बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

१२९ यात्रुसहित पोखरामा सिचुआन एयर अवतरण

बिहीबार, ११ पुस २०८१, १० : २७
बिहीबार, ११ पुस २०८१

पोखरा । पर्यटनको राजधानी पोखरामा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस–२०२४ का लागि १२९ यात्रुसहित सिचुआन एयर अवतरण भएको छ । बिहीबार बिहान १० बजेर १३ मिनेटमा पोखरा विमानस्थलमा सिचुआन एयर अवतरण भएको हो । जसमा भिआईपी, अफिसियल र खेलाडी छन् । 

चीनको छेन्दुक विमानस्थलबाट उडेको विमान पोखरा आउन ३ घण्टा १३ मिनेट लागेको विमानस्थल अधिकारीले जनाएका छन् । जहाज अवतरण भएपछि पोखरेलीले जहाजसँगै पाहुनाको भव्य स्वागत गरेका छन् । 

यसैबिच, उक्त जहाजले बिहीबार नै काठमाडौँसम्म पोखराको पर्यटन प्रवर्द्धनात्मक उडान भर्नेछ । जसमा पर्यटन व्यवसायी, पत्रकार लगायतले काठमाडौँसम्म यात्रा गर्नेछन् ।

यही १४ र १५ पुसमा हुने ड्रागन बोट रेस प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छन् । 

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा ड्रागन वोट रेस हुन लागेको हो । 

२०० र ५०० मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार दुई सय डलर पुरस्कार प्राप्त गर्नेछन् । बाँकी १७ समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ ।

ड्रागन वोटको दोस्रो संस्करण पनि फेवाताल हुनेछ । चीन सरकारको अगुवाइमा नेपालमा पहिलोपटक सन् २०२३ मा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्दै आएको छ ।

२ वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने चार्टर्ड उडानमै सीमित छ । यहाँबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नियमित अन्तर्राष्ट्रिय उडान भर्न पोखरेलीले विभिन्न माध्यमबाट दबाब सिर्जना गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप