शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
सन् २०२४ लाई फर्केर हेर्दा

सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो

बिहीबार, ११ पुस २०८१, २२ : २१
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । विश्व खेलकुदमा विभिन्न अमिट छाप छोड्दै सन् २०२३ हामीसँग बिदा हुने तयारीमा छ । यो अवधिमा विश्व खेलकुदमा थुप्रै महत्त्वपूर्ण घटना भएका छन् । तर, यही अवधिमा विश्व खेलकुदका केही चर्चित व्यक्तित्वले पनि यो संसारबाट बिदा लिएका छन् । 

विश्व खेलकुदले सन् २०२४ को प्रारम्भमै दुई महान् फुटबलरलाई गुमाएको थियो । विश्व फुटबलका महान् हस्ती मारियो जागाल्लो (मारियो जर्ज लोबो जागाल्लो) को जनवरी ५ तारिखमा निधन भएको थियो । वर्षको अन्त्यतिर आउँदासम्म विश्व खेलकुदले अर्का चर्चित फुटबल स्भेन गोरान इरिक्सनलाई पनि गुमाउनु परेको थियो । 

विश्व खेलकुदको इतिहासमा अत्यन्तै दुर्लभ उपलब्धि हासिल गर्ने फुटबलरमध्येका एक जागाल्लोको ९२ वर्षको उमेरमा निधन भएको थियो । त्यसको तीन दिनपछि नै जनवरी ७ तारिखमा जागाल्लोसँगै मिल्दो जुल्दो इतिहास बोकेका अर्का महान् फुटबलर फ्रान्ज बेकेनबाउर (फ्रान्ज एन्टोन बेकेनबाउर) ले पनि यो धर्तीबाट सधैँका लागि बिदा लिए । 

बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको हो । विश्व फुटबलमा ब्राजिलियन हस्ती जागाल्लो र जर्मन लिजेन्ड बेकेनबाउर दुबैको बिचमा केही समानता रहेको छ । यी दुवै महान् फुटबलरले खेलाडी र प्रशिक्षकको रूपमा विश्वकपको उपाधि चुमेका थिए । 

खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकपको उपाधि चुम्ने तीन महान् फुटबलरमध्ये अब एकजना मात्र जीवित छन् । उनी हुन्, फ्रान्सका ५५ वर्षीय डिडियर क्लाउड डेसच्याम्पस अर्थात् ‘डिडियर डेसच्याम्पस’ । 

नयाँ वर्षलाई स्वागत गर्न केवल ६ दिन बाँकी रहँदा यो वर्ष हामीले गुमाएका विश्व खेलकुदका यस्तै केही चर्चित व्यक्तित्व र उनीहरूको योगदानको विषयमा यहाँ चर्चा गरिएको छ । यी महान् व्यक्तित्वले भौतिक रूपमा हामीलाई छाडेर गए पनि उनीहरूले विश्व खेलकुदमा पुर्‍याएको योगदान सधैँ अविस्मरणीय रहने छ ।

  • मारियो जागाल्लो

विश्व फुटबलका महान् हस्ती मारियो जागाल्लो (मारियो जर्ज लोबो जागाल्लो) को सन् २०२४ को जनवरी ५ तारिखमा निधन भएको थियो । जागाल्लोको ९२ वर्षको उमेरमा निधन भएको थियो । आफ्नो समयका प्रभावशाली खेलाडी जागाल्लोले खेलाडी र प्रशिक्षकको भूमिकामा चारवटा विश्वकप उपाधि जितेका थिए । 

जागाल्लोले दक्षिण अमेरिकी राष्ट्र ब्राजिललाई खेलाडीको भूमिकामा लगातार दुई पटक विश्वकपको उपाधि चुमाएका थिए । उनले सबैभन्दा पहिले सन् १९५८ मा ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए । त्यो विश्वकपको फाइनलमा ब्राजिलले आयोजक राष्ट्र स्विडेनलाई ५–२ गोलले पराजित गरेको थियो । त्यो विश्वकपको फाइनलमा ब्राजिलका लागि भाभा र पेलेले दुई–दुई तथा जागाल्लोले एक गोल गरेका थिए ।

Mario Zagallo

त्यसको चार वर्षपछि सन् १९६२ मा चिलीमा आयोजित विश्वकपको उपाधि पनि जागाल्लोसहितको ब्राजिलियन टोलीले नै जितेको थियो । त्यो विश्वकपको फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गरेको थियो । त्यो विश्वकपको फाइनलमा अमारिल्डो, जिटो र भाभाले एक–एक गोल गरेका थिए । त्यो विश्वकपको समूहगत चरणको पहिलो खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराउँदा जागाल्लो र पेलेले एक–एक गोल गरेका थिए । 

आफ्नो समयका प्रभावशाली विंगर जागाल्लोले सन् १९५८ देखि सन् १९६४ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भएका थिए । 

जागाल्लोले प्रशिक्षकको भूमिका निर्वाह गरेको पहिलो क्लब बोटाफोगो हो । उनले सन् १९६६ मा ब्राजिलियन क्लब बोटाफोगोमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी ब्राजिलियन राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । 

उनी सन् १९७० मा पहिलो पटक ब्राजिलको प्रशिक्षक बनेका थिए । त्यतिबेला ब्राजिलको राष्ट्रिय टोली एकसे एक प्रभावशाली खेलाडीहरूले भरिएको थियो । महान् फुटबलर पेले, जर्जिन्हो, गेर्सन, कार्लोस अल्बर्टोजस्ता खेलाडी त्यतिबेला ब्राजिलियन टोलीमा थिए । 

प्रशिक्षकको भूमिकामा आफ्नो पहिलो सहभागितामै जागाल्लोले ब्राजिललाई सन् १९७० को विश्वकपको उपाधि चुमाएका थिए । मेक्सिकोमा आयोजित त्यो विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । फाइनलमा ब्राजिलका लागि पेले, गेर्सन, जर्जिन्हो र कार्लोस अल्बर्टोले एक–एक गोल गरेका थिए ।

फरक भूमिकामा ब्राजिललाई विश्वकपको उपाधि चुमाएपछि उनले सन् १९७४ मा ब्राजिलियन टोली छाडेका थिए । त्यसपछि उनी लामो समय विभिन्न क्लबको प्रशिक्षकको भूमिकामा सक्रिय रहे । त्यसबिचमा उनले कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

त्यसपछि सन् १९९१ देखि सन् १९९४ उनी ब्राजिलियन टोलीमा को–अर्डिनेटरको भूमिकामा सक्रिय रहेका थिए । सन् १९९४ मा उनी पुनः ब्राजिलिन राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका थिए । उनी सहायक प्रशिक्षक रहँदा ब्राजिलले फेरि सन् १९९४ मा विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला ब्राजिलियन टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा कार्लोस अल्बर्टो पेरेइरा रहेका थिए । उनी आफै पनि ब्राजिलियन नागरिक नै थिए । 

अमेरिकामा खेलिएको त्यो विश्वकपको फाइनलमा ब्राजिलले पेनाल्टी सुटआउटमा बलियो प्रतिद्वन्द्वी इटालीलाई ३–२ गोलले हराएको थियो । त्यतिबेला ब्राजिलको टोलीमा जर्जिन्हो, ब्रान्को, डुंगा, रोमारियो, रोनाल्डो, काफुजस्ता प्रभावशाली खेलाडी सहभागी थिए । 

त्यो विश्वकपको फाइनलमा पेनाल्टी सुटआउटमा ब्राजिलका लागि रोमारियो, ब्रान्को र डुंगाले गोल गरेका थिए । मार्सियो सान्तोषको प्रहार भने गोलमा परिणत हुन सकेको थिएन । इटालीका लागि भने अल्बर्टिनी र एभानीले गोल गरेका थिए । इटालियन खेलाडी बारेसी, मासारो र रोबर्टो बाजियोको प्रहार भने असफल भएको थियो । 

फ्रान्समा सन् १९९८ को विश्वकप आयोजना हुँदा भने जागाल्लो ब्राजिलियन टोलीका प्रमुख प्रशिक्षक थिए । तर, ब्राजिलियन टोली त्यो विश्वकपको फाइनलमा आयोजक राष्ट्र फ्रान्ससँग ३–० गोलले पराजित हुन पुगेको थियो । 

खेलाडी र प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि जित्ने जागाल्लो पहिलो फुटबलर हुन् । त्यसपछि मात्र बेकेनबाउर र डेसच्याम्पसले यस्तो उपलब्धि हात पारेका थिए । सन् १९५८ मा ब्राजिललाई विश्वकपको उपाधि चुमाउने टोलीमा रहेका खेलाडीमध्ये सबैभन्दा पछाडि निधन भएका खेलाडी पनि जागाल्लो नै हुन् । 

जागाल्लोको निधनसँगै अब ब्राजिलका लागि सन् १९५८ को विश्वकपको फाइनल खेल्ने टोलीका कुनै पनि खेलाडी जीवित छैनन् । सन् १९६५ मा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि जागाल्लोले ब्राजिलका लागि ३३ खेल खेलेका थिए ।   

उनले आफ्नो व्यावसायीक खेल जीवनको अधिकांश समय ब्राजिलियन क्लब फ्लेमेङ्गो र बोटाफोगोमा बिताएका थिए । आफ्नो समयका यी प्रभावशाली फुटबलरले ‘दी प्रोफेसर’ र ‘ओल्ड उल्फ’ जस्ता चर्चित उपनाम पाएका थिए । 

ब्राजिलले पछिल्लो पटक सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजित विश्वकपको उपाधि जितेको थियो । त्यो विश्वकपको फाइनलमा ब्राजिलले जर्मनीलाई २–० गोलले हराएको थियो । त्यो विश्वकपमा ब्राजिलियन टोलीका प्रमुख प्रशिक्षक भने लुइज फेलिप स्कोलारी थिए । त्यो विश्वकपमा जागाल्लो ब्राजिलियन टोलीको विशेष सल्लाहकारका रूपमा जापान र दक्षिण कोरिया पुगेका थिए ।

  • फ्रान्ज बेकेनबाउर

सन् २०२४ को जनवरी जनवरी ७ तारिखमा अर्का महान् फुटबलर फ्रान्ज बेकेनबाउर (फ्रान्ज एन्टोन बेकेनबाउर) ले पनि यो धर्तीबाट सधैँका लागि बिदा लिए । बेकेनबाउरले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीलाई खेलाडीको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । 

त्यो विश्वकपमा उनी पश्चिम जर्मनीको टोलीको कप्तान थिए । त्यो विश्वकपको फाइनलमा पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै उपाधि हात पारेको थियो । 

यसका अतिरिक्त उनले प्रशिक्षकको भूमिकामा सन् १९९० मा पश्चिम जर्मनीलाई नै विश्वकपको उपाधि चुमाएका थिए । त्यो विश्वकपको फाइनलमा पश्चिम जर्मनीले बलियो अर्जेन्टिनालाई १–० गोलले हराएको थियो । 

Franz Beckenbauer

आफ्नो समयका प्रभावशाली डिफेन्डर बेकेनबाउरले पश्चिम जर्मनीका अतिरिक्त जर्मन क्लब बायर्न म्युनिखमा पनि लामो समय प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् १९९६ मा प्रशिक्षकको भूमिकाबाट बिदा लिँदा पनि उनी बायर्न म्युनिखमै आबद्ध थिए । 

बेकेनबाउरले व्यावसायीक खेलाडीको भूमिकामा पनि अधिकांश समय बायर्न म्युनिखमै बिताएका थिए । उनले व्यावसायीक खेल जीवनको अन्तिम खेल भने अमेरिकी क्लब न्यु योर्क कसमसबाट खेलेका थिए । सोही क्लबबाट उनले सन् १९८३ मा व्यावसायिक खेलजीवन टुङ्ग्याएका थिए । 

उनले बायर्न म्युनिखका लागि कुल पाँच सय ८२ खेल खेलेका थिए । पश्चिम जर्मनीका अतिरिक्त उनले बायर्न म्युनिखलाई पनि खेलाडी र प्रशिक्षकको भूमिकामा जर्मन लिगको उपाधि चुमाएका थिए । उनले सन् १९७२ मा युरोपियन च्याम्पियनसिपको उपाधि पनि उचालेका थिए ।

आफ्नो उत्कृष्ट प्रदर्शनका कारण बेकेनबाउरले आफ्नो सक्रिय खेलजीवनमा दुई पटक प्रतिष्ठित बालोन डी’ओरको उपाधि पनि हात पारेका थिए । उनले पश्चिम जर्मनीका लागि सन् १९६६ को विश्वकप पनि खेलेका थिए । त्यो विश्वकपको फाइनलमा सर बबी चार्लटनको इङ्ल्यान्डले पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ गोलले हराएको थियो । 

सन् १९६६ को विश्वकपसम्म उनी मिडफिल्डरको भूमिकामा मैदानमा देखा पर्थे । त्यसपछि आफ्नो भूमिका परिवर्तन गरी उनले आफूलाई विश्वकै प्रभावशाली डिफेन्डरको रूपमा स्थापित गराएका थिए । सन् १९६६ को विश्वकप सुरु हुँदा उनी केवल २० वर्षमा थिए । 

सन् १९६६ को विश्वकपमा उनले टोलीका लागि चार गोल पनि गरेका थिए । त्यो विश्वकपमा उनी सर्वोत्कृष्ट युवा खेलाडी पनि घोषित भएका थिए । राष्ट्रिय टोलीबाट सन्न्यास लिनुअघि उनले पश्चिम जर्मनीका लागि एक सय तीन खेल खेलेका थिए । 

खेलाडीका रूपमा बेकेनबाउरले बायर्न म्युनिखलाई चारवटा लिग उपाधि चुमाएका थिए । बायर्न म्युनिखले सन् १९७४, सन् १९७५ र सन् १९७६ मा युरोपियन कपको उपाधि जित्दा उनी टोलीको कप्तान थिए । उनले सन् १९८२ मा खेलाडीको भूमिकामा ह्याम्बर्गर एसभीलाई पनि बुन्डेस लिगाको उपाधि जिताएका थिए ।

उनी सन् १९७७ मा बायर्न म्युनिख छाडेर अमेरिकी क्लब न्यु योर्क कसमसमा आबद्ध भएका थिए । त्यतिबेला न्यु योर्क कसमसमा बेकेनबाउर र महान् ब्राजिलियन खेलाडी पेलेको जोडी निकै जमेको थियो । पेलेले पनि सन् १९७५ देखि सन् १९७७ सम्म अमेरिकी क्लब न्यु योर्क कसमसबाट व्यावसायिक फुटबल खेलेका थिए ।

बेकेनबाउरले सन् १९८६ को विश्वकपमा पनि पश्चिम जर्मनीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यो विश्वकपको फाइनलमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ गोलले हराएको थियो । सन् १९९० मा बेकेनबाउरले केही समयका लागि फ्रान्सेली क्लब मार्सिल्लेमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

उनी बायर्न म्युनिखको अध्यक्ष पनि बनेका थिए । यसका अतिरिक्त उनले जर्मन फुटबल महासंघको उपाध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । सन् १९९८ मा जर्मन फुटबल महासंघको उपाध्यक्ष हुँदा उनले जर्मनीलाई सन् २००६ को विश्वकप आयोजना गर्ने अधिकार दिलाएका थिए ।

  • स्भेन गोरन एरिक्सन

चर्चित फुटबल प्रशिक्षक स्भेन गोरन एरिक्सनको सन् २०२४ को अगस्त २६ तारिखमा निधन भएको थियो । लामो समय क्यान्सर रोगसँग लडेका प्रशिक्षक एरिक्सनको ७६ वर्षको उमेरमा स्विडेनमा निधन भएको थियो ।

एरिक्सनको जन्म पनि स्विडेनमै भएको थियो । प्रशिक्षकको भूमिकामा उनले इङ्ल्यान्डको राष्ट्रिय टोली पनि समालेका थिए । उनी इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक बन्ने पहिलो विदेशी पनि थिए ।

ericson

सन् २००१ देखि सन् २००६ सम्म उनी इङ्ल्यान्डको प्रशिक्षकको भूमिकामा सक्रिय थिए । पाँच वर्ष इङ्ल्यान्डको प्रमुख प्रशिक्षकको भूमिकामा सक्रिय रहँदा उनले टोलीलाई तीनवटा प्रमुख प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुर्‍याएका थिए ।

इङ्ल्यान्डका अतिरिक्त एरिक्सनले मेक्सिको, आइभरी कोस्ट र फिलिपिन्सको राष्ट्रिय टोलीमा पनि प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २०१८ देखि सन् २०१९ सम्म फिलिपिन्सको प्रमुख प्रशिक्षक रहेपछि उनी प्रशिक्षणबाट टाढिएका थिए ।

एरिक्सनले इटालियन क्लब एएस रोमा, फियोरेन्टिना, साम्पडोरिया र लाजियोमा पनि प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । उनी सन् २००७ देखि सन् २००८ सम्म चर्चित इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको प्रमुख प्रशिक्षक पनि थिए ।

आफ्नो समयका प्रभावशाली प्रशिक्षक एरिक्सनले राष्ट्रिय र क्लब गरेर कुल १७ वटा टोलीमा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । एरिक्सन खेलाडीको भूमिकामा भने निकै कम समय सक्रिय रहेका थिए ।

प्रशिक्षकको भूमिकामा उनले स्विडिस, पोर्चुगिज र इटालियन लिगमा विभिन्न क्लबलाई १८ वटा उपाधि चुमाएका थिए । यो भूमिकामा उनले यूईएफए कप र युरोपियन कप विनर्स कप र यूईएफए सुपर कपको उपाधि पनि हात पारेका थिए ।

  • केल्भिन किपटुम

आफ्नो समयका प्रभावशाली धावक केल्भिन किपटुमको सन् २०२४ को फेब्रुअरी ११ तारिखमा निधन भएको थियो । केन्याका यी चर्चित खेलाडीको केवल २४ वर्षको उमेरमा कार दुर्घटनामा परी निधन भएको थियो । उक्त दुर्घटनामा परी उनका प्रशिक्षकको पनि निधन भएको थियो ।

त्यतिबेला उनी आफैले कार चलाइरहेका थिए । अत्यधिक गतिमा रहेको उनको कार अनियन्त्रित भई सडक छेउमा रहेको एक रुखमा ठोक्किएको थियो । उनी केन्याका लामो दूरीका धावक थिए । निधन हुनुभन्दा केही समयअघि मात्र उनले म्याराथनको विश्व कीर्तिमान पनि आफ्नो नाममा पारेका थिए ।

Kelvin Kiptum

विश्व एथलेटिक्सको इतिहासकै सात सबैभन्दा तीव्र गतिका म्याराथन धावकमध्ये उनी तेस्रो स्थानमा थिए । निधन हुनुअघि उनी विश्व म्याराथनको पुरुषतर्फ पहिलो वरीयतामा आसीन थिए । उनले तीनवटा चर्चित म्याराथनको उपाधि चुमेका थिए ।

उनले सन् २०२२ मा सम्पन्न भ्यालेन्सिया म्याराथनमा निर्धारित दुरी केवल दुई घण्टा दुई मिनेटमा पुरा गर्दै उपाधि चुमेका थिए । अन्तर्राष्ट्रिय म्याराथनमा त्यो उनको पहिलो सहभागिता पनि थियो । त्यसपछि सन् २०२३ को लन्डन म्याराथनमा उनले निर्धारित दूरी दुई घण्टा एक मिनेट २५ सेकेन्डमा पुरा गरेका थिए ।

त्यसपछि सन् २०२३ मै उनले सिकागो म्याराथनमा अर्को चमत्कार गरेका थिए । अक्टोबरमा सम्पन्न सिकागो म्याराथनमा उनले निर्धारित दूरी दुई घण्टा ३५ सेकेन्डमा पार गरेका थिए । त्यो म्याराथनमा उनले बनाएको कीर्तिमानले उनको निधनभन्दा पाँच दिनअघि मात्र आधिकारिक रूपमा मान्यता पाएको थियो ।

  • जस ओलिभर बाकेर

जस ओलिभर बाकेर इङ्ल्यान्डका क्रिकेटर थिए । उनको सन् २०२४ को मे २ तारिखमा निधन भएको थियो । उनको निधन केवल २० वर्षको उमेरमा भएको थियो । मुटुमा समस्या देखिएपछि उपचारका क्रममा उनको निधन भएको थियो ।

उनी वर्सेस्टरशायरबाट घरेलु प्रतियोगिता खेल्थे । बाकेरको निधनपछि वर्सेस्टरशायरले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न एक खेल आयोजना गरेको थियो । त्यो खेलमा सबै खेलाडी ३३ नम्बरको जर्सी लगाएर मैदानमा ओर्लिएका थिए ।

Josh O Baker

बाकेरको जर्सी नम्बर ३३ थियो । त्यसपछि वर्सेस्टरशायरले कुनै पनि प्रतियोगितामा ३३ नम्बरको जर्सी प्रयोगमा नै ल्याएन । क्लबले आफ्ना खेलाडी बाकेरप्रति ब्यक्त गरेको यो उच्चस्तरको सम्मान पनि थियो ।

बाकेर इङ्ल्यान्डको यू–१९ टोलीका प्रभावशाली सदस्य पनि थिए । उनी बलिङ अलराउन्डर थिए । उनले प्रथम श्रेणीको क्रिकेट, लिस्ट ‘ए’ क्रिकेट र टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रस्तुत गरेका थिए । उनको बलिङसँग ब्याटिङ पनि उच्च स्तरको थियो ।

  • डेभिड जोन्सन

डेभिड जोन्सन भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी थिए । उनको सन् २०२४ को जुन २० तारिखमा निधन भएको थियो । त्यतिबेला उनी ५२ वर्षका थिए । उनी आफ्नो समयका अलराउन्डर खेलाडी थिए ।

David-Jhonson

उनले भारतका लागि दुईवटा टेस्ट क्रिकेट पनि खेलेका थिए । दुई टेस्टको चार पालीमा उनले तीन विकेट हात पारेका थिए । तर, उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर भने पाएका थिएनन् ।

प्रथम श्रेणीको क्रिकेट र लिस्ट ‘ए’ क्रिकेटमा भने उनको प्रदर्शन अब्बल थियो । प्रथम श्रेणीको क्रिकेटमा उनले एक सय २५ विकेट लिनुका साथै कुल चार सय ३७ रन पनि बनाएका थिए । प्रथम श्रेणीको क्रिकेटमा उनले एउटा शतक पनि बनाएका थिए ।

  • फ्रान्क डकवर्थ

फ्रान्क डकवर्थ विश्व क्रिकेटसँग अभिन्न रूपमा जोडिएका सम्मानित व्यक्तित्वको नाम हो । सन् २०२४ मा विश्व खेलकुदले गुमाएको चर्चित व्यक्तित्वमध्ये उनी पनि एक हुन् । इङ्ल्यान्डका नागरिक डकवर्थको निधन जुन २१ तारिखमा ८४ वर्षको उमेरमा भएको थियो ।

विश्व क्रिकेटमा डकवर्थको निकै ठुलो योगदान छ । अहिले पनि वर्षा वा प्रतिकुल मौसमका कारण सीमित ओभरको खेल प्रभावित भएमा उनले दिएको सूत्र प्रयोग गरेर नै हार–जितको नतिजा निकालिन्छ । अर्थात्, उनी क्रिकेटमा चर्चित ‘डकवर्थ एन्ड लुइस’ नियमका प्रणेतामध्ये एक हुन् ।

Frank Duckworth

उनी भौतिक विज्ञानका विद्यार्थी थिए । उनले सन् १९६५ मा विद्यावारिधि हासिल गरेका थिए । उनी न्युक्लियर पावर उद्योगमा काम गर्थे । तर, क्रिकेटप्रति उनको छुट्टै लगाव थियो । त्यसैले उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा विज्ञका रूपमा सक्रिय थिए ।

  • एलियास भिक्टर सेक्सास जुनियर

आफ्नो समयका चर्चित अमेरिकी एमेच्योर टेनिस खेलाडी थिए, एलियास भिक्टर सेक्सास जुनियर । विश्व खेलकुदले यी प्रभावशाली टेनिस खेलाडीलाई पनि यसै वर्ष गुमायो । सन् २०२४ को जुलाई ५ तारिखमा उनको निधन भएको थियो ।

सेक्सासको एक सय वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियामा निधन भएको हो । उनी सन् १९४२ देखि सन् १९५६ सम्म १३ पटक अमेरिकाको उच्च १० वरीयताप्राप्त खेलाडीको सूचिमा पर्न सफल भएका थिए ।

3000

सन् १९५१ मा उनी एमेच्योर खेलाडीहरुको सूचिमा चौथो स्थानमा उक्लिएका थिए । आफ्नो सक्रिय खेलजीवनमा उनले १५ वटा ठुला प्रतियोगिताको उपाधि जितेका थिए । उनले चर्चित दुई ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन र यूएएस ओपनको एकलतर्फको उपाधि पनि चुमेका थिए ।

आफ्नो सक्रिय खेलजीवनमा उनले दुई–दुई पटक अस्ट्रेलियन ओपनर, फ्रेन्च ओपन र यूएस ओपनको डबल्सतर्फको उपाधि पनि जितेका थिए । यसका अतिरिक्त उनले चार–चारपटक फ्रेन्च ओपन र विम्बल्डनको मिक्स डबल्सतर्फको उपाधि समेत हात पारेका थिए ।

यूएस ओपनमा पनि उनले तीनपटक मिक्स डबल्सतर्फको उपाधि हात पारेका थिए । उनी अन्तर्राष्ट्रिय टेनिसमा हल अफ फेमबाट पनि सम्मानित भएका थिए । यसका अतिरिक्त उनले अन्तर्राष्ट्रिय टेनिसमा थुप्रै सम्मान पनि हात पारेका थिए ।

  • अंशुमान गायकवाड

अंशुमान गायकवाड आफ्नो समयका चर्चित क्रिकेटर थिए । उनले भारतीय टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । विश्व खेलकुदले यो वर्ष उनलाई पनि गुमायो । उनको सन् २०२४ को जुलाई ३१ तारिखमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

उनी आफ्नो समयका प्रभावशाली ब्याटिङ अलराउन्डर थिए । उनले भारतका लागि ४० टेस्ट खेल्दै कुल एक हजार नौ सय ८५ रन बनाएका थिए । यस क्रममा उनले दुई शतक र १० वटा अर्धशतक पनि प्रहार गरेका थिए ।

Aunshuman Gaikwad

टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर दुई सय एक रन हो । उनले भारतका लागि १५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले कुल दुई सय ६९ रन बनाएका थिए ।

एकदिवसीय क्रिकेटमा उनले एउटा अर्धशतक पनि बनाएका थिए । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित ७८ रन हो । यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा दुई र एकदिवसीय क्रिकेटमा एक विकेट पनि लिएका थिए ।

  • ग्राहम थोर्प

ग्राहम थोर्प आफ्नो समयका प्रभावशाली क्रिकेटर थिए । थोर्प विश्व क्रिकेटमा लिइने सम्मानित नाम पनि हो । उनी आफ्नो समयका चर्चित ब्याटिङ अलराउन्डर थिए । यो वर्ष उनलाई पनि विश्व खेलकुदले गुमाएको छ ।

Graham Thorpe

थोर्पको सन् २०२४ को अगस्त ४ तारिखमा ५५ वर्षको उमेरमा निधन भएको थियो । इङ्ल्यान्डका लागि उनले नौ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनले टोलीका लागि एक सय टेस्ट खेल्दै कुल ६ हजार सात सय ४४ रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले १६ शतक र ३९ अर्धशतक पनि प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय रन हो । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८२ वटा खेल खेलेका थिए ।

यो ढाँचाको क्रिकेटमा उनले कुल दुई हजार तीन सय ८० रन बनाएका थिए । यस क्रममा उनले २१ अर्धशतक पनि प्रहार गरेका थिए । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर ८९ रन हो । यो ढाँचाको क्रिकेटमा उनले दुई विकेट पनि लिएका थिए ।

  • विल वाल्टन र जेरी वेस्ट

यसका अतिरिक्त सन् २०२४ मा विश्व खेलकुदले चर्चित बास्केटबल खेलाडी विल वाल्टनलाई पनि गुमायो । अमेरिकी पूर्वखेलाडी वाल्टनको मे २७ तारिखमा ७१ वर्षको उमेरमा निधन भएको थियो ।

Bill Walton

यसै वर्ष अर्का बास्केटबल खेलाडी जेरी वेस्टको पनि निधन भयो । उनी पनि अमेरिकाकै पूर्वबास्केटबल खेलाडी थिए । उनको जुन १२ तारिखमा ८६ वर्षको उमेरमा निधन भएको थियो ।

240612-jerry-west-lakers-mn-1015-9b35f8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप