प्रधानमन्त्री ओलीले उद्घाटन गरेको भ्यू टावरमा दुई वर्षदेखि ताला
बुटवल । बुटवलको बेलबास बस्ने १९ वर्षका रमेश थापा मगर बुधबार रुपन्देहीको तिलोत्तमामास्थित शङ्करनगर वनवाटिकाभित्र प्रवेश गरे । काठमाडौँको एक कलेजमा आइटी इन्जिनियरिङ अध्ययन गरिरहेका थापा घरमा आएको बेला वनवाटिका हेर्ने र केही समय अगाडि उद्घाटन भएको भ्यू टावर चढ्ने मनसायले त्यहाँ पुगेका थिए ।
तर वनवाटिका पुगेपछि उनी निराश भए । त्यहाँ टावरमा चढ्न निषेध गरिएको सूचना टाँसेर ताला लगाइएको थियो ।
वनवाटिकाको गेटमा भेटिएका थापाले रातोपाटीसँग भने, ‘दुई वर्ष अगाडि उद्घाटन भएको भनेर प्रचार गरिएको टावरमा अझैसम्म हामी चढ्ने अवस्था रहेनछ ।’
२०७८ चैत १५ गते तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको वनवाटिकाभित्र टावरको गेटमा ताला लगाइएको छ । १० तलाको टावर निर्माण भए पनि सञ्चालन प्रक्रिया अलमल हुँदा सर्वसाधारणका लागि खुला नभएको हो ।
साढे ११ करोड लगानीमा बनेको टावर सञ्चालनमा ढिलाइ हुँदा यसले अहिलेसम्म आम्दानी दिन सकेको छैन । भ्यू टावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)ले कुनै लाभ लिन सकेको शङ्करनगर वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेयले रातोपाटीलाई बताए ।
टावर निर्माण भए पनि तलका संरचना निर्माण हुन बाँकी रहेका कारण सर्वसाधारणका लागि खुला नगरिएको उनको भनाइ छ । भ्यू टावर निर्माण गर्दा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत लगानी भएको छ । दोस्रो चरणको केही कामका लागि संघीय सरकारको बजेटबाट खर्च गरिएको छ । यसको आम्दानी भने नगरपालिकाले ६० प्रतिशत र वनवाटिकाले ४० प्रतिशत लिने सहमति भएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ठेकेदारसँग भएको सम्झौता अनुसार भ्यू टावरको तल केही संरचना बनाउन बाँकी छ । नगरपालिकाबाट १ करोड र संघीय सरकारबाट आएको बजेटबाट पार्किङ र गार्डेन लगायतका निर्माण कार्य भइरहेको उनले रातोपाटीलाई बताए ।
‘भ्यू टावर जतिसक्दो छिटो सञ्चालन गर्नुपर्छ भन्नेमा हाम्रो दुई मत छैन,’ नगर प्रमुख खाणले भने, ‘तर केही संरचना निर्माणको काम बाँकी रहेकाले सर्वसाधारणका लागि खुला नगरिएको हो ।’
शङ्करनगर वनवाटिकाभित्र दैनिक सरदर १५ सय आन्तरिक तथा बाह्य पर्यटक जाने गर्दछन् ।
टावरमा पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौँ तलादेखि मात्रै दृश्यावलोकनका लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यू टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालय लगायतका संरचना छन् ।
तिलोत्तमाको ४ नम्बर चोकका बासिन्दा रमेश पाण्डेयले कुनै बेला उक्त ठाउँ जङ्गल, झाडी रहेको बताए । अहिले शङ्करनगर वनवाटिका रमणीय र व्यवस्थित पर्यटकीय स्थलको रूपमा परिणत भएको भन्दै उनले भ्यू टावर सञ्चालन भएपछि पर्यटक थप आकर्षित हुने जिकिर गरे ।
शङ्करनगर वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेयले भ्यू टावर सञ्चालन भएमा स्वाभाविक रूपमा वनवाटिकाको आम्दानी बढ्ने जनाए । बहुउद्देश्यीय उक्त भ्यू टावर सञ्चालन हुँदा ६० जनाभन्दा धेरैले रोजगारी पाउने र वनवाटिकाले पनि आफ्नो आम्दानी बढाउन सक्ने उनको भनाइ छ ।
तिलोत्तमावासी एवं लुम्बिनी प्रदेश योजना आयोग पूर्वसदस्य डाक्टर दामोदार भुसालले भ्यू टावर निर्माण गर्दा त्यसको आवश्यकता, सञ्चालन विधि बनाएरमात्रै अघि बढ्नुपर्नेमा ती सबै प्रक्रियाको ख्याल नगरी हतार गर्दा अहिले अल्झिनुपरेको बताए । उनले भने, ‘अब करोडौँ रकम खर्च गरेर निर्माण भएको संरचना जतिसक्दो छिटो सञ्चालन गरेर लाभ लिनेतिर ध्यान दिनु बाहेक अर्को विकल्प छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी