शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

वर्षमान र जनार्दनलाई साइजमा राख्न प्रचण्डको ‘पासाङ कार्ड’ !

बिहीबार, ११ पुस २०८१, २२ : ११
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा पुनरागमन हुन लागेको चर्चाले राजनीतिक वृत्त तरङ्गित भएको छ ।

प्रचण्ड निवास खुमलटारमा गत कात्तिक २६ गते बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पासाङ आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए । त्यसयता हरेक बैठकमा उनी सहभागी हुँदै आएका छन् ।

पासाङमात्र होइन, केही समय पहिले पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा चलेको थियो । उनी एमालेको जनसंगठन समन्वय समितिले २०८१ जेठ १६ गते राजधानीमा गरेको कार्यक्रममा सहभागी भएर सक्रिय राजनीतिमा फर्कने आशङ्कालाई बल पुर्‍याएकी थिइन् । त्यसअघि भण्डारी नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा एमालेले ललितपुरको गोदावरीमा राखेको हीरक जयन्ती समारोहमा पनि सहभागी भएकी थिइन् । त्यस अवसरमा एमालेले भण्डारीलाई ‘राष्ट्र गौरव’ पदकबाट सम्मानित गरेको थियो । भण्डारीले पुनः एमालेको सदस्यता नवीकरण गरेको विषय चर्चामा आए पनि अहिलेसम्म आधिकारिकता पुष्टि हुन सकेको छैन ।

  • भण्डारी र पासाङको सक्रियताले एमाले/माओवादीमा हलचल

नयाँ संविधान घोषणा भएपछि भण्डारी राष्ट्रपतिमा र पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यति बेला एमाले–माओवादी गठबन्धनले भण्डारी र पासाङलाई देशको उच्च पदमा पुर्‍याएका थिए ।

राष्ट्रपतिमा निर्वाचन हुनुपूर्व भण्डारी एमालेकी उपाध्यक्ष थिइन् । पूर्वजनमुक्ति सेनाका डेपुटी कमाण्डर रहेका पासाङ भने माओवादीका स्थायी समिति सदस्य थिए । दुई पटक गरी ७ वर्ष पदमा बहाल रहेका दुवै जनाले २०७९ मा पदावधि सकिएपछि अवकाश पाएका थिए ।

भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाले पासाङलाई पनि प्रेरित गरेको हुनसक्ने माओवादीका नेताहरूको बुझाइ छ । यद्यपि पार्टी सदस्यता त्यागेर देशको सर्वोच्च पदमा पुगेका व्यक्ति फेरि पार्टी राजनीतिमा फर्किनु देश र व्यवस्थाकै लागि हितकर नहुने पार्टीभित्र र बाहिर धेरैको मत छ ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने गरी गल नलगाउन नेताहरूलाई चेतावनी नै दिएका थिए । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन एमालेभित्रै नेताहरू सक्रिय भएपछि संगठन विभागले मंसिर ३० मा राखेको कार्यशाला बैठकमा ओलीले त्यस्तो चेतावनी दिएका हुन् । ओलीको चेतावनीबाट पनि भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको आशङ्कालाई पुष्टि गर्दछ । आफू जीवित रहेसम्म नेतृत्वको विकल्प नभएको सन्देश ओलीले बैठकमा दिएका थिए ।

यता पासाङले आफू गणतन्त्रको योद्धा भएकाले प्रतिक्रियावादी शक्तिहरूले प्राप्त उपलब्धिलाई उल्टाउन खोजे फेरि रातो मान्छे भएर उभिन तयार रहेको चेतावनीसमेत दिए । गणतन्त्र सेनानी कोषले मंसिर १८ गते काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘भोलि कुनै प्रतिक्रियावादीहरू वा प्रतिगामी शक्तिहरूले षड्यन्त्र गरेर प्राप्त उपलब्धिलाई उल्ट्याउन चाहन्छन् । समावेशी समानुपातिक र संघीयतालाई उल्ट्याउन चाहन्छन् भने म फेरि रातोमान्छे भएर उभिन तयार छु । विगतमा मैले जे गरेँ, त्योभन्दा उचाइमा गएर नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ ।’

माओवादी उच्च स्रोतका अनुसार पासाङले प्रचण्डपछिको दोस्रो पद मागेका थिए । तर अध्यक्ष प्रचण्डपछिको दोस्रो पदमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेकाले कुनै पोजिसन नतोकी उनलाई उपाध्यक्ष बनाउने गरी सहमति भएको स्रोतले दाबी गरेको छ ।

तथापि माओवादीका उपमहासचिव हरिबोल गजुरेलले पासाङलाई पार्टीको जिम्मेवारी दिने विषयमा अघिल्ला बैठकमा प्रचण्डले कुरा राखे पनि कुनै निष्कर्षमा नपुगेको केही दिनअघि रातोपाटीलाई बताएका थिए ।

उहाँ(पासाङ) आफैँले राज्यबाट कुनै सेवा सुविधा नलिएको बताउनु भएको छ । राज्यको नेतृत्व तहमा पुगिसकेका व्यक्तिलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउँदा त्यसको फाइदा/बेफाइदा के हुन्छ, हेर्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्ने हुन्छ । अहिले नै यसबारे कुनै निष्कर्ष पुगेका छैनौँ’, गजुरेलले भनेका थिए ।

पार्टीभित्र पासाङको भूमिकासहित वामपन्थी दलहरूबिच पार्टी एकता, नेताहरूको जिम्मेवारी र पार्टीको आगामी  कार्यदिशा तय गर्न माओवादीले पुस १८ गतेदेखि लगातार स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ । स्थायी समिति बैठकले निर्णय गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन हुन सक्ने नेताहरूले बताएका छन् ।

  • वर्षमान र जनार्दनलाई रोक्न पासाङ कार्ड !

माओवादीका अर्का पदाधिकारीका अनुसार एकता प्रक्रियामा आउन चाहेका विप्लव तथा माओवादीभित्रै उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई ‘साइज’मा राख्न प्रचण्डले ‘पासाङ कार्ड’ प्रयोग गरेको हुनसक्ने आशङ्का गरेका छन् । गएको वैशाखमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । पार्टी विभाजन हुनुपूर्व पोलिटब्यूरो सदस्य रहेका विप्लवलाई एकतापछि महासचिव बनाउने गरी प्रचण्डले आश्वासन दिएको अनुमान गरिएको थियो ।

विप्लव आफैँले पनि त्यसबारे खण्डन गरेका थिएनन् । यता प्रचण्डका उत्तराधिकारीका रूपमा हेरिएका शर्मा र पुनलाई रोक्न प्रचण्डले कुटिल चाल चालेको हुनसक्ने ती नेता बताउँछन् ।

‘प्रचण्डजीले विप्लवलाई पनि रोजेको पद दिन्छु भनेको हुनसक्छन् । विगतमा पनि सबैलाई आश्वासन दिएर पछि आफू अनुकूल व्यक्ति ल्याएको उदाहरण छन् । पासाङ कार्ड खासगरी वर्षमान र जनार्दनजीलाई रोक्नका लागि उहाँले प्रयोग गरेको हुन सक्छ’, उनले भने ।

  • भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने चाहना कस्को ? 

ती नेताले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन प्रचण्डले नै जोडबल गरेको दाबी गरे । उनका अनुसार भण्डारीलाई राजनीतिमा ल्याउन एमालेबाट वर्तमान अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पहिलेदेखि नै सक्रिय थिए ।

‘प्रचण्डसहित एमालेबाट विष्णु पौडेलजी लगायत नेताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीति ल्याउन पहिलेदेखि नै पहल गरेका थिए । उहाँ राष्ट्रपतिमा बहाल रहँदै पटकपटक छलफल भएको थियो’, माओवादीका एक पदाधिकारीले भने, ‘२०७७/०७८ सालमा ओलीजीले दुई दुई पटक संसद विघटन गरेपछि तत्कालीन नेकपा विघटन भयो । २०७९ को निर्वाचनपछि एमालेमा विद्याजीलाई एमालेको नेतृत्वमा ल्याउन सके दुई वामपन्थी शक्ति फेरि एक हुन सक्ने निष्कर्ष थियो । त्यो प्रयास अहिले पनि जारी छ ।’

  • राम कार्की भन्छन्– देशका पूर्वपदाधिकारीलाई पालिकामा उठाऔँ

तर माओवादीका सचिव राम कार्कीले पासाङलाई पार्टी राजनीतिमा ल्याउने कुरा सामान्य भएको बताए । देशका राष्ट्रपति, उपराष्ट्रपति तथा उच्च पदमा पुगेका व्यक्ति मेयरमा दाबी गर्न गएका उदाहरण विश्वमा धेरै रहेको उनले जिकिर गरे ।

नेपालको सन्दर्भमा राष्ट्रपति भएर पनि केही राम्रा काम गर्न नसकेकाले पालिका वा वडाध्यक्ष बनाएमा केही हुने टिप्पणी गरे । साथै उमेरले ६० कटेका व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याएर पार्टी नबहुरिने कार्कीले दाबी गरे ।  

‘राष्ट्रपति वा उपराष्ट्रपति भएका व्यक्ति जो छन्, तिनलाई पालिका प्रमुख वा वडाध्यक्षमा बनाए पनि हुन्छ । अन्य देशमा पनि राष्ट्रपति भएका व्यक्ति मेयर भएका उदाहरण छन् । मानिस जन्मँदै कोही ठुला हुँदैनन् । काम गर्दै जाँदा राज्यको माथिल्लो पदमा पुग्ने हुन् । हाम्रो देशमा राष्ट्रपति भएकाले पनि केही राम्रा काम गर्न सकेनन् । वडामा पठाए भने त्यहाँ राम्रो काम गर्थे कि ?’, रातोपाटीसँग थप प्रस्ट पार्दै कार्कीले भने ।

अब ६० कटेका मान्छे ल्याएर पार्टी नबौरिने उनको भनाइ छ । ‘पार्टी हाँक्ने नयाँ सोच, विचार भएका युवाहरूलाई अगाडि बढाउनुपर्छ । बुढा नेता ल्याएर पार्टी बन्छ भन्ने सोच त्याग्नुपर्छ,’ उनले भने ।

एकपटक माथिल्लो पदमा पुगेपछि ठुलाको ठुलै बन्नुपर्छ भन्ने मानसिकता नेपालमा रहेको भन्दै कार्कीले त्यो मानसिकता त्याग्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप