शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
अर्थ

भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?

बिहीबार, ११ पुस २०८१, १८ : ००
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । सरकारले भन्सार दर घटाए पनि सुनको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामा साढे ३ अर्बको सुन आयात भएको छ ।

२०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३ अर्ब ५९ करोड ४० लाख ५८ हजार रुपैयाँको ३ लाख २५ हजार ५३४ ग्राम सुन र सुनका गरगहना आयात भएको छ ।

गत वर्ष यसै अवधिमा ११ अर्ब ५२ लाख १० हजार रुपैयाँ बराबरको १३ लाख २५ हजार ८१३ ग्राम सुन आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० को समीक्षा अवधिमा २७ अर्ब ४० करोड ९२ लाख ६७ हजार रुपैयाँ बराबरको १७ लाख ७५ हजार ६३५ ग्राम सुन आयात भएको थियो ।

गत वर्ष तुलनामा चालु वर्षको समीक्षा अवधिमा सुन आयात तीन गुणाले घटेको हो ।

यस्तो छ ५ वर्षको मंसिरसम्म सुन आयातको अवस्था 

Capture

२०८१ साउनदेखि कार्तिक मसान्तसम्म भन्सारको तथ्याङ्क हेर्ने हो भने २ अर्ब ६८ करोड १२ लाख ७२ हजार रुपैयाँ बराबरको २ लाख ४६ हजार ८१ ग्राम सुन आयात भएको देखिन्छ ।

यसअनुसार मंसिरमा मात्रै ९१ करोड २७ लाख ८६ हजार रुपैयाँको ७९ हजार ४५३ ग्राम सुन आयात भएको छ । जबकि अघिल्लो वर्षको मंसिरमा १ अर्ब ९८ करोड ४५ लाख ७० हजार रुपैयाँको २ लाख २६ हजार ७६५ ग्राम सुन आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सारदर २० बाट १० प्रतिशतमा झारेको थियो । तर सुनको भन्सारदर घटेको बेलामा समेत आयात ठुलो परिमाणमा घटेको देखिन्छ ।

सुन वितरणमा समस्या भएकाले आयात घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । ‘अहिले वितरणमा समस्या छ । त्यसैले सुन आयात रोकिएको छ,’ शाक्यले भने, ‘समस्या समाधानका लागि बैंकर्सहरूको पहल पनि भइरहेको छ । छिटै समाधान हुन्छ होला ।’

सरकारले आयातका लागि दैनिक २० किलो सुनको कोटा तोकेको छ । उक्त सुन वाणिज्य बैंकहरूले आयात गर्दै आएका छन् ।  तर पछिल्लो समय उक्त सुन आयात रोकिएको निवर्तमान अध्यक्ष शाक्यको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल सुन आयात रोकिनुको कारणबारे आफूहरू जानकार नभएको बताउँछन् । ‘सुन आयात के कारणले रोकियो, हामीलाई कुनै जानकारी छैन,’ प्रवक्ता पौडेलले भने, ‘आयात गर्न आउने बैंकहरूलाई आयात प्रक्रियामा हामीले सहजीकरण गरिदिएकै छौँ ।’

राजस्व सङ्कलन पनि घट्यो  

सरकारले सुन आयातमा भन्सार शुल्क घटाएसँगै राजस्व सङ्कलनमा पनि गिरावट आएको छ । २०८१ जेठमा बजेट भाषण गर्दै तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सुन आयातमा १० प्रतिशत भन्सार शुल्क बढाएका थिए । यससँगै सुन आयातमा २० प्रतिशत भन्सार दर कायम भएको थियो । तर पछिल्लो समय सुनको बढ्दो अवैध आयात रोक्नका लागि सरकारले भन्सार शुल्क पचास प्रतिशतले घटाउँदै जम्मा १० प्रतिशत कायम राख्ने निर्णय गर्‍यो ।

मंसिर यता सुन आयातमा हुने राजस्व सङ्कलनमा पनि १० प्रतिशतले कमी भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा सुन आयात हुँदा ६१ करोड ४९ लाख ३० हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । मंसिरमा सुनबाट जम्मा ९ करोड ७० लाख ८२ हजार रुपैयाँमात्रै राजस्व सङ्कलन भएको छ । जबकि कार्तिक मसान्तसम्म (४ महिनामा) ५१ करोड ७८ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप