृत हुन खोज्नुभएको हो ?
लोकतान्त्रिक देशमा यस्ता खालका मिलाइ हुँदैन । सरकार बनाउनुभएको पनि त ६ महिना भइसक्यो । के गर्नुभयो त ? आफ्ना विरोधीलाई पेल्ने, ठेल्नेबाहेक के पो गर्नुभएको छ र ?
तपाईंहरूले समाजवादी मोर्चा बनाउनुभएको थियो । तपाईं त्यसको कार्यदलको सदस्य पनि हुनुहुन्थ्यो । त्यो अहिले पनि छ ?
छ ।
कहाँ छ ? के गर्दैछ ?
समाजवादी मोर्चामा एउटा प्रस्ताव तयार पारेका छौँ । नेताहरूको समय नमिलेर बुझाउन पाएका छैनौँ ।
झलनाथ खनालले यसको काम छैन भनिसक्नुभयो । उपेन्द्र यादवजीले त छाडी नै सक्नुभयो । अब पनि काम छ यसको ?
कुनै व्यक्तिले काम छ वा छैन भन्नुभन्दा पनि आजका दिनसम्म समाजवादी मोर्चा अस्तित्वमा छ ।
अदालतले सरकारी कामकाजको भाषामा जनयुद्ध भन्ने शब्द प्रयोग नगर्न दिएको आदेशलाई के भन्नुहुन्छ ?
जनयुद्ध नभएको भए आजको उपलब्धि सम्भव थिएन । सर्वोच्च अदालतले सरकारी कामकाजको भाषामा प्रयोग नगर्नु भनिदिँदैमा जसले जनयुद्धमा आफ्नो मुक्ति देखे, ती जनताहरूको मन मस्तिष्कमा लेखिएका अक्षर मेटिन्छन् ? हिजो त त्यो रगतले लेखेको हो । दश हजार वर्षसम्म पनि स्वर्ण अक्षरले लेखिन्छ ।
संविधान जारी गर्दा नै तपाईंहरूले नै छाडेको होइन र जनयुद्ध भन्ने शब्द ?
सबै खालका आन्दोलन र संघर्षलाई समेट्ने क्रममा सशस्त्र द्वन्द्व भन्ने शब्द राखिएको हो । यसको अर्थ हाम्रो संविधानले जनयुद्ध बुझ्दै बुझ्दैन, जान्दै जान्दैन भन्ने होइन । देशले जनयुद्ध चिन्दैन भन्ने भाष्य निर्माण गरिनु हुँदैन ।
कम्तीमा हिजो माओवादी भएकाहरू अब एक ठाउँमा आउँछन् भन्ने चर्चामा कतिको सत्यता देख्नुहुन्छ ?
आउनुभएन भने कुनै न कुनै दिन उहाँहरूले जनताको कठघरामा उभिएर जनताले सोधेको यक्ष प्रश्नको जवाफचाहिँ दिनुपर्छ । अर्को कुरा, यत्रो त्याग र बलिदानबाट प्राप्त भएको अहिलेको उपलब्धि तलमाथि हुने अवस्था बन्यो भने कसैले कसैलाई धारेहात लगाएर आरोपित गर्दैमा केही पानीमाथिको ओभानोचाहिँ हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो ब्याट्सम्यान बने बाबर आजम
-
लिम्बू भाषामा चलचित्र ‘सेक्मुरी’ बन्ने
-
कहाँ पुग्यो जनमत पार्टीको नौलो गणतन्त्र सम्बन्धी अभियान ?
-
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रचण्ड गरे दुःख व्यक्त
-
‘ऊनको स्वीटर’ले कौडा भाकामा ल्यायो नयाँ गीत ‘मखमली’
-
आयोजना कार्यान्वयनमा स्वामित्व अभाव प्रमुख समस्या