शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

रोहित शर्माले यशस्वीलाई झपारे, ‘गल्लीमा क्रिकेट खेल्दैछौ कि के हो ? हावामा धेरै नउफ्र’

बिहीबार, ११ पुस २०८१, १३ : ५२
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा खेल मैदानमा आफ्नो बोलीका कारण बेला–बखत चर्चामा आइरहन्छन् । मैदानमा आफ्ना साथीहरुलाई हकार्न पनि पछि पर्दैनन् । मैदानमा उनले गरेको कुराकानीलाई जब स्टम्पमा राखिएको माइकले समात्छ, त्यसपछि त्यो भाइरल बन्न पुग्छ ।

यस्तै घटना हाल मेलबर्नमा जारी अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा पनि देखिएको छ । उनले चौथो टेस्टको पहिलो दिन बिहीबार मैदानमै आफ्ना साथी यशस्वी जैसवाललाई हकारेका छन् । उनले यशस्वीलाई झपार्दाको आवाज पनि स्टम्पमा राखिएको माइकले समाएपछि अहिले भाइरल भएको छ ।

‘बक्सिङ डे’ टेस्टमा माथिल्लो क्रममा अस्ट्रेलियन ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरुले गतिलो साझेदारी पनि गरिरहेका थिए । खेलको प्रारम्भमा भारतीय बलरहरु विकेट लिन असमर्थ देखिन्थे ।

त्यसैले रोहित शर्माले फिल्डिङमा पटक–पटक परिवर्तन गरिरहेका थिए । यसै क्रममा रोहित शर्माले यशस्वीलाई सिली प्वाइन्टमा फिल्डिङ गर्न राखेका थिए । यशस्वीले आफ्नो सुरक्षाका लागि हेल्मेट पनि लगाएका थिए ।

त्यतिबेला रविन्द्र जडेजाले बलिङ गरिरहेका थिए । जडेजाले फालेको एउटा बललाई अस्ट्रेलियन ब्याट्सम्यान स्टिभन स्मिथले मिड–अफतर्फ खेलेका थिए । स्मिथले खेलेको बलले आफूलाई चोट लाग्नबाट जोगाउन यशस्वी हावामा उफ्रिएका थिए ।

तर, कप्तान रोहित शर्मालाई यशस्वीको त्यो गतिविधि मन परेन । त्यसैले उनले यशस्वीलाई हकार्दै आफूहरु गल्लीमा क्रिकेट खेल्न अस्ट्रेलिया नआएको बताएका थिए । उनको यो भनाई स्टम्पमा राखिएको माइकमा कैद भएको थियो ।

रोहितले यशस्वीलाई भनेका थिए, ‘ए जस्सु, तिमी गल्लीमा क्रिकेट खेल्दैछौ कि के हो ? हावामा धेरै नउफ्र । भुइँमै बस्ने गर । जबसम्म मैदानमा रहन्छौ, तबसम्म भुइँमै बसिराख । धेरै यताउता उफ्रने होइन ।’ रोहितले यति भनेपछि नजिकै रहेका ऋषभ पन्त पनि आफ्नो हाँसो रोक्न सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप