शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
रावलमाथि कारबाही

एमालेमा ओली–रावल सम्बन्ध : निकट नहुँदै निष्कासन

बिहीबार, ११ पुस २०८१, १९ : ३५
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावललाई पार्टी सदस्यता नै नरहने गरी निष्कासन गरेपछि एमाले र रावलबारे एमालेभित्र र बाहिर पक्ष–विपक्षमा बहस भइरहेका छन् ।

कतिपयले रावलमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोध साँधेर निष्कासन गरेको आरोप लगाइरहेका छन् भने कतिले त्यस्तो भनाइको प्रतिवाद गरिरहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी रावलमाथिको कारबाहीबारे एमालेभित्र भन्दा एमाले बाहेकका कार्यकर्ताबाट बढी चिन्ता प्रकट भइरहेको बताउँछन् ।

गिरीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा रावलका समर्थकलाई लक्षित गर्दै प्रश्न गरेका छन्, ‘पार्टीका केही कार्यकर्तामा पनि यो स्याल हुइयाँको प्रभाव परेको हो कि ? के भीम रावलमाथि पार्टीले अन्याय नै गरेको हो त ?’

गिरीले रावलबारे विगत फर्केर हेर्न सुझावसमेत दिएका छन् । भीम रावलले विगतमा पार्टी र राष्ट्रका निम्ति गरेको योगदानको कदर गर्दै प्रशस्त अवसर र जिम्मेवारीसमेत पाएको उनको जिकिर छ ।

गिरीले २०४६ सालमा नेता झलनाथ खनालको स्वकीय हुँदै ०५२ सालमा रावल पर्यटन राज्यमन्त्री, २०५५ मा पर्यटनमन्त्री बनेको स्मरण गराएका छन् । त्यस्तै उनले २०६२ मा पार्टीले शिक्षामन्त्रीमा सिफारिस गरेको तर चाहेको मन्त्रालय नपाएपछि रावल सरकारमै नगएको उल्लेख गरेका छन् ।

२०६४ सालमा समानुपातिक सभासद, २०६६ मा गृहमन्त्री र २०७२ मा उपप्रधानसहित रावललाई एमालेले नै रक्षामन्त्री बनाएको गिरीले स्मरण गराएका छन् ।    

  • ओली–रावल सम्बन्ध

विद्यार्थी आन्दोलनमार्फत राजनीति सुरु गरेका रावलले केपी शर्मा ओलीलाई पहिलो पटक जेलमै भेटेका थिए । रावल विद्यार्थी आन्दोलनका क्रममा जेलमा थिए । ओली भने झापा विद्रोहका क्रममा जेलमा परेका थिए । रावल केही समयमै जेलबाट निस्के पनि ओली २०४२ सालपछि मात्र जेलमुक्त भएका थिए ।

‘लामो समय दुवै जना एउटै पार्टीमा भए पनि केपी ओली र रावलबिचको सम्बन्ध त्यति धेरै घनिष्ठ कहिल्यै भएन र नराम्रो पनि भएको थिएन’, एमाले नेता केशव बडालले भने, ‘अध्यक्ष र रावलको आआफ्नै किसिमको स्वभाव, अभिव्यक्ति र शैली छ ।’

एमालेमा अवसर पाउने थोरै नेतामध्ये रावल पनि रहेको बडालको भनाइ छ । ‘उहाँ एकपटक उपप्रधानमन्त्री र पटकपटक मन्त्री हुनुभयो’, बडालले भने, ‘दशौँ राष्ट्रिय महाधिवेशनमा रावलमा अध्यक्ष हुने आकाङ्क्षा बढ्यो ।’

एमाले लेखा आयोगका सदस्य कोमल भट्टराईका अनुसार अध्यक्ष ओलीसँग रावलको कहिल्यै सामिप्यता हुन पाएन । बरु रावलले माधव नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र प्रदिप नेपालसँग निकट भएर काम गरेका थिए ।

‘खनाल, नेपाल र नेम्वाङको साथ पाएकाले रावलले बेलाबेला अवसरका लागि मौका खोज्ने गर्थे’, भट्टराईले भने, ‘तर ओलीको निकट सहयोगी भएर रावलले कहिल्यै एमालेमा काम गरेनन् ।’

भट्टराईका अनुसार आठौँ महाधिवेशन हुँदा रावल माधव निकट थिए । त्यतिबेला पार्टीमा झलनाथ खनाल र केपी शर्मा ओलीको गुट सतहमा आयो । ओलीकै टिममा नेता नेपाल भित्रिएपछि रावल ओलीकै टिमबाट उपाध्यक्षका उम्मेदवार बनेका थिए ।

त्यसबेला रावलबाहेक ओलीको टिमबाट विद्या भण्डारी र अशोक राई पनि उपाध्यक्षको उम्मेदवार बनेका थिए । तर रावल पराजित बने भने राई र भण्डारी निर्वाचित बनेका थिए । आठौँ महाधिवेशनबाट पराजित भएपछि रावलले केन्द्रीय सदस्यको शपथग्रहण गर्न समेत अस्वीकार गरेका थिए । त्यतिबेला रावल क्षेत्रीय खस पार्टी बनाउने भन्दै केही समय अभियान चलाए पनि पछि रोकिएका थिए ।

त्यही क्रममा माधव नेपाल नेतृत्वको सरकारमा रावललाई गृहमन्त्री बनाउने निर्णय पार्टीले गर्‍यो । रावलले मन्त्री पदको शपथ लिनु केही समय अघिमात्र केन्द्रीय सदस्यको शपथ लिएका थिए ।

त्यसपछि काठमाडौँमा भएको नवौँ महाधिवेशनमा ओली र माधव नेपाल फरकफरक प्यानल बनाएर गए । रावल माधव नेपालको प्यानलबाट उपाध्यक्षमा लडे । त्यसबेला रावलले सुरेन्द्र पाण्डेलाई हराएर लोकप्रिय मतसहित निर्वाचित भए ।

  • नेकपाको सचिवालयमा अटेनन् रावल

२०५१ पछि पार्टी र सरकारमा सँगसँगै जस्तो काम गर्दै आएका ओली र रावल मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा एउटै सरकारमा सहभागी थिए । मनमोहनले ओलीलाई गृहमन्त्री र रावललाई पर्यटनमन्त्री बनाएका थिए । संविधान निर्माणपछि २०७२ सालमा ओली पहिलो पटक प्रधानमन्त्री बने । त्यसबेला ओलीले रावललाई उपप्रधानसहित रक्षामन्त्रीको जिम्मेवारी दिएका थिए । त्यसबेलासम्म रावल र ओलीको सम्बन्ध ठिकै ढंगले चलेको थियो । जब ०७४ फागुनमा एमाले र माओवादीबिच एकता भयो, त्यो एकतापछि बनेको नेकपाको सचिवालय सदस्यमा रावल परेनन् । त्यहीँबाट ओली–रावल सम्बन्धमा चिसोपन बढ्न थाल्यो भने त्यो क्रम अझ झाङ्गिएर रावल पार्टीबाटै निष्कासनमा परे ।

त्यसबेला रावलले आफू नवौँ महाधिवेशनमा धेरै मत ल्याएर उपाध्यक्ष बनेकाले सचिवालयमा पनि समेटिनुपर्ने तर्क गरेका थिए । तर ओलीले उनको कुरा सुनेनन् । बरु पार्टी एकताको भूमिका खेल्ने रावलभन्दा जुनियर (उपमहासचिव) विष्णु पौडेललाई उनले महासचिव बनाए ।

पार्टीमा भूमिका नपाए पनि रावलले मन्त्री बन्ने चाहना व्यक्त गरेका थिए तर रावलको त्यो चाहना पनि ओलीले पूरा गरेनन् । ओलीसँग टाढिएपछि रावल फेरि माधव नेपालसँग नजिकिए र माओवादीसँग मिलेर बनेको तत्कालीन नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने पक्षमा उभिए ।

त्यसबेला ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समेत रावलले हस्ताक्षर गरे । तर २०७८ मा माधव नेपालले एमालेसँग विद्रोह गर्दा रावलसहितका नेताहरू ओलीसँग दश बुँदे सहमति गरेर एमालेमै अडिए । यसका बाबजुद रावल कहिल्यै ओलीसँग निकट हुन सकेनन् ।

  • इन्चार्ज नपाएपछि बिच्किए रावल

नेकपा बनेपछि ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज माओवादीबाट आएका लेखराज भट्टलाई तोके । एकताअघि रावल एमालेबाट इन्चार्ज थिए । त्यसपछि भने ओली–रावल सम्बन्धमा टकराव बढ्न थाल्यो । नेकपाको सुदूरपश्चिम इन्चार्ज नपाएसँगै रावल ओलीसँग थप चिढिन पुगे । पछि नेकपा विभाजन भयो । एकता भङ्ग भएर एमाले र माओवादी साविककै अवस्थामा फर्किए ।

जब २०७८ सालमा चितवनमा आयोजित एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा रावलले ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिने मनस्थिति बनाए । पार्टी टुटफुट र उत्तरचढाव भोगेका बेला ओली आफूबाहेकको नेतृत्व चाहँदैनथे । सोही अनुसार उनले मतदान नगरी सहमतिबाटै नेतृत्व चयनको पहलसमेत गरे । तर ओलीको चाहनाविपरीत अध्यक्षमा उम्मेदवारी दिएका रावल पराजित मात्र भएनन्, त्यसपछि पार्टीमा लगातार पाखा लाग्न पुगे ।

महाधिवेशनपछि रावलले पार्टीमा मुख्य जिम्मेवारी त पाएनन् नै, २०७९ मा भएको निर्वाचनमा समेत ओलीले उनलाई टिकट दिएनन् । टिकट नपाएपछि पार्टी गतिविधिबाट समेत उनी टाढिन बाध्य भए ।

‘दशौँ महाधिवेशनमा अध्यक्ष मण्डलको सदस्य पनि हुनुहुन्थ्यो रावल । महाधिवेशन हलमा सर्वसम्मत नेतृत्व चयन गर्ने एक किसिमको सहमति भयो’, बडालले भने, ‘तर रावलसहित घनश्याम भुसालले अध्यक्ष र महासचिवमा उम्मेदवारी दिनुभयो । महाधिवेशनले उहाँलाई स्वीकारेन ।’

बडालका अनुसार २०३३ सालमा विद्यार्थी आन्दोलन हुँदा सुवास नेम्वाङ, राजेन्द्र पाण्डे र भीम रावल सँगै जेल परेका थिए । पाण्डेले त्यसैबेला जेलमा पार्टी सदस्यता लिएका थिए ।

‘विगतमा ओली–रावल सम्बन्ध धेरै नजिक र धेरै टाढा पनि थिएन । तर दशौँ महाधिवेशनमा रावलमा अध्यक्ष बन्ने हुटहुटी बढ्यो । त्यहीँबाट दुवै नेताबिच सम्बन्ध चिसिन पुग्यो र अन्ततः रावल पार्टी हितविपरीत बोल्न थाल्नुभयो’, बडालले भने, ‘स्पष्टिकरण सोध्दा पार्टीलाई जवाफसमेत दिन चाहनुभएन । अन्ततः उहाँको पार्टी सदस्यता खारेज हुनपुग्यो ।’

ओली र रावलका मिल्ने स्वभाव

ओली र रावल दुवै स्पष्ट बोल्ने नेतामा पर्छन् । दुवै नेता आफ्नो कुरामा प्रायः अडिग नै रहन्छन् । पछिल्ला वर्षमा दुवै नेता राष्ट्रवादी छविका रूपमा चिनिएका हुन् । नेकपा माओवादीलाई हेर्ने दृष्टिकोणमा पनि दुवैको मत लामो समयसम्म उस्तै रह्यो । त्यो बाहेक सत्ता र शक्ति प्राप्त गर्न तथा आफूलाई केन्द्रविन्दुमा राख्ने सवालमा पनि दुवैको आकाङ्क्षा लगभग उस्तै रहेको दुवैसँग सङ्गत गर्ने नेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप