शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
भारतविरुद्धको ‘बक्सिङ डे’ टेस्ट क्रिकेट

पहिलो दिन अस्ट्रेलियाका चार ब्याट्सम्यानको अर्धशतक, १९ वर्षीय कोन्सटस चर्चामा

बिहीबार, ११ पुस २०८१, १३ : १३
बिहीबार, ११ पुस २०८१


काठमाडौँ । बोर्डर–गावस्कर शृंखला अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाले भारतविरुद्ध गतिलो प्रदर्शन गरेको छ । मेलबर्नमा जारी ‘बक्सिङ डे’ टेस्टमा बिहीबार अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो ।
पहिलो दिनको खेल सकिँदासम्म घरेलु टोली अस्ट्रेलियाले ६ विकेटको नोक्सानीमा तीन सय ११ रन बनाएको छ । अस्ट्रेलियाले पालीको सुरुवात गतिलो गरेको थियो । अस्ट्रेलियाका लागि माथिल्लो क्रमका चारजना ब्याट्सम्यानले अर्धशतक बनाए । 
ओपनर साम कोन्सटसले टोलीका लागि ६० रनको योगदान गरे । उनले ६५ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । १९ वर्षीय कोन्सटसले आफ्नो ‘डेब्यू’ टेस्टमै अर्धशतक पनि बनाएका हुन् । उनले अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीबाट उनले खेलेको पनि यो पहिलो खेल हो ।
ओपनर ब्याट्सम्यान कोन्सटसले १९ वर्ष ८५ दिनको उमेरमा टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । उनी टेस्ट क्रिकेटमा ‘डेब्यू’ गर्ने अस्ट्रेलियाका चौथो सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी आफ्नो ‘डेब्यू’ टेस्टमै विभिन्न कारणले चर्चित पनि बने । 
उत्कृष्ट अर्धशतकीय पाली खेल्ने क्रममा युवा ब्याट्सम्यान कोन्सटसले भारतीय टोलीका जसप्रित बुमराह, मोहम्मद सिराजजस्ता अनुभवी बलरहरुलाई पनि हायल–कायल बनाएका थिए । कोन्सटसले तिब्रगतिका बलर बुमराहको तीन वर्ष पुरानो कीर्तिमान पनि तोडे । 
कोन्सटसले बुमराहको बलमा एक छक्का र दुई चौका हिर्काएका थिए । बुमराहको बलमा कुनै पनि ब्याट्सम्यानले एक हजार एक सय १२ दिनपछि छक्का प्रहार गरेको हो । यसअघि, बुमराहले लगातार चार हजार चार सय ८३ बल फाल्दासम्म कुनै ब्याट्सम्यानले छक्का हिर्काउन सकेका थिएनन् । 
अघिल्लो पटक सन् २०२१ मा क्यामरुन ग्रिनले सिड्नीमा खेलिएको खेलमा बुमराहविरुद्ध छक्का प्रहार गरेका थिए । मेलबर्नमा जारी चौथो टेस्टको पहिलो दिन बिहीबार ओपनर ब्याट्सम्यान कोन्सटसले २३ औँ ओभरमा बुमराहले फालेको बलमा छक्का हिर्काएका थिए । 
बुमराहको अधिकांश बलमा युवा ब्याट्सम्यान कोन्सटसले ‘रिभर्स सट’ खेलेका थिए । सुरुमा बुमराहले कोन्सटसलाई केही दवावमा राखेका थिए । तर, केही समयपछि नै बुमराहको हरेक बलमा कोन्सटसले रन बटुल्न थालेका थिए । 
कोन्सटसले आक्रामक पाली खेल्नेक्रम जारी रहेपछि भारतीय टोलीका कप्तान रोहित शर्माले बलिङको जिम्मेबारी रविन्द्र जडेजालाई सुम्पिएका थिए । भारतीय कप्ताको त्यो योजना सफल पनि भयो । २० औँ ओभरको दोस्रो बलमा जडेजाले कोन्सटसलाई एलबीडब्लूको धरापमा पारेका थिए । 
कोन्सटसले आफ्नो ‘डेब्यू’ टेस्टमा ९२.२० को स्ट्राइक रेटमा रन बनाएका हुन् । उनले केवल ५२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले बुमराहविरुद्ध खेल्न आफूले निकै पहिलेदेखि योजना बनाएको बताए । 
‘जसप्रित बुमराहको बलिङलाई मैले निकै अघिदेखि नियालेको थिएँ । उनीविरुद्ध खेल्न मैले सोही अनुरुप तयारी पनि गरेको थिएँ,’ कोन्सटसले भनेका छन् । उनले मैदानमा हुने गतिविधिलाई मैदानमै छोड्नु पर्ने पनि बताए । 
यसैगरी, कोन्सटस अर्को कारणले पनि चर्चामा रहे । भारतीय टोलीका अनुभवी ब्याट्सम्यान विराट कोहलीसँगको विवादका कारण पनि कोन्सटस चर्चामा आए । विराट र कोन्सटसबिचको विवाद अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । 
यो घटना ११ औँ ओभर चलिरहँदाको हो । त्यतिबेला तिब्रगतिका बलर बुमराह बलिङ र कोन्सटस ब्याटिङ गरिरहेका थिए । ११ औँ ओभरको चौथो बलमा कोन्सटस दुई रनका लागि दौडिएका थिए । ठिक त्यसैबेला विराट कोहली विस्तारै हिँडदै आएर जानिजानी कोन्सटससँग ठोक्किएका थिए ।
त्यसपछि कोन्सटसले विराटलाई केही भनेका थिए । त्यसको जवाफमा विराट पनि केही आक्रामक बनेर ‘डेब्यू’ टेस्ट खेलिरहेका युवा ब्याट्सम्यान कोन्सटससँग विवाद गर्न अघि सरेका थिए । यो घटना त्यतिबेला भएको थियो, जब कोन्सटसले लगातार बाउन्ड्री प्रहार गरिरहेका थिए ।
विवाद बढ्ने अवस्था देखिएपछि अम्पायर र उस्मान ख्वाजाले उनीहरुलाई छुट्याएका थिए । यो घटनालाई लिएर क्रिकेट अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा उजुरी गर्ने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ । 
अस्ट्रेलियाका लागि कोन्सटसका अतिरिक्त अर्का ओपनर ब्याट्सम्यान उस्मान ख्वाजाले पनि अर्धशतक बनाए । उनले टोलीको खातामा ५७ रन थपे । ३८ वर्षीय ख्वाजाले एक सय २१ बलको सामना गरी ६ चौका पनि हिर्काए । उनले टेस्ट क्रिकेटमा बनाएको यो २७ औँ अर्धशतक पनि हो ।
कोन्सटस र ख्वाजाले ओपनिङ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्नश लाबुशेनले पनि टोलीका लागि ७२ रनको योगदान गरे । उनले एक सय ४५ बलमा सात चौका पनि हिर्काए । ३० वर्षीय लाबुशेनले टेस्ट क्रिकेटमा २२औँ अर्धशतक बनाएका हुन् । 
यसैगरी, चौथो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले अविजित ६८ रन बनाएका छन् । उनले एक सय ११ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काएका छन् । ३५ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ४२ औँ अर्धशतक हो । 
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान ट्राभिस हेड भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । भारतविरुद्धको जारी टेस्ट शृंखलामा यसअघि उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । यसअघि खेलिएको तीनवटै टेस्टमा उनको ब्याटिङ अब्बल थियो ।
ट्राभिस हेडले पहिलो टेस्टको दोस्रो पालीमा ८९ रन बनाएका थिए । दोस्रो टेस्टमा पनि उनले एक सय ४० रन बनाएका थिए । तेस्रो टेस्टमा पनि ट्राभिस हेडले टोलीका लागि एक सय ५२ रनको योगदान गरेका थिए ।
छैटौँ नम्बरका ब्याट्सम्यान मिचेल मार्श पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले ३१ रन बनाए । उनले ४१ बलको सामना गरी एक छक्का पनि हिर्काए ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान प्याट कमिन्स अविजित आठ रन बनाउँदै क्रिजमा छन् । अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि ११ रन पाएको छ । अस्ट्रेलियाले पहिलो दिन ८६ ओभर ब्याटिङ गरिसकेको छ ।  
भारतीय टोलीका बलर जसप्रित बुमराहले तीन विकेट लिए । उनले २१ ओभरमा सात मेडन राख्दै ७५ रन खर्चिएका छन् । भारतका लागि आकाश दीप, रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले पनि एक–एक विकेट हात पारे ।
पाँच टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाअन्तर्गत पर्थमा खेलिएको पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
यसैगरी, ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । यो शृंखला आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसको महत्वपूर्ण अंग पनि हो । त्यसैले टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतका लागि यो शृंखला निकै महत्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप