शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

मास्टरसेफ साहको पहलमा बोल्न र सुन्न नसक्नेलाई निःशुल्क हस्पिटालिटी तालिम

बिहीबार, ११ पुस २०८१, १६ : ५९
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । बीबीसी मास्टरसेफ सन्तोष साहले बोल्न र सुन्न नसक्नेलाई लक्षित गरी हस्पिटालिटीसम्बन्धी निःशुल्क तालिम दिने अभियान सुरुआत गरेका छन् । काठमाडौँका ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) को भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटसँगको सहकार्यमा साहले उक्त अभियान सुरु गरेका हुन् । 

यसका लागि विभिन्न संघ–संस्था र व्यक्तिहरूले हातेमालो गरेका थिए । मास्टरसेफ सन्तोष शाहले स्विजरल्याण्डमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक सहयोग जुटाएका थिए । “यो केवल सीप प्रदान गर्ने कुरा होइन, यो समावेशितालाई प्रवर्द्धन गर्ने विषय पनि हो”, मास्टरसेफ साहले भने, “सही मागदर्शन र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन् । यो केवल सुरुवात हो, हाम्रो प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ ।”

बोल्न र सुन्न नसक्नेहरूलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको सेफ साहले जानकारी दिए ।  साहले अपाङ्गता भएकाहरूको क्षमता अभिवृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले  अभियान सुरु गरिएको बताए । उनका अनुसार बरिस्ता तालिम, हाउस किपिङ, र बेकरी सञ्चालनलगायतका होटल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सीप हासिल गरेका ३१ जना सहभागी थिए ।

सन् २०२४ को सुरुआतदेखि विभिन्न चरणमा गरी ३९० घण्टाको  प्रशिक्षण प्राप्त बहिरा युवालाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको हो । साहको सक्रियतामा यसअघि पनि जनकपुरस्थित मिथिला थालीमार्फत पनि यस प्रकारका कार्यक्रम हुँदै आएको उनले बताए ।

तालिममा सहभागी अनिल कुमार हमालले तालिमपछि सोही होटलमा रोजगारी पाएको बताए । उनले भने– “भाषाका कारण सञ्चार आदानप्रदानमा अझै केही कठिनाइ छ, तर मैले पाएको सीपले नयाँ ढोका खोलिदिएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप