के एकतापछि अबिराम विजय सम्भव छ ?
दुई वाम पार्टीहरूको यस एकतालाई हाम्रा कार्यकर्ता, समर्थक, शुभेच्छुक र हामीप्रति सहानुभूति राख्ने जोसुकैले पनि महान र ऐतिहासिक एकताको अर्थमा बुझेका छन् । उनीहरूले एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीले मुलुकको काँचुली फेर्ने अपेक्षा गर्नु स्वाभाविक हो । निश्चित रूपमा एकतापछिको नेपालको सत्तारुढ कम्युनिस्ट पार्टीमाथि अपेक्षाको भार बढ्ने छ । अपेक्षा मानिसभित्रको जीवित र सकारात्मक पक्ष हो, जसले जीवन बाँच्नका लागि हौसला प्रदान गर्छ । अपेक्षा शक्तिहीनहरूले शक्तिशालीबाट, फ्लोरले मञ्चबाट, जनता र कार्यकर्ताले नेताबाट, अझ भनौँ थोपा–थोपा शक्ति दान गर्नेहरूले शक्ति सञ्चय र वितरण गर्नेहरूबाट गर्ने सकरात्मक आशा हो । अपेक्षा गर्नेले सम्पूर्ण अपेक्षा पूरा हुने सोच बनाएको हुँदैन तर मोटामोटी अपेक्षाहरू पूरा नहुँदा त्यसले गभीर निराशाको जन्म दिन्छ । तथापि हामीले विभिन्न स्तरबाट आउने सकरात्मक अपेक्षालाई जतिसक्दो पूरा गर्न हमेसा सक्रिय रहनुपर्ने छ । सुधारात्मक बाटोबाट समाजको विकास र समृद्धि सम्भव छ भन्ने निष्कर्षमा पुगेको नवगठित पार्टीले प्रतिस्पर्धा र सहअस्तित्वको सिद्धान्तलाई स्वीकार गरिसकेको छ । यसले आगामी दिनलाई राष्ट्र निर्माणमा खर्चनेछ । यो हाम्रो चाहाना, कामना र प्रयास हो तर उस्तै चरित्रका दुई पार्टी मिल्ने कुराले कुनै चमत्कारको आशा गर्नु पर्दैन भन्ने आलोचकहरूको टिप्पणी र बुझाइलाई हामीले व्यावहारबाटै जवाफ दिनुपर्ने छ । त्यसमा हामी एक इन्च चुक्नु हुँदैन । यद्यपि हजारौं आलोचनाका बीच यस नयाँ पार्टीले दैनिक जीवनमा आइपर्ने समस्यालाई विधिपूर्वक समाधान गर्ने परिपाटी स्थापित गरिदेओस् भन्ने अपेक्षा उनीहरूको पनि छ । यस्ता अपेक्षाहरूको सम्बोधन कम्युनिस्ट पार्टीले अनिवार्य दायित्वका रूपमा लिनुपर्छ । हाम्रा विरोधीहरूका पनि केही अपेक्षा छन् । जुन अपेक्षालाई हामीले सम्पूर्ण रूपमा खारेज गर्नुपर्छ । आजैका मितिबाट नयाँ बन्ने कम्युनिस्ट पार्टीमा कलहको सुरुवात होस् । मूल नेतृत्वका लागि हानथाप होस्, दोस्रो पुस्ताका नेताहरूले उत्तराधिकारीको लाइनमा को भन्ने बारे एकअर्कामाथि शङ्का गरून्, चर्को गुटबन्दीले कार्यकर्ता उकुसमुकुस होऊन्, त्यसले भयानाक निराशा सिर्जना गरोस्, बाहिरी अपेक्षाको सम्बोधनका लागि समय मिलाउन नसक्ने गरी आन्तरिक अन्तरविरोध चरम चुलीमा पुगोस्, सायद यही कामना र अपेक्षासहित उनीहरूले पनि यस पार्टीभित्र अन्तरविरोधको विजारोपणका लागि बाहिरबाटै मलजल गर्ने छन् । विरोधीहरूको यस कुत्सित र पूर्वाग्रही अपेक्षाबाहेक मुलुक र जनताका अपेक्षालाई दायित्वका रूपमा लिन हामी सदैव कुशल जनसेवकका रूपमा खटिनै पर्छ ।
चुनौती : झण्डै सात दशक लामो टुट, फुट र विभाजनको चक्रबाट गुजँ्रदै एकताको अद्भूत कीर्तिमान कायम गर्न सफल हाम्रा अगाडि नेपाली समाजका रङ्गीन सपनाहरूको गहु्रँगो भारी बोक्नुपर्ने चुनौती काँधमा आइपुगेको छ । निर्वाचनमा जनताद्वारा व्यक्त अभिमत, झापा विद्रोह, जनयुद्ध, जनआन्दोलन हुँदै यहाँसम्म आइपुग्दा यस मुलुकले हामीमाथि पूर्ण भरोसासहित विश्वास र जिम्मेवारी सुम्पेको छ । जनताले गरेको भरोसा, कार्यकर्ताले दिएको जिम्मेवारी र राष्ट्रको आवश्यकतालाई हृदयङ्गम गर्दै चुनौतीका चाङहरूलाई सामना गर्नुको विकल्प हाम्रा नेताहरूसँग छैन । जोखिम र चुनौतीको डुङ्गा एउटै हो, त्यही डुङ्गालाई कुशलतापूर्वक किनारा लगाउन सकिए विराट सम्भावनाहरूका पनि ढोका खुल्नेछन् । त्यसैले सामूहिक रूपमा चुनौतीहरू फेस गर्दै चम्किलो भविष्यमा पुग्ने प्रण गरौं । हामी निष्ठा र उद्देश्य हासिल गर्न एकताबद्ध र लक्ष्य भेदनका लागि इमानदारीपूर्वक अघि बढ्यौं भने हाम्रा अगाडिको चम्किलो भविष्यलाई कसैले रोक्नसक्ने छैन । यद्यपि चुनौती शब्द आफैंमा निर्मम र कठिन हो । यो हरेक पात्र र प्रवृत्तिको अग्नि परीक्षा हो । विशेषगरी सङ्गठनका क्षेत्रमा प्रवेश गर्दा र कार्यक्षेत्र निर्धारण गर्दा कठिन हुन्छ नै । हरेक नेता–कार्यकर्तामा देखापर्ने मानवीय स्वभाव आदर्श र सिद्धान्तको फ्रेमभित्र बाँध्न असहज हुन्छ । आदर्श पवित्र हुन्छ, सिद्धान्तको निश्चित मापक र आयतन हुँदैन तर सङ्गठन र संरचना ठोस र मूर्त हुन्छ । त्यहाँ व्यक्तिको भौतिक उपस्थिति किटान हुन्छ । त्यसकारण यो व्यवस्थापनमा केही जटिल हुन्छ नै । त्यसमा व्यक्तिको योगदान, क्षमता र प्रतिबद्धताका अतिरिक्त नेताहरूको तजबिज पनि हुन्छ । तर यसको अर्थ के हुनुहुँदैन भने कार्यमूल्याङ्कनले असन्तुलन पैदा गरोस् । यसको मतलव सङ्गठनको जिम्मेवारीका क्रममा नेताहरू अलि बढी चनाखो भइदिनुपर्छ । सङ्गठनको कुशल व्यवस्थापनले आदर्श, सिद्धान्त र नीति नियमहरूलाई अझ बढी जीवन्त र वास्तविकतामा बदल्न सहयोग पु¥याउँछ । पार्टीभित्रको अर्को चुनौतीका रूपमा सिद्धान्त र राजनीतिमा खरा तर व्यावहारिक जीवनको आर्थिक र व्यवस्थापकीय पक्षमा केही लरतरा लाग्ने बेरोजगार युवा फ्लोरबाट आलोचनामा बढी आकर्षित हुन सक्छन् । उनीहरूलाई कुनै न कुनै प्रकारको बिजनेस पार्टीले दिनैपर्छ । साङ्गठनिक अपडेटमा भाग्यवादमा चित्त बुझाउनुपर्ने, विशेष सम्बन्ध बनाउन नसकिएकोमा आफैलाई धिक्कार्नुपर्ने, टावरहरूको खोजीका लागि युवा मस्तिष्कलाई व्यस्त बनाउनुपर्ने आदि समस्याहरूको अन्त्य गरिनैपर्छ ।
अबको चुनौतीका रूपमा समान बुझाइसहितको स्कुल अफ थटको विकास, कार्यशैलीमा एकरूपताको अभ्यास, पुराना विरासतहरूको विस्थापन र साझा विरासतको स्थापना । त्यसैगरी स्वभाव, शैली, आनिबानी र संस्कारजन्य क्रियाकलापको अन्तरघुलनलाई समेत ध्यान पु¥याउनुपर्छ ।
सम्भावना : यस ऐतिहासिक एकताले नेपालमा विकास, समृद्धि, शान्ति र प्रगतिको सम्भावनाको ढोका खुलेको छ । राजनीतिक स्थायित्व, स्थायी सरकार र स्थिर नीतिले महान उद्देश्य प्राप्तिका लागि व्यक्त प्रतिबद्धता कार्यान्वयनमा अझ बढी जिम्मेवार र उत्तरदायी बन्ने अवसर दिन्छ । यस अवसरलाई हामीले इमानदारीका साथ सदुपयोग गर्नसक्नुपर्छ । एसियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टी भन्दैमा आत्तिने, तात्तिने र मात्तिने गरियो भने हामी आफ्नो आकारको रक्षा गर्न सक्षम हुनेछैनौं । त्यसकारण यतिबेला हामीले राज्य सञ्चालनमा कोल्ड स्टार्ट डक्ट्रिनलाई मूल प्रिन्सिपलका रूपमा लिनुपर्छ । यसको मतलव सामाजिक सुरक्षा क्षेत्रको त्राण धान्दै विकास र समृद्धिलाई भित्रभित्रै तीव्र तुल्याउनुपर्छ । हाम्रा विपक्षीहरू, विदेशी मित्रहरू, सबैखाले प्रतिपक्षीहरूलाई नचिढ्याई कानुन र ऐनका खुकुलापक्ष र ससाना सुधारवादी, यथार्थवादी र प्रगतिशील छिद्रहरूलाई अत्यधिक उपयोग गर्नसक्नुपर्छ । साथै संविधान संशोधनद्वारा कार्यकारी राष्ट्रपति, राष्ट्रिय गौरवका आयोजनाको पूर्णता, कृषि, ऊर्जा, पर्यटन र खनिज उत्खनन् जस्ता महत्वपूर्ण राजनीतिक आर्थिक सवालको छिनोफानो हुनसक्छ । सामाजिक विभेदहरू ज्युँका त्युँ रहने र धर्म निरपेक्षताका नाममा धर्म परिवर्तनलाई मात्रै ऐतिहासिक उपलब्धिका रूपमा बुझिदिनुपर्ने निम्छरो समयलाई सङ्क्रमणकालको परिभाषाभित्र राखिनु हुँदैन ।
के एकतापछि अबिराम विजय सम्भव छ ?
गएको प्रदेश र सङ्घको निर्वाचनबाटै कार्यगत एकतासहितको साझा घोषणापत्र बोकेर घरदैलो पुगेका हामीले विजय यात्राको आरम्भ गरिसकेका छौं । निर्वाचनको नतिजाले त्यो सिद्ध गरिसक्यो । त्यसपछि सरकार गठन विजय यात्राको दोस्रो संस्करण थियो । अहिलेको पार्टी एकता तेस्रो र निर्णायक विजयी अभियानको विधिवत उद्घाटन हो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको शब्दमा अब नेपालका कम्युनिस्टले सेट ब्याक भन्ने शब्द उच्चारण गर्नुपर्ने छैन । आगामी चुनावमा दुई तिहाइको सरल जोड घटाउभन्दा तीन चौथाइतर्फ जनमत उन्मुख हुनेछ र अध्यक्ष प्रचण्डको शब्दमा अब समृद्धिको युग सुरु भयो । युवा पुस्ताले दुई वाम घटकको ऐतिहासिक एकतालाई युगौंयुग सम्झिरहने छन् । अध्यक्षद्वयका यी दाबीका पछाडि जनमतको आधार छ । आगामी पाँच वर्षमा उज्यालो भविष्यको जग मात्रै बसाउन सकियो भने आउने ४०, ५० वर्षसम्म नेपालमा वामपन्थी शासनलाई कसैले हल्लाउन सक्नेछैन । विकास र समृद्धिको जग बसाउनुको साटो गुटवाद र आरोप–प्रत्यारोपले लोक हसाउन थालियो भने अबिराम विजय होइन विजय यात्रामै ब्रेक लाग्नसक्छ । तथापि भएका सम्भावनाहरूलाई वास्ताविकतामा बदल्न सिङ्गो पार्टी सङ्गठन र यसका सबैखाले संरचनाहरू दौडन सुरु गर्नुपर्छ ।
साधारण मानिस असाधारण बिजेता कसरी बन्छन् ?
सामान्य परिवारबाट राजनीतिमा होमिएर १४ वर्ष जेल भोगेका केपी शर्मा ओली र सामान्य परिवारबाटै राजनीतिमा होमिएर १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड नेपालको कम्युनिस्ट आन्दोलनका साधारण व्यक्तिहरू हुन् । उनीहरूको जीवनका सक्रिय, सबल र साहसिक सपनाहरूले उनीहरू असाधारण विजेताको शिखर चुम्ने कोशिसमा छन् । के उनीहरू असाधारण विजेता बन्लान् त ?
सुरुमा अलेक्जेन्डर एक साधारण परिवारकै व्यक्ति थिए । जम्मा चारवटा कुराहरूको संयोजनले उनी ग्रेट अलेक्जेन्डर वा महान सिकन्दर बन्न पुगे ।
पहिलो : ट्रोय महाकाव्य, जहाँ लडाइँ र वीर रसलाई प्रमुखता दिइएको थियो ।
दोस्रो : अरस्तु (युनानी चिन्तक) जो अलेक्जेन्डरका गुरु थिए । प्रसिद्ध युनानी चिन्तक अरस्तुको शिक्षाले अलेक्जेन्डर विश्व विजेता बनेको भनिन्छ र अरस्तुको अथाह ज्ञानले त्यस कुरालाई सिद्ध गर्छ ।
तेस्रो : ग्रिक राजाहरूको एकरूपता, विराट युनानी सभ्यतालाई विश्वव्यापी बनाउन युनानी राजाहरू एकजुट बने, त्यसको नेतृत्व सम्हाले तत्कालीन जेनियस युवा अलेक्जेन्डरले । ग्रिक राजाहरूको एकजुटताले उनको मनोबल बढ्यो, युनानभन्दा बाहिर आक्रमणका लागि सहज भयो ।
चौथो : मजबुत युद्ध रणनीति, ग्रिक राजाहरूको अनुभवको केन्द्रीकरण, युनानी सभ्यताले दिएको शिक्षा, दार्शनिक चिन्तकहरूको सुझाव सल्लाह र गुरु अरस्तुको प्रशिक्षणले उनले एक बलियो युद्ध रणनीति बनाए । यी सबै तत्वहरूको संयोजनले अलेक्जेन्डरले युरोपका बलिया सत्रुहरू पराजित गर्दै एसियामा समेत आफ्नो विजयको झण्डा गाडे ।
माक्र्स–एङ्गेल्स : उनीहरू सामान्य परिवारका साधारण व्यक्ति थिए । हेगेलको दर्शनलाई यथार्थको मैदानमा ल्याउने र पुँजीवादले श्रमिकमाथि गरेको अन्यायलाई खोतल्ने अभ्यासका क्रममा माक्र्स आजपर्यन्त संसार हल्लाउने विचारकहरूको अग्र सूचीमा छन् र उनीसँगै उनका सहयोद्धा एङ्गेल्सलाई माक्र्सवादको अध्ययन गर्नेले छुट्याउन सक्दैन । सपना, प्रतिबद्धता, सहास र निरन्तरता हरेक असाधारण व्यक्तिहरूका निधि हुन्, उनीहरूले पनि यस गुणलाई अझ बढी सुदृढ बनाउनै पर्छ । त्यस्तै रुस निर्माणमा लेनिन–स्टालिनको आफ्नै दृढ सङ्कल्प छ । चीनमा माओ र देङको फरक कार्यशैलीभित्र पनि जनताको समृद्धि नै प्राथमिकता छ । देश र जनतालाई सर्वोपरि ठानेर काम गर्दा नेपालको इतिहासमा केपी –प्रचण्ड आफ्नो अमिट छाप छोड्नसक्ने विन्दुमा उभिएका छन् । यस विशाल पार्टीका चालकद्वय केपी ओली र प्रचण्डले आगामी दिनमा के–कस्ता कदमहरू चाल्छन्, आम मानिस जिज्ञासापूर्वक प्रतीक्षारत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?
-
आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?
-
माछाको आयात प्रतिस्थापनमात्र होइन, निर्यात गर्ने लक्ष्य
-
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र