शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
तस्करी

हिटरको कार्टुनमा ९२ लाख : सुन तस्करीको रकम भएको आशंका

रवि धमलाको ३ वटा सुन पसल
बिहीबार, ११ पुस २०८१, १५ : १३
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । जोरपाटीबाट पुस ९ मा ९२ लाख रुपैयाँसहित ३ जना पक्राउ परे । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती–७ घर भएका रवि धमला, रसुवा उत्तरगंगा घर भएका जितबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खाती छन् ।

मङ्गलवार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेट्दा रवि धमला र जितबहादुर तामाङ स्कुटरमा हिटरको कार्टुन बोकेर हिँड्दै थिए । प्रहरीसँग उनीहरुले अवैध रकमको कारोबार गरिरहेको सूचना थियो । हिटरको कार्टुन खोलेर हेर्दा नगद भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । प्रहरीले हिटरको कार्टुनमा प्याक गरेको अवस्थामा ७७ लाख नगद बरामद गरेको छ ।

रवि धमला र जितबहादुरलाई पक्राउ गरेपछि उनीहरूलाई अर्को फोन आउँछ । त्यसबेला उनीहरूको मोबाइल प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । फोन गर्नेले भन्छन्– ‘१५ लाख तयार छ ।’ जम्मा भएको रकम लिन आउनु भनेर फोन गर्ने व्यक्ति सन्तोष खाती हुन् । त्यसपछि खातीलाई पनि १५ लाखसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरू बताउँछन् । 

आरोपीहरूबाट बरामद रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सो रकम सुन कारोबारसँग सम्बन्धित रहेको प्रहरीको आशङ्का छ । प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई भन्छन्– ‘सो रकम सुन तस्करीसँग सम्बन्धित हुनसक्ने हाम्रो आशङ्का छ, त्यसबारे अनुसन्धान गर्दैछौं ।’

स्रोत नखुलेको रकमसहित पक्राउ परेका रवि धमलाले काठमाडौँको बौद्धमा २ वटा सुन पसल सञ्चालन गरेको भेटिएको छ । रसुवाको केरुङमा पनि उनले चिनियाँको नाममा सुन पसल सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

रकम सङ्कलन गर्नुअघि उनीहरूको बिचमा विच्याटमा कुराकानी भएको भेटिएको छ । रकम पठाउन लागिएको स्थानबारे आरोपी धमलाले अनभिज्ञता जनाएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्– ‘विच्याटमा कसैको म्यासेज आउँछ अनि, म्यासेज गर्नेलाई सो रकम दिनु भनिएको थियो ।’

उनीहरुले रकम रिसिभ गरेपछि विच्याटको म्यासेज डिलिट गर्ने गरेको भेटिएको छ । रकमको ‘कनेक्सन’ चिनियाँ सुन तस्करसँग हुनसक्ने एसएसपी भट्टराईले जानकारी दिए । उनले भने– ‘आरोपीहरूको साथबाट बरामद मोबाइल परीक्षण गर्न डिजिटल फरेन्सिक ल्याबमा पठाउँछौँ, त्यहाँबाट थप तथ्य खुल्छ ।’

भूकम्प जाँदा जेलबाट भागेका थिए धमला

रवि धमला यसअघि पनि जेल बसेका व्यक्ति हुन् । २०७१ मा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उनीबिरुद्ध मानव बेचबिखन मुद्दा चलाएको थियो । २०७२ वैशाख १२ मा भूकम्प जाँदा सिन्धुपाल्चोकको जेल भत्किएपछि उनी फरार भएका हुन् ।

त्यसबेला तातोपानीमा सुन पसल सञ्चालन गरेका धमलाले आफ्नै पत्नीलाई बेचबिखन गरेको आरोप छ । पत्नी हराएपछि उनका माइतीले उजुरी गरेपछि धमला जेल परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप