ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
‘हरेक वर्षझैँ यस वर्ष पनि ‘यंग मेन्स क्लब’ले सहिद डा. कुलदीप झाको सहादत दिवस (२६ दिसम्बर) मनाइँदै छ, भारत–नेपाल सीमा जोगबनीस्थित ‘डा. कुलदीप झा स्मारक एवं पुस्तकालय, जोगबनी’मा श्रद्धाञ्जली समारोह गरेर ।
समारोहको निमन्त्रणाका लागि भारतको बिहारकी पूर्वविधायक तथा ‘यंग मेन्स क्लब’की सञ्चालक देवन्ती यादवको नाममा छपाइएको ‘निमन्त्रणा–पत्र’मा भनिएको छ, ‘...आप से अनुरोध है कि इस पुनित अवसर पर शहीदों को श्रद्धाञ्जली अर्पित करें ।’
भारतका सीमावर्ती क्षेत्र जोगबनी, कटरिया, नरपतगन्ज, फरबीसगन्ज, पुर्णियाजस्ता स्थानमा वा त्यसमध्येको कुनै न कुनै स्थानमा हरेक वर्ष सहिद डा. कुलदीप झाको सहादत दिवस मनाइने परम्परा रहिआएको छ । यस वर्ष उनको ७५औँ सहादत दिवस मनाइँदै छ ।
हरेक वर्ष मनाइने उनको सहादत दिवसका समारोहमा नेपाल र भारतका विशिष्ट व्यक्तित्वको सहभागिता रहँदै आएको छ ।
श्रद्धाञ्जली भनेकै कुनै श्रद्धा गर्न लायक दिवंगत पात्रप्रति श्रद्धाभाव अर्पण गर्नु हो । मानवता, राष्ट्रिय स्वाधीनता र विश्वकै न्यायका लागि आफ्नो जीवनको आहुति दिने व्यक्ति नै श्रद्धायोग्य पात्र हुन्छन् ।
भारतीय नागरिक डा. कुलदीप झा नेपालमा चलेको जहानियाँ राणाशासन विरुद्धको जनक्रान्तिमा सामेल भएका थिए । त्यतिबेला भारतीय स्वतन्त्रता संग्रामले आफ्नो परिणाम प्राप्त गरिसकेको थियो भने नेपालको जनक्रान्ति उत्कर्षमा थियो ।
सहिद डा. कुलदीप झालाई नेपाल र भारतका नागरिकले दुवै देशको मित्रताको प्रतीक मान्छन् तर राज्य स्तरबाट यसप्रति चासो देखाएको देखिँदैन ।
ब्रिटिस उपनिवेशबाट आफ्नो देशलाई स्वतन्त्र पारिसकेपछि डा. झा छिमेकी राष्ट्र नेपालमा प्रजातन्त्रको स्थापनाका लागि चलिरहेको जनक्रान्तिमा भाग लिन आइपुगेका थिए । नेपालको जनक्रान्तिमा जीवनको आहुति दिएर उनले नेपालीलाई बिर्सनै नसकिने गुन लगाएका छन् ।
राणाशासनविरुद्धका क्रान्तिकारी गतिविधि वा आन्दोलन विशेषतः भारतीय भूभागबाट उठेका थिए । विशेष गरी नेपाली कांग्रेसले राणाशासन फाल्न सशस्त्र क्रान्ति सुरु गरेको थियो । कांग्रेसले क्रान्तिको तयारी भारतबाटै गरेको थियो । त्यस क्रान्तिमा भारतीय युवा पनि सामेल हुन पुगेका थिए । यसै परिवेशमा कुलदीप झा नेपालको जनक्रान्तिमा सामेल हुन पुगेका थिए । सप्तकोशी नदीको वारिपारिका मोरङ र सप्तरी जिल्लामा उनी खटिएका थिए ।
इतिहास विषयका सह–प्राध्यापक डा. पीताम्बरलाल यादवद्वारा लिखित ‘प्रजातान्त्रिक आन्दोलन र सप्तरी’ नामक पुस्तकमा ‘२००७ सालको क्रान्ति र सप्तरी’ शीर्षकको आलेख छ । जसमा उल्लेख भए अनुसार राणाशासनको विरोधमा तीनवटा सशस्त्र क्याम्प सञ्चालन गरिएका थिए । सशस्त्र आन्दोलन सञ्चालन गर्न केन्द्रबाट कृष्णप्रसाद भट्टराई सप्तरी आएका थिए, उनैको नेतृत्वमा भारतीय क्षेत्र कुनौलीमा एउटा सशस्त्र क्याम्प थियो । यस क्याम्पमा सक्रिय सप्तरीका कार्यकर्ताहरूमध्ये गजेन्द्रनारायण सिंह, देवनारायण गुरमैता, सत्यनारायण शाह, सुकदेव सिंह, महेन्द्र राय आदि थिए ।
दोस्रो केन्द्र भारतीय क्षेत्र नेउर थियो, जहाँ अवधकिशोर सिंह, शम्भु सिंह, देवनारायण यादव आदि थिए ।
तेस्रो केन्द्र बरमझिया क्याम्प थियो, जहाँ रामेश्वर अर्याल, सीताराम अर्याल, भैरवप्रसाद अर्याल, वेदानन्द मिश्र, पुनीतलाल गहिवार, पुरन शाह, बंगाली गुप्ता, वीरबल विराजी, रघुनन्दन गुप्ता आदि मुख्य थिए ।
त्यसबेला नरमर्दन थापा सप्तरीका बडाहाकिम थिए । त्यतिबेला सप्तरीका गाउँ–गाउँमा कांग्रेसी र क्रान्तिकारी घुमिरहेका हुन्थे । गाउँगाउँमा राणाविरोधी पर्चा, पोस्टर बाँड्ने, राणाका सीआईडीबारे जानकारी लिने र त्यस क्षेत्रका मानिसको आर्थिक अवस्था अनुसार चन्दा संकलन गर्ने क्रान्तिकारीको मुख्य काम थियो । राणाका सीआईडीका रूपमा गणेशकुमार पोखरेल समातिए । सात हजार रुपैयाँ चन्दा तिरेर उनको ज्यान जोगियो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई क्रान्तिकारीहरूको हौसला बढाउन कुनौली क्याम्पमा बसेका थिए । उनको व्यक्तित्वबाट प्रभावित भएर सप्तरीका युवक गजेन्द्रनारायण सिंहले त्यहीँ नै नेपाली कांग्रेसको सदस्यता लिएका थिए । गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक र महेन्द्र रायले कुनौलीबाट नेपाली कांग्रेसको झन्डा फहराउँदै र क्रान्तिको नारा लगाउँदै राजविराज प्रवेश गर्दा फौजले गिरफ्तार गर्यो ।
क्रान्तिकारीले कोशी नदीका डुंगासहित नाविकहरूलाई लखेटेकाले राणा सरकारको फौजलाई कोशी नदी पार गर्न कठिन भयो । त्यसपछि उनीहरूले क्रान्तिकारीको अवरोध हटाउन दमन गर्न थाले । त्यसै क्रममा कप्तान कृष्णबहादुरले १९५० दिसम्बर २६ को दिन गोली हानी डा. कुलदीप झाको हत्या गरे ।
१९५० दिसम्बर २३ का दिन विराटनगर र राजविराज सदरमुकामबाहेक सम्पूर्ण सप्तरीमाथि क्रान्तिकारीको कब्जा भइसकेको थियो । राणासरकारले विराटनगरबाट क्रान्तिकारीलाई धपाउन दुईपटक गरी २५०–२५० जवानको फौज पठायो । त्यस फौजलाई कोशी नदी तर्न नदिने लक्ष्य लिएर सप्तरीको क्रान्तिकारी फौज कोशी क्षेत्रमा तैनाथ थियो । सप्तरीका क्रान्तिकारीलाई सघाउन डा. कुलदीप झा कोशी क्षेत्र आए । वीरगन्जबाट आएको राणा सरकारको २५० जनाको फौज बरमझिया नहर क्वार्टरमा क्याम्प हालेर बसेको थियो । काठमाडौँबाट आएको २५० जवानको फौज समेत मिली कोशी क्षेत्रमा प्रवेश गरे, जसको नेतृत्व जवान कप्तान कृष्णबहादुरले गरेका थिए ।
क्रान्तिकारीले कोशी नदीका डुंगासहित नाविकहरूलाई लखेटेकाले राणा सरकारको फौजलाई कोशी नदी पार गर्न कठिन भयो । त्यसपछि उनीहरूले क्रान्तिकारीको अवरोध हटाउन दमन गर्न थाले । त्यसै क्रममा कप्तान कृष्णबहादुरले १९५० दिसम्बर २६ को दिन गोली हानी डा. कुलदीप झाको हत्या गरे ।
कप्तान कृष्णबहादुर डुंगा र नाविकको व्यवस्था गरी जमुवाघाट पुगेका थिए, त्यही बेला ओखलढुंगाका क्रान्तिकारी बलबहादुर राईले गोली हानी कप्तान कृष्णबहादुरको हत्या गरिदिए । कप्तानको हत्या भएपछि फौजका जवानहरू हतियार जताततै फाली तितरबितर भए । यसरी डा. कुलदीप झा मारिए पनि राणा सरकारले विराटनगर फर्काउन पठाएको फौज भने कोशी तर्न असफल भयो ।
डा. कुलदीप झा नेपाली क्रान्तिका सहिद भए पनि नेपालमा उनको सहादतलाई महत्त्व दिइएको देखिँदैन । त्यसै कारणले पनि उनको व्यक्तिगत जीवनको विषयमा जानकारीहरूको अभाव रहेको छ ।
जोगबनी समारोहका संयोजक पूर्वविधायक देवन्ती यादवका अनुसार डा. कुलदीप झाको जन्मघर भारत, बिहारको कटिहार जिल्लाको कुरसेला प्रखण्ड अन्तर्गत गंगा नदीको पश्चिमी किनारमा अवस्थित कटरिया गाउँ हो । उनकी पत्नीको नाम सुशीला देवी हो तर उनीहरूबाट कुनै सन्तान भएन । सहिद पत्नी सुशीलादेवीको पनि निधन भइसकेको छ ।
डा. कुलदीप झा तत्कालीन सप्तरी जिल्लाको कुशहा घाटको मानिकदहमा मारिएका थिए तर उनको पार्थिव शरीरको अन्त्येष्टि नेपाल–भारत सीमाको रानी–जोगबनी दसगजामा गरियो । त्यसैले जोगबनीमा उनको स्मृतिमा स्मारक तथा पुस्तकालय स्थापना गरिएको छ । यही स्मारक स्थलमा उनको स्मृतिमा बर्सेनि श्रद्धाञ्जली समारोहको आयोजना हुँदै आएको छ ।
सहिद डा. झालाई सम्झने कार्यमा दुवै देश (नेपाल–भारत)का सरकार उदासीन रहँदै आएको देखिन्छ । नागरिक स्तरबाट भने उनीप्रति निकै सम्मान व्यक्त गरिन्छ । विगतका समारोहहरूमा भारतीय राजनेता चन्द्रशेखर, नेपाली राजनेता गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य, राजेन्द्र महतो लगायत सहभागी भएको बताइन्छ । पूर्वविधायक देवन्तीदेवी यादव पनि विगतका निकै वर्षदेखि डा. झाको श्रद्धाञ्जली समारोहमा सहभागी हुँदै आएकी छन् ।
इतिहासकार डा. पीताम्बरलाल यादवका अनुसार सहिद कुलदीप झा युवावस्थामै सहिद भएका थिए । यद्यपि उनी एमबीबीएस डाक्टर थिए ।
नेपाल र भारत भौगोलिक रूपमा मात्र सन्निकट छैन, अपितु दुई देशबिच सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ । भारतीय स्वतन्त्रता संग्राममा नेपाली जनताको र नेपाली जनक्रान्तिमा भारतीय जनताको सहयोग र योगदानका अनेक उदाहरण छन् ।
सहिद डा. कुलदीप झालाई नेपाल र भारतका नागरिकले दुवै देशको मित्रताको प्रतीक मान्छन् तर राज्य स्तरबाट यसप्रति चासो देखाएको देखिँदैन ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची