शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
पुस्तक अंश

मूल्याङ्कनमा जनयुद्धका डायरी

बिहीबार, ११ पुस २०८१, १४ : ००
बिहीबार, ११ पुस २०८१

जनयुद्धका डायरीको कुनै बढाइँ–चढाइको आवश्यकता नै पर्दैन । यी डायरीले आफ्नो यौद्धिक समकालीनताको धेरै कुरा बोलिरहकै छ । हाम्रो आन्दोलन र हाम्रो आफ्नै स्वभावजन्य कार्यशैलीका कारण मात्र हामी आफैँ खुम्चिँदै गएका मात्र हौँ । खुम्च्याइ मनोविज्ञानद्वारा उदात्त भावनाको वास्तविक मूल्याङ्कन हुनै सक्दैन । हामीले जनयुद्धका डायरीलाई जोड रिडको संसारलाई हल्लाइदिएका ती दश दिनसित तुलना गरिरहेका छौँ । जोड रिड निष्ठावान् क्रान्तिकारी कम्युनिस्ट थिए । रिडको उक्त पुस्तकमाथि लेखिएको रुसी संस्करणको भूमिकामा नाजेज्दा क्रुप्सकायाले भनेकी थिइन्:

  • ‘संसारलाई हल्लाइदिएका ती दश दिन’ जोन रिडले आफ्नो आश्चर्यजनक पुस्तकको यही नाम राखेका छन् । यस पुस्तकमा असाधारण अक्टोबर क्रान्तिका सुरुका दिनहरूको असाधारण रूपले सजीव तथा सशक्त वर्णन प्रस्तुत गरिएको छ । यो पुस्तक न घटनाहरूको वृत्तान्त मात्रै हो, न त दस्ताबेजहरूको सङ्ग्रह नै । यो त कतिपय त्यस्ता सजीव दृश्यहरूको वर्णन हो, जुन कति लाक्षणिक छन् भने क्रान्तिमा भाग लिने प्रत्येक व्यक्तिलाई त्यस्तै कुनै घटनाको स्मरण हुनेछ, जसमा उनी सहभागी थिए । स्वयम् जीवनबाट लिइएका यी सम्पूर्ण दृश्यहरूले जनसमुदायको भावनालाई आश्चर्यजनक तरिकाले यथार्थ रूपमा प्रतिबिम्बित गरेका छन्, यो त्यस्तो भावना हो, जसको पृष्ठभूमिमा महान् क्रान्तिको प्रत्येक गतिविधि विशेष रूपमा स्पष्ट हुन्छ ।

संसारलाई हल्लाइदिएका ती दस दिन, नाजेज्दा क्रुप्सकाया, पृ. ६ । 

 

दार्शनिक कार्ल माक्सलाई असाध्यै मन परेको र उनले सबैलाई सुनाउने गरेको कथा यस्तो छ– एक जना दार्शनिक थिए । उनमा ज्ञानको ठुलो घमन्ड थियो । उनी अरूलाई पटक्कै नगन्ने खालका थिए, उनी आफ्नो बखान गरेर सबैलाई हेला गर्थे । एक दिन उनलाई ठुलो नदी तरेर कतै टाढा जानुपर्ने भयो । उनी नदी तर्न डुङ्गामा चढे । दार्शनिकले माझीसँग आफ्नो ज्ञानको बखान गर्न थाले । कुरै कुरामा उनले माझीलाई सोधे– तिमीले इतिहास पढेका छौ ? जीविकोपार्जनका लागि नदीमा डुङ्गा चलाउने माझीले शालीनतापूर्वक उत्तर दिए– छैन ! दार्शनिकले हेप्दै भने– त्यसो भने तिमीले आफ्नो आधा जिन्दगी त्यसै खेर फ्यालेका रहेछौ । दार्शनिकले फेरि सोधे– अनि तिमीलाई गणितचाहिँ आउँछ नि ? कहिल्यै किताब नपढेका माझीले फेरि उत्तर दिए– अहँ, त्यो पनि आउँदैन । दार्शनिकले माझीलाई फेरि भने– त्यसो भने तिमीले बाँकी आधा जीवन पनि त्यत्तिकै खेर फ्यालेका रहेछौ ! यस्तै–यस्तै संवाद चलिरहँदा उनीहरू नदीको बिचभागतिर पुगे । 

नदीको बिचभागमा पुग्नै लाग्दा अचानक ठुलो हावाहुरी चल्न थाल्यो । नदीमा ठुल्ठूला छाल आउन थाले । माझीले धेरै कोसिस गर्दा पनि डुङ्गालाई नियन्त्रण गर्न सकेनन् । डुङ्गा पल्टङ्गै पल्टियो । माझी र दार्शनिक एक्कासि एकै पटक छालमय नदीमा फसे । माझीले दार्शनिकलाई सोधे– दार्शनिक महोदय, तपाईंलाई पौडी खेल्नचाहिँ आउँछ नि ? किताबी किरो दार्शनिक पौडी खेल्न पटक्कै जान्दैनथे । दार्शनिकले आत्तिँदै जवाफ दिए– अहँ, आउँदैन ! अनि माझीले दार्शनिकलाई भने– मैले किताबी ज्ञान नपढेर आधा जीवन मात्रै खेर फ्यालेको थिएँ, तपाईंले त पौडी खेल्न नजानेर पूरै जीवन खेर फ्याल्नु हुने भयो । माझीले यत्ति मात्रै के भनेका थिए, नदीको छालले ती दार्शनिकलाई हुत्याएर कता लग्यो लग्यो ! हेर्दा हेर्दै दार्शनिक नदीमा बेपत्ता भए । माझी पौडिएर किनारमा उत्रियो । यसर्थ, मानिसले त्यत्तिकै जीवन खेर फाल्नुहुँदैन । डायरीकार भन्छन् 

  • नेपालभर अहिले जनयुद्धको अन्तिम चरण रणनीतिक प्रत्याक्रमणको पहिलो योजनाका चरणबद्ध नियमित फौजी तथा राजनीतिक कारबाही अगाडि बढिरहेका छन् । रणनीतिक प्रत्याक्रमण सुरु भएयता खास गरी नोभेम्बरको अन्तिम हप्ता मङ्सिर १ देखि ठुल्ठूला विकेन्द्रित कारबाहीहरू सुरु भए । यसअगि पश्चिम कमान्डको रारा जिल्लाले पुरानो सत्ताको सदरमुकाम गमगढीमाथि धावा बोलेर सेवोटेजको फौजी अभियान सुरु ग¥यो । साथमा, विभिन्न सहरी इलाकामा विष्फोटन भइरहे । जनमुक्ति सेना पहाडी आधारक्षेत्रबाट तराई र राजमार्गतिर केन्द्रित भयो ।

नववर्षका प्रारम्भिक विजयहरू, आधारयात्रा, पृ. ३५० ।

माओले लाल र निपूणको कुरालाई असाध्यै महत्तवका साथ उठाएका छन् । हामीले माथि उद्धृत गरेको मार्क्सलाई मन परेको कथाको अन्तर्वस्तु पनि लाल र निपूणको अपरिहार्यता हो । भारतीय कवि दिनकरको एक सन्दर्भ पढ्न पाइन्छ । एक पटक जवाहरलाल नेहरु भर्‍याङबाट ओलिर्ने क्रममा लड्न खोजेछन् । त्यही बेला सँगै रहेका कवि दिनकरले नेहरुलाई लड्नबाट बचाएछन् । आफूलाई बचाएको देखेर नेहरुले दिनकरलाई धन्यवाद दिएछन् । नेहरुले दिएको धन्यवादको प्रत्युत्तरमा दिनकरले भनेछन्– धन्यवाद मलाई होइन, भारतलाई दिनुस्, तपैँ मात्र लडेर त केही हुनेवाला थिएन तर भारत लड्यो भने सबै कुरा बर्बाद हुनेछ । त्यस कारण, हाम्रो सन्दर्भमा पनि एकाध माओवादी नेता बिग्रिएर केही फरक पर्नेवाला छैन तर माओवादी सिद्धान्त, विचार र राजनीतिक लाइन बिग्रियो भने सबै कुरा बर्बाद हुनेछ । कवि दिनकरले यो पनि भनेका थिए– जब जब राजनीति लरखराउन थाल्छ, तब तब साहित्यले सहारा दिन्छ । धितालकृत जनयुद्धका डायरी लरखराउन लागेको राजनीतिको सहारा पनि हो ।

‘किन लेख्ने ? के लेख्ने ?’ भन्ने विषयबारे अनेक बहस हुँदै आएका छन्, यद्यपि पूर्व र पश्चिम दुवैको सन्दर्भमा त्यति धेरै भिन्नता पाइँदैन । दार्शनिक प्लेटोले गणराज्यका नीति र नैतिकताको विषय उठाएका थिए । कलावादी–आदर्शवादी र यथार्थवादी–भौतिकवादी शिविरका बिचमा चर्को लडाइँ परिरहेको छ । कलावादी–आदर्शवादी चिन्तनले ‘कला कलाका लागि’ लेख्ने भन्दछन्, जसले स्वान्तसुखायको पैरवी गर्दछ । भौतिकवादीहरूले ‘जनता, क्रान्ति र परिवर्तनका निम्ति’ लेख्ने भन्दछन् । लेखनका लागि सामाजिक सरोकारका विषय महत्त्वपूर्ण हुन्छन् । न्यायपूर्ण समाजको स्थापना र सामाजिक रूपान्तरण लेखनका खास विषय हुन् । लेखकले गतिशील यथार्थ पक्रिनै पर्दछ । प्रा.डा. ताराकान्त पाण्डेय भन्छन्-ः

हामी यदि सामाजिक परिवर्तनका निम्ति लेखिरहेका छौँ, उत्पीडित जनगणको मुक्ति र तिनको आत्मिक आनन्दका निम्ति लेखिरहेका छौँ भने विषयका बृहत् फलकबाट छनोट गर्नै पर्दछ । जुन विषय आवश्यकताका वा महŒवका केन्द्रमा छ, लेखनका निम्ति त्यसैबाट सामग्रीको छनोट गर्नु आवश्यक हुन्छ । जनताका आन्दोलन र आकाङ्क्षाले माग गर्ने विषयको छनोट गरेर स्रष्टाले लेख्नुपर्दछ । निश्चित रूपमा स्रष्टाका आफ्ना रुचिको भूमिका पनि हुन्छ नै र त्यसले पनि के लेख्ने भन्ने कुराको निर्धारण गर्दछ तर फेरि पनि केन्द्रमा चाहिँ समाज नै हुन्छ, जनगणका आकाङ्क्षा–सपना नै हुन्छन् । जे सत्य छ, जे शिवमय छ र जे सुन्दर छ, त्यही लेख्नुपर्दछ । सत्यका लागि सत्यमय अभिव्यक्ति गर्ने, शिवका लागि शिवमय अभिव्यक्ति गर्ने र सौन्दर्यका लागि सुन्दर सिर्जना गर्नुपर्दछ ।     

एरिस्टोटलका अनुसार आलोचनाबाट बच्ने एउटै उपाय छ– केही नगर्नु, केही नभन्नु र केही नहुनु । जनयुद्धले केही गरेको छ, केही भनेको छ र केही भएको छ । त्यसकारण, माओवादीहरू आलोचनाबाट डराउनुहुँदैन ! अहिलेलाई यति भनौँ– जो चुकेर वा बिकेर गए, उनीहरूसित गुनासो गर्नुको कुनै अर्थ छैन । जोसित इमानदारिता बचेको छ, जसको ऊर्जस्विता बाँकी छ; उनीहरूसित भने एक पटक अवश्य सोधौँ– प्रिय कमरेड ! फेरि एक पटक ऊर्जस्वी पर्वतारोही बन्ने आँट गर्ने कि ! अन्त्यमा, डायरीकार मनऋषि धिताल र उहाँका जनयुद्धका डायरीको मूल्याङ्कनलाई यसरी संश्लेषण गरौँ-ः

१. जनयुद्ध, माओवाद र माओवादीका विरुद्ध चौतर्फी हमला भइरहेको समकालीनतामा जनयुद्धका क्रममा प्रदर्शित वीरता, शौर्य र बलिदानलाई पुँजीकृत गरेर मनऋषि धितालले जनयुद्धका डायरीमार्फत माओवादी आन्दोलनमा महत्ववपूर्ण योगदान दिएका छन् । जनयुद्धका डायरी बलिदानगाथा र अभिव्यक्ति स्वतन्त्रताको समवेत स्वर बन्न पुगेका छन् । 

२. जनयुद्धका डायरी स्वतन्त्र अभिव्यक्ति, जनमुक्ति तथा स्वतन्त्रताको दस्ताबेज बन्न पुगेका छन् । जनयुद्धका डायरी इतिहासको पुनर्तालिकीकरण, वर्तमानमा प्रतिबद्धता र भविष्यप्रतिको आशावाद जगाउने जनमुक्ति यात्राका ऐतिहासिक दस्ताबेज हुन् । 

३. समकालीनता माओवादी आन्दोलनमा शब्द, कर्म र जीवनको तादात्म्यता कष्टसाध्य बन्न पुगेको छ । डायरीकार धिताल स्वयम् जनयुद्धका भोक्ता, द्रष्टा र स्रष्टा भएकाले प्रतिध्रुब (कतिपय समध्रुब ‘सजातीय’) का कतिपय ‘यक्षप्रश्न’ लाई जनयुद्धका डायरीले व्यवहारतः गलत सावित गरिदिएको छ ।

४. आवेगमय यौद्धिक भावधारामा संरचित जनयुद्धका डायरी नयाँ यथार्थपरक माक्र्सवादी साहित्यिक सिर्जना हुन्, जसले जनयुद्धको सौन्दर्यमूल्य वहन गरेको छ । यसले जनयुद्धको विद्रूपीकरण, विमानवीकरण, विभ्रमीकरण र विखण्डीकरणविरुद्धको सङ्घर्ष तथा जनयुद्धको गौरवशाली बलिदानको सौन्दर्यकरणको नवीन मोर्चा खोलेको छ ।

५. भाषामा आञ्चलिकता, भौगोलिकता र संरचनागत रूपमा जनयुद्धका डायरी विविधतामय बनेको छ । यसले डायरीको विधागत मानदण्डलाई अलि कम तथा जनयुद्धका भीषण मोर्चाका आवेगमय जीवन्त आयामलाई अलि बढी समेट्ने प्रयत्न गरेको छ । यो नेपाली वर्गसङ्घर्षको ऐतिहासिक, रोमाञ्चक र तुफानी शब्दचित्र बन्न पुगेको छ ।

६. माओवादी पार्टी सङ्गठनमा विचार, राजनीति र कार्यदिशाका समस्या भनिए पनि खासमा त्यो शक्ति विन्यासीकरण ‘पावर सेयरिङ’ को विषयमा केन्द्रित थियो । यही विषय नमिल्दा आन्दोलनमा टुटफुट, विभाजन, अविश्वास र आशङ्काले प्रश्रय पाएको हो । जनयुद्धका डायरीले यसतर्फ पनि सङ्केत गरेको छ । 

७. आशावादिता अविच्छिन्न प्रक्रिया हो । जब मानिस (जनता) को जीवनमा अन्तर्यको आशावादी आगो बल्न थाल्छ, उसलाई प्राप्त हुने ऊर्जा–पोषणबाट उसको नसा–नसामा नयाँ जीवन बग्न थाल्छ, तब जनता आफू पनि जुरुक्क उठ्छन् अनि देशलाई पनि जुरुक्कै उठाउँछन्; जनु प्रक्रियामा जनयुद्धका डायरी साध्य र साधन दुवै बन्न सक्दछ ।

८. जनयुद्धका डायरी यस्तो उपजीव्य ग्रन्थ बन्न पुगेको छ; जसको प्रत्येक सन्दर्भ, घटना, पात्र वा परिवेशबाट सयौँ महाकाव्य, गीत, कविता, नाटक, उपन्यास, कथा, निबन्ध, चलचित्र बन्न सक्दछन् । यसले जोन रिडको रसियन समाजवादी क्रान्तिमा आधारित विश्वप्रसिद्ध पुस्तक संसारलाई हल्लाइदिएका ती दश दिनको पदचाप पछ्याएको छ, जसले रसिन समाजवादी क्रान्तिलाई विश्वसमक्ष प्रचार गर्नुका साथै विश्वभर समाजवादी क्रान्तिको ध्वजा फहराउन ठुलो योगदान गरेको थियो । 

९. जोन रिडका अनुसार दायित्वपूर्ण र जिम्मेवारीपूर्ण लेखनले नयाँ चीज देख्न र अरूलाई पनि नयाँ चीज देखाउन सक्नुपर्दछ । धितालले आफ्नो डायरी लेखनका माध्यमबाट नयाँ संसार जन्मिँदै गरेको अनुभूति गराएका छन् । फ्रान्सिस बेकनले भने जस्तै ‘केही पुस्तक चाख्नका लागि हुन्छन् भने केही पुस्तक निल्नका लागि । र, थोरै पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् ।’ धितालका डायरी चपाउन र पचाउनका लागि हुन् ।

१०. समकालीनतामा जनयुद्धका डायरीमा आएका कतिपय पात्रहरूको वैचारिक तथा सांस्कृतिक परिस्थितिमा व्यापक फेरबदल आएको छ । यसले माओवादी आन्दोलनमा पुर्‍याएको क्षतिको परिपूरण तथा जनतामा परेको नकारात्मक मनोवैज्ञानिक असरको तत्काल रूपान्तरणको उपचार जरुरी छ । दिनकरले भने जस्तै जब–जब राजनीति लरखराउन थाल्छ, तब–तब साहित्यले त्यसलाई सहारा दिन्छ । मनऋषि धितालकृत जनयुद्धका डायरी लरखराउन लागेको माओवादी राजनीतिको सहारा पनि बन्न पुगेको छ । 

बिहीबार विमोचन गरिएको ‘जनयुद्धका डायरी समालोचना’ नामक पुस्तकको अंश

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम थपलिया
खेम थपलिया
लेखकबाट थप