बक्सिङ डे टेस्टमा कोहली–कोन्सटस विवाद : कोहलीलाई दोषी ठहर गर्दै आईसीसीले जरिवाना तिरायो

काठमाडौँ । चौथो टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार अस्ट्रेलियाका युवा ब्याट्सम्यान साम कोन्सटससँग विवाद गर्नु भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीका लागि निकै महँगो परेको छ ।
उक्त घटनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिनियर खेलाडी कोहलीलाई जरिवाना तिराउने निर्णय गरेको छ । आईसीसीले कोहलीलाई उनको म्याच फी (खेलबापत प्राप्त हुने रकम) को २० प्रतिशत जरिवाना तिराउने निर्णय गरेको हो ।
यसका अतिरिक्त आईसीसीले कोहलीको एक डिमेरिट अंक घटाउने निर्णय पनि गरेको छ । कोहलीमाथि आईसीसीको नियमावलीको आर्टिकल २.१२ उल्लंघन गरेको आरोप लगाइएको छ । उक्त नियम अनुसार, मैदानमा कुनै पनि खेलाडीले अनावश्यक रूपमा अर्को खेलाडीलाई छुन वा धकेल्न पाउँदैन ।
भारत र अस्ट्रेलियाबिचको बोर्डर–गावस्कर टेस्ट क्रिकेट शृङ्खला अन्तर्गतको चौथो खेलमा अस्ट्रेलियाका युवा ब्याट्सम्यान साम कोन्सटसले ‘डेब्यू’ गरेका थिए । १९ वर्षीय कोन्सटसले आफ्नो पहिलो खेलमै अर्धशतक पनि बनाएका थिए ।
तर, खेलका क्रममा विराट कोहली कोन्सटससँग जानिजानी ठोक्किन पुगेका थिए । यो घटना ११औँ ओभर चलिरहँदाको हो । त्यतिबेला तीव्र गतिका बलर जसप्रित बुमराह बलिङ र कोन्सटस ब्याटिङ गरिरहेका थिए । ११औँ ओभरको चौथो बलमा कोन्सटस दुई रन बनाउन दौडिएका थिए । ठिक त्यसैबेला विराट बिस्तारै हिँड्दै आएर कोन्सटससँग ठोक्किन्छन् ।
त्यसपछि कोन्सटसले विराटलाई केही भन्छन् । त्यसको जवाफमा विराट पनि केही आक्रामक बनेर ‘डेब्यू’ टेस्ट खेलिरहेका युवा ब्याट्सम्यान कोन्सटससँग विवाद गर्न अघि सर्छन् । यो घटना त्यतिबेला भएको थियो, जब कोन्सटसले लगातार बाउन्ड्री प्रहार गरिरहेका थिए ।
विवाद बढ्ने अवस्था देखिएपछि अम्पायर र उस्मान ख्वाजाले उनीहरूलाई छुट्याएका थिए । यो घटनालाई लिएर क्रिकेट अस्ट्रेलियाले आईसीसीमा उजुरी गरेको थियो । अम्पायरले पनि यो घटनाको विषयमा आईसीसीलाई जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते